रमेश दंगाल

पर्दा पछाडिका चर्च ब्वाइज नायक

काठमाडौं । जित र हार खेलको सामान्य प्रक्रिया हो । सधैं जितमात्रै जसरी सम्भव हुन्न, उसैगरी सधैं हारिरहनुपर्दैन । जितले दिने खुसी र हारबाट प्राप्त हुने पीडा एउटा खेलाडीले जीवनमा आइरहने पाटाहरू हुन् ।

नेपाली फुटबलमा अहिले रमेश दंगाललाई यस्तै भएको छ । ठूलो सफलताको मात र निराशाजनक नतिजाको पीडा रमेश एकैपटक भोगिरहेका छन् । एक दशकदेखि आफैंले हुर्काएको चर्च ब्वाइज युनाइटेड शीर्ष डिभिजनमा उक्लिएको पहिलो वर्ष नै सहिद स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन भयो ।

ठीक विपरीत खेलाडीको भूमिकामा आधा दशकभन्दा लामो समय आफूले खेलेको एपिएफ फुटबल क्लबले चाहिँ शीर्ष डिभिजनको हैसियत गुमाएको छ । ‘एक मनमा खुसी छ । अर्काेतिर निकै दुःख लागेको छ । सात वर्ष खेलेको क्लब रेलिगेसनमा पर्यो । आफूले हुर्काएको चर्च ब्वाइज च्याम्पियन भएको छ,’ रमेश खुसी र पीडा एकसाथ पोख्छन् ।

हो, यतिखेर रमेशसँगै पूर्वखेलाडी नीरज बस्नेत र सन्जिव बुढाथोकीको मन हर्षित छ । १०-१२ वर्षअघि यिनै तीन खेलाडी मिलेर चर्च ब्वाइजलाई नेपाली फुटबलको शीर्षस्थानमा पुर्याउने सपना देखेका थिए । गत साता दुई पटकको साबिक विजेता मछिन्द्र क्लबलाई तीन अंकले पछि पार्दै चर्च ब्वाइजले एक दशकअघि तीन खेलाडीले देखेको सपना पूरा गरेको छ । तर, अहिले सपना पूरा हुँदा नीरज र सन्जिव क्लबबाट केही टाढा छन् । सुरक्षित भविष्य खोज्दै नीरज न्युजिल्यान्ड पुगिसकेका छन् । सन्जिव भने मोरङ जिल्ला फुटबल संघको अध्यक्ष हुन् ।

कुनै समय नीरज र रमेशले सँगै चर्च ब्वाइजबाट खेलेका थिए । रमेशले आफ्नै कप्तानीमा टोलीलाई मोफसलका केही उपाधि पनि जिताए । अहिले त्यही टोली शीर्ष डिभिजनको लिगमा च्याम्पियन बन्दा उनको भूमिका सहायक प्रशिक्षकको थियो । मुख्य प्रशिक्षकको भूमिकामा भने पहिलो ८ खेलमा प्रदीप हुमागाईं तथा त्यसपछिका १८ खेलमा बालगोपाल महर्जन थिए ।

स्थापनाकालदेखि नै विशेष योगदान रहेका कारण क्लबमा यसपालि पनि व्यवस्थापनको मुख्य जिम्मेवारी ३६ वर्षीय रमेशको काँधमा थियो । खेलाडी अनुबन्धदेखि टोलीको सबै व्यवस्थापन उनकै जिम्मामा थियो । मैदानमा मुख्य प्रशिक्षक र खेलाडीको कौशल देखियो । तर पर्दा पछाडिबाट रमेशले तिनलाई भरथेग गर्ने काम निरन्तर गरिरहे ।

‘टिमभावनाले काम गर्दा हामीले नेपाली घरेलु फुटबलमा सबैभन्दा ठूलो सफलता हासिल गरेका हौं । कोही एकजनाको मात्र प्रयासले यो सम्भव भएको होइन । तर, यतिबेला म नीरज र सन्जिवलाई विशेष स्मरण गर्न चाहन्छु । अनि अध्यक्ष (टंकराज राई)ज्यूको साथ पनि बिर्सन सकिन्न । एक्लै सफल भएको हैन,’ खुसीले ओठ जोड्न असफल भइरहेका रमेश भन्छन् ।

चर्च ब्वाइज स्थापनाको एक दशकसम्म ‘सी’ डिभिजन छनोटमा अड्किएको थियो । क्लबसँग फुटबलमा अगाडि बढ्नका लागि कुनै प्रभावकारी योजना थिएन । यस्तोमा रमेश, सन्जिव र नीरजले नै ‘सी’ डिभिजन छनोट खेल्ने र ‘ए’ डिभिजनसम्मको यात्रा तय गर्ने योजना तयार पारेका हुन् । क्लब ०६६ सालमा स्थापना भएको थियो । ११ वर्षपछि टोली ‘सी’ डिभिजनमा छनोट भयो । त्यतिबेलासम्म टोलीले मोफसलका प्रतियोगितामात्रै खेलेर फुटबलको भोक मेटाइरहेको थियो । त्यसपछि भने क्लबले डिभिजन लिगमा पछाडि फर्किनुपरेन । ०७७ मा ‘सी’ डिभिजन च्याम्पियन भएको टोली ०७८ मा ‘बी’ डिभिजन लिग विजेता हुँदै शीर्ष डिभिजनमा उक्लिएको थियो ।

‘साँच्चै यो धेरै संघर्षबाट प्राप्त उपलब्धि हो । खेलाडी व्यवस्थापक र प्रशिक्षकले हरेक क्षेत्रमा मिहिनेत गरे । त्यसैबाट सफलता हात परेको छ,’ रमेश भन्छन्, ‘खेलाडी घाइते भए, प्रशिक्षक परिवर्तन गर्नुपर्यो । नयाँ झिकाउनुपर्यो । हरेक क्षेत्रमा समस्या पर्यो । तर पनि उपाधिको लक्ष्यबाट कतै विचलित भएनौं । संघर्ष गरिरह्यौं । अन्तिममा सपना पूरा भएको छ ।’

रमेशले खेलाडी जीवनमा भने यस्तो उपलब्धि हासिल गर्न सकेनन् । पूर्वी काठमाडौंको नाङ्लेभारेमा जन्मिएका रमेशले १७ वर्षको उमेरमा मात्रै खेल्न पाए । सक्षमनगर (हालको नयाँबस्ती) बाट ‘सी’ डिभिजन लिग खेल्दै उनी औपचारिक घरेलु फुटबलमा होमिएका थिए । ज्ञानभैरवबाट ‘बी’ डिभिजन लिगको अनुभव बटुलेका उनले शीर्ष डिभिजनमा भने चार क्लबको जर्सी लगाए । ०६८ सालमा बौद्ध फुटबल क्लबबाट २४ वर्षको उमेरमा शीर्ष डिभिजनमा पाइला टेकेका थिए । चर्च ब्वाइजबाट मोफसलका प्रतियोगिता मात्र खेलेका उनले २०६९ सालमा सरस्वती युवा हुँदै संकटाबाट ‘ए’ डिभिजन लिग खेलेका हुन् ।

एक पटकको असफलताबाट नेपालको जर्सी लगाउने उनको सपनाचाहिँ फाकिएको थिएन । तर, लगातार चार वर्ष लिग नहुँदा उनको सपना त्यतिकै विलिन भयो । खेलाडीको रूपमा ठूलो उपलब्धि हासिल नगरे पनि रमेश अहिले प्रशिक्षकको रूपमा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन भएका छन् ।

अर्धव्यावसायिक नेपाली फुटबलबाट घरपरिवारले सोचेजस्तो उपलब्धि देखेनन् । फुटबल छाड्न दबाब दिए । तर, कहाँ सकिन्थ्यो र ? घर झगडा भयो । परिवारले ‘विभागीय टोलीमा गएर जागिर खाए फुटबल खेल्न पाउँछस्’ भन्यो । त्यसपछि नै हो उनले एपिएफमा ट्रायल दिएको । एपिएफमा जागिर नखाई लामो समय करार सम्झौताकै भरमा खेले । एपिएफबाट करारमा सात वर्ष फुटबल खेल्ने उनी एक्ला खेलाडी हुन् ।

राष्ट्रिय फुटबल टोलीबाट खेल्ने रमेशको एउटै सपना थियो । प्याट्रिक ओजेम्सको पालामा यो अवसर आएको पनि हो । ०७२ सालको राष्ट्रिय लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी प्रारम्भिक प्रशिक्षणका लागि राष्ट्रिय टिममा बोलाइए । प्रशिक्षणको अन्तिम चरणसम्म पनि स्थान बनाए । तर, अन्तिममा फालिए ।

एक पटकको असफलताबाट नेपालको जर्सी लगाउने उनको सपनाचाहिँ फाकिएको थिएन । तर, लगातार चार वर्ष लिग नहुँदा उनको सपना त्यतिकै विलिन भयो । ‘त्यो समय राम्रो लयमा थिएँ । अहिले जस्तो लिग भइरहेको भए राष्ट्रिय टोलीबाट खेल्ने सपना पूरा हुन्थ्यो होला । तर, आफू लयमा हुँदा प्रमाणित गर्ने अवसर नै जुरेन,’ रमेशले निराशाजनक विगत सम्झिए ।

खेलाडीको रूपमा ठूलो उपलब्धि हासिल नगरे पनि रमेश अहिले प्रशिक्षकको रूपमा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन भएका छन् । अब, यसलाई निरन्तरता दिनु उनका लागि पनि चुनौतकिो विषय हो । यत्तिले मात्र रमेशको फुटबल प्यास मेटिने छैन । उनको ध्यान अचेल युवा फुटबल विकासले पनि तानिरहेको छ । मनकामना स्पोर्टस एकेडेमीबाट खेलाडी उत्पादनको अभियानमा जुटेका छन् ।

‘मनकामना स्कुल र एकेडेमीबाट युवा खेलाडी उत्पादनमा ध्यान दिएको छु । साथै प्रशिक्षकका रूपमा आफूलाई निखार्दै खेलाडी हुँदा आफूले नजितेका उपाधि  र उपलब्धि आफ्ना खेलाडीलाई दिलाउन प्रेरित गर्नेछु ।’