पोखरा । प्रसंग २० वर्षअघिको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले नेपालमा सेन्ट्रल क्रिकेट एकेडेमी बनाउने निर्णय गर्यो । एसियाली क्रिकेटको सबभन्दा ठूलो र सुविधासम्पन्न त्यो एकेडेमीका लागि आइसिसीले नै लगानी गर्ने सम्झौताभयो । नेपालले उपयुक्त जग्गामात्र उपलब्ध गराए पुग्ने भयो ।
नेपाल क्रिकेट संघमा जयकुमार नाथ शाह अध्यक्ष थिए । विनयराज पाण्डे महासचिवको भूमिकामा थिए । नेपाली क्रिकेट भनेकै शाह र पाण्डेको तजबिजमा चलेको थियो । एसियाली स्तरको ठूलो एकेडेमी बन्ने भएकाले भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशजस्ता विश्व क्रिकेटका महारथीहरूका लागि पनि त्यो एकेडेमी विशेष अभ्यासका लागि गन्तव्य बन्ने सम्भावना थियो । त्यसैले विनयराज पाण्डेले देशको पर्यटन समेत प्रवर्द्धन हुने देखेर पोखरा रोजे ।
|
चार सय ८१ रोपनी जग्गामा फैलिएको पोखरा रंगशालापरिसरमा रहेको खाली जग्गामा एकेडेमी बनाउने पाण्डेको प्रस्ताव थियो । राष्ट्रिय खेलकुद परिषदमा पनि पोखराकै विनोदशंकर पालिखे सदस्यसचिव थिए । परिषदले जग्गा दिने भयो । आइसिसीले सहमति जनायो । तर क्रिकेट मैदान बनाउने भनिएको जग्गा गहिरो खाल्डो थियो । त्यसलाई पुरेर सम्याउनु सबैभन्दा ठूलो चुनौती थियो । हजारौं ट्रक माटो कसरी व्यवस्था गर्नु ?
अशोक पालिखेले जुक्ति निकाले । पोखरा न्युरोडमा हाल भाटभटेनी सुपरमार्केट रहेको भवन बनाउँदा अन्डर ग्राउन्ड पार्किङ बनाउँदा गहिरो खाल्डो खन्नुपर्ने भयो । पालिखेले त्यही माटो लगेर रंगशाला पुर्ने उपाय निकाले । खेल नेतृत्वको सबैभन्दा ठूलो टाउको दुखाइ बनेको काम निकै सहज तरिकाले सम्पन्न भयो । गहिरो खोंच समथर मैदानमा परिणत भयो ।
तर, सेन्ट्रल एकेडेमी क्रिकेट संघभित्रको काठमाडौं कि पोखरा भन्ने विवादका कारण आइसिसीले नेपालमै नबनाउने निर्णय गर्यो । आइसिसीले त्यो एकेडेमी दुबईमा बनायो । भारत, पाकिस्तान, अस्ट्रेलिया, इङ्ल्यान्डलगायतका विश्व क्रिकेटका सबैजसो महारथी देशका सुपर स्टारको लागि अहिले त्यो एकेडेमी अभ्यास गर्ने प्रिय थलो बनेको छ । जुन फेवातालको आँगन, माछापुच्छ«े हिमालको काखमा हुन सक्थ्यो । नेपाली खेल प्रशासनभित्रको किचलोले मध्यपूर्वको मरुभूमिमा सर्यो ।
अशोक पालिखेको मन अहिले पनि त्यो सम्झँदा चसक्क गर्छ । खासमा त्यो बेला उनैलाई क्रिकेट मैदान निर्माण समितिको अध्यक्ष भएर काम गर्ने प्रस्ताव थियो । तर उनले आदरणीय वीरेन्द्रसिंह गुरुङलाई अध्यक्ष बनाएर कामचाहिँ आफैंले गरे ।
कास्की उद्योग वाणिज्य संघमा २६ वर्ष स्वयंसेवा गर्ने क्रममा दुई पटक अध्यक्ष, उपत्यका नगर विकास समितिमा दुई कार्यकाल अध्यक्ष, नेत्रज्योति संघ कास्कीको दुई कार्यकाल अध्यक्ष भएका पालिखे पोखरेली समाजका हर्ताकर्ता थिए । उनी कास्की जिल्ला टेनिस संघका पूर्वअध्यक्ष तथा गण्डकी खेलकुद परिषदका पूर्वसदस्य पनि हुन् ।
स्टेसनरी, नर्सिङ कलेज, होटल म्यानेजमेन्ट कलेज, अस्पताल र स्कुललगायत थुप्रै व्यवसायका सञ्चालक पालिखेको पोखरामा प्रभाव नहुने कुरै भएन । पालिखे चोकमा एउटा स्टेसनरी पसलका साथै नर्सिङ क्याम्पस, फिस्टेल अस्पताल, कुमुदिनी अस्पताल नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजको स्वामित्व उनैसँग छ । उनको अस्पताल पोखराको सबैभन्दा राम्रोमध्ये एक मानिन्छ । १२ कक्षासम्म पढाइ हुने पोखराको ठूलोमध्येको एक स्कुल कुमुदिनी होम्स उनले स्थापना गरेको ३५ वर्ष भइसक्यो । १९९८ मा स्थापना गरेको कलेज नेपालकै पहिलो होटल म्यानेजमेन्ट कलेज हो ।
यति धेरै कामलाई एकसाथ व्यवस्थित तरिकाले संयोजन गरिरहेका उनको प्रभाव पोखरामा त्यतिकै थियो । पालिखेको त्यही प्रभावशाली व्यक्तित्व, संयोजनकारी भूमिका र नेतृत्वदायी क्षमताका कारण क्रिकेट संघको नेतृत्वले मैदान निर्माणको जिम्मा उनलाई सुम्पिएको थियो ।
क्रिकेट मैदान निर्माणको जग हाल्ने काममा मात्र होइन, पोखरेली खेलकुदलाई उनको गुण ठूलो छ । अझै पनि रंगशाला परिसरमा ठूलो खाल्डो छ । जसलाई हजारौं ट्रक माटो ल्याएर पुर्नुपर्नेछ । पालिखेले पोखरा विमानस्थल सञ्चालनमा ल्याउनका लागि १४ मिटर खार्नुपर्ने भनिएको रिट्ठेपानी डाँडाको माटो ल्याउने पहल थालिसकेका छन् । तर, क्रिकेट संघले वास्ता नगर्दा भने उनको मन दुख्छ ।
‘हामीले पहिला पनि स्थानीय स्तरबाट सहयोज जुटाएर काम गरेका हौं । क्यानबाट २० लाख रुपैयाँमात्र आएको थियो,’ पालिखेले भने, ‘पोखरा भनेको खेलकुदको सहर हो । यहाँका मानिस खेलकुदप्रति विशेष रुचि राख्छन् । खेलको नेतृत्व लिएर बसेकाले अलिकति मात्र प्रयास गर्ने हो भने सबै स्थानीयस्तरबाटै हुन्छ ।’
स्थानीयको अपनत्व रहेन
पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेशले अहिले नवौं बृहत राष्ट्रिय खेलकुद आयोजना गरेको छ । बृहत राष्ट्रिय खेलकुदसँग पालिखेको नाता गहिरो छ । पोखरेली समाजका अगुवामा मात्र उनको परिचय सीमित छैन । उनी टेनिसका पूर्वखेलाडी हुन् । दोस्रो र तेस्रो राष्ट्रिय खेलकुदमा उनले गण्डकी अञ्चललाई प्रतिनिधित्व गर्दै टेनिसमा पदक जितेका थिए । पोखरामै २०४० सालमा भएको दोस्रो राष्ट्रिय खेलकुदमा टिमतर्फको रजत पदक जितेका उनले त्यसको दुई वर्षपछि वीरगन्जमा भएको तेस्रो राष्ट्रिय खेलुकदमा दुई पदक जिते । टिमतर्फ रजत पदक रक्षा गर्दा एकलमा उनले कांस्य पदक जितेका थिए ।
खेलाडीका रूपमा गण्डकीलाई पदक जिताएका र सामाजिक अगुवाका रूपमा पोखरेली खेलकुदमा थुप्रै योगदान गरेका पालिखे यसपालि नेपाली खेलकुदको सबैभन्दा ठूलो मेलाका लागि देश तथा विदेशबाट समेत दसौं हजार नेपाली खेलकर्मीको पोखरामा जमघट हुँदा यो माहोलबाट पूरै बाहिर छन् । औपचारिकताका लागि आयोजकले उनलाई स्वास्थ्य उपसमितिको सदस्यको पत्र थमाएको छ । ‘तर खेल सकिइसक्यो, अहिलेसम्म एउटा पनि बैठक भएको छैन । स्थानीयलाई राष्ट्रिय खेलकुदमा समावेश गर्न नै खोजिएन,’ पोखराको पालिखेचोकस्थित स्टेसनरी पसलमै बसेर सबै व्यवसाय सञ्चालन गरिरहेका पालिखेले खेलाडी डटकमसँग भने ।
राष्ट्रिय खेलकुदजस्तो ठूलो मेलाले सम्बन्धित सहरको पहिचान अझ माथिल्लो स्तरमा स्थापित गर्नुपर्नेमा नवौं राष्ट्रिय खेलकुदका कारण पोखरा र गण्डकी प्रदेशको ब्रान्डिङमा कुनै फाइदा नपुगेको, बरू गिरेको उनको अनुभव छ ।
‘यसपालि पोखरामा राष्ट्रिय खेलकुदको माहोल नै छैन । स्थानीयलाई समेट्ने खालको काम भएकै छैन । खेलकुदको केन्द्र र प्रदेश दुवैतिरको नेतृत्वले आ–आफ्नो राजनीतिक स्वार्थमात्र हेर्यो । खेलकुद सबैको साझा हो भन्ने भावना नेतृत्वले पूर्ण रूपमा लत्याएको छ,’ पालिखेले दुखेसो गरे, ‘राष्ट्रिय खेलकुद गर्दा सम्बन्धित क्षेत्रलाई पछिसम्म काम लाग्ने गरी भौतिक पूर्वाधार बनाइन्थ्यो । यसपालि केही पाएन । भएकै पुराना पूर्वाधारमा प्रतियोगिता गरेर ठूलो काम गरे जसरी प्रचार गरियो । राष्ट्रिय खेलकुदको नाममा पोखरामा गरिएको भनेको पुरानै बक्सिङको सेमिकभर्डहल बार्ने र ओलम्पिक टर्च टावर निर्माण मात्र हो । पोखरामा सबथोक थियो । नभएको भनेको पौडी पोखरी र सुटिङ रेन्जमात्र हो । नवौं राष्ट्रिय खेलकुदको अवसरमा त्यो बनाइदिएको भए पोखरेली खेलकुदलाई दीर्घकालसम्म काम लाग्थ्यो ।’
नवौं राष्ट्रिय फिक्का
पहिलो राष्ट्रिय खेलकुदका लागि २०३८ सालमा गण्डकीको टिम काठमाडौं सहभागिता जनाउन जाँदा पालिखे टिममा थिएनन् । तथापि त्यो बेला गण्डकीको टिम तामझामका साथ काठमाडौं गएको उनले देखेका थिए । पूरा पोखराले ठूलै उत्सवमा जान लागेका जसरी खेलाडीको बिदाइ गरेको थियो । त्यसैबाट प्रभावित भएर पालिखे खेलकुदमा लागेका थिए । दोस्रो राष्ट्रिय खेलकुद पोखराले आयोजना गर्दा त उनी सहभागिताको लायक भइसकेका थिए ।
दोस्रो राष्ट्रिय खेलकुद हुँदा ३९ वर्षअघि पोखराको माहोल उनको मानसपटलमा अझै ताजा छ । भन्छन्, ‘त्यो बेला पूरा पोखरा दुलहीझै सिँगारिएको थियो । जताततै तुल, ब्यानर र गेटहरू थिए । महिनौंदेखि राष्ट्रिय खेलकुदको हल्लाखल्ला गरिएको थियो । समाजमा बेग्लै खालको उर्जा थियो । सबै जात र समुदायका झाँकीहरू प्रस्तुत गरिएका थिए ।’
|
उनले बिहीबार सम्पन्न नवौं संस्करणलाई आफू सहभागी भएको दोस्रो र तेस्रो संस्करणको तुलनामा फिक्का पाए । ‘अहिले त राष्ट्रिय खेलकुद पोखरा रंगशालामा खुम्चिएको छ । पोखरा रंगशालाको मूलद्वार नजिकै सधैँ भलिबल भइरहन्छ । भलिबल हुँदा जहिले पनि त्यहाँ मोटरसाइकल र मान्छेको भिड हुन्छ । यसपालि पनि बाटो हिँड्नेले त्यही भलिबल भन्ठाने । उद्घाटन र समापनमा आतिसबाजी हुँदामात्र मानिसलाई राष्ट्रिय खेलकुद हो कि भन्ने भयो । त्यतिबेला पूरा पोखरा सिँगारिएको थियो । २०४२ सालमा वीरगन्ज पनि दुलहीजस्तै बनाइएको थियो । यसपालि त तीन/चारवटा गेटबाहेक केही छैन ।’
उद्घाटन समारोहमा रंगशालाको क्षमताभन्दा आधा पनि दर्शक नआउनुमा पालिखे राष्ट्रिय खेलकुद परिषद र गण्डकी खेलकुद परिषदको दोष देख्छन् । राखेपले पुराना खेलाडी, खेलकर्मी र खेल संस्थालाई पूर्ण रूपमा बेवास्था गरेका कारण पोखरेलीले राष्ट्रिय खेलकुदको अपनत्व लिन नसकेको उनको बुझाइ छ । ‘राखेप र प्रदेश खेलकुदले कोही स्थानीयलाई सहभागी गराउन चाहेन । कसैले थाहा पाउला कि झै गर्यो । त्यसो भएपछि मानिस किन जान्छ र ?,’ उनले प्रश्न गरे ।
‘पोखरेली खेलकुदका लागि तत्कालीन अञ्चलाधीश शंकरराज पाठक र योजनाविद पदमबहादुर क्षेत्रीको ठूलो योगदान छ । उहाँहरूले २०३० सालमा मुआब्जा दिएर अधिग्रहण गरेको जग्गामा अहिले रंगशाला र खेलकुदका सबै संरचना बनेका छन् । दोस्रो राष्ट्रिय खेलकुद गर्दा राखेपका तत्कालीन सदस्यसचिव शरदचन्द्र शाहले भौतिक पूर्वाधार बनाउने र सम्भावना बोकेका पोखरेली युवाहरूलाई खेलकुदमा अघि बढाए । जसका कारण पोखरामा खेलकुदको जग बस्यो,’ पालिखेले अगाडि थपे, ‘विनोदशंकर पालिखे राखेपको सदस्यसचिव हुँदा २०५८ सालतिर बाँकी रहेका केही मुआब्जा दिने काम भयो । त्यसपछि युवराज लामा सदस्यसचिव हुँदा पोखरा रंगशाला निर्माणले गति लियो । कास्कीकै जगतबहादुर विश्वकर्मा खेलकुदमन्त्री हुँदा जिल्लाले धेरै पूर्वाधार पायो । तर अहिले यही प्रदेशमा यति ठूलो खेल मेला हुँदा कसैले उहाँहरूलाई सम्झिएन । यस्तो देख्दा दुःख लाग्छ । त्यो पोखराका लागि मात्र भएको काम थिएन । देशकै लागि भएको थियो । उहाँहरूलाई पोखरामा राष्ट्रिय खेलकुद हुँदा विशेष सम्मान गरिनुपर्थ्यो ।’
खेल पर्यटनको प्रवर्द्धन
नवौं बृहत राष्ट्रिय खेलकुदका लागि ११ टिमका १० हजारभन्दा बढी खेलाडी, खेलकर्मी र तिनका आफन्त पोखरा आएकामा भने उनी खुसी छन् । एकैपटक दसौं हजार मानिसको आगमनले खेल पर्यटनमार्फत सुस्ताएको पोखरेली अर्थतन्त्र चलायमान भएको उनको बुझाइ छ । विकसित देशले ओलम्पिक र विश्वकपजस्ता ठूला प्रतियोगिता पनि खेलकुदको बहानामा अर्थतन्त्र उकास्न तथा आफ्नो देश र सहरको ब्रान्डिङमा उपयोग गर्न आयोजना गर्ने बताउँदै उनले अर्थतन्त्र उकास्ने पक्षमा चाहिँ नवौं राष्ट्रिय खेलकुद सफल भएको बताए ।
‘राष्ट्रिय खेलकुदको कारण झन्डै एक अर्ब रुपैयाँको कारोबार भयो होला । कोभिड र आर्थिक मन्दीले तहसनहस पारेको बजारमा पैसा निस्किएको छ । पोखराको पर्यटन उद्योगलाई टेवा पुगेको छ । राष्ट्रिय खेलकुदले गरेको योगदान भनेको त्यतिमात्र हो,’ उनको निचोड छ ।