पोखरा । नेपाली खेलकुदको सवैभन्दा ठूलो महोत्सव राष्ट्रिय खेलकुदको इतिहासले चार दशक पूरा गरिसकेको छ । प्रत्येक दुई वर्षमा गर्ने उदघोषका साथ २०३८ सालमा सुरु भएको यो बृहत खेलमेलाले ४१ वर्षको उमेर पूरा गर्दा अहिलेसम्म २० संस्करण गरिसक्नुपर्ने थियो ।
तर देशमा लगातार भइरहेका राजनीतिक परिवर्तन, खेलकुदलाई राज्यले दिने कम प्राथमिकता र खेल प्रशासनको कमजोर प्रतिबद्धताका कारण अहिलेसम्म नेपालमा राष्ट्रिय खेलकुदका नौ संस्करण मात्र सम्भव भएका छन् । त्यो पनि प्रत्येक पटक स्थापनाको उद्देश्यमा च्युत हुने क्रम बढाउँदै छ ।
तत्कालीन राष्ट्रिय खेलकुद परिषद (राखेप) नेतृत्वले देशका विभिन्न भागका रहेका प्रतिभावान खेलाडीलाई एकै थलोमा प्रतिभा प्रदर्शनको अवसर दिन राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको सुरुआत गरेको थियो । जिल्ला, क्षेत्र (प्रदेश) हुँदै राष्ट्रिय स्तरमा आफूलाई अब्बल देखाउन खेलाडीका लागि मात्र राष्ट्रिय खेलकुद महत्त्वपूर्ण थलो होइन, यो खेलकुद विकासको एउटा महत्त्वपूर्ण पाटो पनि हो ।
|
खेलाडीले वर्षौदेखि प्रशिक्षणमा गरेको मिहिनेतको फल नियमित रूपमा राष्ट्रिय स्तरमा जाँच्ने उद्देयश्यका साथ २०३८ सालमा काठमाडौंमा पहिलो पटक सुरु गरिएको राष्ट्रिय खेलकुदले बिहीबार नवौं संस्करण सम्पन्न गर्दा गण्डकी प्रदेशले दोस्रो पटक देशभरका खेलकर्मीलाई आतिथ्यता दिने मौका पायो । ९ संस्करण सम्पन्न हुँदा काठमाडौं, पोखरा र नेपालगन्जले दुई/दुई पटक राष्ट्रिय खेलकुद आयोजनाको अवसर पाएका छन् भने वीरगन्ज, धनगढी र विराटनगरले पनि एक/एक पटक राष्ट्रिय खेलकुद आयोजना गरेको इतिहास छ ।
तीन पटकसम्म उद्देश्यअनुरुप दुई वर्षको अन्तरालमा भएको राष्ट्रिय खेलकुदको दोस्रो संस्करण २०४० मा पोखराले गर्यो भने २०४२ मा तेस्रो संस्करण वीरगन्जमा भएको थियो । त्यसपछि १३ वर्षसम्म हुन नसकेको प्रतियोगिताको चौथो संस्करण नेपालगन्जले २०५५ सालमा आयोजना गर्यो । नेपालगन्जपछि पनि राष्ट्रिय खेलकुदले निरन्तरता पाउन सकेन ।
त्यसपछि सुदूरपश्चिममा गर्ने निर्णय भएको पाँचौं राष्ट्रिय खेलकुद भौतिक पूर्वाधार अभावको बहानामा काठमाडौं सारियो, तथापि समयमा आयोजना हुन भने सकेन । पटक–पटक स्थगित गरिएको पाँचौं राष्ट्रिय खेलकुद पाँचौ पटक निर्धारण गरिएको मिति २०६५ मा काठमाडौमा थुप्रै विवादका बीच सम्पन्न भयो । अघिल्लो संस्करण भएको १० वर्षपछि पाँचौं राष्ट्रिय खेलकुद सम्भव भएको थियो ।
पाँचौं संस्करणको आयोजना अधिकार खोसिए पनि लगत्तैको संस्करण तीन वर्षपछि सुदूरपश्चिममै भयो । राष्ट्रिय खेलकुदको बहानामा प्रत्येक दुई वर्षमा देशका विभिन्न स्थानमा भौतिक पूर्वाधारको विकास गर्नु २०३८ सालमा तत्कालीन राखेप नेतृत्वले यसको स्थापना गर्दा राखेको अर्को मुख्य उद्देश्य थियो ।
निर्धारित समयमा गर्नबाट एक वर्षले चुके पनि राखेपले सुदूरपश्चिममा छैटौं राष्ट्रिय खेलकुद गर्दा पूर्वाधार विकासको उद्देश्यमा भने धेरै काम गर्यो । राष्ट्रिय खेलकुदकै कारण धनगढी रंगशाला विस्तारदेखि महेन्द्रनगरमा क्रिकेट मैदान निर्माण, कभर्डहलहरूको मर्मत तथा अन्य थुप्रै काम भएका थिए ।
|
समयको अनुशासनलाई यसपालि पछि राष्ट्रिय खेलकुदले पालना गरेन । छैटौं संस्करण भएको पाँच वर्षपछि २०७३ सालमा पूर्वाञ्चल विकास क्षेत्रका विराटनगर र धरानलाई केन्द्र बनाएर सातौं राष्ट्रिय खेलकुद भयो । खेलाडीलाई प्रतिस्पर्धाका लागि मौका दिनेबाहेकका सबै उद्देश्यमा सातौं संस्करण चुकेको थियो । त्यसपछि तीन वर्ष कुरेर नेपालगन्जलाई केन्द्र बनाएर तीन वर्षपछि आठौं राष्ट्रिय खेलकुद सम्पन्न भयो ।
आठौं राष्ट्रिय खेलकुदको आयोजनासँगै नेपालगन्ज रंगशालाले मुहार परिवर्तन गर्यो भने नयाँ पौडी पाखेरी र भलिबल कोर्ट जस्ता पूर्वाधार पनि निर्माण भए । भएकै पुराना संरचना पुनर्र्निर्माणमा पनि नेपालगन्जमा थुप्रै काम भयो । बर्दिया र दाङमा समेत खेलकुदका महत्त्वपूर्ण भौतिक पूर्वाधार निर्माण हुँदा तत्कालीन मध्यपश्चिमाञ्चल (हालको लुम्बिनी प्रदेश)ले राष्ट्रिय खेलकुदका कारण थुप्रै चिज पायो ।
बिहीबार पोखरा रंगशालामा नवौं बृहत राष्ट्रिय खेलकुदको समापन भयो । नियमितताको सवालमा एक वर्ष चुकेको नवौं वृहत राष्ट्रिय खेलकुदका लागि पूर्वाधार शीर्षकमा पोखरा रंगशाला परिसरमा रहेको बक्सिङ सेमिकभर्डहललाई बार्ने र ओलम्पिक टर्च टावर बनाउने बाहेकका कुनै काम हुन सकेन । जसका कारण पोखरा र समग्र गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुदको आयोजक हुनुको नाताले कुनै फाइदा पाउन सकेन । बरू प्रतिस्पर्धा दौरान भएको दुर्घटनामा परेर त्रिभुवन आर्मी क्लबका प्याराग्लाइडिङ खेलाडी निसिम थापा मगरको मृत्युका कारण अनन्तकालसम्म दुःखका साथ नवौं बृहत राष्ट्रिय खेलकुद सबैको स्मरणमा रहनेछ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) तथा गण्डकी प्रदेश खेलकुद परिषदले योजनावद्ध रूपमा आवश्यकताअनुरुपका काम गर्न नसक्दा पोखराका लागि दोस्रो पटकको राष्ट्रिय खेलकुद हर्ष न विस्मातको विषय बनेको वरिष्ठ खेलकर्मी सुदर्शन रञ्जित बताउँछन् ।
‘जसरी पनि राष्ट्रिय खेलकुद गर्ने भावनाका साथ गरिएको देखियो । पर्याप्त योजनासहित गर्न सकेको भए धेरै व्यवस्थित र भव्य रूपमा राष्ट्रिय खेलकुद सम्पन्न हुने थियो,’ रञ्जितले खेलाडी डटकमसँग भने, ‘धेरै भद्रगोल तरिकाले राष्ट्रिय खेलकुद भयो । पोखरामा राष्ट्रिय खेलकुद हुँदा यहाँ केही पूर्वाधार पनि थपिएको भए त्यो दीर्घकालसम्मका लागि हुने थियो । पोखरामात्र नभई समग्र नेपाली खेलकुदकै लागि काम लाग्थे । तर नेतृत्वले त्यसमा ध्यान दिएन । उहाँहरू जसरी पनि नवौं राष्ट्रिय खेलकुद सक्नेमा मात्र केन्द्रित हुनुभयो । यसको सँगसँगै प्रदेशको इज्जत, विकास र एकतालगायतका विषयलाई उहाँहरूले महत्व दिनुभएन ।’
चार दशकदेखि बक्सिङ र फुटबलमा सक्रिय नेपाल बक्सिङ संघका उपाध्यक्ष एवं अखिल नेपाल फुटबल संघका पूर्वकेन्द्रीय सदस्य तथा पर्यटन व्यावसायी पूर्व बक्सर गणेश भट्टराईले खेल नेतृत्वको एकलौटी ढंगमा खेलकुद कव्जा गर्ने नीतिका कारण समस्या बढेको बताए ।
‘स्थानीय खेलकर्मी कसैलाई पनि समेटिएको छैन । दलीय रूपमा मानिस पिक गरिएको छ । आस्थाका आधारमा जिम्मेवारी बाँडफाँट गर्दा दशकौंदेखि खेलकुदमा निरन्तर लागेकाहरू आफ्नै ठाउँमा राष्ट्रिय खेलकुद हुँदा बिरानो बन्नुपर्ने अवस्था आयो,’ भट्टराईले खेलाडी डटकमसँग भने, ‘भव्य राष्ट्रिय खेलकुद भने पनि अनुभवीलाई पाखा लगाउँदा इतिहासकै सबैभन्दा कमजोर र लज्जाजनक रुपमा प्रतियोगिता भएको छ । पोखराको सुस्ताएको अर्थतन्त्र चलायमान बनाउन भने यसले योगदान गर्यो । एकैपटक १० हजार खेलाडी पर्यटकको रूपमा आउँदा पोखराको चहलपहल बढ्यो ।’
|
यसैगरी स्थानीय व्यवसायी एवं खेलकर्मी विनोद गुरुङले राजनीतिक तथा आर्थिक स्वार्थका साथ गरिँदा ‘नवौं राष्ट्रिय खेलकुद विना उपलब्धि सकिएको’ प्रतिक्रिया दिए । पोखरा लेकसाइडस्थित हल्लनचोकमा कफीको चुस्कीसँगै शुक्रबार बिहान उनी साथीहरूसँग गफिँदै थिए, ‘यत्रो राष्ट्रिय खेलकुद भए पनि पोखरेलीको कुनै भूमिका देखिएन । खेलकुद परिषदले राम्ररी खेल नगर्दा पोखराको बदनामी मात्र भयो । खेलको बहानामा विकास चाहिँ केही आएन । हामीलाई त्यहाँँ राष्ट्रिय खेलकुद आउने भनेपछि विकास पनि सँगै आउला भन्ने आस थियो । यसैको बहानामा केही पूर्वाधार बन्ला भन्ने आशा गरेका थियौं ।’
राखेपको नेतृत्व लिएको नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली काग्रेसलाई नै सहभागी नगराएको भन्दै काग्रेसको खेलकुद हेर्ने भ्रातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद महासंघले नवौं राष्ट्रिय खेलकुद पोखरामा हुन नदिने चेतावनी दिएको थियो । तर पछि राजनीतिक रूपमा सहमति पछि समस्या समाधान भएको थियो ।
‘खेलकुदले टुटेकालाई जोडने काम गथ्र्यो, तर पोखरामा भएको यो राष्ट्रिय खेलकुदले थप ध्रुवीकरण गरेको छ । सबैलाई समेट्ने खेलकुदको भावना हो । तर यहाँ त पोखरामा राष्ट्रिय खेलकुद गर्दा पोखरेलीले नै यसको अपनत्व लिने वातावरण बनेन । खेलकुदको जुनसुकै प्रतियोगिता हुँदा पनि पूर्वाधारमा केही न केही काम हुन्छ । पूर्वाधार विकास गरेर त्यहाँको समृद्धि देखाउने गरिन्छ,’ पोखरेली समाजका अगुवा पूर्व खेलाडी अशोक पालिखे भन्छन्, ‘तर नवौं राष्ट्रिय खेलकुद पोखरामा हुँदा न हामीले समृद्धि देखाउन सक्यौं । न यसको बहानामा बनेका कुनै पूर्वाधार पछिसम्म प्रयोग गर्न पाउने फाइदा नै लियौं । यो इतिहासकै सबभन्दा फितलो राष्ट्रिय खेलकुदको रुपमा चिनिने भयो । यो सबको जिम्मेवारी खेलकुद नेतृत्वले लिनुपर्छ ।’