काठमाडौं । कुलीन राणा परिवारमा जन्मिनु मात्र उनले पाएको ‘प्रिभिलेज’ थिएन । पारिवारिक माहोल पनि खेलमैत्री थियो । बुबा र भाइहरू टेनिस खेल्थे । तर स्कुले जीवनमा ज्योति राणाले विरलैमात्र टेनिस खेलिन् । यद्यपि उनले अहिले नेपाल लनटेनिस संघको नेतृत्व हाँकिरहेकी थिइन् ।
सेन्ट मेरिज स्कुल पढ्ने राणाको रुचि त्यतिबेला बास्केटबल र एथलेटिक्समा थियो । यिनै खेलमा उफ्रिन्थिन् र जम्प हान्थिन् । भलिबलमा पनि रुचि थियो । पुरुष प्रधान समाज भए पनि उनले छोरी भएर जन्मिनुपरेकोमा खासै विभेद भोग्नुपरेन । तैपनि त्यो बेला भलिबल महिलाका लागि होइन भनेर खेल्न दिइँदैनथ्यो । जसले गर्दा उनी आफ्नो प्यारो खेल खेल्नबाट वञ्चित भइन् ।
लनटेनिस अहिले ज्योति राणाको जीवन भइसकेको छ । उनी नेपाली टेनिसकी पर्याय जस्तै भएकी छन् । तर, उनले धेरै पछि मात्र टेनिस खेल्न सुरु गरेकी हुन् । त्यो पनि खेलाडी बन्न नभई स्वस्थ रहनमात्र थियो । स्वस्थ रहनका लागि पनि पारिवारिक पृष्ठभूमिले मात्र उनलाई टेनिसतिर डोर्याएको थियो ।
‘मेरा लागि परिवार नै टेनिस हो । मेरो श्रीमान (मनोज राणा) नेपाल टेनिस संघको अध्यक्ष हुनुहुन्थ्यो । उहाँ अहिले पनि भेट्रान्स कप खेलिरहनुहुन्छ,’ उनी सुनाउँछिन्, ‘मेरा तीन छोरी पनि टेनिस खेलाडी नै हुन् ।’
उनी जेठी छोरी मालिका राणा र अस्लेसा लिसानेभिचले सन् २०१० मा ग्वान्झाओमा सम्पन्न एसियाडमा सहभागिता जनाएका थिए । त्यो नेपाली महिला टेनिस टोलीले खेलेको पहिलो प्रतियोगिता थियो ।
छोरा जयकरले पनि तोते बोलीसँगै टेनिसको र्याकेट बोक्न थालिसकेका थिए । तर १० वर्षको उमेरमा सन् १९९९ मा छोराको निधन भयो । टेनिसमा समर्पित परिवार छोराको मृत्युपछि यो खेलमा झनै पागल जसरी एकोहोरियो ।
‘हामी टेनिसमै थियौं । त्यो बेला नेपालमा जुनियर टेनिस प्रतियोगिता हुँदैनथ्यो । हामीले छोराकै नाममा जयकर मेमोरियल टेनिस प्रतियोगिता सुरु गर्यौं । जसले गर्दा आज जुनियर खेलाडी आइरहेका छन्,’ अध्यक्ष राणा भावुक भइन्, ‘यो प्रतियोगिता सुरु गरेकै १९-२० वर्ष भइसकेको छ । हामीले प्रत्येक वर्ष डिसेम्बरमा यो प्रतियोगिता गर्दै आइरहेका छौं । त्यसैले पनि होला मेरो टेनिसप्रतिको लगाव झनै बढ्यो ।’
टेनिसप्रति पलाएको त्यही लगावले राणालाई संघको अध्यक्ष बनाएको छ । नेपाल ओलम्पिक कमिटीमा पनि उनी उपाध्यक्ष छन् । नेपाली खेलकुद इतिहासमा कुनै पनि मूलधारको खेल संघमा अध्यक्ष तथा ओलम्पिक कमिटीमा उपाध्यक्ष हुने सम्भवतः उनी पहिलो महिला पदाधिकारी हुन् ।
खेलाडीको रूपमा राणाको खासै ठूलो परिचय छैन । तर पदाधिकारीका रूपमा उच्च ओहदामा पुग्दासम्म पनि उनले महिला भएकै कारण कतै पछि पर्नुपरेको अनुभव अहिलेसम्म गर्नुपरेको छैन । त्यही कारण उनले आफ्ना छोरीहरूलाई पनि निरन्तर खेलाडी बन्न हौस्याइरहिन् ।
‘एउटा भनाइ नै छ नि जहाँ स्त्रीको सम्मान हुन्छ त्यहाँ ईश्वरको बास हुन्छ । प्रत्येक घरमा हेरौंं न, एउटा आमाले आफ्नो बच्चा हुर्काउने र अरूले हुर्काउनेमा फरक पर्छ,’ राणा भन्छिन्, ‘तर महिलाको योगदान जति ठूलो भए पनि धेरैजसो स्थानमा महिलामाथि विभेद छ । तर, मैले यस्तो परिस्थितिको सामना गर्नुपरेन । यस अर्थमा म भाग्यमानी भएँ ।’
उनी पुरुषको नेतृत्वमा रहेको संघहरूलाई नराम्रो त भन्दिनन् । पुरुषले गरेको काम नराम्रो, महिलाले गरेको राम्रो भन्ने मानसिकता उनमा छैन । तर पुरुष नेतृत्वमा रहेका संघहरूले गर्ने निर्णय महिला खेलाडीको पक्षमा स्पष्ट रूपमा नआएकोमा चाहिँ उनको गुनासो छ ।
नेपाल ओलम्पिक कमिटीअन्तर्गत महिला स्पोर्टस कमिसनकी प्रमुख आफूले भोग्नु नपरे पनि नेपाली खेलकुद महिलाका लागि निकै विभेदकारी रहेको अनुभव सुनाउँछिन् ।
भन्छिन्, ‘एकपटक हामीले कमिसनको तर्फबाट महिला खेलाडीसँग अन्तरक्रिया कार्यक्रम गरेका थियौं । त्यहाँ महिला खेलाडीले प्रशिक्षक र पुरुष समकक्षीले गर्ने व्यवहार सुनाउँदा निकै टिठलाग्दो अवस्था पाइएको थियो । कतिपय घटना पत्याउन नै नसकिने खालका थिए । सोच्दै नसोेचेका कुरा हामीले त्यो बेला खेलाडीबाट सुन्यौं । प्रशिक्षक उनीहरूलाई कसरी म्यानुपुलेट गर्छन् भन्ने पनि सुन्यौं । सबै खेलमा नहोला तर कन्ट्याक्ट खेलमा त्यो हुनसक्छ । यो हाम्रो नेपालमा मात्र नभई संसारभर नै छ । त्यसैले महिला टोलीसँग महिला प्रशिक्षक वा महिला म्यानेजर नै हुनुपर्छ भनेर हामीले पहल गरिरहेका छौं ।’