मोफसल

मोफसल फुटबलमा एक वर्ष

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसपालि राष्ट्रिय फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ए डिभिजन लिगलाई फरक तरिकाले गर्ने योजना बनाएको थियो । होम एन्ड अवे पद्धतिमा सप्ताहन्त लिग गर्ने एन्फाको योजना थियो ।

एन्फाले चार वटा फरक मैदानमा सहिद स्मारक ‘ए’ डिभिजन लिगका खेल गर्ने घोषणा गरेको थियो । त्यहीअनुसार लिग होम एन्ड अवे पद्धतिमा हुन सकेन । होम एन्ड अवे त एन्फाको फगत मुद्दामात्र थियो । तर लिगलाई मोफसलमा लैजाने काममा भने एन्फाले गरेको छ । उसले पहिलो कदम चालेको मान्नुपर्छ ।

पछिल्लो समय एन्फा आफैंले लिगलगायतका केन्द्रीय प्रतियोगितालाई व्यवस्थित त गर्न सकेन नै, मोफसलमा स्वतस्फूर्त रूपमा भइरहेका प्रतियोगितालाई पनि निरुत्साहित गर्ने नीति अख्तियार गर्यो । तथापि विभिन्न रस्साकस्सीपछि एन्फाबाट मान्यता पाएका सातवटा प्रतियोगिताले मोफसलका मैदानलाई उत्सवमय बनाइदियो ।

लिगलाई राष्ट्रिय फुटबलको मेरुदण्ड मानिने भए पनि नेपालको हकमा भने मोफसलमा हुने प्रतियोगिताले साँचो अर्थमा थेगिरहेको इतिहास छ । सधैं आन्तरिक शक्तिसंघर्षको भूमरीमा फसिरहँदा नेपाली फुटबलले लिगलाई निरन्तर आयोजना गर्न सकेन । त्यसमाथि १० वर्षे माओवादी सशस्त्र द्वन्द्वले फुटबल गतिविधि थप संकुचित बनायो । त्यो समयमा समेत मोफसलमा आयोजना हुने प्रतियोगिताहरूले नेपाली फुटबललाई जीवन्त पारिरह्यो ।

पछिल्लो समय एन्फा आफैंले लिगलगायतका केन्द्रीय प्रतियोगितालाई व्यवस्थित त गर्न सकेन नै, मोफसलमा स्वतस्फूर्त रूपमा भइरहेका प्रतियोगितालाई पनि निरुत्साहित गर्ने नीति अख्तियार गर्यो । तथापि विभिन्न रस्साकस्सीपछि एन्फाबाट मान्यता पाएका सातवटा प्रतियोगिताले मोफसलका मैदानलाई उत्सवमय बनाइदियो ।

मोफसलमा यो वर्ष भएका सात प्रतियोगितामा नेपाली फुटबलको सबैभन्दा सफल टोली मनाङ मस्र्याङ्दी क्लब दुई उपाधि जित्न सफल भयो  । त्रिभुवन आर्मी फुटबल क्लब, एनआरटी, पिप्ले युवा क्लब, एपिएफ फुटबल क्लब र सगरमाथा युथ क्लबले एक÷एक उपाधि जिते ।

आहा–रारा गोल्डकप

आयोजक सहारा एकेडेमी पोखरा रंगशालामा कोभिड महामारीको त्रास कायम रहेकै बेला प्रतियोगिता गर्न तयार भयो । पछिल्लो दुई दशकदेखि सशस्त्र द्वन्द्व, भुइँचालो र फुटबल विवादका सबैखाले प्रतिकूल परिस्थितिमा नरोकिएको प्रतियोगितालाई घाटा खाएरै भए पनि निरन्तरता दिने निष्कर्षमा क्लब पुग्दा इतिहासमै पहिलो पटक बिनादर्शक खेल सुरु भए । तर सेमिफाइनलसम्म पुग्दा महामारीको त्रास भएका कारण सरकारले तोकेका स्वास्थ्य मापदण्ड पूरा गर्दै आयोजकले सेमिफाइनल र फाइनलमा दर्शक प्रवेश दियो ।

प्रतियोगितामा आठ टोली सहभागी थिए । उपाधि भिडन्तमा सर्वाधिक ६ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लबलाई पेनाल्टी शुटआउटमा पराजित गर्दैै विभागीय टोली एपिएफ फुटबल क्लबले पहिलो पटक आहा–रारा गोल्डकपको उपाधि जित्यो ।

शीर्ष डिभिजनको लिगमा खराब प्रदर्शनका कारण रेलिगेसन दबाबमा रहेको एपिएफ मोफसलमा भने सिजनको पहिलो प्रतियोगितामै उपाधि जित्न सफल भयो । जहाँबाट प्रशिक्षक कुमार थापाले टोलीलाई लिगमा रेलिगेसनबाट जोगाउने बुटी प्राप्त गरे ।

पोखरा रंगशालामा उपाधि जित्ने क्रममा एपिएफले आयोजक सहारा एकेडेमी, यही प्रतियोगिताका लागि अमेरिकाबाट नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी प्रलय राजभण्डारीको नेतृत्वमा आएको भुटनिज स्पोर्ट्स युथ र मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको थियो ।

नेपाली फुटबलको सबैभन्दा प्रतिष्ठित नकआउट प्रतियोगिताको यो संस्करणमा खेलेका चार खेलमा तीन गोल गरेका एपिएफका रवि थिङ उच्च गोलकर्ता बन्दा मछिन्द्रका मेसुके ओलोमोउसहित एपिएफका प्रदीप लामा र आभाष लामिछानेले समान दुई गोल गरेका थिए ।

खप्तड गोल्डकप

शीर्ष डिभिजन लिग समाप्तिसँगै सुदूरपश्चिम ११ को आयोजनामा पाँचौं मुख्यमन्त्री कप सुदूरपश्चिम खप्तड गोल्डकप आयोजना भयो । कोभिड महामारीका कारण अघिल्लो वर्ष हुन नसकेको महत्त्वाकांक्षी प्रतियोगिताको पाँचौं संस्करणमा १० टोली सहभागी थिए ।

फागुन १९ देखि २८ सम्म चलेको प्रतियोगितामा नेपाली फुटबलको सबभन्दा सफल टोली मनाङ मर्स्याङ्दी क्लबले उपाधि हात पार्यो । धनगढी रंगशालामा सम्पन्न फाइनलमा मनाङले ‘ए’ डिभिजन लिगको प्रतिद्वन्द्वी फ्रेन्ड्स क्लबलाई ३–१ गोलले पराजित गरेको थियो ।

खप्तड गोल्डकपमा मनाङको यो दोस्रो उपाधि थियो । यसअघि मनाङले पहिलो संस्करणको उपाधि जितेको थियो । खप्तड गोल्डकपमा मनाङले दुई पटक उपाधि जित्दा थ्रीस्टार, नेपाल पुलिस क्लब र आयोजक टिमले एक÷एक पटक उपाधि जितेका छन् ।

झापा गोल्डकप

सुदूरपश्चिममा चर्चित खप्तड गोल्डकप चलिरहँदा सुदूरपूर्वको झापामा झापा गोल्डकप हुने तय भयो । फागुन २१ देखि ३० सम्म भएको प्रतियोगिताको पाँचौं संस्करणमा १० टिमको सहभागिता थियो ।

आयोजक झापा एघार लगातार पाँचौं पटक फाइनलमा पुगे पनि फेरि एकपल्ट उपाधिबाट विमुख भयो । जबकि प्रतियोगिताको इतिहासमा चौथो पटक फाइनल पुगेको नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबले चौथो पटक उपाधिमा कब्जा जमायो ।

प्रतियोगिताको पहिलो संस्करणमा उपाधि जितेको आर्मी दोस्रो संस्करणमा असफल भएको थियो । दोस्रो संस्करणको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको थियो । तर त्यसपछि लगातार तीन पटक उपाधि जित्दै आर्मीले यसपालि झापा गोल्डकपमा उपाधि ह्याट्रिक गर्यो ।

पाँचौं पटकको सहभागितामा आयोजकले पहिलो पटक उपाधि घरमै राख्ने लक्ष्यअनुसार विमल घर्तीमगर, विशाल राई, देवेन्द्र तामाङलगायतका स्टारलाई मैदान उतारेको थियो । तर फाइनलमा आर्मीसँग २–१ ले पराजित हुँदा झापाको लक्ष्य फेरि एकपटक असफल भयो ।

फाइनलमा आयोजकको तर्फबाट विमलले गोल गरेका थिए । तर त्यसअघि नै आर्मीका टेकबहादुर बुढाथोकी र जर्जप्रिन्स कार्कीले गोल गरेर टोलीलाई ह्याट्रिक उपाधि नजिक पुर्याइसकेका थिए ।

फुटबलको समृद्ध संस्कार बोकेको झापामा आयोजकले आफ्नो क्लबसँगै नेपाली फुटबलका लागि गरेको योगदानको कदरस्वरुप फरवार्ड विशाल राई ‘ए’ लाई ‘लाइफटाइम एचिभमेन्ट’ पुरस्कारबाट मोटरसाइकलसहित सम्मानित गरेको थियो ।

राजर्षि जनक कप

मधेस प्रदेशको केन्द्रमा रहेको सर्लाहीमा नियमित हुन थालेको राजर्षि जनक कपको छैटौं संस्करणका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले चैत पहिलो साताको समय दियो । चैत २ देखि ११ गतेसम्म भएको प्रतियोेगितामा १२ टोली सहभागी थिए ।

वाग्मती युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा यसपालि सहिद स्मारक लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले सहभागिता जनाउँदा झनै चर्चा बढ्यो । मछिन्द्रले यस प्रतियोगितालाई एएफसी कप–२०२२ को पहिलो प्लेअफ तयारीका लागि सर्लाही जाने निर्णय गरेको थियो ।

फाइनलमा मछिन्द्र क्लब मकवानपुरको पिप्ले युवा क्लबसँग पेनाल्टी शुटआउटमा पराजित भएको थियो । लिग च्याम्पियन मछिन्द्रलाई पराजित गर्दै उपाधि जित्नु मोफसलको एउटा टोली पिप्लेका लागि भने ठूलो उपलब्धि थियो ।

काठमाडौंमा दुई खेलअगावै शीर्ष डिभिजनको लिग जितेर एएफसी कपका लागि तयारीमा रहेको मछिन्द्रले मोफसलमा उही लय समाउन सकेन । यसअघि पोखरामा एपिएफ तथा खप्तडमा वाग्मतीसँग पराजित भएको मछिन्द्रले सर्लाहीको मैदानमा हेटौंडाको पिप्ले युवा क्लबलाई नतिजा सुम्पियो ।

फाइनलमा मछिन्द्र क्लब मकवानपुरको पिप्ले युवा क्लबसँग पेनाल्टी शुटआउटमा पराजित भएको थियो । लिग च्याम्पियन मछिन्द्रलाई पराजित गर्दै उपाधि जित्नु मोफसलको एउटा टोली पिप्लेका लागि भने ठूलो उपलब्धि थियो ।

दमक गोल्डकप

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पछिल्लो समय मोफसलमा हुने प्रतियोगिता वर्गीकरण गरेको छ । एन्फाको वर्गीकरणमा परेका २५ प्रतियोगितामध्ये झापामा हुने दमक गोल्डकप पनि एक हो ।

एन्फाले दिएको तालिकाअनुसार १० टिमको सहभागितामा दोस्रो दमक गोल्डकप चैत ९ देखि १८ सम्म आयोजना भयो । प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजन लिगका तीन, भारतबाट दुई, क्यामरुनी टिम एक र बाँकी स्थानीय टोलीको सहभागिता थियो ।

प्रतियोगिताको फाइनल भने अघिल्लो वर्षको रिप्ले थियो । फाइनलमा अघिल्लो वर्षझै साबिक विजेता नेपाल पुलिस क्लब र साबिक उपविजेता मनाङ मर्स्याङ्दी क्लब पुगेका थिए । यस पटक भने मनाङले पहिलो संस्करणको फाइनलमा भोगेको हारको बदला लिँदै २–० को जित निकाल्यो । यो सिजन मनाङले हात पारेको यो दोस्रो उपाधि थियो ।

सिमरा गोल्डकप 

‘फ्लडलाइट’ मा प्रतियोगिता हुने हुँदा सिमरा गोल्डकपको निकै चर्चा रहन्छ । काठमाडौंबाहिर कृत्रिम प्रकाशमा नियमित हुने यो थोरै प्रतियोगितामध्ये एक भएकाले सिमरा गोल्डकपको चर्चा स्वाभाविक हो ।

चैतको उराठलाग्दो मौसम, त्यसमाथि मधेसको प्रचण्ड गर्मीका कारण रातिको समय खेल गराइनु नै सिमरा गोल्डकपको एउटा मुख्य आकर्षण थियो । यही कारण सिमरा गोल्डकपका क्रममा रंगशाला धाउने दर्शकको संख्या उल्लेख्य रह्यो ।

प्रतियोगिताका लागि एन्फाले चैत १० देखि १९ सम्मको समयतालिका तोकेको थियो । जहाँ विभागीय टोली एपिएफ फुटबल क्लबलाई ५–० को फराकिलो अन्तरमा पराजित गर्दै १२औं सिमरा गोल्डकपको उपाधि न्युरोड टिम (एनआरटी)ले जित्यो ।

मोफसलमा सिमराले जितेको यो १२ वर्षपछिको पहिलो उपाधि हो । १२ वर्षअघि धरानमा बुढासुब्बा गोल्डकप जितेयता एनआरटी मोफसलमा उपाधिविहीन थियो ।

इटहरी गोल्डकप

एन्फाका मोफसल प्रतियोगिता संयोजक विजय घलेका अनुसार इटहरी गोल्डकप यस सिजनका लागि मान्यता दिइएको अन्तिम प्रतियोगिता हो ।

यो प्रतियोगिता चैत १९ देखि सुरु भई २६ गते सम्पन्न भयो । कुल आठ टोली सहभागी प्रतियोगितामा ‘ए’ डिभिजन लिगका तीन क्लब थिए ।

यसैगरी भारतबाट दुई र क्यामरुनको एक टोलीको समेत सहभागिता रहेको प्रतियोगिताको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र स्थानीय सगरमाथा युथ क्लबबीच प्रतिस्पर्धा भयो ।

आर्मीले सेमिफाइनलमा झापालाई पराजित गरेको थियो भने सगरमाथा सेमिफाइनलमा मनाङलाई ४–१ ले पराजित गर्दै उपाधि नजिक पुगेको थियो । फाइनलमा त्रिभुवन आर्मी क्लबमाथि टाइब्रेकरमा जित हासिल गर्दै सगरमाथाले उपाधिमा कब्जा जमायो ।