खेल्दा होस् वा प्रशिक्षक हुँदा अनन्त थापा केही न केही बोलिरहन्छन् । अहिले उनी नेपाल पुलिस क्लबका प्रशिक्षक छन् । लिग चलिरहेको छ । पुलिसको खेलका क्रममा केही भयो कि फनक्क पछाडि फर्किन्छन् र केही न केही बोलिहाल्छन् ।
‘डगआउट’ मा बसेकाको काम उनले भनेको सुन्नुपर्ने । उनको बानी हो यो । खेलाडी छँदा पनि केही न केही बोलिरहन्थे । अझ सके, घोचपेच गरिरहन्थे । खेल पत्रकारलाई पनि उनी केही न केही भनिरहन्थे । त्यसमाथि उनको मुखै छुच्चो ।
तर, सबैलाई उनको कुरा सुन्नु नै थियो । किनभने एउटा खेलाडीको रूपमा उनी निकै उत्कृष्ट थिए । राम्रा जतिको मुखै छुच्चो पो हुने को कि ? विपक्षी टिमका खेलाडी, प्रशिक्षक र पदाधिकारी पनि उनको खेलबाट कायल हुन्थे । त्यसमध्ये एक थिए, थ्री स्टार क्लबका पूर्वअध्यक्ष ललितकृष्ण श्रेष्ठ । उनी भन्थे, ‘यी अनन्तले के कस्तो बोल्छन्, त्यो आफ्नै ठाउँ छ, तर खेलाडीको रूपमा उनीबारे गुनासो छैन ।’ अब त श्रेष्ठ पनि रहेनन् । तर, उनीबारे जोडिएका केही थान सम्झना अनन्तसँग पक्कै बाँकी होला ।
पुसिललाई मैदानमा गाह्रो-साह्रो पर्यो, गोल चाहियो वा गोलका लागि अवसर सिर्जना गर्नुपर्यो, पुलिस टिमले सम्झने नाम त्यही अनन्त नै थियो । घरेलु फुटबलमा उनी जत्तिको खेलाडी बिरलै पाइन्छ, गन्दा हातका औंला पनि बढी हुन्छ ।
पुलिस फुटबलका लागि त उनी पक्कापक्की ‘लेजेन्ड’ नै हुन् । जसरी खेलाडीबाट उनको भूमिका फेरिएर प्रशिक्षक भएको छ । त्यसरी नै उनी आफैं पनि फेरिएका छन् । ठ्याक्कैभन्दा अन्ततः ‘अनन्त’ फेरिए ।
अचेल गम्भीर छन्, फुटबल व्याकरणका मोटा-मोटा बाक्ला कुरा गर्छन् । ‘ती त्यस्तै दिन थिए,’ बेजोड हाँसोमा उनी स्वीकार्छन्, ‘भर्खरको युवा थिएँ, यो गर्नुपर्छ र त्यो गर्नुहुँदैन, सबै थाहा थिएन ।’
सबैभन्दा पहिले यिनै सुरुआती दिनका कुरा । वर्ष ०५२ सालतिर फुच्चे उमेरमा बर्थडे कप खेल्न काठमाडौंमा झरेका थिए । विराटनगरका यी अनन्तले त्यतिबेला साइनो क्लबबाट खेलेका थिए । पछि थ्री स्टारसँग जोडिए । डेब्यु वर्षमै ०५४ सालको लिग जिते ।
त्यतिबेला लिगको अन्तिम दिनमात्र थ्री स्टारले उपाधि जितेको थियो । त्यसमा उनले थ्री स्टारका लागि निर्णायक खेल खेले । ती दिन सम्झँदा उनी खुसी हुन्छन् । उनले ०५७ सालको लिग पनि थ्री स्टारकै लागि खेले । तर, लिग सकिएको थिएन पुलिससँग आबद्ध भए ।
त्यस अर्थमा उनले आठ संस्करणका लिग खेलेका छन् । दुई संस्करण थ्री स्टारका लागि र बाँकी ६ संस्करण पुलिसका लागि खेले । त्यसमध्ये पुलिसले वर्ष ०६३, ०६६/०६७ र ०६९ को लिग उपाधि जित्यो । अनन्तलाई खास सम्झने भनेको ०६३ को लिगका लागि हो ।
आधुनिक कालमा पुलिसले लिग जितेको यो नै पहिलोपल्ट हो । वर्ष ०६० सालदेखि ‘ए’ डिभिजन खेल्न थालेको पुलिसले सुरुआती तीन संस्करणमा केही गर्न सकेन । प्रशिक्षक थिए योगम्बर सुवाल । उनलाई फेरेर प्रशिक्षकमा विराटकृष्ण श्रेष्ठ के आए, पुलिसलले लगातार तीनपल्ट उपाधि जितेर ह्याट्रिक नै बनायो ।
अनन्तले पाँचपल्ट लिग विजेताको पदक लगाए । त्यसमध्ये पनि सबैभन्दा सम्झनलायक उपाधि वर्ष ०६३ कै हो । मध्यपंक्तिका खेलाडीका रूपमा अनन्तले बेजोड प्रदर्शन दिए ।
अझ उनी गोल गर्नसक्ने मध्यपंक्तिका खेलाडी हुन् । पुलिस फुटबलको इतिहास लेख्ने हो भने टिमलाई चाहिएको बेला गोल गर्ने, उपाधि जित्दा निर्णायक गोल गर्ने, यी सबैमा अनन्तकै नाम अगाडि आउँछ ।
फेरि उनी खेल्दाको पुलिस ‘गोल्डेन जेनेरेसन’ को थियो । वास्तवमै ‘क्या टिम’ थियो त्यो । हरि खड्कादेखि रमेश बुढाथोकी । रितेश थापादेखि अनिल अधिकारी, राकेश श्रेष्ठ आदि आदि । त्यसमा सुरुका केही नाम अलग्गै छन् । पछि केही अरू नाम थपिए ।
तर ‘हार्ड कोर्ड’ टिम यिनै नाममा टिकेको थियो । सायद यस्तो टिम पुलिसले फेरि दोहो¥याएर पाउने छैन । यी स्वर्णिम पुस्ताका खेलाडी पनि यताउता छरिएका छन् । धेरैले त पुलिसको जागिर नै छाडिसके । पुलिसमै रहेका पनि फुटबलमा छैनन् ।
यस्तोमा त्यो पुस्ताका कोही एकजनाले पुलिसको फुटबल अहिले पनि थामिरहेको छ भने त्यो अनन्त नै हुन् । एक प्रकारले भन्दा ‘लास्टम्यान स्ट्याान्डिङ’ । उनीमाथि समयले दिएको जिम्मेवारी पनि निकै गह्रौं पो छ ।अब पुलिस फुटबल त्यस्तो रहेन, जस्तो पहिले हुने गथ्र्यो । सबैभन्दा ठूलो पुलिस टिम नै त्यस्तो रहेन । अचेल पुलिस उपाधिका लागि बलियो प्रत्याशी हुन छाडेको छ, विशेषतः लिगमा । राम्रा खेलाडी भन्नेबित्तिकै पहिले जस्तो पुलिसमा अचेल आउने गर्दैनन् । यसका अनेक कारण छन् । त्यसबारे अलग्गै लेखाजोखा चाहिन्छ । यसलाई लिएर अनन्तले ठीकै भनेका छन्, ‘सरोकालवाला सबैले ध्यान दिने हो भने पुलिस फुटबलका राम्रो दिन फेरि फर्कने छ ।’
यसका लागि उनीसँग केही चाङ योजना पनि छन् । त्यसमध्ये एक हो, छिमेकी देशका पुलिससँग सहयोग लिने । हुन पनि हाम्रा दुई ठूला छिमेकी छन्, भारत र चीन । भनिरहनुपर्दैन, हाम्रो तुलनामा यी देशको फुटबल माथि छ । यस्तो हो भने तिनको पुलिस फुटबल पनि त माथि हुँदो हो । केही खेलाडी भारतीय र चिनियाँ पुलिसबाट झिकाउँदा कस्तो होला ? गजब सुनिन्छ । यसलाई गजब काममा परिवर्तन गर्न उही सरोकालवालाले ध्यान दिनुपर्यो ।
फेरि उनी खेल्ने दिनमा फर्कने हो भने उनको घरेलु फुटबल जत्ति धेरै उम्दा रह्यो, नेपालको राष्ट्रिय टिमका लागि खासै रहेन । सन् १९९८ को बैंकक एसियाली खेलकुदमै उनले भारतविरुद्ध डेब्यु गरे । त्यसयता टिममा पर्ने र नपर्ने क्रम चलिरह्यो ।
अनन्त मान्छन्, उनले जस्तो राष्ट्रिय टिमका लागि खेल्न सक्थे, त्यस्तो खेल्न सकेनन् । उनका पनि अनेक कारण छन्, त्यसमध्ये पहिलो त उनी खेलाडी छँदा जति परिपक्व हुनुपर्ने थियो, त्यही थिएनन् ।
अहिले उनी त्यस्तो पद र स्थितिमा छन्, जहाँबाट उनले नयाँ, उदीयमान र प्रभावशाली खेलाडीको करियर बनाइदिन सक्छन् । समय, परिस्थिति र अध्ययनले उनलाई फेर्न बाध्य पारेको छ । प्रशिक्षक भएयता उनी गम्भीर भएका छन् । फुटबलका व्याकरण पढेर त्यसमै डुब्ने खालका भएका छन् । फेरि पहिले जस्तो एक्लो ज्यान रहेन, परिवार छ, परिवारमा एउटा सानी छोरी छे । अनि अनन्त परिवर्तन नभए को हुन्छ त ? खासमा यो परिवर्तन नेपाली फुटबलकै लागि गुन लगाउने खालको छ ।
प्रशिक्षणका लागि उनले ‘ए’ लेभल सिध्याइसकेका छन् । साँच्चै उनी अहिले त्यस्तो पद र स्थितिमा छन्, जहाँबाट उनले नेपाली फुटबलका लागि केही गर्न सक्छन् । सबैभन्दा बढी त उनले पुलिस फुटबलकै लागि गर्नुपर्छ । नत्र, पुलिसको अहिलेको फुटबल हेरेर यी स्वर्णिम पुस्ताका अनन्तको मनले रुने काम गर्न नपरोस् ।
फेरि पनि भन्नै पर्छ, कम्तीमा फुटबलप्रति उनको समर्पणलाई लिएर प्रश्न गर्ने ठाउँ छैन । त्यसो भनेको उनी नेपाली फुटबललाई माया गर्ने मान्छे नै हुन् । जे जति बोल्छन्, फुटबलमा केही होस् भनेरै बोल्छन् । उनमा फुटबलको इमान्दारिता पक्कै छ ।