पुछारको आल्भेससँग साविक विजेता एट्लेटिको पराजित

मड्रिड, (खेलाडी)- इन्जुरी समयमा गोल गर्दै भ्यालेन्सियाले शनिबार १० जनामा सिमित भएर अन्त्य गरेको खेलमा एथ्लेटिक बिल्बाओसँग १-१ को बराबरी नतिजा निकालेको छ । 

स्पेनिस ला लिगाको खेलमा मध्यान्तरपछि दुई गोल र एक रातो कार्ड देखिँदा भ्यालेन्सिया घरेलु मैदानमा हारबाट जोगिएको थियो । 

६९औं मिनेटमा इनिगो मार्टिनेजको गोलमा भ्रभणकारी बिल्बाओले खेलमा अग्रता लिएको थियो । समय सकिन आठ मिनेट बाँकी रहँदा भ्यालेन्सियाका म्याक्सिमिलियानो गोमेज दोस्रो पहेलो कार्डसँगै रातो कार्ड दर्शन गर्दै मैदानबाट बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा सिमित भयो ।

तर विपक्षी टोलीमा एक खेलाडी कम भए पनि बिल्बाओले अग्रता जोगाउन सकेन । भ्यालेन्सियाका लागि इन्जुरी समयको पाँचौं मिनेटमा बैकल्पिक खेलाडी मार्कुस डी सौसाले गोल गर्दै एक अंक दिलाए । 

स्पेनिस ला लिगामा शनिबारै भएको अर्को खेलमा पुछारको टोली डेर्पोटिभो आल्भेसले साविक विजेता एट्लेटिको मड्रिडमाथि १-० को जित हासिल गरेको छ ।

घरेलु मैदानमा चौथो मिनेटमै भिक्टर लागुर्डियाले गरेको गोल आल्भेसलाई सिजनको पहिलो जितका साथ पुछारबाट एक स्थान माथि उक्लिन पर्याप्त भयो । 

हारपछि एट्लेटिको भने सात खेलमा १४ अंकका साथ तेस्रो स्थानमा सीमित भएको छ । यसैगरी ११ अंकका साथ भ्यालेन्सिया पाँचौं तथा १० अंक जोडेको बिल्बाओ सातौं स्थानमा छन् ।