राष्ट्रिय फुटबल टोलीबाट प्रतिनिधित्व गर्दा उनी अन्य स्टार खेलाडीहरूको छायाँमा परे । नेपाली समर्थकमाझ त्यतिबेलाका सहयात्री गणेश थापा, मणि शाह र राजुकाजी शाक्यको जस्तो उनको चर्चा भएन । जब व्यावसायिक खेलाडी जीवनबाट फरक भूमिका अर्थात रेफ्री भएर मैदान उत्रिए उनी सधैं चर्चाको शिखरमा रहिरहे । ती पात्र हुन् पूर्वफिफा रेफ्री ज्ञानीराजा श्रेष्ठ ।
१७ वर्ष फिफा रेफ्रीको भूमिकामा रहँदा सायदै त्यस्ता प्रतियोगिता र फाइनल होला जहाँ ज्ञानीराजा रेफ्रीको भूमिकामा देखिएनन् । प्रतियोगितामा सहभागी टोलीको टुंगो नलाग्दै फाइनल खेलाउने रेफ्री प्यानलको निधो भइसक्थ्यो । जसको नेतृत्व उनैले गर्दथे ।
ज्ञानीराजाको रेफ्री जीवनको सुरुआत पनि गजबसँग भएको छ । आर्मीका जागिरे उनी विभागीय क्लबबाट लिगमा कहिल्यै देखिएका थिएनन्, तर अन्य घरेलु प्रतियोगितामा भने निरन्तर सहभागी भइरहेका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सहिद स्मारक ‘ए’ डिभिजन लिग चलिरहेको थियो । एक दिन उनलाई तत्कालीन फिफा रेफ्री रूपकराज शर्माले रंगशालामा आउनुपर्यो भनेर बोलाए । तर रंगशालामा बोलाइनुका कारणबारे ज्ञानीराजा बेखबर थिए । रंगशाला पुगेपछि मात्र उनले थाहा पाए । उनलाई त रूपकराजले रेफ्री बनेर लिग सञ्चालन गर्न पो बोलाएका रहेछन् ।
थाई एयरवेजको विमान दुर्घटनामा परेर रेफ्री श्याम श्रेष्ठको निधन भएपछि रूपकराजले ज्ञानीराजालाई रेफ्री बन्न प्रस्ताव गरेका थिए । ‘राष्ट्रिय टोलीबाट खेलिसकेको थिएँ, फुटबल नियमबारे जानकार थिएँ तर कहिल्यै म रेफ्रीको भूमिकामा देखिएको थिइनँ,’ रेफ्री जीवनको सुरुआती क्षण सम्झँदै ज्ञानीराजा भन्छन्, ‘पहिलो खेलमा लाइन्सम्यानको भूमिकामा रहें । दोस्रो खेलमै म मुख्य रेफ्री भएँ ।’
उनले लिगमा रानीपोखरी कर्नर टिम (आरसिटी) र फ्रेन्ड्स क्लब ‘बी’ को खेल खेलाउनुपर्ने भयो । त्यो बेला अहिलेजस्तो रंगशाला व्यवस्थित थिएन । स्थानीय समर्थकको बाक्लो उपस्थिति हुन्थ्यो ।
खेलको नतिजा आफ्नो पक्षमा आए रेफ्रीको चर्चा हुने गर्थ्यो, विपक्षमा आए रेफ्रीमाथि नै हूल बाँधेर जाइलाग्ने बेला थियो त्यो ।
ज्ञानीराजाको हकमा पनि त्यही भइदियो । लिगकै दुई उत्कृष्ट टोलीबीचको भिडन्त । रेफ्री नयाँ । जसोतसो निर्धारित ९० मिनेट सकिने संघारमा थियो । खेल गोलरहित बराबरीमा जारी थियो । एक मिनेट कटाउन पाए रेफ्री जीवनको पहिलो खेल सहजै कट्ने थियो । त्यो पनि विवादरहित भएर । ज्ञानीराजा यस्तै सोच्दै थिए ।
ज्ञानीराजा सम्झन्छन्, ‘आरसिटीका कुनै खेलाडीले प्रहार गरेको बल फ्रेन्ड्सको पेनाल्टी बक्समा थियो । त्यतिबेलै समर्थकको भीडबाट सिठी बज्यो । फ्रेन्ड्सका रक्षकले खेल सकिएको ह्विसेल बज्यो भन्दै बल हातले समाए । मैले पेनाल्टीको इशारा गरें । त्यसपछि फ्रेन्ड्सका खेलाडीहरूले मलाई मैदानमै धकेल्न थाले । जबकि मैले त खेल सकिएको ह्विसेल बजाएको थिइनँ । म आफ्नो निर्णयबाट पछि हट्ने कुरै भएन । बल्लतल्ल ५-७ मिनेट घटनाबारे सम्झाएपछि फ्रेन्ड्सका खेलाडी मेरो पेनाल्टी दिने निर्णयप्रति सहमत भए । पेनाल्टीको सदुपयोग गर्दैै आरसिटीले खेल १-० ले जित्यो ।'
खेलपछिको दृश्य झन् रोचक रहेको ज्ञानीराजा स्मरण गर्छन्, ‘खेलपछि जब म रंगशालाबाट घर जाने तयारीमा थिएँ, फ्रेन्ड्सका समर्थकबाट घेरिएँ । उनीहरूले ममाथि हातपातको प्रयास गरे । धन्न ! प्रहरी समयमै आइपुग्यो र म सुरक्षित भएँ ।’
त्यही खेलले ज्ञानीराजाको रेफ्री करिअर नै उथलपुथल भयो । त्यो खेलमा उनले लिएको निर्णयका कारण फिफा ब्याचको हकदार भए । लिगको एक खेल खेलाउँदै फिफा रेफ्री ब्याच प्राप्त गर्ने उनी भाग्यमानी रेफ्री बने । दशरथ रंगशालामा उक्त खेल हेरेका एएफसीका प्रतिनिधि ज्ञानीराजाले खेलका क्रममा गरेको ‘बोल्ड निर्णय’ बाट प्रभावित भएर उनलाई फिफा ब्याच दिन तयार भएका थिए ।
सुरुदेखि नै रहेको निर्णय क्षमताप्रतिको खरो र आक्रामक प्रस्तुतिले ज्ञानीराजाको रेफ्री जीवनलाई स्वर्णिम बनाएको छ ।
|
सन् १९९२ मा रेफ्री जीवन सुरु गरेका ज्ञानीराजा १७ वर्ष फिफा रेफ्रीको भूमिकामा रहे । रेफ्रीको कुनै निर्णयमा विवाद आएमा आफै स्वयं उपस्थित हुन्थे र खेलको नियमअनुसार निर्णय लिएको हो, यो कुनै व्यक्तिगत निर्णय होइन ‘ल को निर्णय हो ल’ भनेर प्रस्टीकरण दिन्थे ।
ज्ञानीराजाको धारणा छ, ‘तत्कालीन लिगमा ९१ खेलको समाप्तिपछि धेरै अंक बटुल्ने एक टोलीले उपाधि जित्थ्यो । प्रत्येक खेलमा एउटा टोलीले खेल जित्छ अर्कोले हार्छ वा खेल बराबरीमा रोकिँदा दुवै टोलीले अंक बाँड्छन् । तर रेफ्रीलाई खेल बराबरी गर्ने वा हार्ने छुट छैन । रेफ्रीले ९१ वटै खेल जित्नुपर्छ ।’
विवादरहित खेल भएमात्र रेफ्री उक्त खेलको विजेता बन्ने उनको मान्यता छ । २०६२-६३ को लिगको ९१ खेलमध्ये ६७ खेलमा उनले खेलाएका छन् । त्यसैमध्ये एउटा प्रसंग स्मरणीय छ ।
नेपाली समर्थकमाझ खेलाडी वसन्त थापा निकै चर्चित नाम थियो । उनी त्यो सिजन जापानबाट लिग खेल्न आएका थिए । मनाङ मर्स्याङ्दी क्लबका स्ट्राइकर वसन्तको उक्त लिगमा त्यो पहिलो खेल थियो । विपक्षी टोलीका खेलाडीले उनलाई बक्सबाहिर लडाइदिए । ज्ञानीराजाले मनाङलाई फ्रिकिक दिए । निकै राम्रो स्थानबाट मनाङले फ्रिकिक पाएको थियो ।
|
ज्ञानीराजाले स्मरण गरे, ‘वसन्त मसँग विवाद गर्न आए । उनले पटक-पटक विपक्षी खेलाडीलाई पहेँलो कार्ड दिन दबाब दिइरहे । मैले उनको आग्रह अस्वीकार गरिदिएँ । तर वसन्तले ममाथि अपशब्द प्रयोग गरे । मैले उनलाई सिधै रातो कार्ड दिन खोजें । म मनाङका खेलाडीबाट घेरिएँ । यताउता हेरें, वसन्त त छैन । उसलाई त बाहिर पठाइसकेको रहेछ । खेलाडी चेन्ज गर्ने रणनीतिमा टिम रहेछ । फोर्थ अफिसियललाई सोधें, थाहा छैन । रातो कार्ड दिन्छ भनेर वसन्तलाई लुकाइएछ । उसलाई कार्ड नदेखाई गेम नै नचल्ने भनेर अडान लिएँ । प्लेयर बक्समै गएर १० नम्बर खेलाडी रातो कार्ड भनेर देखाएपछि मात्र खेल सुचारु गरें ।'
खेलपछि पत्रकार सम्मेलनमा नियोजित रूपमा वसन्तलाई रातो कार्ड देखाएको आरोप आफूमाथि लगाइएको ज्ञानीराजा स्मरण गर्छन् । वसन्त इमान्दार खेलाडी हुन्, तर उनी नियमविपरीत गएकाले मात्र रातो कार्ड देखाउनुपरेको ज्ञानीराजाको तर्क छ । यस्ता घटना बिरलै हुने उनी सुनाउँछन् ।
नियमभित्र रहेर मैदानमा कठोर रूपमा हुने प्रस्तुति नै ज्ञानीराजाको विशेषता हो । त्यही निर्णय क्षमता र अडानले उनलाई अब्बल रेफ्रीको दर्जामा उभ्यायो । उनी भन्छन्, ‘म खेलको नियम बाहिर जान्न थिएँ, मैदान छिरेपछि म कुनै पनि खेलाडी चिन्दिनँ थिएँ । त्यहाँ खेलको नियमभित्र बसेर निर्णय लिन्थें र त्यसमा कुनै प्रकारको सम्झौता गर्दिनँ थिएँ ।’
सन् २००९ मा बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलपछि ज्ञानीराजले रेफ्री जीवनबाट बिदाइ लिएका थिए ।
अहिले सहिद स्मारक ‘ए’ डिभिजन लिग जारी छ । दुई चरणका खेल समाप्तिमै रेफ्रीका कारण खेल गुमाएको भन्दै प्रशिक्षकहरूबाट गुनासो आउन थालिसकेको छ । यसै क्रममा रेफ्री विवाद पनि चरमोत्कर्षमा पुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिटनेस टेस्ट गर्न दबाब दिएपछि आधाभन्दा बढी रेफ्रीले राजीनामा दिएर सहमतिपछि फिर्ता पनि लिइसकेका छन् ।
वैशाखमा सम्पन्न नेपाल सुपर लिग (एनएनएल) का क्रममा पनि प्रत्येक खेलमा जसो रेफ्रीका निर्णयप्रति गुनासाहरू नआएका होइनन् ।
लिग पूर्ण रूपमा व्यावसायिक भइसक्यो । रेफ्रीलाई पनि व्यावसायिक बनाउनुपर्छ भन्ने मान्यता राख्छन्, पूर्व फिफारेफ्री ज्ञानीराजा । सबैभन्दा ठूलो समस्या भनेको आजको भोलि नै खेल खेलाउनु पर्दाको स्थितिमा हो । रेफ्री संख्या थोरै छ । पुरुषतर्फ फिफाका चार रेफ्री र ६ सहायक रेफ्री छन् । राष्ट्रिय रेफ्रीको संख्या पनि सीमित छ । यसले रेफ्रीलाई व्यावसायिक बनाउन समस्या उत्पन्न गराइरहेको ठान्छन् ज्ञानीराजा ।
उनले भने, ‘रेफ्री संख्या पर्याप्त भएन र उनीहरूले पर्याप्त आराम पनि पाएनन् । रेफ्रीको मूल्यांकन गरिदिने नै कोही भएनन् । नामको मात्र रेफ्री एसेसर भइदिए । कसैको पनि गल्ती यस्तो छ भनेर भनिदिए पो उसले अर्को खेलबाट सुधार गर्छ । फटाफट लिग गरेर फटाफट सिध्याउँ भन्ने जस्तो देखियो । क्लबहरूले करोडौ खर्च गरेका छन् । रेफ्रीको एउटा सानो गल्तीले क्लबको लगानी नै डुब्छ ।’
ज्ञानीराजाले आफ्नो दायित्वप्रति सचेत रहन रेफ्रीलाई सुझाएका छन् । भन्छन्, ‘हामीले खेलको नियमसँग कुनै सम्झौता नगरौं, त्यसो गरेमा रेफ्रीले सबै खेल जित्छ । रेफ्रीले जित्नु भनेको खेल विवादरहित हुनु हो । यो सबैले मनन गर्न सक्यौं भने रेफ्री पेसा स्वच्छ हुन्छ ।’
उनले आफ्नो लामो रेफ्री अनुभवमा क्लबका प्रशिक्षकहरूमा पनि खेलका नियमबारे बुझाइ र सिकाइमा कमी भएको पाएका छन् । उनी भन्छन्, ‘एक त रेफ्री मैदानमा आत्मविश्वाससाथ प्रस्तुत हुँदैनन् । एकै प्रकारका गल्तीमा फरक-फरक निर्णय लिन्छन् । अनि प्रशिक्षकहरूको स्वभाव के भइदियो भने आफ्नो टोलीले जित्यो भने रेफ्री ठीक, विपक्षमा निर्णय आयो भने रेफ्री खराब । रेफ्रीले खेल नियममा बसेर निर्णय लिन्छ, त्यो निर्णय त स्वीकार गर्नुपर्यो नि । त्यसैले म त प्रशिक्षकको बुझाइमै कमी देख्छु ।’
लिगमा उपाधि दाबेदार टोली र विभागीय टोलीको खेल खेलाउँदा सधैं दबाब हुने ज्ञानीराजाको अनुभव छ । लिगमा हरेक अंकको महत्व हुने भएकाले ठूला टिमका खेलमा त्यत्तिकै दबाब हुने उनी सुनाउँछन् ।
भन्छन्, ‘शीर्ष टोलीबीचको खेल खेलाउन रेफ्री नै मुस्किलले राजी हुन्छन् । कारण खेलपछि रेफ्रीको चिन्ता कसले लिन्छ । रेफ्रीको सुरक्षाको ग्यारेन्टी हुनुपर्यो । मैदानमा खेलाडीलाई रातो वा पहेँलो कार्डको दर्शन गराएपछि खेलाडी नै त्यो निर्णय नमानेर रेफ्री कुट्ने हुन्छन् । पदाधिकारीहरु जाइलाग्छन् । । त्यो स्थितिमा सुरक्षा ग्यारेन्टी भएन भने रेफ्रीले ठूला गेम खेलाउन सक्दैनन् ।’
कुनै बेला एक खेल खेलाएवापत रेफ्रीले ७२ रुपैयाँ प्राप्त गर्थे । त्यो बेला पनि ज्ञानीराजाले खेलाए । त्यतिबेला फिफा रेफ्रीले प्रतिखेल ५ सय प्राप्त गर्दथे । उनले आफूलाई पनि ५ सय दिनुपर्ने माग राखें । तर उनले फिफा ब्याच पाएका थिएनन् । फिफा ब्याच पाएपछि मात्र ५ सय रुपैयाँ पाउन थालेको उनले स्मरण गरे ।
उनी आफ्नो पालामा भन्दा अहिले रेफ्रीले प्राप्त गर्ने रकममा धेरै सुधार आइसकेको ठान्छन् । अहिले एउटा खेल खेलाएका मुख्य रेफ्रीले ६ हजार र सहायक रेफ्रीले ३५ सय रुपैयाँसम्म प्राप्त गर्ने गरेको आफूले सुनेको बताए । तर एन्फाले गरेको लगानीअनुसार प्रतिफल प्राप्त नभए जस्तो लाग्छ उनलाई ।
रेफ्रीले गरेको गल्तीमा संघ बोल्ने होइन, त्यसको जवाफदेहिता रेफ्री एसेसरले लिनुपर्ने उनको तर्क छ । अहिले नेपाली रेफ्रीको आलोचना भयो भन्ने खबरले भने उनी दुखी छन् । भन्छन्, ‘म अहिले जहाँ पनि नेपाली रेफ्रीको आलोचना भएको सुन्छु, त्यसमा मलाई दुःख लाग्छ । म नेपाली रेफ्री भएर नै विश्वकप खेलाउनेसम्मका रेफ्रीलाई सिकाउने अवसर पाएँ । त्यो मेरा लागि गर्वको क्षण हो । तर, त्यही देशमा रेफ्रीको निर्णयप्रति आचोलना सुन्नुपर्दा अलि नमज्जा लाग्छ ।’