जीत बहादुर केसी

जितबहादुरले जितेको त्यो पदक

जितबहादुर केसी नेपाली खेलकुदलाई पहिलो अन्तर्राष्ट्रिय दिलाउने धावक हुन् ।

धावक केसीले सन् १९७३ मा फिलिपिन्समा सम्पन्न एसियन एथलेटिक्स च्याम्पियनसिपमा जितेको कांस्य पदक नेपालले कुनै पनि खेलबाट अन्तर्राष्ट्रियस्तरमा पाएको पहिलो थियो ।

'दौड सुरु हुन नपाउँदै पानी पर्न थाल्यो । पानी घुँडा घुँडासम्म आइपुग्यो । त्यसैक्रममा एउटा जुत्ता नै हरायो । त्यसपछि अर्को जुत्ता पनि फुकालेर खाली खुट्टै नै दौडन थालें । पानी रोकिएपछि पिच तातेका कारण मेरो खुट्टाको सबै छाला गइसकेको थियो । जेनतेन ट्र्याकसम्म पुगें । प्रशिक्षक मधु (मधुशमशेर राणा)ले जसरी पनि दौड पूरा गर्न भनेका थिए ।'

धावक केसीले उक्त पदक म्याराथनमा जितेका हुन् । उनले म्याराथन दुरी पूरा गर्न २ घण्टा ३५ मिनेट ३८ सेकेन्ड खर्चिएका थिए । उनका निकट प्रतिद्वन्द्वी दक्षिण कोरियाका चो जी ह्युङले स्वर्ण र पार्क चाङ युईले रजत पदक जितेका थिए ।

केसीले पदक जित्दा प्रसंग पनि गजब छ । उनले खाली खुट्टाले दौड पूरा गरेका थिए । किन खाली खुट्टा दौडिए त केसी ? यसमा फरक किस्सा सुन्न पाइन्छ ।

उनी सुनाउँछन्, ‘त्यो जमानामा दौडका लागि भनेर नेपालमा जुत्ता पाइँदैनथ्यो । बाँसबारी छाला जुत्ता कारखानाबाट ४ सय रुपैयाँमा जुत्ता किनेको थिएँ । तर अहिले जस्तो रंगशालामा सिन्थेटिक ट्र्याक थिएन । इँट्टाको टुक्रा र धुलो हुन्थ्यो । नयाँ जुत्ता लगाएर प्रशिक्षण सुरु गरेको पहिलो दिनै च्यातियो । भारतीय कम्पनीका जुत्ता पनि पाउँथ्यो, त्यो निकै भारी (गह्रौं) हुने भएकाले लगाइन् । एउटा साथीसँग टाइगर कम्पनीको जुत्ता मागेर जर्मनी खेल्न गएँ । दौड सुरु हुन नपाउँदै पानी पर्न थाल्यो । पानी घुँडा घुँडासम्म आइपुग्यो ।

त्यसैक्रममा एउटा जुत्ता नै हरायो । त्यसपछि अर्को जुत्ता पनि फुकालेर खाली खुट्टै नै दौडन थालें । पानी रोकिएपछि पिच तातेका कारण मेरो खुट्टाको सबै छाला गइसकेको थियो । जेनतेन ट्र्याकसम्म पुगें । प्रशिक्षक मधु (मधुशमशेर राणा)ले जसरी पनि दौड पूरा गर्न भनेका थिए । जी ह्युङले स्वर्ण जितिसकेका थिए । म र पार्क सँगसँगै थियौं । उनले मभन्दा केही मिनेट अघिमात्र रहेर रजत जिते । मैले कांस्यमै चित्त बुझाएँ । जुत्ता लगाएर दौड पूरा गर्न पाएको भए रजत नै जित्थें कि जस्तो लाग्यो ।’

राष्ट्रका लागि पहिलो अन्तर्राष्ट्रिय पदक जिते पनि त्यो भन्दा राम्रो गर्न सक्थें कि भन्ने उनलाई थकथकी लागिरहन्छ । त्यतिबेला पहिलो पदक जितेवापत तत्कालीन राजा वीरेन्द्रबाट ५ सय रुपैयाँ बक्सिस पाउनु आफ्ना लागि सबैभन्दा खुसीको क्षण ठान्छन्  उनी ।

जागिरका लागि नेपाली सेनामा भर्ती भएदेखि नै उनी दौडतिर लागेका थिए । २०२१ सालमा आर्मीमा भर्ती भएका उनले २०२२–२३ सालमा प्रधानसेनापति कपमा ५ माइलमा स्वर्ण पदक जितेका थिए । त्यसपछि एथलेटिक्ससँग केसीको विशेष साइनो गाँसिएको थियो । त्यो पनि दौडमा ।

सक्रिय खेलाडी जीवनबाट संन्यास लिए पनि उनी राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा प्रशिक्षकको रूपमा क्रियाशील भइराखे । प्रशिक्षणबाट बिट मारेको १२ वर्ष बितिसक्दा पनि उनको एथलेटिक्सप्रतिको लगावमा भने कमी आएको छैन ।

सन् १९७० मा बैंककमा भएको एसियाली खेलकुद उनको पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो । जहाँ उनको प्रदर्शन सहभागितामै सीमित भयो । सन् १९७२ को म्युनिख ओलम्पिकमा पनि उनले नेपालको प्रतिनिधित्व गरे, जुन उनको पहिलो ओलम्पिक अनुभव रह्यो । तर खुट्टाको चोटका कारण उनले बीचमै दौड छोड्नुपरेको थियो । सन् १९७८ मा बैंककमा भएको एसियाली खेलकुदपछि भने केसीले सक्रिय खेलाडी जीवनबाट संन्यास लिएका थिए ।

सक्रिय खेलाडी जीवनबाट संन्यास लिए पनि उनी राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा प्रशिक्षकको रूपमा क्रियाशील भइराखे । प्रशिक्षणबाट बिट मारेको १२ वर्ष बितिसक्दा पनि उनको एथलेटिक्सप्रतिको लगावमा भने कमी आएको छैन ।

उमेर ७१ वर्ष टेकिसक्दा पनि उनको दैनिकी रंगशालाको ट्र्याकमा व्यायाम गर्दै सुरु हुन्छ ।  भन्छन्, ‘यो खेल (एथलेटिक्स) र दशरथ रंगशालाको ट्र्याकप्रति मेरो विशेष सम्बन्ध छ । यो मेरो जीवनको अभिन्न अंग भइसकेको छ । यहाँ दैनिक आउँदा स्वास्थ्य पनि राम्रो र साथीभाइसँग भेटघाट हुन्छ । पुराना यादहरू केलाउन पाइन्छ । रमाइलो लाग्छ । साथै नयाँ भाइबहिनीलाई हाम्रो उपस्थितिले प्रेरणा मिलोस भन्ने लाग्छ ।’

एथलेटिक्समा नेपाली खेलाडीले विगतको पदछाप पछ्याउन नसकेकोमा भने उनको मन खिन्न हुन्छ । एसियाली स्तरमा पदक जित्नुका साथै दक्षिण एसियाली खेलकुदको म्याराथनमा नेपाल खेलाडीको गौरवगाथा नै छ । दक्षिण एसियालीमा नेपालको कीर्तिमान अहिलेसम्म कुनै खेलाडीले तोड्न सकेका छैनन् । लगातार तीन स्वर्ण जितेका वैकुण्ठ मानन्धरको २ घन्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अहिले पनि सुरक्षित छ ।

भेट्रान धावक केसी भन्छन्, ‘मैले एसियन च्याम्पियनसिपमा पदक जितें, वैकुण्ठ (मानन्धर)ले सागमा कीर्तिमान रचे । तर लामो समय बित्दा पनि नेपाली खेलाडीले त्यो सफलता बिर्साउन सकेका छैनन् । सधैं सहभागितामै सीमित हुनुपरेको छ । हामीले अभावका बीच सफलता निकालेका थियौ । अहिले धेरै सुविधा प्राप्त गर्दा पनि खेलाडीमा सुधारको संकेत देख्दैनौं, त्यसले मन खिन्न बनाउँछ ।’