अब्दुल्लाह अल्मुताइरी

यस्ता छन् राष्ट्रिय टोलीका नयाँ अनुहार

यसै महिनाको अन्तिममा हुने एएफसी एसियन कप–२०२३ छनोटको तयारीका लागि यतिबेला नेपाली राष्ट्रिय फुटबल टिम कतारमा प्रशिक्षणरत छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले कुवेतको जस्तै हावापानी रहेको कतारमा खेलाडीलाई घुलमिल गराएर मात्र कुवेत लैजाने भएका छन् । कतार बसाइको क्रममा नेपालले दुई अभ्यास खेल पनि खेल्नेछ ।

विवादास्पद अभिव्यक्ति र कृयाकलापका कारण सधै आलोचनाको घेराभित्र परिरहने प्रशिक्षक अल्मुताइरीले प्रशिक्षण सुरु नगर्दै चीनमा हुने एसियन कपमा टिम छनोट हुन नसक्ने भनेर दबाब विसाइसकेका छन् । यद्यपि अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार फुटबल संघको सहकार्यमा दोहामा टिमोर लिस्टे र ओमानसँग अभ्यास खेल पक्का गरे पनि अल्मुताइरीसँग नतिजाको दबाब हुने छैन ।

अल्मुताइरी विवाद शृंखलाको पछिल्लो संस्करणस्वरुप खेलाडीसँगको झगडाले नेपाली फुटबलमा खराव तरंग पैदा गरेको छ । आफ्नो व्यक्तिगत अहंकार शान्त गर्न जुनसुकै हदसम्म पनि जान सक्ने अल्मुताइरीले राष्ट्रिय टोलीका कप्तान र उपकप्तानसहित १० मुख्य खेलाडीलाई निश्कासन गरेका छन् । स्थापित मुख्य खेलाडीको ठाउँमा नयाँ खेलाडी ल्याएर उनले कतार र कुवेतका मैदानमा आउन सक्ने खराव नतिजाका लागि बहाना तयार गरेका छन् ।

परिपक्व खेलाडी निकालेपछि प्रतियोगिताका लागि अल्मुताइरीले नयाँ खेलाडीलाई अवसर दिएका छन् । टोलीमा हाल अधिकांश खेलाडी युवा छन् । कप्तान किरण लिम्बुसमेत सामाजिक सञ्जालमार्फत प्रशिक्षकविरुद्ध असन्तुष्टि जाहेर गर्दा टोलीबाट निश्कासित भएका छन् ।

यस पटक कुवेतमा नेपालले जेठ २५ मा जोर्डन, २८ मा घरेलु टोली कुुवेत र जेठ ३० मा कुवेतको सामना गर्नेछ । तर लामो समयदेखि नेपाली टोलीको मेरुदण्डको भूमिकामा रहँदै आएका कप्तान किरणसहित उपकप्तान रोहित चन्द, अञ्जन विष्ट, तेज तामाङ, अनन्त तामाङ, सुजल श्रेष्ठ, विशाल राई, गोलरक्षक विशाल श्रेष्ठ, सुमन लामा (हाल अस्ट्रेलिया), दिनेश राजवंशी र विमल घर्तीमगर बाहिर छन् ।

सिनियर खेलाडीलाई प्रशिक्षण सिविर छोड्ने उर्दी जारी गरेपछि अल्मुताइरीले १७ खेलाडीलाई प्रशिक्षणमा बोलाएका थिए । उनले सुरुमा ‘बी’ र ‘सी’ डिभिजन लिगका एक–एक खेलाडीलाई समेत प्रारम्भिक प्रशिक्षणमा अवसर दिएका थिए । तर कतार हुँदै कुवेत जाने टोलीमा भने अल्मुताइरीले चार नयाँ खेलाडीलाई पहिलो पटक अवसर दिएका छन् ।

नयाँ खेलाडीमा त्रिभुवन आर्मी फुटबल क्लबका विकास तामाङ, नेपाल पुलिस क्लबका ्नीरकुमार राई (युवराज), एनआरटीका शिव गुरुङ र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) का रोशन राना मगर छन् ।

पहिलो पटक राष्ट्रिय टोलीमा परेका चार खेलाडी ‘डेब्यु’को पर्खाइमा छन् । यता, टोलीका तीन जना गोलरक्षकसमेत ‘डेब्यु’ पर्खिरहेका छन् । हिमालयन शेर्पा क्लबका दीप कार्की, मनाङ मर्स्याङ्दी क्लबका विशाल सुनार र जावलाखेल युथका टिकेन्द्र थापा आधिकारिक खेलमा ‘डेब्यु’ पर्खाइमा छन् ।

पहिलोपल्ट राष्ट्रिय टोलीमा परेका चार खेलाडी:

शिव गुरुङ

डेविडको उपनामले बोलाइने शिव गुरुङ रुपन्देही जिल्लाका खेलाडी हुन् । हाल एनआरटीबाट लिग खेलिरहेका शिव पहिलो पटक राष्ट्रिय टिममा पर्न सफल भएका हुन् । ११ सिनियर खेलाडी टिमबाट निकालिएपछि २१ वर्षे रक्षक शिवका लागि नेपालको जर्सी लगाउने अवसरको बाटो खुलेको थियो ।

२०७६ सालको ‘बी’ डिभिजन लिग बाँसबारी युथ क्लबबाट खेलेका शिवले०७८ सालको ‘ए’ डिभिजन लिग एनआरटीबाट खेलेका थिए । फागुन दोस्रो साता सकिएको लिगमा एनआरटीलाई तेस्रो स्थान दिलाउन शिवले महत्त्वपूर्ण भूमिका खेले ।

लिगमा दुई पहेँलो कार्डका कारण एक खेलमा निलम्बन र एक खेलको अन्तिम तीन मिनेट (इन्ज्युरी समय नजोड्दा) बाहेक शिवले बाँकी ११ खेलमा पूरा समय मैदान बिताउँदै ९ सय ९३ मिनेट खेलेका थिए । रक्षापंक्तिका शिव टिमबाहिर रहेका अनन्त तामाङ, रोहित चन्द तथा दिनेश राजवंशीको राम्रो विकल्प हुन सक्छन् ।

नीरकुमार राई

नेपाल पुलिस क्लबका फरवार्ड नीरकुमार राईले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । युवा अट्याकर निरकुमार पुलिसका सदाबहार महत्त्वपूर्ण खेलाडीको रुपमा रहँदै आएका छन् ।

राष्ट्रिय टोलीमा आक्रमणको जिम्मा उठाउँदै आए पनि अहिले निकालिएका सुजल श्रेष्ठ, तेज तामाङ, सुमन लामाको राम्रो विकल्प बन्न सक्छन्, उनी ।

‘ए’ डिभिजन लिग–२०७८ मा भने नीरकुमारको प्रदर्शन सोचेअनुरुप थिएन । सुरुआती तीन खेलमा चोटका कारण नीरकुमार खेलाडी सुचिमै रहेनन् । चौथो खेलमा चार मिनेट खेल्दा बाँकी एक खेल भने उनले निलम्बनमा विताए । त्यसबाहेक उनले लिग दौरान ५ सय ९१ मिनेट (इन्ज्युरी सयमबाहेक) मैदानमा बिताए ।

सुनसरी धरानका नीरकुमार पुलिसमा जागिर सँगसँगै खेलकुदमा लागेका हुन् । नेपाल सुपर लिग (एनएसएल)को पहिलो संस्करणमा विराटनगर सिटी एफसीबाट गरेको प्रदर्शनका आधारमा ३१ वर्षे नीरकुमारले राष्ट्रिय टिमको ढोका खोलेको विश्वास लिइएको छ ।

विकास तामाङ

त्रिभुवन आर्मी फुटबल क्लबका अनुभवी रक्षक विकास तामाङ पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । सिन्धुपाल्चोकका २९ वर्षे खेलाडी विकास यसअघि पनि बन्द प्रशिक्षणमा रहेर अन्तिम समयमा टिमबाहिर रहँदै आएका थिए ।

प्रशिक्षक अल्मुताइरीले मुख्य खेलाडीहरुलाई टिमबाट निकालेपछि अनन्त तामाङ, दिनेश राजवंशी र रोहित चन्दको विकल्पका रुपमा विकासलाई आफ्नो रणनीतिमा तानेका हुन् ।

अनुभवी तथा आफूलाई प्रमाणित गरिसकेका अनन्त, दिनेश र रोहितको स्थान लिनु विकासका लागि चुनौती पक्कै हुनेछ । अघिल्लो सिजन २०७६ र यस सिजन आर्मीले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो स्थान कब्जा जमाउँदा विकासले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

रोशन रानामगर

दैलेखका २० वर्षीय रोशन रानामगर पछिल्ला चारमध्ये राष्ट्रिय टोलीमा स्थान बनाउने एन्फा एकेडेमीका एक्ला खेलाडी हुन् । एन्फा एकेडेमीका उत्पादन रोहितले उमेर समूहमा यु–१४, १५, १६, १८ प्रतियोगितामा देशको प्रतिनिधित्व गरिसकेका छन् ।

चोटका कारण एएफसी यु–१९ कप गुमाएका रोशन पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् । उमेर समूहमा नेपाली टिमको कप्तानी गरेका रोशनलाई ‘ए’ डिभिजन लिग–२०७८मा गरेको प्रदर्शनका आधारमा प्रशिक्षक अल्मुताइरीले आफ्नो रणनीतिमा सामेल गरेका हुन् ।

बिबिसीको युवा टिमबाट यु–१८ प्रतियोगिता खेलेका रोशनले २०७५, ०७६ र ०७८ सालमा ‘ए’ डिभिजन लिग पनि त्यही क्लबबाट खेलेका थिए । पछिल्लो पटक भने उनले टिमको कप्तानी समाल्दै दुई गोल गरे ।

एक खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्नुबाहेक रोशनले गएको लिग दौरान पूरा १ हजार १ सय ११ मिनेट मैदानमा (इन्ज्युरी समयबाहेक)  बिताएका थिए । रोशनलाई तेज तामाङ, अञ्जन विष्ट, सुजल श्रेष्ठ, विशाल राईको विकल्पका रुपमा हेरिएको छ ।