सहिद स्मारक ‘बी’ डिभिजन लिग

बेजोड बन्दै ‘बी’ डिभिजन लिग

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग सकिएको चार दिनपछि सुरु भएको ‘बी’ डिजिभन लिगको आठौं चरण सकिएको छ । शीर्ष दुई टोली ए डिभिजन लिगमा बढुवा हुने र पुछारका दुई टोली सी डिभिजनमा घटुवा हुने प्रावधानसहित सुरु लिगमा हालसम्म चर्को प्रतिस्पर्धा कायम छ ।

घरेलु फुटबलमा कुनै समय महारथी कहलिएका रानीपोखरी कर्नर टिम (आरसिटी), ब्वाइज युनियनजस्ता टिमहरु लय भेट्टाउन संघर्षरत छन् । ए डिभिजन लिगबाट घटुवा भएको अन्तिम टोली सरस्वती युवा क्लब भने शीर्ष दुईबाट खासै टाढा छैन ।

आठ खेलबाट १७ अंक जोडेको चर्च ब्वाइज शीर्ष स्थानमा रहँदा समान खेलबाट १५ अंक जोडेको सरस्वती युथ क्लब दोस्रो स्थानमा छ । सुरुआती ५ खेलमा अपराजित यात्रा तय गरेको चर्च ब्वाइज छैटौं चरणमा भगवती क्लबसँग २–१ को नतिजामा पराजित भएको थियो ।

पछिल्लो सिजन एक टोलीमात्रै बढुवा हुने प्रावधान हुँदा दोस्रो स्थानमा रहेर पनि ‘बी’ डिभिजनमै रहेको खुमलटार ११औं स्थानमा छ । राम्रो सुरुआत गरेर पनि त्यो लय कायम राख्न नसक्दा खुमलटार शीर्ष दुईको होडबाट टाढिएको हो ।

आठौं चरणका खेल सकिँदा चर्च ब्वाइजका आशिष चापागाईं र वीरगन्ज युनाइटेड क्लबका फरवार्ड कृपाकान्त महतो थारु समान ८ गोलसहित संयुक्त उच्च गोलकर्ता दौडमा छन् । सिजनको सुरुदेखि नै गोल स्कोरिङ फर्म समाएका आशिषले पहिलो खेलमै टुसाल युथविरुद्ध ह्याट्रिक गरेका थिए ।

उच्च गोलकर्ताको होड पनि रोमाञ्चक छ । उनलाई पछ्याइरहेका कृपाकान्तले सातौं चरणको खेलमा सरस्वती युवाविरुद्ध चार गोल गर्दै आशिषसँगै उच्च गोलकर्ताको होडमा आएका हुन् ।

अपेक्षित चर्चा नपाएको ‘बी’ डिभिजन लिगले सातौं चरणमा आएर पृथक विषयका कारण चर्चा पायो । बुधबार एन्फा कम्प्लेक्समा भएको खेलमा श्री भगवती क्लबका अफिसियलहरूले रेफ्रीमाथि हातपात गरे ।

बाँसबारी क्लबसँग २–१ गोलको नतिजामा पराजित भएको भगवतीका अफिसियलहरू फाइनल ह्विसल बजेसँगै मैदानमा प्रवेश गरेर म्याच रेफ्री सुमन श्रेष्ठ र असिस्टेन्ट रेफ्री मधुकर आचार्यमाथि हातपात गरेका थिए । त्यो घटनालाई नियन्त्रणमा लिन सुरक्षागार्ड गुहार्नुपरेको थियो ।

रेफ्रीमाथि हातपात गरेसँगै भगवतीका मुख्य प्रशिक्षक शैलेश कर्माचार्यलाई एन्फाले तीन खेलको प्रतिबन्ध लगाएको छ । साथै उनलाई ५० हजार रुपैयाँको जरिवाना पनि गरिएको छ । भगवतीका टिम म्यानेजर दीपेन्द्र डंगोल, राजाराम श्रेष्ठ र विक्रम डंगोललाई बाँकी सबै खेलमा प्रतिबन्ध लगाएको छ । यद्यपि, रेफ्री जस्तो मर्यादित पोस्टमाथिको आक्रमणका लागि यो सजाय कम भएन र ? भन्ने बारे सामाजिक सञ्जालमा बहस चलिरहेको छ ।

डिभिजन लिगले राष्ट्रिय टोली निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । नेपालको सन्दर्भमा पनि डिजिभन लिगबाट नै प्रायः खेलाडीले राष्ट्रिय टोलीसम्मको यात्रा तय गर्छन् । कुनै पनि राष्ट्रिय टोलीको मेरुदण्ड भनेको घरेलु फुटबल लिग हो ।

हो, ‘ए’ डिजिभन लिग राष्ट्रिय टोलीको प्रमुख आधार हो । तर ‘बी’ डिभिजन लिग ‘ए’ डिभिजनको जग हो ।

‘ए’ डिभिजन मात्रै नभएर संरचनामा भएका सबै लिग राम्रो हुनुपर्ने पूर्व राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल महर्जन बताउँछन् ।

‘राष्ट्रिय टोलीको आधार स्तम्भ भनेको नै लिग हो, त्यसैले लिग राम्रो भयो भने राष्ट्रिय टोली राम्रो हुन्छ,’ महर्जनले खेलाडीसँग भने, ‘यो बी डिभिजन लिगका धेरै खेल हेरेको छु । राम्रो छ ।’

‘ए’ डिभिजन लिगमात्रै होइन, ‘बी’ डिभिजन र ‘सी’ डिभिजन लिगबाट पनि सोझै राष्ट्रिय टोलीसम्म पुग्ने खेलाडीको उल्लेख्य संख्या राष्ट्रिय टोलीमा छ ।

२०७६ सालमा भएको ‘बी’ डिभिजन लिगमा खेलेका धेरै खेलाडी अहिले राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य बनिसकेका छन् । आयुश घलान, मनीष डाँगी, सुदीप गुरुङ, प्रशान्त अवस्थीलगायतका खेलाडी तिनै उदाहरण हुन् ।

यसपालिको लिगमा पनि नयाँ केही नयाँ खेलाडीले राम्रो खेलिरहेको म्याच कमिस्नर गौरीमान राई बताउँछन् ।

‘यो सिजन बी डिभिजन लिगका खेल र शीर्षस्थानको होड पनि रोमाञ्चक छ,’ कमिस्नर राईले खेलाडीसँग भने, ‘टेक्निकल्ली पनि खेल राम्रो छ, नयाँ खेलाडीले राम्रो खेलिरहेका छन् ।’

पछिल्लो संस्करणको तुलनामा बी यसपालि चार टिम घटुवा/बढुवा हुने भएकाले पनि लिगको रोमाञ्च बढेको उनले सुनाए ।

‘यसपालिको लिगमा दुई टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछन् र दुई टोली सी डिभिजन लिगमा घटुवा हुने भएकाले पनि यसपालि प्रत्येक खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक छन् ।’

पछिल्लो संस्करणको तुलनामा यसपालि लिगमा स्तरसँगै शैली पनि सुधारिएको पूर्वप्रशिक्षक महर्जन बताउँछन् ।

‘यो सिजन बी डिभिजन लिगमा सहभागी १४ वटै क्लबबीचको ‘ग्याप’ ठूलो देखिँदैन,’ उनले भने, ‘विदेशी लिगहरूको लाइभ हेरेर पनि सुधार भएको हुनसक्छ, विगतमा ‘र्यान्डम’ गेमहरू देखिन्थे । तर, यसपालि पोजिसनअनुरुप खेल देखिएको छ । समग्रमा खेल विगतभन्दा राम्रो छ । यसले आगामी संस्करणको ‘ए’ डिभिजन लिगमा पनि सुधारका लागि सहयोग गर्नेछ ।’