काठमाडौं । तेस्रो पटक आयोजना भएको राष्ट्रिय लिग फुटबलमा पाँच खेल सम्पन्न भइसकेको छ । सहभागी १७ क्लब कमजोर तयारीका बाबजुद प्रतियोगितामा उपाधि जित्न होमिएका छन् । करिब तीन महिनासम्म हुने लिगमा १ सय ३७ खेल हुनेछ ।
लिगको पाँच खेल सम्पन्न भयो । तर, लिगमा हुनुपर्ने रौनक भने देखिएको छैन । उपाधि दाबेदार मछिन्द्र र न्युरोड टिम एनआरटीबीचको खेललाई छाड्ने भने सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ५ सय हाराहारी पनि दर्शक देखिएका छैनन् । चर्चित खेलाडी पलायन हुनु र घरेलु फुटबल नै करिब तीन वर्षपछि फर्किंदा पनि यसले स्वाभाविक लय पाउन सकेको छैन । यो लिगमा रेलिगेसन नहुने भएर पनि खासै क्लबहरूमा उत्साह नै देखिँदैन ।

यही बीच पनि केही क्लबहरू भने उपाधि जित्ने र एएफसीको क्लब च्याम्पियनसिपमा छनोट हुने दाउमा छन् । प्रतियोगिताअघि भएको पत्रकार सम्मेलनमा केही क्लबले उपाधि जित्ने योजना सुनाए भने केहीले सहभागिता मात्रै हुने बताएका थिए ।
राष्ट्रिय लिगको उपाधि दाबेदारमा तीन विभागीय टोलीसहित पछिल्लो पटक आयोजना भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजदेखि दुई पटकको च्याम्पियन मछिन्द्र एफसी र एनआरटी देखिएका छन् । सातदोबोटो युथ र फ्रेन्ड्सले पनि औसत टिम बनाएको छ ।
मछिन्द्र फुटबल क्लब दुई पटक सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेको मछिन्द्र पहिलो पटक राष्ट्रिय लिग जित्ने योजनामा छ । मछिन्द्रले राष्ट्रिय टिमबाट खेलेका अधिकांस खेलाडीलाई टिममा समावेश गरेको छ । टोली विशाल श्रेष्ठको नेतृत्वमा छ । यो टिममा सनिश श्रेष्ठसँगै केही चर्चित खेलाडी छन् । दुई पटक लिग च्याम्प्यिन बनाएका प्रशिक्षक प्रवेश कटुवालले नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू पनि यही क्लबमा ल्याएका छन् ।
एनआरटी क्लब यसपटक एनआरटीले पनि गजबको टिम बनाएको छ । राष्ट्रिय टिमबाट खेलिसकेका र युवा टिमको पनि प्रतिनिधित्व गरिसकेका खेलाडीको बाहुल्य एनआरटीमा देखिन्छ । पछिल्लो दशक घरेलु फुटबलमा खासै जोस नदेखाएको एनआरटी यस पटक च्याम्पियन हुने दौडमा देखिन्छ । जीवन सिन्केमानलाई जिम्मेवारी सुम्पिएको एनआरटी व्यवस्थापकले राष्ट्रिय टिमबाट खेलिसकेका अञ्जन विष्ट, मनिष डा“गी, कृतिशरत्न छुन्जु जस्ता खेलाडी अनुबन्ध गरेको छ ।
त्रिभुवन आर्मी क्लब
विभागीय टोली त्रिभुवन आर्मी क्लब हरेक प्रतियोगिताको उपाधि दाबेदारको रूपमा उभिने गरेको छ । तर, वर्षभर अभ्यास गर्ने र राष्ट्रिय टिमका अधिकांस खेलाडी अनुबन्ध गरेको आर्मी अन्तिममा भने सधैं चुक्ने गरेको छ । यसपालि सोही अवस्था दोहोरिन नदिन आर्मीले नेपाली फुटबलकै सफल प्रशिक्षक बालगोपाल महर्जनलाई अनुबन्ध गरेको छ । आर्मीमा राष्ट्रिय टिमबाट खेलिरहेका कार्की दाजुभाइ जिलेस्पीजंग र जर्जप्रिन्स, विकेश कुथु, कुशल देउवा, नवयुग श्रेष्ठ, विमल पाण्डे, नवीन लामालगायतका खेलाडी छन् । तर, आर्मीले यसपटक पनि विदेशी खेलाडी अनुबन्ध नगर्ने जनाइसकेको छ ।
एपिएफ फुटबल क्लब
पछिल्लो पटक लिगमा रेलिगेसनको विवादलाई लिएर विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आफ्नो हैसियत जोगाउन करिब दुई वर्ष कुर्नुपरेको थियो । यो विवाद सुल्झिँदा एक पटकको राष्ट्रिय लिग विजेता थ्री स्टार रेलिगेसनमा प¥यो । एपिएफले आफ्नो हैसियत जोगाउँदै राष्ट्रिय लिगसमेत खेल्न पायो । सात वर्षपछि एपिएफले प्रशिक्षकमा राजेन्द्र तामाङलाई फर्काएको छ । राष्ट्रिय टिमबाट खेलेका मणि लामा, सुमन श्रेष्ठसँगै टोलीले सन्तोष खत्री र गोलकिपर अञ्जन श्रेष्ठलाई अनुबन्ध गरेको छ । टोलीको कप्तानी भने हरि कार्कीले गर्नेछन् । त्यसैले पनि टोली बलियो देखिन्छ । यद्यपि रेलिगेसन नहुने भएपछि एपिएफले पनि विदेशी खेलाडी अनुबन्ध गरेको छैन ।
चर्च ब्वाइज युनाइटेडसहिद स्मारक ‘ए’ डिभिजन लिगमा डेब्यु उपाधि जितेको चर्च ब्वाइज डेब्युमै राष्ट्रिय लिग पनि जित्ने योजनामा छ । राष्ट्रिय टिमको मिडफिल्डर एरिक विष्टलाई कप्तानी जिम्मेवारी सुम्पिएको चर्च ब्वाइजले मोफसलमा सफल भएका प्रशिक्षक सुमन श्रेष्ठलाई निरन्तरता दिएको छ । टोलीले सिक्किममा खेलिरहेको कारण अझै पूर्ण टिम पाउन सकेको छैन । गोलकिपर दीप कार्की नै पहिलो खेलमा उपलब्ध भएनन् । त्यसैले पहिलो खेलमा श्री भगवती क्लबविरुद्ध टोलीले लगभग हार टार्न संघर्ष गर्नुपरेको थियो ।
नेपाल पुलिस क्लब नेपाल पुलिस क्लबले पहिलो पटक आयोजना भएको राष्ट्रिय लिग जितिसकेको छ । यसपटक चेतन घिमिरेको प्रशिक्षण र राम वाजीको कप्तानीमा टिम दोस्रो पटक उपाधि जित्ने दाउमा छ । तर, पुलिस टिम पूर्ण रूपमा युवा खेलाडीको भरमा छ । यसअघि भएको यु–१८ र यु–१६ लिग जितेको खेलाडीलाई नै पुलिसले अनुबन्ध गरेको छ । तर, पछिल्लो पटक रेलिगेसन क्षेत्रमा रहेको पुलिस विदेशी खेलाडी अनुबन्ध गरेर तेस्रो स्थान बनाएपछि हौसिएको छ । पुलिस यसपटक सुरुमा युवा खेलाडीलाई प्राथमिकता दिने र यदि नजिता ननिस्केको अवस्थामा विदेशी खेलाडी भित्र्याउने रणनीतिमा छ ।