इङल्यान्डका खेलाडीलाई कुनै विशेष सुबिधाको व्यवस्था गर्न सकिन्न : मोरिसन

सिड्नी, (खेलाडी)-  अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले एसेस शृंखला दौरान इङल्यान्डका खेलाडीका लागि कुनै विशेष सुबिधाको व्यवस्था नगरिने जनाएका छन् ।

एसेस शृंखलामा इङलिस खेलाडीले के कस्तो विशेष सुबिधा पाउछन् भन्ने इङल्यान्डका प्रधानमन्त्री बोरिस जोनसनको प्रश्नमा मोरिसनले यस्तो जवाफ दिएका हुन् ।

एसेस शृंखला डिसेम्बर ८ बाट हुदैछ । इङल्यान्डका केही खेलाडीहरुले अस्ट्रेलियामा कोभिड १९ को कडा मापदण्डका कारण भ्रमण असहज हुने भएकाले भ्रमण टोलीबाट नाम फिर्ता लिने तयारीमा छन् ।  

अस्ट्रेलियाले ८० प्रतिशत नागरिकलाई कोभिड १९ विरुद्धको भ्याक्सिन नदिएसम्म कुनै पनि हालतमा हाल लागु गरिएको कोभिड १९ सम्बन्धि स्वास्थ मापदण्ड नहटाउने अडान दोहो¥याउँदै आएको छ ।

मोसिरनले यो साता सम्म ५० प्रतिशत अस्ट्रेलियाली नागरिकले कोभिड १९ विरुद्धको भ्याक्सिन लगाइसक्ने दाबी गरे ।

मोरिसन र जोन्सनबीच वासिङटनमा भेटवार्ता भएको थियो । 

‘म एसेस शृंखला निर्बाद रुपमा अघि बढोस् भन्ने चाहन्छु', मोरिसनले भने, ‘तर इङलिस खेलाडीलाई विशेष सुबिधा प्रदान गरिने विषयमा सम्झौता गर्न सकिदैन । कोभिड १९ विरुद्धको भ्याक्सिन लगाएकाले सहजै अस्ट्रेलिया भ्रमण गर्न सक्छन् । खेलाडी खेल्नका लागि अस्ट्रेलिया आउन लागेका हुन्् । खेल्नु उनीहरुको धर्म हो । त्यसैले अस्ट्रेलिया भ्रमण गर्ने विदेशीले पालन गर्नु पर्ने नियम र उनीहरुले प्राप्त गर्ने सुबिध समान नै हुनेछ । '