गणेश थापा
श्याम दाइ (थापा) भनेको हाम्रा लागि फुटबलको एउटा ‘मिथ’ हो । भाग्यले उहाँसँग सँगै खेल्ने र काम गर्ने मौका पाइयो । यसक्रममा फुटबलका एउटा ‘ट्र्यु लेजेन्ड’ सँगका धेरै स्मरण मसँग छन् । त्योभन्दा धेरै व्यक्तिगत रूपमा मलाई लगाएको गुण र नेपाली फुटबलका लागि उहाँले गरेको योगदानका कारण श्याम दाइप्रति अनुग्रहित छु र रहिरहने छु ।
हामी स्कुल पढ्ने बेलादेखि नै फुटबल खेल्थ्यौं । फुटबल सबैभन्दा मनपर्ने कुरा थियो । तर, सानो उमेर भएकाले धेरै एक्सपोजर थिएन । स्कुल, टोल र गल्लीहरूमै खेलेर चित्त बुझाइन्थ्यो । पत्रपत्रिका र टेलिभिजनको जमाना थिएन । त्यसैले विश्व फुटबलको धेरै जानकारी थिएन । तथापि हामीले पेलेको नाम सुनेका थियौं । विश्व फुटबलको राजा हुन पेले भन्ने जसरी उनको बयान हुन्थ्यो । पेलेपछि सुनेको दोस्रो सुपरस्टार नाम भनेको श्याम थापाको हो ।
विक्रम सम्वत २०२८-०२९ सालतिरको कुरा होला, एउटा प्रसंग म अहिले पनि सम्झिइरहन्छु । ‘श्याम थापाले भारतमा ५० हजार रुपैयाँ नगद लिएर फुटबल खेल्छ रे !’ भन्ने सुनेको थिएँ । यही कुरा मैले बुवालाई सुनाएँ, ‘फुटबल खेलेर पनि मान्छेले पैसा कमाउँछ नि ।’ सायद सानो उमेरमा बुवामुमाले खेल्नभन्दा पढ्नमा बढी जोड दिएको कारण होला, मैले खेल्न छुट पाउन त्यस्तो कुरा सुनाएको ।
मेरो बुवा सेनामा हुनुहुन्थ्यो । खेलकुदप्रति उहाँ नकारात्मक हुनुहुन्नथ्यो । बुवाले पनि छोराको इच्छा बुझेर होला ‘तँ पनि श्याम थापा जस्तो बन न त’ भनेर हौस्याउनुभयो । मलाई बुवाको कुराले खासै छोएन । मेरो बाल मानसपटलमा ‘श्याम थापाजस्तो बन्ने’ कुरा कसरी सम्भव होला जस्तो लाग्यो । ‘यसरी कहाँ श्याम थापा बन्न सकिन्छ त’ भनेर मैले त्यतिबेला बुवालाई भनेको कुरा अहिले पनि सम्झिन्छु ।
खेलाडीका रूपमा भाग्यले मलाई साथ दियो । सानै उमेरदेखि एउटा फुटबलरका रूपमा सधैं कल्पिएको क्षण २०३२ सालमा मेरासामु आयो । आदर्श खेलाडीका रूपमा मनले मानेको सुपरस्टार श्याम दाइसँग मैले भेट्ने मौका पाएँ । त्यो बेला राज परिवारका सदस्यहरूको जन्मोत्सवको अवसरमा शुभजन्मोत्सव कप फुटबल प्रतियोगिता हुन्थ्यो । त्यही बर्थडे कपमा ब्वाइज युनियनबाट खेल्नका लागि श्याम दाइ नेपाल आउनुभएको थियो । मैले चाहिँ पर्सा ११ टिमबाट खेलेको थिएँ । आफूले आदर्श मानेका श्याम दाइको विरुद्धमा मैदान उत्रिने अवसर मेरा लागि ठूलो थियो । म त्यतिबेला १६ वर्षको थिएँ । त्यो कलिलो उमेरको मनले भनिरहेको थियो, ‘श्याम थापाको खुट्टाबाट तैले बल खोस्नैपर्छ ।’
श्याम थापाबाट बल खोस्ने एकमात्र उद्देश्य लिएर मैदान प्रवेश गरेको मैले सिठी बज्नेबित्तिकै सफलताप्राप्त गरें । सेन्टरबाट बल चलाउने बित्तिकै मैले झ्याप्पै गएर श्याम दाइको खुट्टाबाट बल खोसेर पास दिएँ । त्यो बल मैले सायद कृष्ण थापालाई पास दिएँ । कृष्णले तीव्र गतिमा लगेर गोल गरे । सेन्टर चलाएको १५ सेकेन्ड जतिमा गोल भइसकेको थियो । श्याम दाइसँग पहिलो पटक मैदान उत्रिँदाको यो रोमाञ्चक स्मरण मसँग छ । व्यावसायिक फुटबलमा निकै ठूलो उचाइ हासिल गरिसक्नुभएका श्याम दाइका लागि त्यो खेलको एउटा सामान्य पार्ट थियो होला । तर मेरा लागि भने त्यतिबेला त्यो फुटबल करियरमा ठूलो उत्साहको विषय थियो ।
समयले हामी दुईलाई एउटै टिमको सहयात्रीका रूपमा पनि स्थापित गर्यो । सन् १९८३ तिरको कुरा हो । हामी दुवैले कोलकाताको ठूलो टोली इस्ट बंगालबाट सँगै खेल्यौं । खासमा मैले कोलकाताकै अर्को ठूलो टिम मोहन बगानसँग सम्झौता गरिसकेको थिएँ । श्याम दाइ पनि मोहन बगानबाटै खेल्नुहुन्थ्यो । तर श्याम दाइले बीचमै क्लब परिवर्तन गर्नुभयो । मैले पनि श्याम दाइकै आग्रहमा क्लब परिवर्तन गरें । श्याम दाइले काठमाडौं आएर ‘भाइ मैले क्लब चेन्ज गरें । तिमी र म सँगै खेल्नुपर्छ । इस्ट बंगाल आउ’ भन्नुभयो । मैले त्यही गरें । म इस्ट बंगालबाट खेल्दै गएँ । उहाँ पछि प्रशिक्षक हुनुभयो ।
|
एउटा खेलाडी र प्रशिक्षक दुवै भूमिकामा श्याम दाइ अब्बल हुनुहुन्थ्यो । त्यो मैले प्रत्यक्ष रूपमा देखेको छु । उहाँप्रति मेरो सधैं सम्मान रह्यो ।
पछि मैले यही कारण नेपालमा आएर युवा विकास परियोजना हेर्ने गरी उहाँलाई प्रस्ताव गरें । उहाँले मेरो प्रस्ताव सहजै स्वीकार गर्नुभयो । नेपाली फुटबललाई आवश्यकता पर्दा श्याम दाइले धेरै खाले भूमिकामा रहेर योगदान गरिरहनुभयो । उहाँले कहिल्यै पनि यो मेरो काम होइन भनेर पन्छिन खोज्नुभएन । नेपाली फुटबललाई जसरी पनिमाथि उचाल्नुपर्छ भन्ने उहाँको भावना थियो । यही कारण हो उहाँले पछि राष्ट्रिय टोलीको नेतृत्व पनि गर्नुभयो र प्राविधिक निर्देशक बनेर पनि नेपाली फुटबललाई योगदान गर्नुभयो ।
नेपाली फुटबलको विकासमा श्याम दाइको योगदानको जति प्रशंसा गरे पनि पुग्दैन । त्यति ठूलो स्टार भएर पनि उहाँ सबैसँग अत्यन्तै मिलनसार हुनुहुन्छ । मेरा लागि त अत्यन्तै आदरणीय र आत्मीय दाइ हो उहाँ ।
व्यक्तिगत रूपमा श्याम दाइसँग मेरा अरू पनि स्मरण छन् । खेलाडी जीवनमा उहाँको मार्गनिर्देश र सहयोग मेरा लागि निकै महत्त्वपूर्ण रहने गर्थे । पछि म अध्यक्षका रूपमा अखिल नेपाल फुटबल संघको नेतृत्वमा रहँदा पनि श्याम दाइले सधैं मलाई सहयोग गरिरहनुभयो ।
द्वन्द्वको समयमा मेरो र माओवादीको बीचमा सम्बन्ध हार्दिक थिएन । केही असमझदारीहरूका कारण तालमेल मिलिरहेको थिएन । त्यो सबै कुरालाई प्रस्ट पार्नका लागि श्याम दाइले व्यक्तिगत रूपमा मलाई र संस्थागत रूपमा नेपाली फुटबललाई ठूलो गुन लगाउनुभएको छ । मैले आदर्श मानेका खेलाडी आदरणीय श्याम दाइ मोहन बगान क्लबले प्रदान गर्ने प्रतिष्ठित अवार्ड मोहन रत्नबाट सम्मानित हुनुभएको खबरले मलाई आफैं सम्मानित भएको महसुस भएको छ । श्याम दाइका आगामी दिनहरू अझै सुखद र उपलब्धिमूलक हुन् । आदरणीय दाइलाई यही शुभकामना !
(कुराकानीमा आधारित)