मेसी र नेइमारलाई आराम दिइएको खेलमा पिएसजी विजयी

पेरिस, (खेलाडी)- पेरिस सेन्ट जर्मन (पिएसजी) ले लियोनेल मेसी र नेइमारविना अर्को एक खेल खेल्दा फ्रान्सेली लिग वानको खेलमा शुक्रबार राति ब्रेस्टमाथि ४-२ को जित हासिल गरेको छ ।

किलियन एमबाप्पेले गोल गरेको खेलमा पिएसजीलाई जित दिलाउन एन्डर हरेराले नायकको भूमिका निर्वाह गरे । टोलीका लागि पहिलो गोल आफै गरेका हरेराले तेस्रो गोलका लागि इद्रिसा गाना गुइयेलाई अवसर मिलाएका थिए ।

२३औं मिनेटमा एकल प्रयासमा गोल गर्दै हरेराले पिएसजीलाई अग्रता दिलाएका थिए । फ्रान्सेली अन्तर्राष्‍ट्रिय स्टाइकर एमबाप्पेले ३६औं मिनेटमा पिएसजीको अग्रता दोब्बर पारे । 

मध्यान्तर हुन तीन मिनेट बाँकी रहँदा फ्रयांक होनोराटले गोल गर्दै ब्रेस्टलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर दोस्रो हाफमा पनि ब्रेस्टले एक गोल गर्दा पिएसजीले दुई गोल थप्दै सहज जित पक्का गर्‍यो । 

७३औं मिनेटमा गुइयेले गोल गर्दै पिएसजीको अग्रता ३-१ ले फराकिलो पारे । समय सकिन पाँच मिनेट बाँकी रहँदा स्टिभ माउनीले ब्रेस्टका लागि अर्को गोल फर्काए । तर इन्जुरी समयमा अचरफ हाकिमीको पासलाई गोलमा परिणत गर्दै एन्जेल डी मारियाले पिएसजीको सहज जित पक्का गरे । 

प्रशिक्षक माउरिसियो पोचेटिन्होले पूर्ण फिट्नेस हासिल गर्नका लागि भन्दै मेसी र नेइमारलाई शुक्रबारको खेलमा पनि आराम दिएका थिए । हालै मात्र लामो समयको बार्सिलोना बसाईमा पूर्णविराम लगाउँदै मेसी पिएसजी आएका थिए । तर उनी अहिलेसम्म नयाँ क्लबको जर्सीमा मैदान उत्रिएका छैनन् ।