Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

लुकाकुको दुई गोलमा बेल्जियमको फराकिलो जित

तालिन, (खेलाडी)- रोमेलु लुकाकुले दुई गोल गरेपछि सुरुमै पछि पर्नाका बावजुद बेल्जियमले गए राति इस्टोनियामाथि ५-२ को जित हासिल गरेको छ । 

कतार विश्वकप २०२२ अन्तर्गत युरोपियन छनोटको समूह ‘इ’को खेलमा गए राति फिफा विश्व वरियताको शीर्ष टोली तेस्रो मिनेटमै पछि परेको थियो । वरियताक्रमको १ सय १०औं स्थानमा सिमित रहेको इस्टोनियाका लागि माटियास केइटले गोल गर्दै अग्रता दिलाएका थिए । 

तर युरो २०२० को क्वार्टरफाइनलमा इटालीसँग पराजित भएपछि पहिलो पटक प्रतिस्पर्धात्मक खेल खेल्ने क्रममा रहेको बेल्जियमले हान्स भानाकेनको हेड तथा लुकाकुको छरितो गोलमार्फत पहिलो हाफमै गतिलो जवाफ फर्कायो । 

भानाकेनको पासमा गोल गर्दै ५२औं मिनेटमा लुकाकुले बेल्जियमलाई ३-१ ले अघि बढाए । एलेक्स विट्सेलले ६५ तथा थोमस फोकेटले ७६औं मिनेटमा बेल्जियमका लागि थप दुई गोल गरे । 

इरिक सोर्गाले समय सकिन सात मिनेट बाँकी रहँदा इस्टोनियाका लागि अर्को सान्त्वना गोल फर्काए । 

गए रातिका नतिजापछि चार खेलमा १० अंक जोडेको बेल्जियम समूहको शीर्ष स्थानमा कायम रहँदा अर्को खेलमा बेलारुसमाथि १-० को जित हासिल गरेको चेक गणतन्त्र दोस्रो स्थानमा छ । दुई खेलमा तीन अंक जोडेको वेल्स तेस्रो तथा तीन खेलमा तीन अंक बटुलेको बेलारुस चौथो स्थानमा छन् । इस्टोनियाले अंकको खाता खोल्न सकेको छैन । 

प्रतिक्रिया दिनुहोस

\