जोसे माउरिन्हो

मैदानमा माउरिन्होको महत्त्व

सर्वकालीन सफल सूचीको अग्रस्थानमा रहने प्रशिक्षक कहिलेकाहीं सबैभन्दा विवादित पनि हुनसक्छ । जोजे माउरिन्होले चेल्सी, इन्टर मिलान, रियाल मड्रिड र म्यानचेस्टर युनाइटेडजस्ता विश्वका ठूला क्लबबाट थुप्रै उपाधि जितिसकेका छन् ।

त्यही कारण विश्वका थुप्रै स्टार खेलाडी उनीबाट प्रभावित छन् । कतिपयले उनलाई पछ्याउँदै प्रशिक्षणमा करियर पनि खोज्दैछन् । माउरिन्होको शैलीसँग असहमति राख्ने कतिपय पर्यवेक्षकको भूमिकामा छन् । तर माउरिन्होलाई एउटा महान प्रशिक्षक मान्ने धेरै छन् ।

माउरिन्होको विषयमा बुझ्नका लागि उनीसँग नजिक रहेर काम गरेका मानिसहरूका अनुभव महत्त्वपूर्ण बन्न सक्छ । प्रशिक्षकका रूपमा माउरिन्होको विषयमा उनीसँग काम गरेका र पर्यवेक्षकका रूपमा उनलाई नियालेकाहरूले थुप्रै भनाइ राखेका छन् । त्यसमध्ये कोचेज भ्वाइसले माउरिन्होमाथि अन्य फुटबलकर्मीका केही महत्त्वपूर्ण अनुभव संकलन गरेको छ ।

माउरिन्होले दुई कार्यकाल प्रशिक्षकका रूपमा चेल्सीको नेतृत्व गर्दा जोन टेरी कप्तान थिए । माउरिन्होले सन् २००४ देखि २००७ सम्म पहिलो तथा २०१३ देखि २०१५ सम्म दोस्रो कार्यकाल प्रशिक्षकको भूमिकामा चेल्सीको नेतृत्व गरेका थिए ।

‘जोजे आएपछि मलाई पनि प्रशिक्षक बन्ने इच्छा जागेर आयो । त्यसअघिसम्म एउटा खेलाडीका रूपमा म मैदानमा जाने र खेल्नेमा मात्र केन्द्रित हुन्थें । मलाई अभ्याससत्रको विषयमा कुनै वास्ता हुँदैनथ्यो । हामीले अभ्यास गर्ने मैदानको आकारमाथि पनि म ध्यान दिन्नथें । तर जोजे आएपछि धेरै कुरा परिवर्तन भयो, फुटबल भनेको तयारीकै पक्ष रहेछ भन्ने जानकारी भयो,’ माउरिन्होको विषयमा टेरी भन्छन्, ‘उनी बिहान ८ बजे मैदान पुगिसक्थे । हामी मैदान पुग्नुअघि कोन राख्ने काम भ्याइसक्थ्यो । पर्याप्त मात्रामा बिब्स र बल भए नभएको पक्का गर्थें । बलब्वाइलाई मैदानमा अभ्यासअघि नै तैनाथ गरिसकिएको हुन्थ्यो, ताकि अभ्यास गर्नेक्रममा बाहिर गएको बल तत्काल मैदान फर्कियोस् । एउटा खेलाडीका रूपमा मैले मात्र नभई अरूले पनि उनी कति राम्रा प्रशिक्षक हुन भन्ने अनुभव गरेका छन् । मैदानभित्र अभ्यास वा खेलको समयमा मात्र नभई मानसिसक रूपमा पनि उनी एउटा सशक्त र प्रभावकारी व्यक्तित्व हुन् ।’

‘उनको नेतृत्वमा टोली रहँदा म दुई पटक घाइते भएँ, दुई खेलमा उपलब्ध नहुने भएँ । जोजे त्यो बेला उपचारकक्षमा आउँथे, तर सबैसँग कुरा गरे पनि मसँग भने कुरा गर्दैनथे । त्यसपछि मलाई छोडेर कोठा बाहिर जान्थे,’ टेरी स्मरण गर्छन, ‘फुटबल क्लबको कप्तान नाताले किन उनी मसँग बोलिरहेका छैनन् भन्ने सोच्थें । मैले फिजियोथेरापिस्टसँग प्रशिक्षकले मसँग नबोलेको मलाई स्वीकार्य छैन भन्थें । म भोलिदेखि अभ्यासमा आउँछु भनें ।’

‘जोजेलाई आफू के गरिरहेको छु भन्ने थाहा थियो । मलाई कसरी प्रेरित गर्ने, कसरी दबाब दिने, कति बेला सर्वोत्कृष्ट खेलाडी हौं भनेर भन्ने जस्ता कुरा उनलाई थाहा थियो । म, फ्रान्क (लाम्पार्ड), डिडियर (ड्रोग्बा), पिटर (चेक), एस्ले (कोल) विश्वका सबैभन्दा राम्रा खेलाडी हो भनेर उनी हाम्लाई हौस्याउँथे । हामीलाई एउटा खेलाडीका रूपमा आफू विश्वको सबभन्दा राम्रो भएको अनुभूतिसाथ मैदान छिराउँथे । त्यसको प्रभाव मैदानभित्र हाम्रो प्रदर्शनमा पर्दथ्यो । हामी विश्वकै सबैभन्दा राम्रा खेलाडी थियौं त ? सायद थिएनौं । तर जोजेले हामीलाई त्यस्तै अनुभूति गराउँथे,’ टेरी सम्झन्छन् ।  

जो कोलले सन् २००४ देखि २००७ सम्म चेल्सीमा माउरिन्होको नेतृत्वमा खेलेका थिए । कोललाई पनि माउरिन्होको राम्रो प्रभाव परेको छ ।

‘अघिल्लो सिजन उनले एफसी पोर्टोको टोलीबाट युइएफए कप जितेको मैले हेरेको थिएँ । मलाई प्रशिक्षकका रूपमा उनी प्रभावशाली लागेको थियो । पछि सँगै खेलेपछि थाहा भयो, प्रशिक्षकको रुपमा मात्र नभई एउटा व्यक्तित्वको रूपमा पनि उनी प्रभावशाली हुन् । उनले आएकै दिनदेखि चेल्सीलाई माथिल्लो स्तरमा पु¥याए,’ कोलको अनुभव छ, ‘उनले सधैं मबाट शतप्रतिशत प्रदर्शन निकाले । कुनै खेलमा मलाई बाहिर राख्थे भने अर्को खेलमा २० मिनेट मौका दिन्थे र मैले सक्नेसम्म त्यही २० मिनेटमा उत्कृष्ट निकाल्थें ।’

माउरिन्होले आफ्ना खेलाडीको आलोचना गर्नेमात्र नभई आवश्यकताअनुसार अति प्रशंसा गर्ने गरेको कोलको बुझाइ छ । ‘जोजेले पत्रकार सम्मेलनमा फ्रान्क लाम्पार्ड विश्वकै सर्वोत्कृष्ट खेलाडी हुन् भन्दै गरेको अझै पनि म सम्झन्छु । फ्रान्कलाई आफू कति राम्रो खेलाडी हुँ भन्ने थाहा थिएन, तर जोजेले त्यसो भनेपछि फ्रान्कको पखेटा पलायो । मैदानमा उनले नियमितभन्दा कम्तीमा पनि १० प्रतिशत बढी प्रदर्शन गरे । त्यो बेला हाम्रो टिममा फ्रान्क सबैभन्दा महत्त्वपूूर्ण खेलाडी थिए । जोजेलाई थाहा थियो, कसरी फ्रान्कजस्ता खेलाडीको क्षमता उपयोग गर्ने भनेर,’ कोलले सुनाए ।

माउरिन्होले दुई कार्यकाल चेल्सीमा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्दा २०१३ देखि २०१५ को बीचमा प्रशिक्षक स्टिभ हलान्डले उनको सहायक भएर काम गरे । हलान्डको विचारमा माउरिन्हो एक सर्वोत्कृष्ट प्रशिक्षक हुन् । प्राविधिक रूपमा अत्यन्तै उच्चस्तरका माउरिन्हो विपक्षीको बलियो पक्ष पत्ता लगाउन र त्यसलाई निस्तेज गर्न माहिर थिए ।

‘विपक्षीको खेल्ने शैली अध्ययन गरेर त्यसका लागि काउन्टर रणनीति बनाई बलिया टिमहरूमाथि सफलता हासिल गरेका थुप्रै खेल अहिले पनि मलाई याद छ,’ हलान्ड भन्छन् ।

जिन टिगानाको विचारमा माउरिन्हो असाधारण क्षमताका विश्वकै सर्वोत्कृष्ट प्रशिक्षक हुन् । फरक क्लबबाट थुप्रै युरोपियन कप जितेर माउरिन्होले आफ्नो क्षमता प्रमाणित गरेको उनको बुझाइ छ ।

नुनो स्पिरिटो सान्टोले २००२ देखि २००४ सम्म एफसी पोर्टोमा माउरिन्होको नेतृत्वमा खेलेका थिए । आफूले खेलेका सबै प्रशिक्षकबाट धेरै कुरा सिकेको बताउने सान्टोको विचारमा पनि माउरिन्हो सर्वोत्कृष्ट प्रशिक्षक हुन् ।

‘पोर्टोमा माउरिन्होको कालमा खेल्दा हामीले सम्भव भएका सबै उपाधि जित्यौं । उनले पोर्टोमा उत्कृष्ट खेलाडीहरूको समूह तयार पारेका थिए । उनकै कारण हामी सफल भएका थियौं । टोलीमा उनको ठूलो प्रभाव थियो,’ सान्टो भन्छन् ।

२०१२÷०१३ मा रियाल मड्रिडमा हुँदा एन्थोनी हडसनले माउरिन्होको शैली अवलोकनको मौका पाए । त्यतिबेला साँच्चै ठूलो दबाबमा रहँदा पनि माउरिन्होले प्रभावकारी तरिकाले काम गरेको उनको बुझाइ छ ।

‘स्पेन उनका लागि उपयुक्त थलो नहुने सबैको बुझाइ थियो । उनले इकर कासियासलाई ‘ड्रप’ गरेर टिटो भिलानोभालाई अगाडि बढाएका थिए । खेल हारिरहेका थिए । दबाब बढ्दो थियो । तर उनी तनावमा देखिँदैनथे । शान्त रूपमा प्रस्तुत हुन्थे, ठट्टा गरिरहेका हुन्थे । आफू अरूभन्दा बलियो भएको विश्वास गर्थे र जित्ने भावना देखाइरहन्थे । अचानक उनले लगातार खेल जित्न थाले,’ हडसनले भने, ‘रियाल सोसिडाडविरुद्धको खेलको अघिल्लो दिन शुक्रबार साँझ उनले मलाई भोलिपल्टको खेलको दृश्य भविष्यवाणी गरे । खेल ठ्याक्कै उनले भनेजस्तै भयो । दबाबबीच पनि यति ढुक्कसँग काम गर्न सक्ने अर्को प्रशिक्षक मैले देखेको छैन ।’

सन् २००९ देखि २०१४ को बीचमा इन्टर मिलान, रियाल मड्रिड र चेल्सीमा माउरिन्होको नेतृत्वमा सहायक प्रशिक्षकको भूमिका निर्वाह गरेका जोजे मोराइसका लागि उनीसँग काम गर्नु भनेको क्रिसमस चिठा परेजस्तै हो ।

‘म ट्युनिसियामा इस्पेरेन्समा काम गरिरहेको थिएँ । सबथोक राम्रो भइरहेको थियो । मेरो काम राम्रो भइरहेको थियो । टोली, व्यवस्थापन र समर्थक मसँग खुसी थिए । म पनि रमाइरहेको थिएँ । तर मलाई अचानक माउरिन्होको फोन आयो । उनले इन्टर मिलानमा सँगै काम गर्ने प्रस्ताव राखे, जुन मेरा लागि क्रिसमस चिठा परेजस्तै थियो,’ मोराइस भन्छन्, ‘सुरुमा मलाई उनको प्रस्तावमाथि विश्वासै लागेन । मेरो व्यावसायिक जीवन परिवर्तन हुँदै थियो । ट्युनिसियामा जति खुसी भए पनि मलाई विश्वको सर्वोत्कृष्ट प्रशिक्षकले सँगै काम गर्न प्रस्ताव गरेका थिए । मैले एक सेकेन्ड पनि नसोची हुन्छ भनिदिएँ ।’

बेन्फिकाको समयदेखि नै आफूलाई माउरिन्होको प्रशंसक बताउने मोराइसले थपे, ‘तर त्यो बेलासम्म म उनको कामको मात्र प्रशंसक थिएँ । इन्टर मिलान, रियाल मड्रिड र चेल्सीको अनुभवपछि एउटा मानिसका रूपमा पनि उनी कति राम्रा छन् भन्ने मैले थाहा पाएँ । उनी एउटा साथीभन्दा पनि बढी छन् । मेरो विचारमा उनी जीवनले मलाई उपहार दिएका ‘दाजु’ हुन् ।’ 

कोचेज भ्वाइसबाट