एमबाप्पेका लागि रियालको महंगो प्रस्ताब, पिएसजीद्धारा अस्विकार

पेरिस, (खेलाडी)- स्पेनिस ला लिगाको महारथी रियाल मड्रिडले फ्रान्सेली विश्वकप विजेता फरवार्ड किलियन एमबाप्पेका लागि गरेको १३ करोड ७० लाख युरोको प्रस्ताब उनको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले अस्विकार गरेको छ ।

पार्क डे प्रिन्सेसमा चार सिजन विताएका एमबाप्पे यो सिजनको अन्त्यसँगै पिएसजीसँगको सम्झौताबाट मुक्त हुँदैछन् । त्यसपछि उनले स्वतन्त्र सरुवा प्रणालीअन्तर्गत क्लबलाई कुनै पनि रकम नतिरी अन्यत्र जान पाउनेछन् । 

हालै मात्र बार्सिलोनाबाट अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीलाई भित्र्याएर आक्रामक पंक्तिलाई विश्वकै सबभन्दा चुस्त बनाएको पिएसजीमा एमबाप्पेले सम्झौता नवीकरण नगर्ने संकेत गरिसकेका छन् । पिएसजीको अग्रपंक्तिमा मेसीको आगमनअघि नै एमबाप्पेसँगै नेइमारको पनि उपस्थिति थियो । 

पिएसजीका अध्यक्ष नासीर अल खालिफीले एमबाप्पेलाई विक्री गरेर क्लबले पैसा कमाउन नचाहेकोमा जोड दिएका छन् । गत साता प्रशिक्षक माउरिसियो पोचेटिन्होले पनि पनि एमबाप्पे पेरिसमै बसेको हेर्ने चाहना व्यक्त गरेका थिए । 

तर स्पेन र फ्रान्सका विभिन्न सञ्चार माध्यमले ठूलो मुल्यमा भए पनि एमबाप्पे भित्र्याउन रियालले औपचारिक रुपमै प्रयास थालेको समाचारहरु प्रकाशित गरेका छन् । 

समाचारहरुमा जनाइएअनुसार रियालको प्रारम्भिक प्रस्ताब पिएसजीले अस्विकार गरेको छ । तर पिएसजी एमबाप्पेलाई २० करोड युरोभन्दा माथिको रकममा भने बेच्न तयार छ ।

पिएसजीले अहिलेसम्म नेइमारलाई भित्र्याउन बार्सिलोनालाई तिरेको १९ करोड युरो क्लब इतिहासको सबभन्दा महंगो सरुवा हो । त्यसपछि एक सिजन लोनमा रहिसकेका एमबाप्पेलाई २०१८ मा मोनाकोबाट स्थायी रुपमा भित्र्याउँदा तिरेको १६ करोड ६० लाख युरो दोस्रो महंगो सरुवा रकम हो । एमबाप्पेका लागि रियालको प्रस्ताब मानेको भए त्यो क्लबको तेस्रो ठूलो रकमको सरुवा हुने थियो । 

एमबाप्पेले पिएसजीका लागि सबैखाले प्रतियोगितामा गरी १ सय ७४ खेल खेल्दै १ सय ३३ गोल गरेका छन् । यसक्रममा उनले लिग वानको महारथीबाट तीन घरेलु लिगका साथै कुल १० उपाधि जितेका छन् । 

२०१७ को सेप्टेम्बरमा पिएसजीको टोलीबाट डेब्यु गरेका एमबाप्पे युरोपका शीर्ष पाँच लिगका खेलाडीमध्ये त्यो समयमा सर्वाधिक गोल गर्ने स्टाइकरको सुचीमा क्रिस्टियानो रोनाल्डो (१४४), लियोनेल मेसी (१६२) र रोबर्ट लेवान्डोवस्की (१८२) भन्दा मात्र पछि छन् । 

२२ वर्षे फरवार्डले यस क्रममा आफ्ना सहयात्रीलाई ५८ गोलको लागि अवसर जुटाइदिएका छन् । यो समयमा च्याम्पियन्स लिगमा एमबाप्पेले ३७ गोल गरेका छन् । उनीभन्दा बढि लेवान्डोवस्की (३९) मात्र छन् ।