Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

कोहलीको बेङलोरलाई धोनीको चेन्नईले हरायो

दुबई, (खेलाडी)- रोयल च्यालेन्जर्स बेङलोरमाथि ६ विकेटको जित हासिल गर्दै चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

नौ खेलमा १४ अंक जोडेको चेन्नई रनरेटमा दिल्ली क्यापिटल्सलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । भारतीय राष्ट्रिय टोलीका कप्तान विराट कोहलीको बेङलोर भने नौ खेलमा १० अंकका साथ तेस्रो स्थानमा छ ।

 टस हारेर पहिला ब्याटिङ गरेको बेङलोरले कप्तान कोहली र ओपनर देवदत्त पाडिकलको उत्कृष्ट प्रदर्शनमा पूरा २० ओभर खेल्दै ६ विकेटको क्षतिमा एक सय ५६ रनको योगफल बनाएको थियो ।

ओपनरद्वय कोहली र पाडिकलले पहिलो विकेटका लागि १ सय ११ रनको साझेदारी गर्दै बेङलोरलाई विशाल योगफलतर्फ डोहोर्याएका थिए । तर कोहली र पाडिकल पवेलियन फर्किएपछि बेङलोरको इनिङ धरासायी बनेको थियो । 

कोहलीले ४१ बलमा ६ चौका र एक छक्का मद्दतमा ५३ रन प्रहार गर्दा पाडिकलले ५० बलमा पाँच चौका र तीन छक्काको मद्दतमा ७० रन जोडे । टोलीका लागी एबी डी भिलियर्सले १२ र ग्लेन म्याक्सवेलले ११ रन जोडे । बेङलोरका अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

चेन्नाईका लागि प्लेयर अफ दी म्याच ड्वायन ब्राभोले तीन र शार्दुल ठाकुरले दुई विकेट लिए ।

जवाफमा एक सय ५७ रनको लक्ष्य लिएर ब्याटिङ गर्न आएको भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीको चेन्नईले निर्धारित २० ओभरको ११ बल बाँकी रहँदा चार विकेटको क्षतिमा लक्ष्य हासिल गर्यो ।

टोलीका लागि ऋतुराज गाइकवार्ड र फाफ डू प्लेसीले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए । गाइकवार्डले २६ बलमा चार चाैका  र एक छक्कासहित ३८ रन बनाउँदा डू प्लेसीले समान २६ बलमा दुई चौका र दुई छक्कासहित ३१ रनको योगदान गरे ।

ओपनिङ जोडीले बनाएको आधारलाई त्यसपछि ब्याटिङ गर्न आउनेले जोगाउँदा चेन्नई सहज जितको हकदार बन्यो । 

चेन्नईका अम्बाती राइडुले ३२ तथा मोइन अलीले २३ रन बनाए भने सुरेश रैनाले १७ र धोनीले ११ रनको योगदान गरे । राइडुले २२ बलमा तीन चाैका र एक छक्का प्रहार गरेका थिए भने १८ बल खेलेका अलीले दुई छक्का हाने । यसैगरी अविजित रहेका रैनाले १० बलमा दुई चौका र एक छक्का तथा धोनीले नौ बलमा दुई छक्का प्रहार गरेका थिए । 

बेङलोरका लागि हर्षल पटेलले दुई तथा युजभेन्द्र चहल र ग्लेन म्याक्सवेलले एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

\