ती म्याराडोना, यी मेसी 

अघिल्लो आइतबार एरिना कोरिन्थियन्स लथालिंग देखियो । त्यहाँको माहोल नियन्त्रणमा ल्याउन कोही अघि सर्नुपर्ने थियो । अघि सरे लियोनल मेसी । उनी मैदानको एउटा भागबाट अर्को भागमा पुगे बिनाजर्सी । 

फोटोग्राफरको भेस्ट/पोसाक लगाएका अर्जेन्टिनाका कप्तान मेसी ब्राजिलियन अधिकारीहरूसँग कुरा गरिरहेको देखिन्थे । उनको एउटै उद्देश्य थियो, आफ्ना टिमका चार खेलाडी ब्राजिलियन अधिकारीको नियन्त्रणमा नपरुन् । ती खेलाडीहरूमाथि आरोप थियो, क्वारेन्टाइनबाट मुक्त हुन बेलायतबाट त्यहाँ पुगेको सूचना लुकाएको । 

एरिना कोरिन्थियन्समा के भइरहेको हो ? मेसी यसको प्रश्नको जवाफको खोजीमा थिए । दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलो खेल रोकिँदा मेसी आक्रोशित देखिन्थे । ‘पूरै विश्वले यो खेल हेरिरहेको छ कि खेल सुरु गरौं कि त खेल रद्द गरौँ,’ मेसीले आफ्ना कुरा राखिरहे । अन्ततः उनले निर्णय लिए, नखेल्ने । उनीसँगै पूरै अजेन्टिनी टिम ड्रेसिङ रूम हानियो । 

सुरु भएको पाँच मिनेट बितेपछि ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप छनोट खेल स्थगित भयो । खेल त स्थगित भयो । तर, मेसीले आफू लिडर भएको पुनः प्रमाणित गरे । मैदानमा मात्र होइन, मैदानबाहिरका समस्यासँग जुध्न पनि उनी क्षमतावान देखिए । किनभने आइतबारको घटना मैदानभित्रबाट सिर्जित समस्या थिएन । 

लामो समयदेखि अर्जेन्टिनाको फुटबल एउटा बलियो लिडरको खोजीमा थियो । त्यो खोजीको अन्त्य भएको छ । किनभने अर्जेन्टिनासँग मेसी छन् । खासमा डिएगो म्याराडोनापछि अर्जेन्टिनासँग मैदानभित्र र बाहिर लड्ने खेलाडी नेता थिएन । 

यस्तोमा प्रश्न उठ्छ, के मेसी र म्याराडोनाबीच तुलना गर्न सकिन्छ ? तुलना गर्ने भए उनीहरूबीचको फरक के हो ? जबकि दुवै खेलाडी फुटबलका जादुगर हुन् । उस्तै प्रतिभावान छन् । खेल्ने शैली पनि लगभग उस्तै । उही दक्षिण अमेरिकी फुटबल वास्ना । 

कोलम्बियाका पूर्वप्रशिक्षक फ्रान्सिस्को माटुरानोले गज्जबको तुलना गरेका छन् । ‘मेसी मैदानमा हुँदा हामी उनको तारिफ गर्न सदैव तयार हुन्छौं । किनभने उनको खेल नै त्यस्तो छ । तर, म्याराडोना मैदानमा हुँदा हामी खुसी मनाउन तयार हुन्थ्यौं,’ माटुरानोले कुनै बेला भनेका थिए । 

‘म्याराडोना आफैंमा एक उत्सव हुन् । मेसी भने गम्भीर छन् । मेसीलाई विज्ञान भन्न मनलाग्छ । कहिलेकाहीं यस्तो लाग्छ मेसी सबैभन्दा वास्नादार अत्तर हुन् । म्याराडोनाले चाहिँ आफूलाई सधैं लिडरका रूपमा प्र्रस्तुत गरे । उनी सबैका मित्र थिए । उनी आफ्ना मित्रको रक्षामा उत्रन्थे । म्याराडोना र मेसीबीच ठूलो फरक छ । मुख्यतः स्वभावमै ठूलो फरक हो,’ माटुरानो थप्छन् । 

लामो समय मेसी चुपचाप रहे । खासै बोलेनन् । तर, सन् २०१९ मा उनले दिएको अभिव्यक्तिले विश्व फुटबल स्तब्ध भयो । ‘दक्षिण अमेरिकी फुटबल महासंघ भ्रष्ट छ,’ मेसीले ब्राजिलमा हुँदै गरेको कोपा अमेरिकाका क्रममा भनेका थिए । मेसी किन बेलाबेलामा आक्रोशित हुन्छन् ? किनभने उनी फुटबललाई माया गर्छन् । जसरी म्याराडोना फुटबल भनेपछि भुतुक्कै हुन्थे, मेसी पनि त्यस्तै छन् । फेरि उनी कसैबाट भएको अपमान सहँदैनन् । आफ्ना साथीहरूलाई ब्राजिलका स्वास्थ्य अधिकारीहरूले नियन्त्रणमा लिन खोजेपछि उनले प्रतिकार गरेका हुन् । 

मेसी सन् २०११ मा अर्जेन्टिनी कप्तान बने । त्यसअघि जाभियर मास्चेरानोको काँधमा टिमको कप्तानी थियो । कप्तानी मेसीका लागि छाडे पनि मास्चेरानो नै टिमका लिडरका रूपमा रहे । तर, सन् २०१८ को विश्वकपपछि अर्जेन्टिनाको टिममा व्यापक परिवर्तन भयो । मास्चेरानो लगायतका पाका खेलाडीले संन्यास लिए । लियोनल स्कालोनीले मेसीवरिपरि युवा टिम निर्माण गर्ने योजना बनाए । त्यसपछि त टिममा सबैभन्दा अनुभवी खेलाडी स्वतः मेसी नै रहे । 

मेसीले आफ्नो भूमिका राम्ररी निर्वाह गरेका छन् । युवा खेलाडीहरूले भरिएको टिममा सन्तुलन ल्याएका छन् । यही टिम कोपा अमेरिका च्याम्पियन बनेको छ । विश्वकप २०२२ का लागि छनोट हुन मेसी नेतृत्वको अर्जेन्टिनालाई खासै गाह्रो छैन । यतिमात्र होइन, अर्जेन्टिनाले विश्वकप जित्नसक्ने टिमको परिचय नै बनाएको छ ।   

हो, मेसी अझै पनि अर्जेन्टिनाका सबैभन्दा प्रतिभाशाली खेलाडी हुन् । अर्जेन्टिनालाई विश्वकपको सम्भावित विजेताका रूपमा लिइने मुख्य कारण पनि मेसी हुन् । तर, मेसीको परिचय यतिमै सीमित छैन । उनी टिमका लिडर हुन् । लिडर पनि ठिकठाक खेल्ने होइनन्, प्रत्येक खेलमा विश्वस्तरीय प्रदर्शन गर्ने लिडर । 

‘कोपा फाइनलअघि मेसीले आफ्नो कुरा राखे । उनले बोलेका सबै शब्द मलाई याद छैन । जब उनी बोल्न थाले, मेरा आखाँबाट आँसु झरे । उनको बोली, शब्द, व्यवहारमा तागत छ । उनी हाम्रा लिडर हुन् । सबै अर्थमा कप्तान हुन् । उनी हाम्रा लागि उदाहरण हुन् । हो, मानिसहरु उनलाई म्याराडोनासँग तुलना गर्न खोज्छन् । मेसी पनि ठूलो स्वरमा चिच्याउन्, मैदानमा झगडा गरुन् भन्ने चाहन्नन् । मेसी फरक छन् । मेसीले आफ्ना सहकर्मीलाई केही भन्नुपरे पर्दा पछाडि भन्छन्,’ अर्जेन्टिनाका फरवार्ड अलोसान्द्रो पापु गोमेजले आफ्ना कप्तानबारे भनेका छन् । 

सन् १९८० वा ९० को दशकमा अर्जेन्टिना म्याराडोनाको कप्तानीमा एकबद्ध थियो । अहिलेको अर्जेन्टिनी टिममा पनि उही मानसिकता छ । सबै खेलाडीबीच एकताको भावना छ । अनि सबैले मेसीलाई टिम लिडरका रूपमा स्विकारेका छन् । अर्जेन्टिनाका लागि खेल्न खेलाडीहरू कति आतुर छन् भन्ने त इमिलियानो मार्टिनेज र क्रिस्टियानो रोमेरो क्लबको सुझाव विपरीत विश्वकप छनोटका लागि राष्ट्रिय टिमको क्याम्प पुगेर देखाइसकेका छन् । 

बेलायत सरकारको कडा क्वारेन्टाइन नियम भएका कारण प्रिमियर लिगका क्लबहरूले आ–आफ्ना दक्षिण अमेरिकी खेलाडीलाई अन्तर्राष्ट्रिय ब्रेक दौरान राष्ट्रिय टिमबाट खेल्न अनुमति दिएको थिएन । तर मार्टिनेज र रोेमेरोले अर्जेन्टिनाबाट खेल्न रिस्क लिए र दक्षिण अमेरिका पुगे । 

अघिल्लो आइतबार मेसीले नेतृत्वदायी भूमिका नखेलेको भए अर्जेन्टिनाका रोमेरो र जियोभानी लो सेल्सो ब्राजिलियन अधिकारीहरूको नियन्त्रणमा पर्थे । अर्जेन्टिनाको प्लेइङ इलेभेनमा रही ब्राजिलविरुद्ध भिडिरहेका उनीहरूमाथि आरोप थियो, बेलायतबाट ब्राजिल आएको भन्ने सूचना लुकाएको । तर मेसीकै सक्रियताका कारण उनीहरू कारबाहीको भागिदार बन्नुपरेन । 

करिब तीन दशकपछि अर्जेन्टिनालाई अन्तर्राष्ट्रिय प्रतियोगिता जिताएका मेसीप्रति घरेलु समर्थकको पक्कै पनि सम्मान बढेको छ । स्टाडियो मोनुमेन्टलमा हुने जुनसुकै खेलमा पनि मेसीको नाममा नारा लाग्नेछ । समर्थककले सिठी फुक्नेछन् । यस्तो नारा फगत नारामात्र होइन, यो त आफ्नो टिम लिडरप्रतिको स्नेह हो । जो म्याराडोनाले जस्तै सारा अर्जेन्टिनीको भार आफ्नो काँधमा बोक्न तयार भएका छन्  ।