राजेश शाही

फरक भूमिकाबाट फर्कंदै राजेश

काठमाडौं । मनाङ मर्स्याङदी नेपाली फुटलबको सबैभन्दा सफल फुटबल क्लब हो । शीर्ष डिभिजनको सहिद स्मारक लिग मनाङले जति अरू कुनै पनि क्लबले जितेका छैनन् । घरेलु फुटबलमा हुने अरू नकआउट प्रतियोगितामा पनि मनाङ मर्स्याङ्दी शीर्ष क्लब हो ।

पचास दशकको उत्तराद्र्ध र ६० को दशकको पूर्वार्द्ध नेपाली फुटबलको सर्वकालीन महारथी मनाङका लागि स्वर्णिमकाल थियो । त्यो स्वर्णिम कालका नायकहरूको स्मरण गर्दा बिर्सनै नसकिने एउटा नाम हो राजेश शाही अर्थात ‘खरायो’ ।

तीव्र गति, मैदानको मध्यभागमा जब्बर प्रदर्शन, कडा ट्याकल, मध्यपंक्तिको पछिल्लो भागमा रहेर विपक्षी आक्रमणलाई निस्तेज पार्नुका साथै आफ्ना फरवार्डलाई गतिलो अवसर सिर्जना गराउनु मैदानभित्र राजेशको विशेषता हो ।

नेपाली फुटबलले राजेशको चर्चा गर्दा छुटाउनै नसक्ने अर्को पक्ष हो उनको नेतृत्वदायी भूमिका । मैदानभित्र मात्र होइन, मैदानबाहिर पनि फुटबल परिवारलाई आवश्यकता पर्दा राजेश सधैं एउटा लडाकु नेतृत्वका रूपमा प्रस्तुत हुने गर्छन् । उनको इतिहास र वर्तमानले त्यही भन्छ ।

विगतमा आन्तरिक शक्तिसंघर्षका कारण फुटबल अप्ठेरोमा पर्दा निकासका लागि उनले खेलाडीको नेतृत्व गरे । कडाभन्दा कडा शब्द पनि सजिलैसँग बोल्न सक्ने र कठोर व्यवहारका लागि पनि नहिच्किचाउने कारण फुटबल राजनीतिमा उनले क्षणिक शत्रु पनि थुप्रै कमाए । तर व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समूह र फुटबलका लागि लड्ने सिपाही भएकाले होला, त्यस्तो शत्रुता लामो समय कहिल्यै टिकेनन् ।

खेलाडीलाई अप्ठेरो पर्दा फुटबल परिवारलाई एकजुट गर्दै सहयोग जुटाउने होस् वा खेलकुदका अरू थुप्रै समस्या समाधानमा सधैं अग्रपंक्तिमा रहेर डटेकै कारण अहिले व्यावसायिक बुट थन्क्याएको वर्षौं भइसक्दा पनि फुटबल परिवारमा राजेश उत्तिकै सक्रिय छन् । उत्तिकै सम्मानित छन् । उत्तिकै जिम्मेवार र परिपक्व पनि । मानौं, फुटबल खेलाडीका साझा अभिभावकजस्तै ।

रानीपोखरी टिम (आरसिटी) बाट २०५२ सालमा बी डिभिजन लिगबाट क्लब फुटबल सुरु गरेका राजेशले २०५४ सालमा फ्रेन्ड्स क्लबबाट शीर्ष डिभिजनको लिग खेल्न थाले । मनाङको स्वर्णिमकाल २०५५ देखि २०६१ साल सम्म राजेश टोलीका मुख्य खेलाडी थिए ।

मनाङबाट खेल्दा उनको जोडी कप्तान कुमार थापासँग निकै मिल्दल्थ्यो । राजेश मनाङमा जाँदा टोलीको प्रशिक्षक विराटजंग शाही थिए । तर कुमारले टोलीको कप्तानी सम्हालेपछि मनाङमा प्रशिक्षकको भूमिका गौण बनेको उनको अनुभव छ ।

‘हामीले मनााङबाट खेल्दा अहिले जस्तो व्यावसायिकता पूर्ण रूपमा भित्रिइसकेको थिएन,’ नेपाली राष्ट्रिय टोलीका पूर्वउपकप्तान राजेश भन्छन्, ‘तर हामीले आर्थिक रूपमा कहिले पनि पछाडि फर्केर हेर्नुपर्ने अवस्था थिएन । मनाङको व्यवस्थापन अर्धव्यावसायिकताको कालमा पनि पूर्ण रूपमा व्यावसायिक र व्यवस्थित थियो ।’

मनाङले त्यतिबेला नेपाली फुटबलका सबैखाले प्रतियोगिताहरूमा प्रभाव जमाउनु पछाडि खेलाडीबीचको आपसी सम्बन्ध र समर्पणभाव नै कारण मान्छन् राजेश । ‘सबै खेलाडीमा समधुर सम्बन्ध थियो । त्यो सम्बन्ध मैदानभित्र र मैदानबाहिर पनि उत्तिकै थियो । त्यो पुस्ता यस्तो थियो कि हामी कुनै पनि टोलीलाई सहजै हराउँछौं भन्नेमा ढुक्क हुन्थ्यौं । टोलीमा कोही खेलाडी सिनियर र कोही खेलाडी जुनियर भन्ने हुँदैनथ्यो । टोलीलाई कप्तान कुमार थापाले गाइड गरेर अघि बढाउँथे र त्यसमा सबैले सहज महसुस गर्दथे,’ राजेशले थपे ।

मनाङको स्वर्णकालका राजेशको सम्बन्ध मनाङसँग सात वर्षमा टुंगियो । २०६० को दशकमा उचाइ लिँदै गरेको थ्री स्टार क्लब २०६१ को लिग च्याम्पियनको हैसियतमा पहिलो एएफसी प्रेसिडेन्ट्स कपको तयारीमा थियो । पाटने टोलीलाई मैदानभित्र आफू राम्रो प्रदर्शन गर्नुका साथै सबै खेलाडीलाई प्रेरित गर्न सक्ने एउटा नेतृत्वदायी स्टार आवश्यक थियो । थ्री स्टारका तत्कालीन अध्यक्ष ललितकृष्ण श्रेष्ठ (हाल स्वर्गीय) ले त्यो क्षमता राजेशमा देखे र उनलाई टोलीमा अनुबन्ध गरे ।

‘थ्री स्टार एएफसी प्रेसिडेन्ट्स कपकै दाबेदार टोलीमध्ये एक थियो,’ राजेश सम्झन्छन्, ‘तर हामी सेमिफाइनलमा निराश भयौं । हामी बलियो टोली भए पनि टाइब्रेकरमा निराश हुनुपर्यो ।’

किर्गिस्तानको डोर्डोइ डाइनामोविरुद्ध दशरथ रंगशालामा भएको त्यो सेमिफाइनलको टाइब्रेकरमा पेनाल्टी प्रहार गर्नकै लागि अन्तिम समयमा मैदान छिराइएका युवा खेलाडी नीराजन खड्काको प्रहार खेर जाँदा थ्री स्टार निराश हुनुपरेको थियो । भर्खर १८ वर्षमा लागेका नीराजनलाई प्रशिक्षक ध्रुव केसीले खेल टाइब्रेकरमा जाने पक्का भएपछि अन्तिम समयमा पेनाल्टी प्रहार गर्न नीराजनलाई मैदान छिराएका थिए ।

नेपाली क्लब फुटबलमा उम्दा मिडफिल्डर राजेशका लागि राष्ट्रिय टोलीको करियर मिश्रित थियो । नेतृत्वदायी क्षमताका कारण उपकप्तानसम्मको भूमिका पाए पनि राष्ट्रिय टोलीबाट खेलाडीका रूपमा भने उनले कमै मात्र मौका पाउँथे । लामो समय राष्ट्रिय टोलीको हिस्सा बन्नुका बाबजुद अधिकांश समय उनको बेञ्चमै बित्यो । जबकि उनको फुटबल करियरका सबैभन्दा निकटमध्येका एक मित्र नीराजन रायमाझी भने नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमानी खेलाडी बने । नीराजन र हरि खड्काको नाममा रहेको समान १३ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेका छैनन् ।

‘मैले र नीराजनले एउटै क्लबबाट खेलजीवन सुरु गरे पनि उसमा भएको विशेष क्षमताका कारण उनले राष्ट्रिय टोलीमा प्रभावशाली प्रदर्शनकै आधारमा सर्वकालीन उच्च गोलकर्ताको कीर्तिमान रचे,’ राजेशले भने, ‘मेरो प्रदर्शन भने सधैं औसत रह्यो । क्लबस्तरमा चाहिँ नीराजन र मैले धेरैजसो विपक्षीको रूपमा खेल्यौं ।’

सन् २००० मा कुवेतमा भएको एसियन कप छनोटको टोलीमा परे पनि अस्वस्थताका कारण उनले नेपालको जर्सी लगाएर मैदान उत्रने मौका पाएनन् । ‘त्यतिबेला अहिलेजस्तो धेरै अन्तर्राष्ट्रिय खेल हुँदैनथ्यो । त्यसैले मैले डेब्युका लागि तीन वर्ष कुर्नुपर्यो,’ राजेश भन्छन् ।

सन् २००३ मा बंगलादेशको ढाकामा भएको साफ च्याम्पियनसिपमा भुटानविरुद्ध खेल्दै उनले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।

सन् २००७ मा विश्वकप छनोट २०१० अन्तर्गत ओमानविरुद्ध भएको दुवै लेगको खेलमा राजेश राष्ट्रिय टोलीको उपकप्तान थिए । राजेशको करियरमा नेपालका लागि त्यही अन्तिम प्रतिस्पर्धात्मक खेल बन्यो । त्यसो त २००८ मा पोखरामा पाकिस्तानविरुद्ध भएकोे दुई खेलको मैत्रीपूर्ण शृंखला राजेशका लागि अन्तर्राष्ट्रिय करियरको अन्तिम बिन्दु बन्यो । उनले औपचारिक रूपमा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास भने २००९ मा लिएका थिए ।

अन्तर्राष्ट्रिय खेलजीवनबाट संन्यास लिएपछि उनी दुई वर्ष कोरिया बसे । सन् २०११ मा नेपाल फर्किएपछि भने राजेशले होटल व्यवसायका साथै ट्राभल एजेन्सी व्यवसायमा पनि हात हाले । व्यवसायसँगै होचो कदका राजेश मोटो भुँडी हल्लाउँदै एनआरटी र बौद्ध फुटबल क्लबबाट एक/एक सिजन मैदानमा दौडिए । एनआरटीले मिड च्याम्पियनको हैसियतमा नेपालको प्रतिनिधित्व गर्दै एएफसी प्रेसिडेन्ट्स कप खेल्दा राजेशले दोस्रो पटक यो प्रतियोगिता खेल्ने मौका पाएका थिए ।

‘बालगोपाल महर्र्जन, दीपक अमात्य, कुमार थापा, अनन्त थापाजस्ता मिडफिल्डरहरू थिए । उनीहरू मभन्दा निकै उत्कृष्ट थिए,’ राजेशले भने, ‘त्यसैले पनि मैले राष्ट्रिय टोलीमा बिरलै मौका पाए जस्तो लाग्छ । यसमा मेरो कुनै चित्तदुखाइ छैन । म भन्दा उत्कृष्ट खेलाडी टोलीमा पर्दथे ।’

अन्तर्राष्ट्रिय खेलजीवनबाट संन्यास लिएपछि उनी दुई वर्ष कोरिया बसे । सन् २०११ मा नेपाल फर्किएपछि भने राजेशले होटल व्यवसायका साथै ट्राभल एजेन्सी व्यवसायमा पनि हात हाले । व्यवसायसँगै होचो कदका राजेश मोटो भुँडी हल्लाउँदै एनआरटी र बौद्ध फुटबल क्लबबाट एक/एक सिजन मैदानमा दौडिए । एनआरटीले मिड च्याम्पियनको हैसियतमा नेपालको प्रतिनिधित्व गर्दै एएफसी प्रेसिडेन्ट्स कप खेल्दा राजेशले दोस्रो पटक यो प्रतियोगिता खेल्ने मौका पाएका थिए ।

अहिले उनी मनमैजुस्थित राजधानी एन्जल्स एकेडेमीमार्फत पुनः फुटबलसँग जोडिएका छन् । जसले ८ वर्षमाथिका खेलाडीलाई प्रशिक्षण दिनेछ ।

राजेशका समकालीन नवीन न्यौपाने, कुमार थापा र राजेन्द्र तामाङ अहिले ‘ए’ डिभिजन क्लबका टोलीलाई प्रशिक्षित गरिरहेका छन् । त्यसो त राजेशले पनि क्लब प्रशिक्षणको अनुभव नबटुलेका होइनन् । वैशाखमा सम्पन्न नेपाल सुपर लिग( एनएसएल) मा उनले पोखरा थन्डर्सको प्रशिक्षण सम्हालेका थिए । यसबाहेक भने उनी बीचमा फुटसल व्यवसायका साथै प्रशिक्षणमै व्यस्त रहे ।

‘मसँग एएफसीको ‘ए’ लाइसेन्स छैन, त्यसैले पनि अहिले क्लब प्रशिक्षणमा नदेखिएको हुँ,’ राजेशले भने, ‘एनएसएलमा भने मुख्य प्रशिक्षक नवीन न्यौपानेको अनुपस्थितिमा मैले प्रशिक्षण सम्हालेको हुँ । आगामी दिनमा पनि राम्रो प्र्रस्ताव आए क्लब प्रशिक्षणबारे विचार गर्नेछु । अहिले भने म एकेडेमी सञ्चालनमा ल्याउने र त्यसमै केन्द्रित हुन चाहन्छु ।’