पूर्वअध्यक्ष जोशीको स्मृतिमा बुद्धिचाल प्रतियोगिता हुने

काठमाडौं, (खेलाडी)- नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष राजेशहरि जोशीको स्मृतिमा खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता भदौको तेस्रो सातादेखि हुने भएको छ ।

ललितपुर स्पोर्टस क्लबको आयोजनामा भदौ २२ देखि २६ गतेसम्म पूर्वअध्यक्ष राजेशहरि जोशीको स्मृतिमा प्रतियोगिता हुन लागेको हो । विश्‍व बुद्धिचाल महासंघ (फिडे) अन्तर्गत इथिक्स कमिसनका सदस्य तथा सहकारी अभियान्ता जोशीको गत जेठमा ह्‍दयघातका कारण निधन भएको थियो ।

स्वीस लिग पद्दतिअनुसार हुने प्रतियोगितामा खुलातर्फको विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पाउनेछन् । महिलातर्फ विजेताले १० हजार, दोस्रो हुनेले ८ हजार र तेस्रो हुनेले ६ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । 

त्यसैगरी अनरेटेड, भेट्रान र विभिन्‍न समूहमा गरी ३८ जना खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक ललितपुर स्पोर्टस क्लबका अध्यक्ष हेराकाजी महर्जनले जानकारी दिए ।

कोभिड १९ को महामारीका कारण सामाजिक दूरी कायम राख्दै सय जना खेलाडीलाई मात्र प्रतियोगितामा सहभागि गराइने आयोजकले जनाएको छ ।