तस्बिरः कविर महर्जन/खेलाडी
कराते

संघर्ष र सफलताको अर्को नाम मन्डेकाजी

काठमाडौं । नेपाल प्रहरीको विभागीय टिम नेपाल पुलिस क्लबमा प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेका मन्डेकाजी श्रेष्ठका लागि त्यो आफ्नो खेलाडी जीवनकै अन्तिम अवसर थियो । भनिन्छ नि ‘गर या मर’ । प्रतीक्षा २० वर्षको थियो । पीडा र रुवावासी पछिल्ला तीन संस्करणदेखि उस्तै थियो । जिते इतिहासका पानामा नाम रहने, हारे केही न केही । यो प्रसंग हो डिसेम्बर २, २०१९ को ।

सन् १९९९ मा काठमाडौंमा भएको आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (तत्कालीन साफ)को सफलतापछि नयाँ नाम दक्षिण एसियाली खेलकुद (साग) लिएर त्यही खेल महोत्सव २० वर्षपछि फेरि काठमाडौंमै आइपुगेको थियो । डिसेम्बर १ देखि १० सम्म नेपालले १३औं साग आयोजना गरेको थियो ।

डिसेम्बर २ अर्थात औपचारिक खेलको पहिलो दिन करातेको एकल कातातर्फ चञ्चला दुनुवारले रजत जितेसँगै नेपालले पदक यात्रा सुरु गरेको थियो । लगत्तै सातदोबाटोस्थित कराते एकेडेमी हलमा पुरुष एकल काताको फाइनल थियो । फाइनल भिडन्तमा थिए, पाकिस्तानका नियामातुल्लाह र नेपालका मन्डेकाजी श्रेष्ठ । फाइनल अगाडिसम्म ‘मन्डेकाजी’ र ‘अभागी’ दुई शब्द पर्याय जस्तै बनिसकेको थियो । ‘धैर्य’ र ‘लगनशीलता’ शब्द नेपाली खेलकुदमा त्यति प्रयोग गरिएको थिएन । तर उक्त फाइनलपछि नेपाली खेलकुदमा धेरै कुरा परिवर्तन हुँदै थियो । कथाहरू कोरिने, दागहरू मेटिने र इतिहासहरू बनिने पर्खाइमा थिए सायद ।

खेल सुरु भयो । त्यतिबेला त्यो आफ्नो करियरको सबैभन्दा महत्त्वपूर्ण क्षण बन्दै छ भनेर ३५ वर्षीय मन्डेकाजीलाई थाहा थियो । त्यसैले मन्डेकाजीले जति सक्थे, त्यति दिए । खेल सकियो । नतिजामा स्वर्ण पदक । नियामातुल्लाहले २४.९२ अंक ल्याउँदा मन्डेकाजीले २५.७२ अंक जोडे । आफैंले आयोजना गरेको १३औं सागमा देशले पहिलो स्वर्ण पदक पायो ।  करातेमा २० वर्ष लामो खडेरी तोडियो । २० वर्षअघि आठौं सागमा मन्डेकाजीकै गुरु गंगाराम महर्जनले एकल कातामा स्वर्ण पदक जितेका थिए । त्यसयता एकल कातामा सागमा कसैले पनि स्वर्ण पदक जित्न सकेका थिएनन् ।

खेल सकिनेबित्तिकै मन्डेकाजीले समर्थकलाई धन्यवाद दिए । त्यसपछि गुरु गंगारामलाई बेस्सरी अँगालो हाले । खुसीको आँसु खस्न नपाउँदै गंगारामले तुरुन्तै मन्डेकाजीलाई खेलाडी कक्षमा लगे । किनभने सोही दिन टिम काताको फाइनल हुने तालिका थियो । महिला टिम काताको फाइनलपछि मन्डेकाजीसम्मिलित पुरुष टिम काताको फाइनल भयो । महसुस तामाङ र प्रवीण मानन्धरसम्मिलित मन्डेकाजीको टोलीले २५.५४ अंक प्राप्त गर्यो र २५.२८ अंक जोडेको श्रीलंकालाई पछि पार्यो । मन्डेकाजीका नाममा अर्को स्वर्ण पदक थपियो । सागको एउटै संस्करणमा दुई स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेपछि मन्डेकाजीले खुसीको आँसु रोक्न सकेनन् । अघि पहिलो स्वर्ण जित्दा खस्न नपाएको आँसु एकमुष्ठ रूपमा झारे । मन्डेकाजीसँगै गुरु गंगाराम पनि भक्कानिए ।

‘१०औं सागदेखिको इच्छा थियो । स्वर्ण पदक जित्दाको खुसी एकदमै धेरै थियो । खुसीको आँसु बगाएँ । जन्मथलो थिमि, परिवार र नेपाल प्रहरीसँग खुसी साटासाट गरें,’ सातदोबाटोमा गत शनिबार एसियन गेम्सका लागि करातेको प्रारम्भिक खेलाडी छनोटमा नेपाल प्रहरीको नेतृत्व गरिरहेका मन्डेकाजीले सुनाए ।

पहिलो दिनमै तेक्वान्दोकी आयशा शाक्यले पनि दुई स्वर्ण जित्ने कीर्तिमान बनाइन् । औपचारिक खेलको अन्तिम दिन नेपालले पुरुष फुटबलमा स्वर्ण पदक जितेर १३औं सागको सुखद अन्त्य गरेको थियो । कुल ५१ स्वर्णसहित नेपाल अंकतालिकाको दोस्रो स्थानमा रह्यो ।

१३औं दक्षिण एसियाली खेलकुद कुम्भमेला सकिएको तीन वर्षभन्दा बढी भइसक्यो । ठ्याक्कै भन्नुपर्दा धैर्य र लगनशीलता मन्डेकाजीको नामसँग जोडिन थालेको तीन वर्ष २ महिना १५ दिन भयो । अहिले खेलाडी जीवनबाट मन्डेकाजीले संन्यास लिइसकेका छन् ।

मन्डेकाजीको अबको चाहना भनेको ‘नयाँ मन्डेकाजीहरू’ बनाउने हो । अभागी मन्डेकाजी होइन । हरेस नखाने मन्डेकाजी । च्याम्पियन मन्डेकाजी । यसका लागि उनले भौतिक रूपमा खेलाडीलाई प्रशिक्षक भएर गर्नुपर्ने सबै कुरा गर्नेछन्, कुनै कसर बाँकी राख्ने छैनन् । बाँकी काम उनको प्रेरणादायी जीवनले गर्नेछ ।

मध्यपुर थिमिमा जन्मेका मन्डेकाजी ८ वर्षको हुँदा नै करातेसँग जोडिन पुगेका थिए । २०५१ सालतिरको कुरा हो । थिमि डोजोको छेउछाउकै एउटा प्राङ्गणमा मन्डेकाजी बाल्यकालमा साथीहरूसँग दैनिक गुच्चा खेल्थे । तर, गुच्चा खेल्दा मन्डेकाजीको ध्यान त्योभन्दा नजिकै रहेको डोजोतिर बढी जान्थ्यो । डोजोमा खेलाडीहरूलाई प्रशिक्षण गराइरहेको देख्थे । यो देखेर मन्डेकाजीलाई पनि खेलौं खेलौं लाग्थ्यो । तर, घरमा भन्ने हिम्मत जुटेन । एकदिन छोरोले डोजोमा नियालिरहेको दृश्य बुवा बाबुकाजीले देखेछन् । त्यही बेला बाबुकाजीले छोरालाई ‘तिमी पनि खेल्छौं ?’ भनेर सोधेछन् । बुवाले त्यति भनेसी के चाहियो र ? काका धर्मराजसँगै मन्डेकाजी पनि डोजोमा आवद्ध भए ।

आफूलाई इच्छा भएको खेल भएकाले होला मन्डेकाजी हरेक ग्रेडिङमा अब्बल रहँदै उकालो चढ्न थाले । यसबीच मन्डेकाजीले विभिन्न उमेर समूहका प्रतियोगिताहरूमा आफ्नो डोजोका लागि स्वर्ण पदक दिलाए । करातेसँग जोडिएको सात वर्षमै मन्डेकाजी राष्ट्रिय टोलीमा आवद्ध भएका थिए । यसबीच उनले देहेरादूनमा भएको चौथो वाकाजाकी कप, जुनियर दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण पदक जिते । उमेर समूहमै भए पनि देशका लागि मन्डेकाजीको पहिलो अन्तर्राष्ट्रिय पदक यही थियो । मन्डेकाजीका लागि यो पनि एउटा बिर्सन नसक्ने क्षण हो ।

२०५७/५८ सालमा राष्ट्रिय टोलीमा आवद्ध हुँदा मन्डेकाजी मध्यमाञ्चलबाट राष्ट्रिय स्तरका प्रतियोगिताहरू खेल्थे । काताको दुवै विधा खेल्ने मन्डेकाजी त्यतिबेला टिम कातामा च्याम्पियन नै थिए ।

तस्बिरः कविर महर्जन/खेलाडी

एक त राष्ट्रिय खेलाडी, अर्को खेलकौशलमा पारंगत । यही कारण २०६३ सालमा नेपाल प्रहरीले मन्डेकाजीलाई आवद्ध गरायो । प्रहरीको उचाइलाई मध्यनजर गर्दै मन्डेकाजीले थप मिहिनेत गर्दै गए । स्वर्ण पदक जित्ने क्रमले निरन्तरता पाइरह्यो ।

२०६५ सालमा काठमाडौंमा भएको पाँचौं राष्ट्रिय खेलकुदमा कुमुतेतर्फ स्वर्ण पदक जितेका उनले तीन वर्षपछि सुदूरपश्चिममा टिम कातामा स्वर्ण पदक जिते । २०७३ सालमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा पदकविहीन रहे । तीन वर्षपछि लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदमा एकल कातातर्फ स्वर्ण जित्न सफल भए । एकल र टिम काता तथा कुमुतेतर्फ स्वर्ण जित्नु आफैंमा एउटा ऐतिहासिक उपलब्धि थियो ।

राष्ट्रिय स्तरमा निरन्तर सफल रहेका मन्डेकाजीले अन्तर्राष्ट्रिय खेलकुदमा भने विभिन्न बाधा अड्चनहरू भोगे । कुनै पनि खेलाडीको सपना हुन्छ, अन्तर्राष्ट्रिय स्तरमा देशलाई चिनाउने र देशका लागि पदक जित्ने । मन्डेकाजीको पनि सपना थियो, उपाधिसहित देशको झन्डा फहराउने । तर ती चाहनाहरू करियरलाई पूर्णविराम लगाउने समयमा मात्र आयो ।

बंगलादेशको ढाकामा हुने ११औं सागका लागि मन्डेकाजी राष्ट्रिय टिममा परेका थिए । दुई महिना नेपालमा बन्द प्रशिक्षण सकेर राष्ट्रिय टोली थप एक महिने प्रशिक्षणका लागि थाइल्यान्डको बैंकक पुगेको थियो । महिला र पुरुष गरी १० विधाका लागि १५ खेलाडी छनोट गरिएको थियो । तर टिम काता र एकल काता एउटै खेलाडीले खेल्नुपर्ने भनेपछि पाँच जनालाई नेपाल फर्काइयो । ती पाँचमा मन्डेकाजी पनि थिए ।

‘म चन्चला बहिनी र अरू तीनजना नेपाल फर्केका थियौं । धेरै रोएँ । म त्यो क्षण कहिले पनि बिर्सन सक्दिनँ । म त्यसलाई आफ्नो खेलजीवनकै कालो दिनका रूपमा लिन्छु,’ मन्डेकाजी थाइल्यान्डबाट फर्किएको क्षण स्मरण गर्दा भावुक भए ।

ढाकापछि १२औं सागका लागि मन्डेकाजी र नेपाली करातेले ६ वर्षको प्रतिक्षा गर्यो । तर त्यो प्रतीक्षा अर्थहीन बन्यो । भारतीय कराते संघको विवादका कारण गुवाहाटी र सिलोङमा भएको १२औं सागमा कराते खेल समावेश नै गरिएन । मन्डेकाजीलाई अर्को बज्रपात भयो । उमेर ढल्कँदै थियो । मन्डेकाजीलाई साग खेल्नै नपाउने हो कि भन्ने डर भयो । तर पनि उनले हरेस खाएनन् । ‘सागमा देशको लागि पदक दिलाएरै छाड्छु’ भनेर अगाडि बढे र अन्ततः १३औं सागमा आएर मन्डेकाजीको सपना पूरा भयो । सायद उत्कृष्ट खेलाडीको परिभाषा पनि यही हो । यसबीच मन्डेकाजीले सन् २०१२ मा ‘हङकङ एसियन प्यासिफिक च्याम्पियनसिप’मा रजत र कांस्य पदक जितेका थिए ।

अब फेरिएको भूमिकामा पनि मन्डेकाजी उत्तिकै अब्बल रूपमा प्रस्तुत भइरहेका छन् । मन्डेकाजीसँगै राजेश श्रेष्ठ र केदार सिंखडाको प्रशिक्षणमा नेपाल प्रहरीले नेपाली करातेमा पछिल्लो समय एकछत्र राज गरिरहेको छ । गत असोजमा गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा नेपाल प्रहरी ९ स्वर्णसहित टिम च्याम्पियन भएको थियो । त्यस्तै हालै सम्पन्न कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पनि नेपाल प्रहरी १० स्वर्णसहित टिम च्याम्पियन बन्यो ।

तस्बिरः कविर महर्जन/खेलाडी

यसै वर्ष चीनको हाङझाउमा हुने एसियाली खेलकुदका लागि गत साता सम्पन्न करातेको प्रारम्भिक खेलाडी छनोटमा नेपाल प्रहरीबाट १२ खेलाडी दोस्रो चरण पुगे । महिला तथा पुरुषका समान ६ गरी १२ तौल समूह तथा काताबाट ४८ खेलाडी दोस्रो चरणका लागि छनोट भएका थिए ।

‘दाइ एकदमै मिहिनेती प्रशिक्षक हुनु्हुन्छ । राम्ररी प्रशिक्षण गराउनुहुन्छ । यो भएन, त्यो भएन भनेर गल्तीहरू सच्याउनुहुन्छ,’ एसियाली खेलकुदका लागि महिला एकल कातामा नेपाल प्रहरीबाट दोस्रो चरण पुगेकी चन्चलाले भनिन् ।

फरक भूमिकामा मन्डेकाजीको यात्रा बल्ल सुरु भएको छ । खेलकुदकै भाषामा भन्दा उनले दोस्रो इनिङ्स सुरु गरेका छन् । उनी लामो दौडका घोडा हुन् । यो खेलाडीको भूमिकामा मन्डेकाजीले प्रमाणित गरिसकेका छन् । प्रशिक्षकको रूपमा पनि राष्ट्रिय टोलीको जिम्मेवारी उनले एकदिन सम्हाल्ने छन् नै ।

साग खेलकुदमा मात्रै एकल कातामा स्वर्णको खडेरी तोड्न २० वर्ष लाग्यो । आउँदा दिनमा यसको नतिजा कस्तो आउला अहिले नै भन्ने स्थिति छैन । अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रदर्शनमा थप उचाइ ल्याउन मन्डेकाजी आफ्ना अनुभव नयाँ पुस्तामा दिन तयार छन् । प्रशिक्षकका रूपमा मन्डेकाजीले राम्रो संकेत दिइसकेका छन् ।