मछिन्द्र फुटबल क्लब

एसिया कप: नेपाली क्लबलाई छनोटकै पहाड

एएफसी एसिया कपमा नेपाली टोली प्रदर्शन पछिल्ला वर्षहरूमा उल्लेखनीय बन्न सकिरहेको छैन । यो वर्षको लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले पनि त्यही विगतलाई निरन्तरता दियो ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौं चरणमा शीर्षस्थानमा रहँदै एएफसी कपको प्रारम्भिक छनोटको टिकट जितेको मछिन्द्र पहिलो खेलमै पराजित भयो ।

नेपाली फुटबलको शीर्ष डिभिजन लिग नसकिँदै एएफसी कपको तालिका सार्वजनिक हुने भयो । र, सातौं चरणको ‘लिग लिडर’ क्लबले एसिया कप छनोट खेल्न पाउनेमा क्लबहरू राजी भए । सातौं चरणमा ‘लिग लिडर’ बनेको मछिन्द्रले त्यो बाजी मारेको थियो ।

तर, श्रीलंकाली सुपर लिग च्याम्पियन ब्लु स्टार स्पोर्ट्स क्लबसँग घरेलु मैदानमा २–१ ले पराजित भएसँगै एसिया कपको समूह चरण पुग्ने मछिन्द्रको लक्ष्य चकनाचुर भएको छ । आफ्ना समर्थकसामु खेल्ने अवसर पाएको मछिन्द्रले सुरुआती २८ मिनेटमै २–० ले पछि परेको मछिन्द्रले हार टार्न नसक्दा निराश हुनुपर्यो ।

पछिल्ला संस्करणहरूमा नेपाली टिमलाई समूह चरण पुग्नै धौ–धौ परिरहँदा मनाङ मरस्र्याङ्दी क्लबले भाग्यवश सोझै समूह चरण खेल्ने मौका पाएको थियो । सन् २०१९ मा एएफसी कपमा दक्षिण एसियाली मुलुकबाट फिफा वरीयताको शीर्ष तीनमा पर्ने देशको प्रतिनिधित्व गर्ने क्लबले सोझै समूह चरणमा स्थान पाउँथे ।

सोही मापदण्डको फाइदा मनाङलाई भएको थियो । तर समूह ‘ई’मा भारतका चेन्नाई एफसी र मिनर्भा पन्जाब तथा बंगलादेशको अबहानी ढाकासँग परेको मनाङले एक खेल पनि जित्न सकेन । त्यसयता सन् २०२१ मा मछिन्द्र नै लिग च्याम्पियन भए पनि एएफसी क्लब लाइसेन्स नहुँदा उपविजेता आर्मीले त्यो मौका पाएको थियो ।

प्रारम्भिक छनोटको पहिलो खेलमा श्रीलंका पुलिस टिमलाई ५–१ गोलको नतिजामा पराजित गर्दै भारतीय महारथी बंैगलुरु एफसीसँगको भेट निश्चित गरेको थियो । गत वर्ष अप्रिलमा भएको उक्त खेलमा बैंगलुरुसँग आर्मी ५–० को नतिजामा पराजित हुनुपर्यो ।

त्यसअघि सन् २०१८ को संस्करणमा भने नेपालबाट कुनै पनि टोलीको सहभागिता रहेन । सन् २०१७ मा लिग च्याम्पियन थ्री स्टार क्लबले खेल्न पाउने थियो । तर, अखिल नेपाल फुटबल संघ (एन्फा)ले नाम नपठाउँदा नेपाली टिम सहभागिताबाट वञ्चित हुनुपरेको थियो । एन्फाको लापरवाहीका कारण क्लबले एसिया कप खेल्न नपाएकाले थ्री स्टारले लिग नै नखेल्ने धम्की दिएको थियो । सन् २०१६ मा भने नेपालले सहभागिता जनाएन ।

सन् २०१५ मा मनाङ मर्स्याङ्दी क्लबले प्रारम्भिक छनोटको ‘ड्र’ सार्वजनिक भइसकेपछि नाम फिर्ता लिएको थियो ।

त्यसअघि २०१४ सम्म नेपाली टिमले एएफसी प्रेसिडेन्ट्स कपमा मात्रै स्थान पाउँथे । एसियाली फुटबल महासंघले नेपाल, भुटान, चाइनिज ताइपेईलगायत मुलुकलाई ‘इमर्जिङ नेसन्स’ क्याटगोरीमा राखेर प्रेसिडेन्ट्स कप आयोजना गर्दै आएको थियो । त्यो एएफसी च्याम्पियन्स लिग र एसिया कपपछि तेस्रो वरीयताको प्रतियोगिता थियो । तर, सन् २०१५ बाट प्रेसिडेन्ट्स कप खारेज गर्दै नेपाललगायतका मुलुकले पनि एसिया कपको प्रारम्भिक छनोट खेल्ने प्रावधान स्थापित भएको थियो ।

सन् २००५ देखि सुरु भएर १४ सम्म चलेको प्रेसिडेन्ट्स कपमा नेपालको प्रतिनिधित्व गर्दै नेपाल पुलिस क्लब (महेन्द्र पुलिस क्लब)ले फाइनल यात्रा गरेको थियो । २००५ मा पहिलो संस्करण नेपालमै आयोजना हुँदा थ्री स्टारले सेमिफाइनलसम्म यात्रा तय गरेको थियो ।

सन् २००६ मा मलेसियामा भएको दोस्रो संस्करणमा मनाङले समूह चरण नै पार गर्न सकेन । सन् २००७ मा पाकिस्तानमा भएको तेस्रो संस्करणमा पुलिसले सनसनीपूर्ण रूपमा फाइनल यात्रा तय गरेको थियो । समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइनल पुगेको पुलिसले ताजकिस्तानको रेगर–ताडजलाई २–१ गोलले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । यद्यपि फाइनलमा किर्गिस्तानको डोर्डाेइ डाइनामोसँग २–१ ले पराजित हुँदा पुसिल उपविजेतामा सीमित बनेको थियो ।

त्यसको अर्को वर्ष किर्गिस्तानमा भएको चौथो संस्करणमा पुलिसले सेमिफाइनलसम्म मात्रै यात्रा तय गर्यो । त्यसयता पाँचौंदेखि नवौं संस्करणसम्म नेपाली टोलीले नकआउट चरणसम्म यात्रा तय गर्न सकेनन् । सन् २०१४ मा श्रीलंकामा भएको अन्तिम संस्करणमा मनाङ फाइनल चरणको उपविजेता बनेको थियो ।

एसिया कपमा गोल गर्ने एकमात्रै नेपाली खेलाडी हुन्, अभिषेक रिजाल । उनले सन् २०१९ मा भारतको पन्जाब एफसी (तत्कालीन मिनर्वा पन्जाब) विरुद्ध गोल गरेका थिए । २०१९ को मेमा कालिङ्गा स्टेडियममा अभिषेकले ६९औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । सोही सिजन ओलावाले आफिजले दुई, ओलुवाम्नी एडेलाजा सोमिडे र ओलुवासिनाले मनाङका लागि एक–एक गोल गरेका थिए ।

यो सिजनको प्रारम्भिक छनोटमा मछिन्द्रबाट खेलेका अभिषेकले दोस्रो हाफमा मौका पाए पनि गोल गर्न सकेनन् ।