बराबरीका बावजुद फ्रान्सको शीर्षता कायम

पेरिस, (खेलाडी)- बोस्निया एन्ड हर्जगोभिनासँग बराबरीमा रोकिए पनि फ्रान्सले विश्वकप २०२२ को छनोट अन्तर्गत समूह ‘डी’ को शीर्ष स्थानमा पकड कायम राखेको छ ।

विश्वकपको युरोपेली छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रान्स र बोस्निया एन्ड हर्जगोभिनाले १-१ को बराबरी खेलेका थिए । 

३६औं मिनेटमा इडेन जेकोले गरेको गोलमा बोस्निया एन्ड हर्जगोभिनाले अग्रता लिएको थियो । ४०औं मिनेटमा एन्टोनियो ग्रिजम्यानले फ्रान्सलाई खेलमा फर्काए । 

५१औं मिनेटमा जियुल्स कोन्डेले रातो कार्ड दर्शन गर्दै मैदानबाट बाहिरिएपछि फ्रान्सले १० खेलाडीमा सिमित हुदै खेलको अन्त्य गरेको थियो ।

समूहमा फ्रान्स आठ अंकका साथ शीर्ष स्थानमा छ । समान चार खेलमा चार अंकका साथ युक्रेन दोस्रो स्थानमा छ भने फिनल्यान्ड, बोस्निया एन्ड हर्जगोभिना र काजकिस्तान समान २ अंकका साथ तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।

समूहमा मंगलबारै भएको अर्को खेलमा यूक्रेन र काजकिस्तानले २-२ को बराबरी खेले ।