एसियाली खेलकुद

एसियाली खेलकुद: धेरै प्रश्नबीच ठूलै उपलब्धी

काठमाडाैं । वर्ष ०८० मा नेपालले चुनौती पेस गरेको सबैभन्दा ठूलो खेल अवसर रह्यो १९औं हाङचाउ एसियाली खेलकुद । यो एसियाको सबैभन्दा ठूलो खेल महोत्सव हो ।

कोरोना भाइरस संक्रमण महामारीका कारण एक वर्ष पछाडि सरेको यस एसियाली खेलकुदको माध्यमबाट चीनले देखाउन खोजेको थियो, सबै स्थिति सामान्य भइसक्यो । नेपालको प्रदर्शनचाहिँ कहाँनिर रह्यो त ? यसको उत्तरले नेपालको खेलकुद स्वयं कहाँनिर छ, त्यो भने प्रस्ट देखाउने गर्छ ।

नेपाली खेलकुदको दृष्टिकोणबाट यस एसियाली खेलकुदको सबैभन्दा ठूलो सफलता भन्नु नै करातेमा रजत पदक जित्नु हो । कुमितेको महिला ६८ केजीमाथिको तौल समूहमा एरिका गुरुङले रजत पदक जितिन् । उनले ऐतिहासिक रूपमा फाइनल यात्रा तय गरिन् । यसक्रममा करातेको हेडक्वाटर रहेको जापानको खेलाडीलाई पनि पराजित गरिन् । धेरै अर्थमा एरिकाको सफलता नेपाली खेलकुद इतिहासकै एउटा ठूलो उपलब्धिका रूपमा मानिने छ । एसियाली खेलकुदबाट अहिलेसम्म व्यक्तिगत दुई रजत पदकमात्र आएको छ ।

र्ष ०८० मा नेपालको सबैभन्दा ठूलो उपलब्धि नै हाङचाउ एसियाली खेलकुदमा रजत पदक जित्नु रह्यो । यस उपलब्धिका लागि एरिकालाई पछिसम्म पनि सम्झिने छ ।

यसअघि सविता राजभण्डारीले तेक्वान्दोबाट रजत ल्याएकी थिइन् । त्यो पनि सन् १९९८ को बैंकक एसियाडमा । साढे दुई दशकपछि यस्तै सफलता एरिकाले दिलाइन् । त्यस अर्थमा वर्ष ०८० मा नेपालको सबैभन्दा ठूलो उपलब्धि नै हाङचाउ एसियाली खेलकुदमा रजत पदक जित्नु रह्यो । यस उपलब्धिका लागि एरिकालाई पछिसम्म पनि सम्झिने छ । यसले प्रमाणित गरेको छ, नेपाली खेलाडीले मिहिनेत गर्ने हो भने एसियाली स्तरको खेलकुदमा धेरै राम्रो गर्न सकिन्छ ।

नेपालले यस एसियाली खेलकुदमा एउटा अर्को कांस्य पदक पनि जित्यो । यो महिला कबड्डीबाट आएको थियो । यो पदक पनि विशेष उपलब्धिमा रह्यो । पहिलो पटक महिला टिम गेममा नेपालले एसियाड पदक जितेको थियो । यसअघि सन् २०१८ को इन्डोनेसियामा भएको जकार्ता एसियाडमा प्याराग्लाइडिङले रजत जितेको थियो । त्यो पुरुष टिमतर्फ थियो ।

त्यसलाई छाडेर कलिकति भारोत्तोलन, धेरथोर बक्सिङ, केही सम्भावना ई–स्पोर्टस र अलि धेरै क्रिकेटमा नेपाली खेलाडीको प्रदर्शन उच्च रह्यो । अन्यथा अन्य खेलमा नेपालको प्रदर्शन असाध्यै कमजोर देखियो । अधिकांश खेलमा नेपालको प्रदर्शन पछाडिबाट अगाडि जस्तै रह्यो । त्यो भनेको अधिकांश खेलमा नेपाली खेलाडीको प्रदर्शनले पुछारकै स्थानमा मात्र ठाउँ पायो ।

मूल प्रश्न न अत्यधिक खेलमा अत्यधिक सहभागिता नै रह्यो । पूरा प्रतियोगितामै सबैभन्दा बढी सहभागिता जनाउने देशमा नेपाल पनि थियो । त्यो पनि शीर्ष १० भित्रै पर्ने गरी । तर पदक तालिकामा भने पुछारमा ।

विशेषतः केही आस गरिएका खेल तेक्वान्दोदेखि ई–स्पोर्टसमै नेपाली खेलाडीले केही गर्न सकेनन् । यसले तय गरेको छ, एसियाली खेलकुदमै नेपाल धेरै पछाडि छ । नेपाली खेलकुदले गर्नुपर्ने काम धेरै बाँकी छ । एसियाली खेलकुद जत्तिको प्रतियोगिताका लागि नेपालको तयारी नै पुग्दैन । देशको कुनै गतिलो योजना नै छैन । त्यसैले त प्रश्न हो, नेपाली खेलकुद के कस्तोका लागि ? खाली सहभागितामै मात्र सीमित रहने हो कि त्योभन्दा अगाडि पनि बढ्ने हो ?

मूल प्रश्न न अत्यधिक खेलमा अत्यधिक सहभागिता नै रह्यो । पूरा प्रतियोगितामै सबैभन्दा बढी सहभागिता जनाउने देशमा नेपाल पनि थियो । त्यो पनि शीर्ष १० भित्रै पर्ने गरी । तर पदक तालिकामा भने पुछारमा । नेपालले २९ खेलमा भाग लिएको थियो । खेलाडी संख्यामात्रै २ सय ५३ थियो । प्रशिक्षक, व्यवस्थापक र अफिसियल त कति हो कति । सम्भवतः त्यसको लेखाजोखा नै नहुन सक्छ । खास कुरा के भने यति धेरै सहभागिताको आवश्यकता नै किन थियो र ?

प्रतियोगिताको समाप्तिमा राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटी दुवैले हाङचाउ एसियाली खेलकुदमा नेपालको प्रदर्शन उच्च रहकै मूल्यांकन गर्यो । धेरैका लागि सहभागिता नै ठूलो थियो । तर, ती दुवै संस्थाको के पनि स्वीकारोक्ति थियो भने यति ठूलो आकारको टिमको सहभागिता नै आवश्यक थिएन । न यति धेरै खेलमा भाग लिनुपर्ने थियो । त्यतिमात्र होइन, हलुका तरिकाले गरिने तयारीले एसियाली खेलकुदमा नेपालले केही पनि गर्न सक्दैन ।