मोनालिसा खम्बु

चेसमा मोनालिसाको आरोह-अवरोह

मोनालिसा खम्बु नेपाली बुद्धिचाल खेलले पाएको अमूल्य खेलाडीमध्ये एक हुन् । सन् २००६ देखि उमेर समूहको प्रतियोगिताबाट बुद्धिचाल (चेस) खेल्न सुरु गरेकी मोनालिसाले त्यसयता कहिल्यै आफ्नो जीवनलाई पछाडि फर्केर हेर्नुपरेन ।

११–१२ वर्षको उमेरदेखि नै चेससँग गहिरो सम्बन्ध बनाएकी मोनालिसाले चेस ‘च्याम्पियन’को ट्याग नै लिएकी छन् । तर, भनिन्छ नि समय सधैं एकनासको हुँदैन, मान्छे र उसको साथ एकैनासको रहँदैन ।

सानै उमेरदेखि च्याम्पियन बनेर त्यो प्रतिष्ठा कमाएकी मोनालिसा करियरको राम्रो स्तरमा पुग्दा नै १९–२० वर्षको उमेरबाटै साथ पाउन छोडिसकेकी थिइन् वा भनौं उनका खुट्टा तान्न थालिसकेका थिए ।

जुन कुराले उनको कलिलो मानसपटलमा गहिरो र कहिल्यै मेट्न नसक्ने छाप छोड्यो । जसका कारण उनी बिरलै मात्र प्रतियोगितामा सहभागी हुन थालिन् ।

‘त्यो बेलामा तिमीले अब अरूलाई पालो दिनुपर्छ, तिमी कति खेल्छौं अरूलाई पालो देउ भन्ने सुन्दै आएको थिएँ । अहिले मलाई सिनियरले निरुत्साहित गरेको रहेछ भन्ने लाग्छ । त्यसले गर्दा पहिलाको जस्तो खेल्न मन लाग्न छाड्यो,’ मोनालिसाले तीतो अनुभव सुनाइन्, ‘त्यसैले कहिलेकाहीं मात्र खेल्थें, फस्र्ट नै हुन्थें तर कहिल्यै खुसी लागेन ।’

पहिलो पटक सन् २००८ मा खेलेको राष्ट्रिय च्याम्पियनसिप र २००६ मा खेलेको एसियाली खेलकुदपछि उनको खुसी नै रोकियो । उनले जति पनि सफलता पाइन्, त्यसले कहिल्यै सन्तुष्टि दिएन ।

‘प्रतियोगिताहरू खेलें, उपाधि पनि जितें तर, त्यसले कहिल्यै सन्तुष्टि दिएन । त्यो बेलामा मैले कोही–कसैबाट पनि साथ पाइनँ,’ उनले दुखेसो पोखिन् ।

कतिपय प्रतियोगितामा सहभागिता जनाउन जाँदा उनको मनै खिन्न हुने गर्दथ्यो ।

‘चिनेका साथी, भाइबहिनी माथि–माथि बढ्दै आउँछन् । म सधैं एउटै ठाउँमा । निकै नरमाइलो लाग्थ्यो । प्रतियोगिता खेल्न जाँदा पनि लाज लाग्ने गथ्र्याे । आफूलाई थाहा छ आफ्नो स्तर बढेको छैन,’ उनले सुनाइन्, ‘खेलाडीलाई सफलता दिलाउनका लागि तलैदेखि जानुपर्यो । एउटा स्तरसम्म आइपुग्दा संघ, सरकारको पनि दायित्व बन्छ उसलाई कसरी अझ राम्रो बनाउने हो, तर त्यो खड्कियो ।’

उनले चाहेका प्रतियोगितामा पनि प्रतिस्पर्धा गर्न रोक लगाइएका नमीठा पल अझै उनको मनमा ताजै छ ।

‘धेरै प्रतियोगितामा मलाई सहभागिता जनाउन दिइएको थिएन । सधैं मोनाले जित्छ अरूलाई पनि पालो दिनुपर्छ भन्ने गर्दथे,’ उनले भनिन् ।

मोनालिसाले सन् २०१५ मा २२–२३ वर्षको हुँदा सदस्य पदमा निर्वाचित हुँदै संघमा पाइला टेकिन् । जसको एकमात्र उद्देश्य थियो महिला खेलाडीको संरक्षण गर्ने र उनीहरूको हकमा बोल्ने ।

त्यसकारण उनले प्रतियोगितामा सहभागिता जनाउन धेरै कम गरिसकेकी थिइन् । त्यसैले खेलाडीको मर्म र समस्यालाई लिएर संघमा कुरा उठाउने गर्थिन् । तर, आफैं विवादमा तानिइन् ।

तर, उनले हार मानिनन् । मोनालिसाले  सन् २०१५ मा २२–२३ वर्षको हुँदा सदस्य पदमा निर्वाचित हुँदै संघमा पाइला टेकिन् । जसको एकमात्र उद्देश्य थियो महिला खेलाडीको संरक्षण गर्ने र उनीहरूको हकमा बोल्ने ।

सातौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मी क्लबबाट प्रतिनिधित्व गरेकी मोनालिसाले जितेको अन्तिम स्वर्ण पदक बन्यो । संघको सदस्यमा एक कार्यकाल बिताएकी मोनालिसाले महिला विभागमा प्रमुखका रहेर पनि काम गरिसकेकी छन् । तर, आफूले लिएको लक्ष्य भने पूरा गर्न नसकेको उनलाई महसुस हुन्छ ।

‘संघभित्र जे गर्छु भनेर आएको थिएँ, एक्लैले नसकिने रहेछ । टिम चाहिने रहेछ । टिमको एउटै लक्ष्य, सोच भयो भने पूरा हुन्छ,’ उनले भनिन्, ‘म पहिलाभन्दा केही राम्रो स्थानमा छु र मसँग त्यो शक्ति छ । तर, यसमा टिमले साथ दिन्छ, मैले सोचेर मात्रै केही हुँदैन । मैले केबल नराम्रो निर्णय लिन, यस्तो गर्नुपर्छ भनेर कुरा राख्न र प्रस्ताव गर्न सक्छु ।’

खेल र पढाइलाई सँगै लगेकी मोनालिसाले टाइम्स कलेजबाट विज्ञान विषयमा माध्यमिक शिक्षा, गोल्डेनगेट कलेजबाट बी–टेक र अर्थशास्त्रमा स्नाताकोत्तर सकिसकेकी छन् ।

संघको सचिवमा निर्वाचित भए पनि उनलाई यो पदले खुसी भने दिन सकेको छैन । सानैदेखि जुनसुकै क्षेत्रमा पनि प्रथम हुँदै आएकी मोनालिसालाई आफू चेसका लागि नै बनेको भन्ने लाग्छ । तर, प्रश्न उठ्छ किन म नै सबै कुरामा प्रथम हुनुपर्ने ? किन अरू महिला खेलाडी भएनन् ?

‘मान्छेले खाली नतिजामात्र हेर्छ । नतिजा राम्रो र नराम्रो आउनुमा भित्री पक्ष के छ ? के भइरहेको छ ? भन्ने हेर्दैन । त्यसैले महिला खेलाडीको कुरा बुझ्न महिला नै हुनुपर्छ भन्ने मलाई लाग्छ,’ मोनालिसाले भनिन्, ‘प्रतियोगिताका क्रममा मैले यस्ता धेरै समस्याहरू देखें । साथी तथा जुनियरहरूले भोगेका देखें । त्यसैले संघमा महिला नै हुनुपर्छ भन्ने लाग्यो ।’

आफूले भोगेका कुरा आउँदो खेलाडीले भोग्न नपरोस् भनेर नै उनी संघमा आएको  बताउँछिन् ।

‘त्यो बेलामा मलाई पनि ह्यारेसमेन्ट भएको रहेछ । मलाई पनि मान्छेहरूले ‘एब्युस’ गरेका रहेछन् भन्ने लाग्छ । त्यसैले चेसमा मात्र नभएर सबै खेलमा सम्बन्धित निकायले ‘एन्टी ह्यारेसमेन्ट गाइडलाइन’ बनाउनुपर्छ जस्तो लाग्छ,’ मोनालिसा भन्छिन्, ‘त्यसो हुँदा विशेषगरी महिला खेलाडीहरू खेलमा आउन, लामो समय टिकिरहन र परिवारबाट खेल्नमा रोक हुँदैन जस्तो लाग्छ ।’

भारतको चेन्नईमा जुलाई २८ देखि अगस्ट ९ सम्म आयोजना भएको ४४औं चेस ओलम्पियाडमा पहिलोपल्ट नेपालबाट महिला निर्णायकको भूमिका निर्वाह गरेर आएकी मोनालिसाले यो सफलताले पनि खुसी दिएको छैन । ‘कारण उही म नै किन पहिलो भएँ ? यस अगाडि किन कोही भएनन् ?’ उनको मनमा लागिरहन्छ ।

चेससँग मोनालिसाको नाता

सन् २०१३ मा २१ वर्षमै आर्बिटरको भूमिका पाइसकेकी मोनालिसाले संयोगवश चेस खेल्न सुरु गरेकी थिइन् । दसैं छुट्टीको समयमा उनकी दिदी (ठूलो ममीको छोरी बिना राई) ले घरभित्रै बसेर खेल भनेर चेस बोर्ड दिएकी थिइन् । त्यो चेसप्रति उनको पहिलो पाइला थियो ।

त्यतिबेला मोनालिसा गोंगबुको नर्थ प्वाइन्ट स्कुलमा कक्षा ८ मा पढ्थिन् । चेस खेल भनेर दिदीले बोर्ड दिए पनि उनलाई खेल्न आउँदैनथ्यो । उनका भाइले खेल्न सिकाए । त्यहीं बिदाको बेलामा सधैं उही खेल खेल्ने र आफूले हारेपछि जित्नका लागि खेल्दा–खेल्दै बानी बस्यो ।

यतिसम्म उनलाई बानी बस्यो कि स्कुल जाँदा पनि झोलामा कागजको चेस बोर्ड बनाई लिएर जान्थिन् । र, छुट्टी भएपछि साथीलाई खेल्न आग्रह गर्थिन् । उनको त्यो बानीले उनका साथीहरू पनि ‘इरिटेट’ भएका रहेछन् । जुन कुरा अहिले उनलाई सुनाउँछन् ।

मोनालिसालाई त्यतिबेला चेसको यति धेरै लत लागिसकेको थियो कि चेस खेल्नका लागि नै उनले गणित विषयको ‘ट्युसन’ कक्षा लिएकी थिइन् । कारण, त्यहाँको माहोल मन परेर ।

त्यो ‘ट्युसन’मा कक्षाका शीर्ष विद्यार्थीहरू आउँथे । त्यहाँ पढेपछि अझ राम्रो बन्ने गर्थे । त्यसैले उनले त्यहाँ पढ्नका लागि आमा–बुवालाई फकाइन् । साथै उनले त्यहाँ चेस खेल्नका लागि साथी पनि पाएकी थिइन् । उनको चेस खेल्न पार्टनर थिए ट्युसन पढाउने शिक्षक महेन्द्र ढकाल ।

मोनालिसाले ट्युसनमा दिएको होमवर्क चाँडै सक्थिन्, चाँडै सक्यो भने धेरै समय चेस खेल्न पाइन्छ भन्ने उनलाई थाहा थियो ।

११–१२ वर्षको हुँदा कक्षा ९ मा पढ्दै गरेकी मोनालिसाले पहिलो पटक इन्टर स्कुल प्रतियोगितामा सहभागिता जनाएकी थिइन् । उनी र उनको साथीको जोडी नै प्रथम भयो । जसले गर्दा अरू प्रतियोगिता खेल्न जाने अवसर मिल्यो । त्यसपछि अन्तरस्कुल अन्नपूर्ण खुला चेस प्रतियोगितामा पनि विजयी भइन् ।

त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । उनी सन् २००६ मा दोहा, कतारमा भएको १५औं एसियन गेम्समा प्रतिस्पर्धा गर्न गइन् । राम्रो नतिजा निकाल्न नसके पनि उनको प्रदर्शनको भने खुबै तारिफ भएको थियो ।

‘मलाई कहिल्यै हार्न मन लाग्दैन । त्यसको लागि अभ्यास, तयारी कति गर्ने भनेर होमवर्क गर्थे । जसरी हुन्छ आफ्नो पोजिसन मेन्टेन गर्नुपर्छ भन्ने सधैं लाग्थ्यो,’ उनले भनिन् ।

एसियाड खेल्ने पहिलो महिला खेलाडी बनेकी १३ वर्षीया मोनालिसाको त्यो समयमा निकै चर्चा चलेको थियो । उनले हासिल गरेको सफलता मनाउन स्कुलले एकदिन छुट्टी दिएको थियो । एयरपोर्टमा बिदाइ गर्न स्कुलले नै ४–५ वटा गाडी लगेर गएको तथा त्यो बेलामा बिदाइ गर्दा खादाले पुरिएको सम्झना अझै उनको मनमा ताजै छ । उनी भन्छिन्, ‘सायद अब मेरो जीवनमा त्यस्तो त कहिल्यै हुन्न होला । कुनैबेला त्यसरी खादाले मान्छे पुरेको देख्दा आफ्नो याद आउँछ ।’

‘जब मैले खेल्न सुरु गरेको थिएँ, साथीभाइसँग हार्थे । तर, प्रतियोगितामा सहभागिता जनाउन लागेपछि कहिल्यै हार्नुपरेन । सधैं प्रथम नै भइरहें,’ उनले भनिन्, ‘यो सफलताबाट मैले पाएको सम्मान, चर्चापछि आफ्नै साथीभाइ, सरलगायतको व्यवहार फरक भयो ।’

त्यसपछि उनले महन्त ममोरियल अन्तरस्कुल चेस प्रतियोगितालगायतको प्रतियोगितामा स्वर्ण पदक जितिन् । सन् २००८ मा भएको १५औं राष्ट्रिय चेस प्रतियोगितामा प्रथम, २०१३ मा भएको तेस्रो राष्ट्रिय महिला चेस प्रतियोगितामा रजत पदक र २०१६ मा भएको चौथो राष्ट्रिय महिला चेस प्रतियोगितामा कांस्य पदक जितेकी थिइन् ।

सन् २००९ मा भारतमा भएको एसियन टिम च्याम्पियनसिप, २०१० मा चीनमा भएको १६औं एसियन गेम्स, २०११ मा भारतमा भएको तेस्रो ओपन चेस टुर्नामेन्टलगायत उनले सन् २०१८ सम्ममा १२ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् ।

तस्वीर सौजन्य: मोनालिसा खम्बु ।