महिला फुटबल

महिला फुटबल ‘खस्किएको वर्ष’

नेपाली सिनियर महिला फुटबल टोलीले वर्ष २०७८ मा एकमात्र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो । उमेर समूहका केही प्रतियोगितामा पनि नेपालले सहभागिता जनाएको थियो । तर, नेपाली महिला टोलीले दक्षिण एसियामा जुन पहिचान बनाएको छ, त्यसअनुरुप प्रदर्शन गर्न भने सकेन ।

यसअघिका वर्षहरूमा जस्तै यस वर्ष पनि महिला फुटबलका दुईटा मात्र घरेलु प्रतियोगिता सम्पन्न भए । नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छविअनुसार प्रदर्शन गर्न नसक्नुमा पर्याप्त प्रशिक्षणको कमीका साथै गोल मेसिनमा रहेकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) को अनुपस्थिति मुख्य कारण बन्यो ।

२०७७ को फागुनमा सम्पन्न राष्ट्रिय महिला लिगका क्रममा साबित्राको घुँडामा चोट लागेको थियो । एक वर्षको विश्रामपछि उनले हालैमात्र चितवनमा जारी राष्ट्रिय महिला लिगमार्फत मैदानमा पुनरागमन गरिन् ।

वर्ष २०७८ मा एक मैत्रीपूर्ण खेल, तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको नेपालले कुनै खेलमा अपेक्षित नतिजा निकाल्न सकेन ।

उज्वेकिस्तानमा सम्पन्न एएफसी वुमेन्स एसियन कप छनोटमा सावित्राबिना नै मैदान उत्रिएको नेपाल समूह चरणबाटै बाहिरियो । उक्त प्रतियोगिताको समूह चरणबाटै बाहिरिएपछि तत्कालीन मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले टोलीमा सावित्राको अनुपस्थिति खड्किएको प्रतिक्रिया दिएका थिए ।

उज्वेकिस्तानमा आयोजना भएको एसियन कपमा नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा फिलिपिन्ससँग २–१ ले पराजित भएको थियो । नेपालबाट विमला चौधरीले गोल गरेकी थिइन् ।

दोस्रो खेलमा नेपाली टिम हङकङसँग गोलरहित बराबरीमा रोकियो । नेपालसँगै समूह ‘एफ’ मा फिलिपिन्स र हङकङ थिए । यो समूहबाट फिलिपिन्स एएफसी एसियन कपमा छनोट भयो । नेपाल र हङकङको एएफसी कप खेल्ने सपना अधुरै रह्यो ।

यसअघि नेपालले दुई उमेर समूहका अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो । बंगलादेशमा भएको साफ यु–१९ वुमेन्स च्याम्पियनसिपमा नेपाल तेस्रो भयो ।

मंसिरमा सम्पन्न प्रतियोगितामा नेपालले पहिलो खेलमा आयोजक टिमसँग गोलरहित बराबरी खेल्यो भने दोस्रो खेलमा श्रीलंकासँग ६–०, तेस्रो खेलमा भुटानसँग ४–० र चौथो खेलमा भारतसँग १–० ले पराजित भएको थियो ।

प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत, श्रीलंका र भुटान सहभागी थिए ।

यसपछि नेपालले घरेलु मैदानमा पहिलोपल्ट अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्यो । भदौमा बंगलादेशसँग खेलेको दुई मैत्रीपूर्ण खेलमा नेपालले एक खेल २–१ ले जित्यो भने दोस्रो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

त्यस्तै नेपाली महिला टोलीले चैतमा भारतमा यु–१८ साफ वुमेन्स च्याम्पियनसिप खेल्यो । भारतमा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले निकै खराब प्रदर्शन र नतिजा निकाल्दै २०७८ सालको अन्त्य गर्यो ।

नेपालले यसअघिका वर्षहरूमा सधैं स्वर्ण पदकमा दाबेदारी दिने गर्दथ्यो । आफूलाई उपाधिका लागि प्रस्तुत गथ्र्याे । यो वर्ष भने नेपालको फितलो प्रदर्शन विपक्षी टोलीका लागि फाइदा भयो ।

भारतलाई स्वर्ण पदकका लागि चुनौती प्रस्तुत गर्ने गरेको नेपालले बंगलादेशसँग रजतका लागि प्रतिस्पर्धा गर्नुपर्यो । चैत ९ सम्म भारतको जम्सेदपुरमा आयोजित च्याम्पियनसिपमा भारतले बंगलादेश र नेपाललाई पछि पार्दै उपाधि उचाल्यो ।

औंलामै गन्न सकिने अन्तर्राष्ट्रिय प्रतियोगिता तथा मैत्रीपूर्ण खेल खेलेको नेपाली टिमको प्रदर्शन खस्कनुमा यी सबै कुरा पनि एक मुख्य कारण हो ।

यो वर्ष महिला खेलाडीले मात्र दुई घरेलु प्रतियोगिता खेल्यो । सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा कात्तिकमा उपमेयर कप राष्ट्रिय महिला छनोट प्रतियोगिता र चितवन भरतपुरमा जारी राष्ट्रिय महिला लिग आयोजना भए ।

महिला छनोटबाट विजेता धनगढी उपमहानगर र उपविजेताका रूपमा ललितपुर महानगर लिगमा छनोट भएका थिए । चैत १० देखि सुरु प्रतियोगितामा ८ टोली सहभागी छन् ।

यसै प्रतियोगिताको अघिल्लो संस्करणमा घाइते भएकी सावित्राले पनि यो लिगबाटै मैदानमा पुनरागमन गरिन् । एक वर्षपछि चोटमुक्त भएर मैदान उत्रिएकी साम्बाको उत्कृष्ट प्रदर्शनमा एपिएफ क्लबले लिगमा शतप्रतिशत नतिजासहित तालिकाको शीर्षस्थानमा कब्जा जमाएको छ ।

साबिक विजेतासमेत रहेको एपिएफका लागि साम्बाले सातौं चरणसम्ममा १४ गोल गरेकी छन् ।