काठमाडौं । वर्ष २०८१ मा अन्तर्राष्ट्रिय भलिबलमा नेपालका लागि त्यति सुखद हुन सकेन । महिला तथा पुरुष सिनियर टिमले अन्तर्राष्ट्रिय उपाधि जित्न सकेनन् । नेपालले ७ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छ । ५ प्रतियोगितामा फाइनल पुग्दा विच महिला भलिबल र क्लब च्याम्पियनसिपको एक मात्रै उपाधि जित्यो ।
माल्दिभ्समा भएको काभा महिला क्लब च्याम्पियनसिपमा पुलिसले उपाधि जितेको थियो । यता, सिनियर टिमको काभा महिला च्याम्पियनसिपमा नेपाल पुनः भारतसँग पराजित भयो ।
विच भलिबलमा महिलातर्फ नेपालले उपाधि नै जित्यो । पुरुष टिम फेरि दोस्रो भयो । विच भलिबलमा कमला पुन र मनीषा चौधरीको जोडीले भुटानमा उज्वेकिस्तानलाई २-० को सोझो सेटमा हराउँदै उपाधि उचालेको थियो । महिला टिमले विच भलिबलमा जितेको स्वर्ण पदक नै पहिलो पटक हो । यसअघि बंगलादेशको कक्स बजारमा सम्पन्न प्रतियोगितामा नेपालको पुरुष र महिला टिम नै उपविजेता भएको थियो । मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी लगातार दोस्रो भएको थियो ।
जसरी फुटबलका खेलाडी अघिल्ला वर्षहरूमा विदेसिने क्रम थियो, वर्ष २०८१ मा भलिबलका खेलाडीले त्यो मार्ग समातेका छन् ।
यता, सिनियरतर्फ पुरुष टिमलाई भने उपाधिविहीन नै भयो । सिनियर टिमले अन्तर्राष्ट्रिय सहभागी नै जनाउन पाएन । काभा पुरुष क्लब च्याम्पियनसिपमा हेल्प नेपाल फाइनलमा पुगे पनि भारतको टोलीसँग पराजित भएको थियो । हेल्प नेपालसँगै खेलेको गण्डकी प्रदेश टिम भने फाइनलमा पुग्न सकेन ।

यता, यो वर्ष चर्चामा रहेका खेलाडी पलायनले भने भलिबललाई निकै मर्का पारेको छ । राष्ट्रिय पुरुष टिमका कप्तान मानबहादुर श्रेष्ठ, दिलबहादुर सुनार, हेमन्त मल्ल, टेकराज अवस्थी, विशाल विक, युवा प्रतिभावान खेलाडी रवि केसीजस्ता खेलाडी पलायन भए । महिला राष्ट्रिय टोलीकी सदस्य सरस्वती चौधरी र प्रतिभा माली पनि विदेसिएका छन् । सरस्वतीले एपिएफको जागिर नै छाडिन् । अधिकांश खेलाडी पनि जाने तयारीमै छन् ।
सरस्वती र प्रतिभा सुटुक्क अस्ट्रेलिया पुग्दा कप्तान मानबहादुरले कार्तिकमा सामाजिक सञ्जालबाटै संन्यास घोषणा गरेका थिए । उनले आफ्नो संन्यास व्यक्तिगत कारण र नयाँ पुस्तालाई अवसर दिनका लागि बताएका थिए । त्यसको केही दिनपछि नै मनबहादुर अस्ट्रेलिया पुगेका थिए । उनीसँगै दिल, हेमन्त, टेकराज र विशाल पनि अस्ट्रेलिया नै पुगेका छन् । जसरी फुटबलका खेलाडी अघिल्ला वर्षहरूमा विदेसिने क्रम थियो, वर्ष २०८१ मा भलिबलका खेलाडीले त्यो मार्ग समातेका छन् ।
महिलाको काभा वुमेन्स नेसन्स लिग २०२४ को फाइनलमा नेपाल पुनः भारतसँग ३-२ ले नै पराजित भयो । त्रिपुरेश्वरमा राखेप कभर्डहलमा भएको फाइनलमा नेपाल भारतसँग २३-२५, २५-१४, २२-२५, २५-२१, १५-५ को नतिजामा पराजित भयो । त्यसअघि लिग चरणमा माल्दिभ्स, श्रीलंका र भारतलाई हराउँदा नेपाली टिम इरानसँग पराजित भएको थियो । तर, सेमिफाइनलमा नेपालले इरानलाई नै सोझो सेटमै हराएर फाइनलमा स्थान बनाएको थियो ।

यता, महिलातर्फ क्लब च्याम्पियनसिपमा पुलिसले उपाधि जितेको थियो । यो नेपाली क्लब भलिबलमा महिलाका लागि ऐतिहासिक उपलब्धि थियो । रुपेश विष्टको प्रशिक्षणमा रहेको पुलिसले एपिएफका निरुता ठगुन्ना र सरस्वती चौधरी तथा न्यु डायमन्डका सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको थियो । माल्दिभ्सको मालेमा भएको फाइनलमा पुलिस क्लबले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई २५-१६, २५-२२, २५-२३ को सोझो सेटमा हराएको हो ।
वर्ष २०८२ मा पनि नेपालले यिनै प्रतियोगितामा सहभागिता जनाउने नेपाल भलिबल संघ (एनभिए)ले जनाएको छ ।
पुलिसले पहिलो खेलमा हुमो क्लबलाई सोझो सेटमै हरायो । दोस्रो लिग खेलमा पुलिसले श्रीलंका एयर फोर्स क्लबलाई सोझो सेट, तेस्रो खेलमा ताजकिस्तानको डाइमेडलाई सोझो सेट, चौथो खेलमा माल्दिभ्सको क्लब वाम्कोलाई ३-२ सेट र लिगको अन्तिम खेलमा माल्दिभ्स पुलिस क्लबलाई ३-१ को सेटमा हराउँदै फाइनल स्थान बनाएको थियो । पुलिस क्लब अपराजित यात्रा कायम राख्दै उपाधि जितेको हो ।
यता, नेपाली महिला टोलीले रसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । तर नेपाली टिम पराजित भयो । काभा यु-२० महिला च्याम्पियनसिपमा नेपालको प्रदर्शन सम्झनलायक रहेन । कुमार राईको प्रशिक्षणमा नेपालले माल्दिभ्समा उक्त प्रतियोगिता खेलेको थियो । प्रतियोगितामा नेपालसहित श्रीलंका, माल्दिभ्स र किर्गिस्तान प्रतिस्पर्धी थिए । नेपालले माल्दिभ्सलाई मात्रै सोझो सेटमा हराएको थियो । नेपाल श्रीलंकासँग ३-१ र किर्गिस्तानसँग ३-० को सेटमा पराजित भएको थियो । सेमिफाइनलमा पनि किर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित हुँदा नेपाली टोली उपाधिबाट टाढा रह्यो । तेस्रो स्थानको प्रतिस्पर्धामा नेपालले माल्दिभ्सलाई ३-० ले हराएको थियो ।

यता, पुरुष यु-२० टिम भने उपविजेता बन्यो । असोजमा श्रीलंकामा सम्पन्न फाइनलमा नेपाली युवा टिम उज्वेकिस्तानसँग ३-१ को सेटमा पराजित भएको हो । यसअघि समूह चरणको खेलमा नेपालले श्रीलंका, तुर्कमेनिस्तान र माल्दिभ्सलाई हराएको भने किर्गिस्तान र उज्वेकिस्तानसँग पराजित भएको थियो । सेमिफाइनलमा भने नेपालले तुर्कमेनिस्तानलाई नै हराउँदै फाइनलमा स्थान बनाएको हो ।
अब, वर्ष २०८२ मा पनि नेपालले यिनै प्रतियोगितामा सहभागिता जनाउने नेपाल भलिबल संघ (एनभिए)ले जनाएको छ । तत्काललाई नेपालमा दुई प्रतियोगिता हुने टुंगो लागेको छ । काभा महिला च्याम्पियन्स लिग र महिला नेसन्स लिग नेपाली भूमिमा हुनेछ ।
