भारतीय प्रधानमन्त्रीले चाहेमा कुनै पनि बेला पिसिबी आर्थिक संकटमाः राजा

इस्लामबाद, (खेलाडी)- पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का प्रमुख रमिज राजाले बिहीबार आफ्नो संघमा भारतीय क्रिकेट बोर्ड (बिसीसीआइ) को ठूलो प्रभुत्व रहेको बताएका छन् । 

हालैमात्र बोर्डको प्रमुखमा नियुुक्त भएका राजाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चाहे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट पिसिबीले प्राप्त गर्दै आएको आर्थिक सहायता बन्द हुने र आफूहरु पतनको बाटोमा जाने खतारा औंल्याए । 

'पिसिबीले आइसिसीबाट ५० प्रतिशत आर्थिक सहायता प्राप्त गर्दै आएको छ । यता आइसिसीले भने ९० प्रतिशत सहायता बिसिसीआइबाट पाउँछ,' राजाले भने,  'कुनै दिन मोदीले आइसिसीलाई पिसिबीलाई दिइदै आएको आर्थिक सहायता रोक्न निर्देशन दिए भने हामी आर्थिक संकटमा पर्छौ । त्यो भनेको पतनको बाटो हो ।'

गत साता राजाले पाकिस्तानी क्रिकेट पूर्ण रुपमा आइसिसीमाथी निर्भर रहेको र कुनै कारणले सो रकम रोकिएमा पिसिबीले गम्भीर आर्थिक संकटको सामना गर्नुपर्ने बताएका थिए ।