नेपाली फुटबल

वर्ष २०७८ मा फुटबल: १६ भर्सेज ३६ गोल

कोभिड–१९ महामारीका कारण नेपाली फुटबल २०७७ सालमा लथालिंग थियो । यो समयमा कुनै पनि खेलकुद प्रतियोगिता हुन पाएनन् । विश्व खेलकुद नै कोभिडबाट आक्रान्त बनेका बेला नेपाली फुटबलमात्र त्यसबाट अछुतो हुने सम्भावना थिएन ।

०७७ सालको अन्त्यतिर कोरोना संक्रमण कम भएसँगै फुटबलका केही प्रतियोगिता भए । तर अत्यन्तै सीमित संख्यामा । त्यो पनि दर्शकविना । कोभिड महामारीको त्रास कायम राख्दै आएको वर्ष हो, २०७८ । महामारीका कारण हुन नसकेका घरेलु तथा अन्तर्राष्ट्रिय खेलहरू यस वर्ष हुने भए ।

त्यसैले यो वर्ष स्वाभाविक रूपमा नेपाली फुटबलको क्यालेन्डर निकै व्यस्त रह्यो । किनकि घरेलु फुटबलको चटारोसँगै फिफा तथा एएफसीले पुनः तालिका गरेका अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको व्यस्त क्यालेन्डर पनि नेपाली फुटबलसामु थियो ।

यो वर्ष स्वाभाविक रूपमा नेपाली फुटबलको क्यालेन्डर निकै व्यस्त रह्यो । किनकि घरेलु फुटबलको चटारोसँगै फिफा तथा एएफसीले पुनः तालिका गरेका अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको व्यस्त क्यालेन्डर पनि नेपाली फुटबलसामु थियो । देशभित्र सबैभन्दा लोकप्रिय फुटबल निकै चलायमान भयो । अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानबाहिर होस् या भित्र सधैं चर्चामा रह्यो ।

देशभित्र सबैभन्दा लोकप्रिय फुटबल निकै चलायमान भयो । अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानबाहिर होस् या भित्र सधैं चर्चामा रह्यो ।

यहाँको प्रसंग एन्फा विवादको हैन, न त एन्फाले कुवेतबाट झिकाइएका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दिने विवादास्पद अभिव्यक्ति नै अहिलेको चर्चा हो । तर अल्मुताइरीको नेतृत्वमा नेपाली राष्ट्रिय फुटबल टोलीको खेलेका अन्तर्राष्ट्रिय खेलका प्रदर्शन र नतिजा स्मरण भने नयाँ वर्षको सुरुआतमा प्रासंगिक हुने नै छ ।  

नेपाली फुटबल वर्ष २०७८ सालभर नै प्रशिक्षक अल्मुताइरीको वरिपरी घुम्यो । अल्मुताइरीकोे नेतृत्वमा नेपाली राष्ट्रिय फुटबल टोलीले बितेको वर्ष फिफाका आधिकारिक र सामान्य मैत्रीपूर्ण गरी १६ खेल खेल्यो । जसमा नेपालले ९ हार भोग्दा ५ जित तथा २ बराबरी नतिजा निकाल्यो । यसक्रममा नेपालले विपक्षी पोस्टमा १६ गोल गर्न सफल हुँदा त्योभन्दा २० बढी अर्थात ३६ गोल सामना गरेको छ ।

बितेको वर्ष नेपालले खेलेकोमध्ये सबैभन्दा मुख्य प्रतियोगिता कतार फिफा विश्वकप–२०२२ छनोट अन्तर्गत दोस्रो चरण तथा साफ च्याम्पियनसिप थियो । माल्दिभ्सको मालेमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनल पुग्नु यो वर्ष नेपाली फुटबलको उत्कर्ष थियो । किनकि दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा नेपाली टोली फाइनल पुगको यो पहिलो अवसर थियो । फाइनलमा भारतसँग पराजित भएपछि नेपाल पहिलो पटक साफ च्याम्पियनसिप जित्ने मौकामा चुकेको थियो ।

०७७ सालको अन्त्यमा नेपाल झरेका प्रशिक्षक अल्मुताइरीले आफ्नो पहिलो खेल भने ०७८ जेठ १५ मा मात्रै पाए । उनले टिमलाई इराक पुर्याउँदा नेपाल ६–२ अन्तरले पराजित भयो । यद्यपि हार भए पनि एसियाली महारथी इराकविरुद्ध दुई गोल गर्नुलाई निकै महत्व मानियो । यस खेलमा ‘डेब्यु’ गरेका मनीष डाँगी र अञ्जन विष्टले एक/एक गोल गरेका थिए ।  

यसपछि नेपालले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा चाइनिज ताइपेइविरुद्ध जेठ २० मा खेल्यो । अञ्जन विष्टले चौथो मिनेटमा गरेको गोलसँगै नेपालले खेलमा अग्रता लियो । खेल सकिन ९ मिनेट बाँकी रहँदा नवयुग श्रेष्ठले गोल थपेर नेपाललाई २–० को जित दिलाए ।

जेठ २४ र २८ मा क्रमशः नेपालले एसियाली महारथी जोर्डन र अस्ट्रेलियासँग खेल्दा ३–० को समान अन्तरमा नतिजा सुम्पियो । विभिन्न अड्कलबाजीबीच नेपाली टोलीले दोस्रो चरण पार गरेको थियो ।

यसपछिको यात्रा साफ च्याम्पियन रह्यो । त्यसैको तयारीस्वरुप नेपालले भारतीय राष्ट्रिय टोलीसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्यो । भदौ १७ गते भारतसँग घरेलु मैदानमा पहिलो खेल खेल्दा १–१ को बराबरी नतिजा निस्कियो । अञ्जन विष्टको गोलसँगै ३६औं मिनेटमा नेपालले अग्रता लिए पनि भारतका अनिरुद्र थापाले ६०औं मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याएका थिए ।

भदौ २० गते भएको दोस्रो मैत्रीपूर्ण खेलमा भने नेपाल २–१ को नतिजामा पराजित भयो । तेज तामाङले खेल सकिन ४ मिनेट बाँकी रहँदा गरेको गोल घरेलु मैदानमा नेपाली समर्थकका लागि सान्त्वना बनेको थियो । त्यसअघि नै कप्तान सुनील क्षेत्री र फारुख चौधरीको गोलमा भारतले २–० को अग्रता लिइसकेको थियो ।

साफ च्याम्पियनसिपकै तयारी लागि नेपाली टिमले करिब तीन साता कतारमा बन्द प्रशिक्षण गर्यो । यस क्रममा नेपालले आफूभन्दा निकै माथि रहेको ओमानसँग मैत्रीपूर्ण खेल खेल्यो । गोप्य रूपमा खेलिएको यस खेलमा नेपाल ७–२ अन्तरले पराजित भयो । असोज १० गते खेलिएको खेलमा नेपालका लागि अनन्त तामाङ र आयुश घलानले गोल गरेका थिए ।

यसपछि असोज १५ देखि ३० सम्म नेपाली टिमको परीक्षा साफ च्याम्पियनसिपमा भयो । घरेलु टोली माल्दिभ्सविरुद्ध १–० र श्रीलंकाविरुद्ध ३–२ को जित तथा बंगलादेशसँग १–१ को बराबरी खेलेपछि भारतसँग ३–० अन्तरले पराजित भए पनि नेपाल टोली पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सफल भयो ।

फाइनलमा भने नेपाल चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग फेरि ३–० कै अन्तरमा पराजित भएर उपाधि जितको स्वर्णिम अवसर गुमायो ।

माल्दिभ्सबाटै तेस्रो पटक राजीनामा घोषणा गरेर नेपाल नफर्कने बताएका अल्मुताइरीले पुनः नेपाल फर्किएर नयाँ सम्झौता गर्न भ्याए । यसपछि आफ्ना अघिल्ला वर्षका योजना प्रस्तुत गरे । त्यही योजनाअनुसार नेपाली टिमले पहिलो पटक अफ्रिकन प्रतिद्वन्द्वी मोरिससविरुद्ध घरेलु मैदानमा खेल्यो । पुस १५ र १८ मा खेलिएका दुवै खेलमा नेपाल १–० को समान अन्तरमा विजयी भयो ।

वर्षको अन्तिममा चैत १० मा नेपालले थाइल्यान्डसँग बैंककमा खेल्यो । बलियो घरेलु टोलीलाई नेपालले २–० को नतिजा सुम्पियो । यस्तै थाइल्यान्डको शीर्ष डिभिजन क्लब चोनबुरी एफसीसँग खेलिएको मैत्रीपूर्ण खेलमा नेपाल ३–१ ले पराजित भयो ।  

यस खेलसँगै नेपालले वर्ष २०७८ मा खेल्ने अन्तर्राष्ट्रिय खेल सकिएको छ । आगामी वर्षका लागि नेपालले एएफसी एसियन कप–२०२३ छनोटको खेल खेल्ने पक्का छ । अन्य खेलको विषय भने अल्मुताइरीको झोक र एन्फाको योजनाले तय गर्नेछ ।