सनाकाको नेतृत्वमा श्रीलंकन टोलीको घोषणा

कोलम्बो, (खेलाडी)- निरोसन डिकवेला, कुशल मेन्डिस र धनुस्का गुणतिलकालाई बाहिर राख्दै श्रीलंका क्रिकेटले अर्को महिना युनाइटेड अरब इमिरेट्स (युएई) र ओमानमा हुने ट्वान्टी २० विश्वकपका लागि दसुन सनाकाको नेतृत्वमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । 

डिकवेला, मेन्डिस र गुणतिलकाले इङ्ल्यान्ड भ्रमणका बेला कोभिड १९ रोकथामका लागि बनाइएको नियम उल्लंघन गरेपछि एक वर्षको प्रतिबन्धमा परेका थिए । यद्पी हालैमात्र चोटबाट मुक्त भएर फर्किएका कुशल परेरालाई भने टोलीमा समेटिएको छ । 

श्रीलंकन टोलीमा सनाका र परेरासँगै धनन्जय डी सिल्भा, दीनेश चन्डिमल, अभिस्का फर्नान्डो, भानुका राजापाक्षे, चरिथ असालान्का, वनिन्दु हसारंगा, कमिन्दु मेन्डिस, चमिका करुणारत्ने, नुवन प्रदीप, दुस्मन्था चामरा, प्रभिन जयाविक्रमा, लनिरु मदुसंका र महेस थिक्सना छन् । 

श्रीलंकाले वैकल्पिक खेलाडीको रुपमा लनिरु कुमारा, विनुरु फर्नान्डो, अकिला धनन्जय र पूलिना थारंगालाई टोलीमा राखेको छ । 

युनाइटेड अरब इमिरेट्स (युएई) र ओमानमा हुने प्रतियोगिताको समुह ‘ए’ मा रहेको श्रीलंकाको पहिलो खेल १८ अक्टोबरमा नामिबियाविरुद्ध छ । यो समूहमा श्रीलंका र नामिबियासँगै आयरल्यान्ड र नेदरल्यान्ड्स छन् ।