नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) अहिले चुनावी संघारमा छ । असार ६ गतेका लागि तय गरिएको चुनावले आगामी चार वर्षका लागि एन्फाको केन्द्रीय नेतृत्व चयन गर्नेछ ।
अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष र १३ खुला तथा दुई महिला गरी १५ सदस्यका लागि ८५ मतदाता चयन भइसकेका छन् । चयन भएकामध्ये चार मतदातालाई निर्वाचन समितिले अयोग्य ठहर गरेको छ । त्यसविरुद्ध उनीहरू अपिल कमिटी पुगेका छन् ।
चार वर्षका लागि नेतृत्व लिने उद्देश्यका साथ अहिले चुनावी मैदानमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसहित तीन जनाको उम्मेदवारी परेको छ । शेर्पा र नेम्वाङ दुवै प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् भने अध्यक्ष पदमा राजीव पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
निर्वाचनको तयारीमा अत्यन्तै व्यस्त अध्यक्ष पदका उम्मेदवारहरूसँग खेलाडी डटकमले छोटो कुराकानी गरेको छ । यसैक्रममा हामीले दोस्रो कार्यकालका लागि अध्यक्षमा प्रत्याशी बनेका शेर्पासँग ‘तपाईंको निरन्तरताको आवश्यकता किन ?’ भनेर सोधेका थियौं ।
प्रस्तुत छ, खेलाडी डटकमका अजय फुयालले शेर्पासँग गरेको कुराकानीको सम्पादित अंश:
चुनावी तयारी कस्तो छ ?
चुनाव त करिब करिब लागेको १५/२० दिन भइसकेको छ । साह्रै व्यस्त भइरहेको जस्तो लागेको छ मलाई । बिहान ७ बजेदेखि बेलुका ९/१० बजेसम्म भोटरहरूसँग कुरा गर्ने, भेट्ने अनि पत्रकारसँग अन्तर्वार्ता दिने काममा व्यस्त भइरहेको छु अहिले ।
तपाईंले जित्ने सम्भावना कति छ त ?
जित्ने सम्भावनाभन्दा पनि हामीले विगत चार वर्षमा गरेको कामको मूल्यांकन, त्यसपछि अहिले हामी एजेन्डासहित निर्वाचनमा होमिएका छौं । त्यसले गर्दा धेरै जनाले फेरि एकपटक तपार्इं दोहोरिनुपर्छ भन्नुभएको छ । बहुमत साथीहरूबाट त्यस्तो कुरा सुनेको छु । त्यसले गर्दा हार्नुका आधारहरू केही देखिँदैन । मलाई जहाँसम्म लाग्छ, जुन काम गरेको हिसाब अनि साथीभाइहरूसँग कुरा गरेको हिसाबले जित्ने नै देखिन्छ ।
तपाईंको पूरै कार्यकाल विवादमा बित्यो । यति धेरै विवाद र आफ्नै साथीहरूले लगाएका आरोपको चाङमाथि बसेर तपाईंले चुनाव जित्ने दाबी गर्न मिल्छ ?
कृत्रिम आरोपहरू लगाइएको छ । त्यस्तो आरोप त जसले जसलाई पनि लगाउन सक्छ । ममाथि लगाइएका सबै आरोप आधारहीन छन् । उहाँहरूले त्यसको परीक्षण पनि गर्नुभयो । अख्तियार, फिफा र एएफसीमा मुद्दा हाल्नुभयो । त्यो सबै प्रमाणित गराउन सकेन । त्यसपछि भाषणको विषयमा पनि विभिन्न आयोगहरूमा जानुभयो । त्यो पनि आधार खुलाउन सक्नुभएन । खाली उहाँहरूले फुटबलमा गरेका कामहरू, विकासहरू देख्न नचाहेर मलाई डिस्टर्भ र अब्स्ट्याकल गरेजस्तो लाग्छ ।
जस्तै, रौतहटमा एकेडेमीको बिल्डिङ बनाइसकेपछि एउटा पत्रिकामा लेखेर भर्खर सुरु गरेको भनेर फोटो राखेर अदालतबाट स्टे गराएर एकेडेमी रोक्ने काम गराइयो । पोखरामा हामीले गत वर्ष नै बहुउद्देश्यीय ट्रेनिङ सेन्टरको इआईए, नक्सा पास, लिजिङलगायतका सबै डकुमेन्ट मिलेर पनि फेरि त्यहाँ बाढी आउने क्षेत्र भनेर तराईको बाढी जमेको फोटो पठाएर डिस्टर्भ गर्नुभयो । त्यसपछि फिफाको मानिस आएर बाढी आउन हो कि होइन भन्ने अध्ययन गरेर, माटो परीक्षण गरेर त्यसलाई स्वीकृत गरेको छ ।
जतिवटा काम गर्छु त्यसमा डिस्टर्भ गरेको देखिन्छ ।
तपाईंलाई असहयोग गरेको भन्नुभयो । तर त्यो त तपाईंकै टिम हो र अहिले त्यही टिम तपाईंविरुद्ध मैदानमा छ । हिजो त्यही टिमको बलमा जित्नुभयो, अहिले टिम नहुँदा पनि जित्छु भन्नुहुन्छ । कसरी ?
यो प्रजातान्त्रिक अभ्यास हो । फुटबल संघमा पहिला यस्तो प्रजातान्त्रिक अभ्यासको चलन थिएन । विगतमा फुटबल संघको अध्यक्ष सधैं निर्विरोध निर्वाचित हुने चलन थियो । हामीले जुन बेला मध्यावधि चुनाव लड्यौं, त्यसपछि प्रजातान्त्रिक अभ्यास सुरु भएको छ ।
मान्छेले इच्छा र आकांक्षा राख्न पाइन्छ । म पनि चुनाव लडेर, जितेर केही गर्छु भनेर एजेन्डासहित कोही आउँछ भने त्यसलाई साँच्चिकै राम्रो प्रतिस्पर्धा मान्नुपर्छ । तर ‘होइन यसलाई सिध्याउँछु, यसले धेरै राम्रो काम गर्यो । यसलाई काम राम्रो गर्न नदिने’ भनेर चाहिँ रिस फेर्ने हिसाबले आयो भने राम्रो होइन ।
मैले यसो हेर्दा फुटबल संघ हामी टिमले सञ्चालन गरेदेखि धेरै कुरामा स्वार्थ बाँझिएको थियो । ती स्वार्थहरू पूरा नभइसकेपछि रिस फेर्ने हिसाबले पनि एउटा समूह ‘एक’ भएको देखिन्छ । हामी एजेन्डामा चुनाव लड्दैछौं, उहाँहरू रिस फेर्ने हिसाबले सबै किसिमका ग्रुप एक ठाउँमा आएको देखिन्छ ।
नेपाली फुटबलको विकासमा हामीले परिवर्तनको नारा दिएर आएका हौं । त्यो एजेन्डालाई हामीले बोकेर हिँडेका छौं, काम पनि गरेका छौं । अब आउने दिनमा पनि त्यसलाई निरन्तरता दिने हिसाबले हामी काम गर्छौं ।
तपाईंकै टिम अहिले आफूसँग नभए पनि चुनावमा असर गर्दैन भन्न खोज्नुभएको त होइन ?
मेरो टिमका त्यहाँ तीन/चार जनामात्र छन् । बाँकी सबै यतै छ । उता रहेका तीन/चार जनाबाहेक अरू चाहिँ हिजो पनि हाम्रा विरोधीहरू नै हुन् । तीन/चार जना जाँदैमा हामीलाई त्यति फरक पर्ला जस्तो लाग्दैन ।
तपाईंले निराधार आरोप भने पनि राष्ट्रिय टिमको विवाद त मिलाउन सक्नुभएन नि ?
राष्ट्रिय टिमको विवाद मिलाउने क्रममै हामी छौं । मिलाउने भनेर मौखिक मिलाएर त भएन नि । विधि र विधानअनुसार मिलाउनुपर्छ । हामीले सकेसम्म वार्ताबाट समस्या समाधान गरौं भनेर कोसिस गर्यौं । एक हप्तासम्म त्यही कोसिसमा लाग्दा खेलाडीसँग चारवटा र प्रशिक्षकसँग पनि दुई/तीनवटा बैठक बस्यौं । हुन–हुन लाग्यो, त्यहाँ बिग्रिने । फेरि हुन–हुन लाग्यो फेरि बिग्रिने स्थिति सिर्जना भयो ।
|
समस्या समाधान नभएपछि खेलाडीहरूले आफैं छानबिन समितिको माग गरेका हुन् । खेलाडीको मुख्य माग चाँडै छानबिन गरेर टुंग्याउनुपर्यो भन्ने पनि थियो । खेलाडीको मागअनुसार हामीले तुरुन्तै एक सदस्यीय छानबिन समिति गठन गर्यौं । एक सदस्यीय छानबिन समिति गठन गरेपछि केही साथीहरूले यस्तो हुन्न, तीन सदस्यीय हुनुपर्छ भन्नुभयो । खेलाडीले पनि त्यही कुरा राखेपछि हामीले खेलाडीको माग सम्बोधन हुनेगरी कार्यसमिति बैठक नै राखेर तीन सदस्यीय छानबिन समिति गठन गर्यौं ।
छानबिन समिति गठन गर्दा पनि हामीले संयोजक पहिल्यै तोकिसकेका थियौं । त्यसपछि खेलाडी संघबाट एउटा प्रतिनिधि र एन्फाका उपाध्यक्षहरूले सिफारिस गरेको एकजना थपेर हामीले तीन सदस्यीय समिति बनाएका हौं । सात दिनमा छानबिनको प्रतिवेदन आइसकेको छ । त्यो सार्वजनिक पनि भइसकेको छ । प्रतिवेदनले हामीलाई चुनाव र एएफसी कपपछि यसलाई कार्यान्वयन गर्न गाइड गरेको छ ।
भनेपछि प्रतिवेदन कार्यान्वयन गरेर अगाडि बढ्नुहुन्छ ?
हामीले प्रतिवेदन अध्ययन गरेपछि कार्यसमितिको निर्णयअनुसार हुन्छ ।
क्लबलाई दिनुपर्ने तयारी खर्च र पुरस्कार दिइएको छैन । खेलाडीको पनि दिएको छैन भन्ने छ । आर्थिक अनियमितताले एन्फा टाट पल्टिइसक्यो भन्ने पनि छ नि ?
अहिले खर्चहरूको सवालमा फिफाको कन्सल्ट्यान्ट यहाँ नियुक्त गरेको छ । फिफाको कन्सल्ट्यान्टले सिफारिस गरेको आधारमा पेमेन्ट गर्नुपर्छ र फिफाको कन्सल्ट्यान्ट हप्ताको दुई दिन आउँछ । हप्ताको दुई दिन आउँदा कतिपय बिलहरू क्लबहरूको दुई/तीन चोटि फर्काएको अवस्था छ । मेरै क्लब (हिमालयन शेर्पा क्लब)को पनि बिल फर्काइएको छ ।
यो यो शीर्षकमा खर्च गर्न पाउने, यो यो गर्न नपाउने भनेर उनीहरूले राखेका छन् । त्यसले गर्दा चाहिँ बिलहरू मिलेपछि तुरुन्तै दिन्छ । मलाई जहाँसम्म लाग्छ, भोलि पनि फिफाको कन्सल्ट्यान्ट आउँछ ।
प्यान नम्बरका आधारमा क्लबलाई तयारी खर्चको ५० प्रतिशत पहिल्यै दिन्छौं । बाँकी जति पाउनुपर्ने हो त्यसको बिल पास गरेपछि मात्रै पाउने भन्ने क्लब र एन्फाबीचको सम्झौतामै छ । जिल्लालाई पनि दिने पैसा यसरी नै हो । तयारी खर्च भनेर पहिल्यै दिने भनेर होइन । पहिल्यैदेखिको परम्परा यस्तै थियो । पहिल्यै दिने कुरा फिफाले पनि मानेको छैन । फस्र्योट गरेपछि मात्र दिने हो ।
एन्फाको आर्थिक अपचलन वा कमजोरी रोक्न फिफाले कन्सल्ट्यान्ट संस्था क्रोललाई नै पठाउनुपरेछ है ? अनि नेपालको पैसाबाट साढे तीन करोड रुपैयाँ पनि लगेछ नि त ?
जुनसुकै देशमा पनि अडिटिङ टिम आउँदा फिफाले दिने अनुदान रकम नै कटाउने हो । त्यो फिफाले निर्णय गर्ने कुरा हो । दोस्रो कुरा, क्रोल किन आयो भने हाम्रा पदाधिकारीमध्ये कसैले उजुरी हाल्यो । बाहिरको मानिसले हालेको भए आउँदैनथ्यो ।
|
यसमा केही गडबडी छ भन्ने हिसाब र गडबडको लिस्टहरू उहाँहरूले पठाइदिनुभयो । त्यसपछि क्रोलको टिम आएर हायात होटलमा १५/२० दिन नै बसेर सबैको बयान लियो । त्यसपछि उसले फिफामा रिपोर्ट पठायो । फिफाको अडिट एन्ड कम्प्लान्स कमिटीले त्यो रिपोर्ट हेरेपछि यसमा केही कैफियत नदेखिएको भन्दै चारवटा सुझाव हामीलाई दियो ।
त्यो चार सुझाव कार्यान्वयनका लागि अहिले क्रोलको टिमको पदावधि सकियो । अहिले जिबिओ भन्ने कम्पनीले त्यसको काम निरन्तर रूपमा गरिरहेको छ । अब हामी आइपिएस सिस्टममा जानुपर्नेछ । हाम्रो एकाउन्टिङ सिस्टमलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्छ । सफ्टवेयरमा अपडेट गर्नेदेखि सबथोक ।
हामीकहाँ अनलाइनबाटै सबै काम गर्नसक्ने दक्ष जनशक्ति निर्माणको प्रयास पनि हो यो । अनलाइनबाटै सबै बिलभौचरहरू अपडेट गरेको भए क्रोलको टिम यहाँ आउनुपर्ने थिएन । उनीहरूले अनलाइनबाटै हेर्न पाउँथ्यो । हामीले त्यो सफ्टवेयर बनाइसकेका छौं । अब एक–दुई महिना बसेर उहाँहरूले फाइनान्स विभागलाई ट्रेनिङ गराई सक्षम बनाएर छोड्नुहुन्छ ।
तपाईंले ‘चेन्ज एन्फा’ भन्ने गरे पनि आखिरमा त चेन्ज कर्मा भयो नि, होइन ?
यो विपक्षीहरूले लगाउनुभएको आरोपमात्र हो । उहाँहरूसँग एजेन्डा केही छैन । उहाँहरूलाई विकासको कार्यक्रम केही थाहा छैन । उहाँहरूलाई फुटबल विकास कसरी गर्ने भन्ने थाहा छैन । क्लब चलाएको अनुभव छैन । जिल्ला चलाएको अनुभव छैन । त्यसपछि गएर भन्ने एउटा बहाना त बनाउनै पर्यो ।
उहाँहरूले चेन्ज कर्मा भयो भनेर आरोप लगाए पनि मलाई केही आपत्ति छैन । तर, चेन्ज एन्फा भएको छ कि छैन भन्ने कुरा प्रमुख हो । भएको छ । नीतिगत सुधार भएको छ । आर्थिक नियमावलीदेखि लिएर विभिन्न नियमावलीहरू हामीले जारी गरेका छौं । संघीय संरचनाअनुसार विधान संशोधन गरेका छौं । संघको केन्द्रीय संरचनालाई हामीले आठ विभाग बनाएका छौं ।
अब हाम्रो सोचाइ के हो भने महासचिवको नेतृत्वमा चलाउने जुन विभागीय संरचना छ । त्यसलाई स्वायत्त बनाउँदै जानुपर्छ । संघको पदाधिकारी आएर दिनका दिन हाजिर गरेर एन्फा चलाउने होइन । पदाधिकारीहरूले नीति बनाउने मात्र हो । विभागहरूलाई क्रियाशील गराएर हामीले गरेका निर्णय कार्यान्वयन गराउने हो ।
|
चेन्जकै कुरा गर्दा पहिलाभन्दा ग्रासरुटको कार्यक्रमहरू बढी भएका छन् । पहिलाभन्दा युथको कार्यक्रमहरू बढेको छ । क्यापासिटी बिल्डिङमा हामीले प्रशिक्षक ट्रेनिङहरू धेरै गरेर पाँच सय जना प्रशिक्षक उत्पादन भएको छ । चार सय रेफ्री उत्पादन गरेका छौं । महिला र पुरुष गरेर ७० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता भएको छ । ‘ए’ डिभिजनको महिला लिग सुरु भएको छ । ‘ए’ डिभिजनको फुटसल लिग सुरु गरेका छौं ।
तीन/चार वर्षदेखि लिग भएको थिएन । तपाईंले नै विना रेलिगेसनको भनेर लेख्नुभएको थियो । विना रेलिगेसनको लिग सुरु गरेर रेलिगेसनको लिग त हामीले तीन वटा लिग सम्पन्न गर्यौं नि । कोभिडका बेलामा पनि हामीले लिगलाई निरन्तरता दियौं । केही समयअघि यहाँ खेल्न मोरिससको टिम आएको थियो । उनीहरूकहाँ कुनै पनि प्रतियोगिता नभएको चार वर्ष भयो रे ।
हामीले कोभिडमा पनि नेपाली फुटबललाई ज्युँदो राख्ने काम गर्यौं । अब एन्फामा पहिलाभन्दा चेन्ज भयो कि भएन भन्ने कुरा चाहिँ मेरो विरोधीभन्दा पनि अरूले मूल्यांकन गर्नुपर्छ भन्ने लाग्छ ।
तपाईंले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिइरहँदा एजेन्डा चाहिँ के हुन् ?
पहिला त पुराना कामलाई निरन्तरता दिने मेरो योजना हो । त्यसपछि नेपालको लिग व्यवस्थित गर्दै लामो समयसम्म लैजाने हो । सकिन्छ भने होम एन्ड अवे गर्ने मेरो योजना छ । तर त्यो मैलेमात्र सोचेर हुँदैन, त्यसका लागि क्लबहरू पनि सहमत हुनुपर्छ । सबै सरोकारवाला सहमत हुनुपर्छ । अहिलेभन्दा लामो समयको लिग गर्ने र लिगलाई अझ स्तरीय बनाउने काम गर्नुपर्छ ।
युवा कार्यक्रमहरू बढीभन्दा बढी सञ्चालन गर्ने । जबसम्म स्थायी रूपमा युवा कार्यक्रमहरू हुँदैनन्, नेपालको राष्ट्रिय टिम बलियो हुन सक्दैन । ग्रासरुटका कार्यक्रमलाई व्यापक बनाएर ४० हजार बच्चालाई सहभागी गराउने योजना छ । त्यसपछि सबै जिल्ला र क्लबमा ट्रेनिङ सेन्टरहरू बनाउँदै जाने र शीर्ष डिभिजनका क्लबहरूमा एकेडेमी सञ्चालन गर्ने, सकिन्छ भने प्रदेशस्तरमा पनि एकेडेमी सञ्चालन गर्ने, महिला एकेडेमी सञ्चालन गर्ने हाम्रो सोचाइ छ ।
ग्रासरुटका प्रतियोगिता पनि गरिराख्ने र युवाका कार्यक्रम पनि गर्ने सोच हो । जस्तो हामीले सिटी लिग गर्ने निर्णय गरिसकेका छौं । सिटी लिगमा आफ्नै मैदान र होस्टल भएका विद्यालयहरूको ६ महिना लामो विकेन्ड होम एन्ड अवे लिग गर्छौं । १६ टिम खेलाउने हाम्रो योजना हो । त्यसका लागि केही स्कुलहरूसँग सम्झौता पनि भइसकेको छ । काठमाडौंमा यो कार्यक्रम सफल भएपछि अरू ११ सहरमा गर्ने योजना बनाएका छौं । अरू सहरमा टिम संख्या कम हुनसक्छ । त्यसपछि प्लस टुका प्रतियोगिता गर्ने र उमेर समूहका प्रतियोगिता पनि निरन्तर रूपमा गर्ने सोच छ । समग्रमा खेलाडी उत्पादनका लागि स्थायी र बृहत खालको संरचना बनाउने भन्ने हो ।
पूर्वाधारको क्षेत्रमा पनि धेरै काम गर्नु छ । जिल्लाहरूमा स्थानीय सरकारसँग मिलेर ट्रेनिङ सेन्टरहरू बनाउँछौं । गत वर्ष हामीले १२ जिल्लामा जग्गा प्राप्तिको काम सकिसकेका छौं । कोभिडका कारण त्यसको बजेट फिफामा छ । त्यो बजेट रिलिज गरेर हामी आगामी दिनमा काम सम्पन्न गर्छौं । त्यसमा ५० हजार डलर फिफाको बजेट र त्यही बराबरको स्थानीय सरकारबाट खर्च गर्ने भनेर सम्झौता भइसकेको छ । सबै जिल्लामा आफ्नै ट्रेनिङ सेन्टर बनाउने भन्ने हाम्रो सोच हो ।
खेलाडीको अनलाइन दर्ता सिस्टम देशव्यापी बनाउने हो । त्यो भयो भने खेलाडी खोज्न गाह्रो हुँदैन । खेलाडी उत्पादनमा पनि सहयोग पुग्छ । पोखरामा बहुउद्देश्यीय ट्रेनिङ सेन्टर जसलाई हामीले एक्सिलेन्स सेन्टर भनेका छौं । त्यसका लागि टेण्डर भइसकेको छ । त्यो बनिसकेपछि नेपालमा फुटबल विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । त्यहाँ तीनवटा प्राकृतिक र एउटा कृत्रिम मैदान हुनेछ । पौडीपोखरी, फुटसल र बालुवामा खेल्ने फुटबलको दुईवटा मैदान हुनेछ । एक सय २० क्षमताको चारवटा होस्टल र १३ वटा अफिसियल क्वाटर, सेमिनार हल र रिह्याब सेन्टर पनि त्यहाँ बन्नेछ ।
एक्सिलेन्स सेन्टरले नेपाली फुटबलको समग्र विकास गर्छ । खासमा हामी त्यहाँ प्रशिक्षक, खेलाडी र रेफ्रीको प्रशिक्षण सिविर सञ्चालन गर्छौं । त्यसलाई नेपाली फुटबलको प्राविधिक केन्द्र बनाउने सोच हो । पोखरामै बनाउँदा त्यसले खेल पर्यटनमा पनि मद्दत पुग्छ । विदेशी टिमले पनि त्यहाँ आएर बस्ने वातावरण बनाउँछौं । त्यसबाट केही आर्थिक उपार्जन पनि हुन्छ ।
त्यसपछि हामी डिजिटलाइजमा जानुपर्छ । त्यो भनेको हामीले डेटा बैंक बनाउँछौं । एकाउन्ट डिजिटलमा गइसकेको छ, खेलाडी दर्ता डिजिटलाइज गरिसकेका छौं, प्रशिक्षक दर्ता पनि डिजिटल भइसकेको छ । अहिले प्रि–मेडिकल एसेसमेन्ट पनि हामीले जुन अस्पतालमा परीक्षण गरेको छ, त्यो अस्पतालमा उपलब्ध हुने गरी हामीले खेलाडीको डाटा बैंकमा अपलोड हुने सिस्टम सुरु गरेका छौं । विस्तारै हामीले विभिन्न जिल्लामा भएका भएका ट्रेनिङ सेन्टरमा भएका खेलाडीहरूको दर्ता पनि अनलाइन सिस्टममै गर्ने योजना बनाएका छौं । त्यसपछि सबै श्रेणीका र महिला खेलाडी पनि अनलाइनबाट दर्ता गर्छौं । सबैको आ–आफ्नै प्रोफाइल अनलाइनमा बनाउँछौं । त्यसो भयो भने नेपाली फुटबलबारे रिसर्च र अध्ययन गर्न सजिलो हुन्छ ।
सबैभन्दा महत्त्वपूर्ण काम भनेको आर्थिक हो । क्लब र जिल्लालाई कसरी आर्थिक रूपमा सक्षम बनाउने भन्ने मुख्य कुरा हो । त्यसका लागि मार्केटिङ टिम बनाएका छौं । कार्यक्रमहरू पनि बनाएका छौं । शीर्ष डिभिजनबाट परीक्षण गर्ने भनेर हामीले विज्ञापन एजेन्सीहरूसँग सम्झौता गर्ने तयारी गरिसकेका छौं । विज्ञापन एजेन्सीले नै क्लबको प्रायोजक खोज्ने जिम्मा लिने खालको वातावरण बनाउँछौं ।
सरकारसँग पनि सिएसआरको बजेट खेलकुदमा अलिकति बढाउन अनुरोध गरेका छौं । मदिरा र सूर्तीजन्य पदार्थमा कर लगाएर खेलकुदका लागि आम्दानीको स्थायी स्रोत बनाउनुपर्छ भनेर लबिङ गरिरहेका छौं । पैसाभन्दा पनि नीति सजिलो बनाउने पहलमा छौं ।
जिल्लाहरूलाई बलियो बनाउन नगरपालिका महासंघसँग विभिन्न १० बुँदामा सम्झौता गरेका छौं । त्यसबाट पनि जिल्ला र क्लबहरूलाई ठूलो आर्थिक टेवा पुग्नेछ । पाँचवटा जिल्लामा त्यो परीक्षण सफल भइसकेको छ । अब अरू जिल्लामा पनि लागू गर्छौं । अब जिल्लाले गतिविधि गर्न केन्द्रको सहयोग कुर्नु नपरोस भन्ने हाम्रो उद्देश्य हो । सँगै शीर्ष डिभिजनका क्लबहरूलाई व्यावसायिकतातिर पनि उन्मुख गराउँदै लैजानुपर्छ भन्ने हाम्रो सोचाइ छ ।
पूर्वअध्यक्ष गणेश थापाले उहाँका व्यक्तिगत विषयलाई लिएर तपाईंसँग धेरै प्रश्न सोध्नुभएको छ । तर, तपाईं यस विषयमा मौन हुनुहुन्छ । तपाईंसँग केही जवाफ नभएरै हो ?
अब एउटा कुरा नि, फिफाबाट प्रतिबन्धित... होइन ! मलाई चाहिँ सबैभन्दा दुःख के लागिरहेछ भने मेरो विरुद्धमा अहिले फिफाबाट प्रतिबन्धित, म्याच फिक्सिङमा लागेका मान्छेहरू, त्यसपछि गएर नातावाद–कृपावादमा लागेका मान्छेहरूको एउटा जमात लागिरहेको छ । त्यसकारण मलाईं के चिन्ता लाग्दैन भने फिफाबाट प्रतिबन्धित भएका मान्छेहरू लागेर के होला ? आरोप त त्यत्तिकै लगाएको छैन नि ! लेखा समितिले बकाइदा निर्णय गरेर अख्तियारमा पठाएको फाइल हो नि ।
मैले आरोप लगाएको हो र ? लेखा समितिले त पत्रै लेखेर, निर्णय नै गरेर, नेपालको सर्वोच्च संसदको एउटा ठूलो निकायले गरेको निर्णय हो नि त । त्यसकारण मैले त्यसलाई प्रस्ट पार्नुपर्ने जरुरी छ जस्तो लाग्दैन । ठीक छ, भविष्यमा पार्नुपर्छ भने, त्यसलाई प्रमाणित गर्नुपर्छ भने पनि गर्नलाई केही गाह्रो छैन । तर, के छ भन्दाखेरि एकपटक चाहिँ उहाँ कारबाहीमा परिसक्नुभयो । अब पटक–पटक त्यो कुराहरू उठाइराख्दा राम्रो हुँदैन भन्ने मेरो कुरा हो । फिफाको निर्णयले पनि त्यो काम गर्न मिल्दैन । त्यसले गर्दा यस्तो काम उहाँले नगर्दा राम्रो हुन्छ । यो कुरा कोट्याइराख्दा मलाईभन्दा उहाँलाई नै हानी हुन्छ होला ।