काठमाडौं । फुटबल कप्तान को त ? टिममा नियमित स्थान हकले पाउने खेलाडी कि टिमका सबैभन्दा अनुभवी खेलाडी ? अनुभवी खेलाडी पनि त्यस्ता होस्, जसकोे टिममा सुरुआती स्थान पाउने सम्भावना कम छ ।
नेपाली फुटबलमा यस्तै कुरा प्रायः बहसको विषय हुने गर्छ । फेरि यो बहस पहिले थियो, अहिले पनि छ । केही वर्षअगाडिसम्म नेपाली फुटबलका लागि कप्तान को हुने हो भन्नेमा अन्यौल थियो, जुन पटक्कै सुखद थिएन । तर, अहिले यो धेरै हदसम्म सेलाएको छ ।
यसको कारण हो किरण चेम्जोङले कप्तानीमा दिएको निरन्तरता । किरण नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलरक्षक हुन् । उनको विकल्पमा सोच्न गाह्रै छ । यस्तोमा उनी निरन्तर टिममा परिरहेका छन् ।
नेपालका लागि सबैभन्दा बढी खेल खेल्ने खेलाडी पनि हुन् । त्यो भनेको उनी टिमकै सबैभन्दा अनुभवी खेलाडीमा पर्छन् । यस्तोमा उनको कप्तानीलाई लिएर प्रश्न उठाउने स्थान नै रहेन । स्वयं मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पनि यस्तै मान्छन् ।
अल्मुताइरी भनिसकेका छन्, किरण नेपाली टिमको नेतृत्वकर्ता हुन्, मैदानमा उनको उपस्थिति आवश्यक छ । मोरिससविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल उनले नेपाली टिमको नेतृत्व सम्हालेको २४ औं प्रतिस्पर्धा हो ।
किरणलाई सबैभन्दा पहिले कप्तानी दिने प्रशिक्षक हुन् बालगोपाल महर्जन । सन् २०१८ मा बंगलादेशको ढाकामा भएको साफ च्याम्पियनसिपका बेला किरण पहिलोपल्ट कप्तान बनेका थिए । उनको कप्तानीमा पहिलो खेल भने भुटानविरुद्ध थियो ।
त्यही बेला प्रशिक्षक महर्जन भन्थे, जसले टिममा नियमित स्थान पाउने निश्चित हुन्छ, कप्तानीमा पनि उनकै हक हुन्छ । तर, महर्जन आफैं पनि यो दाबीमा धेरै समय टिक्न सकेनन् । त्यस साफ च्याम्पियनसिप नै नेपालले तीन कप्तानको नेतृत्वमा खेलेको थियो । नेतृत्वको अवसर पाएका अन्य दुई खेलाडी थिए विराज महर्जन र भरत खवास ।
सन् २०२१ मा काठमाडौमा भएको थ्री नेसन्स कपदेखि भने किरण निरन्तर कप्तानीमा छन् । यो क्रम अझै अगाडि बढ्ने निश्चित छ ।
त्यस अगाडि पालैपालो जस्तो अनिल गुरुङ, विराज महर्जन र भरत कप्तान बने । अझ एक खेलकै लागि सुजल श्रेष्ठ पनि कप्तान भए । यसमध्ये विराजले भने लामै समय कप्तानीको अवसर पाए । उनले १८ खेलमा नेतृत्व दिए । त्यसअघि लामै समय कप्तान रहे सागर थापा । उनको नाम लिनेबित्तिकै खेल मिलेमतोको प्रसंग त्यसै जोडिन्छ । यो कुनै चर्चा गर्नलायकको विषय भने होइन । उनी नेपाली फुटबलले पाएका अब्बल दर्जाका खेलाडी थिए । तर, उनले आफ्नो खेलजीवनलाई नै न्याय गर्न सकेनन् ।
सागरले ४२ खेलमा नेपालको कप्तानी गरे, जुन आफैंमा कीर्तिमान हो । त्यस अर्थमा नेपालका लागि सर्वाधिक बढी खेलमा कप्तानी गर्ने अहिलेसम्म सागर नै हुन् । उनले सबैभन्दा पहिले सन् २००९ को एएफसी च्यालेन्ज कपमा कप्तानी सम्हालेका थिए । सागर पनि टिममा लगभग सबै अवसरमा पहिलो रोजाइका खेलाडी रहे । त्यसैले उनी पनि पहिलो रोजाइकै कप्तानी रहन सफल भए । त्यसअघि को–को कप्तान थिए त नेपाली राष्ट्रिय टिमको ? त्यसका लागि अब सुरुदेखि चर्चा गर्दा ठीक हुन्छ ।
नेपालले सन् १९८२ देखि आधिकारिक फुटबल खेल्न थालेको तथ्यमा टिकेरभन्दा नेपालको पहिलो कप्तान हुन्, रूपकराज शर्मा । त्यसपछि कप्तान भए, सुरेश पन्थी । गणेश थापा नेपालका तेस्रो कप्तान हुन् । उनले लामै समय नेतृत्वको अवसर पाए । यसबीच श्रीराम रञ्जितकार पनि कप्तान बनेका छन् । थापापछि कप्तान हुने पालो थियो राजुकाजी शाक्यको । उनले पनि लामै समय कप्तानी भूमिका निभाए । शाक्यपछि एकै खेलका लागि वसन्त गुरुङ कप्तान बनेका थिए ।
दीपक अमात्य त्यसपछिका कप्तान रहे । यसैबीच देवनारायण चौधरीले पनि एकै खेलमा भए पनि कप्तानी भूमिका खेले । अनि पालो आयो उपेन्द्रमान सिंहको । उनी कप्तानी हुँदै बीचमा तिनै बालगोपाल महर्जनको हातमा पनि आर्मब्यान्ड देखियो । कप्तान हुने सूचीमा थपिने अन्य नाम हुन् हरि खड्का, वसन्त थापा र राकेश श्रेष्ठ । राकेशपछि त सागरले टिम सम्हालेका थिए । कम्तीमा अहिले किरण लयमा रहेसम्म नेपाली फुटबलको कप्तान को भन्ने विवाद देखिने छैन ।