केभिन डी ब्रुएना

डी ब्रुएनाको छैटौँ इन्द्रिय

काठमाडौँ । सेन्ट जेम्स पार्क लगभग खाली भइसकेको थियो । म्यानचेस्टर सिटीका निर्णायक गोलकर्ता  ओस्कार बब मैदानको एक भागमा उभिएर टेलिभिजनका लागि अन्तरवार्ता दिँदै थिए ।  केही पर केभिन डी ब्रुएना थिए । जो ड्रेसिङ रुमतिर जाने तर्खरमा थिए । उनलाई लागेको थियो होला, आजको काम सकियो ।

डी ब्रुएनाले पाँच महिना खेलेनन् । चोटका कारण यत्तिको लामो समय मैदानबाहिर रहेका उनले न्युक्यासलविरुद्धको खेलबाट इङ्लिस प्रिमियर लिगमा पुनरागमन गरेका हुन्। उनी दोस्रो हाफमा मैदान छिरेका थिए । पाँच मिनेटपछि नै गोल गरे। यही गोलले सिटीलाई बराबरीमा पुर्यायो । सिटी एक अंकमा सीमित हुने अनुमान चल्दै थियो, त्यहीबेला बबले निर्णायक गोल गरे । गोलको अवसर सिर्जना गर्ने अरु कोही नभएर उनै डी ब्रुएना थिए ।

लामो समय मैदानमा नदेखिएका कारण फुटबलप्रेमीले डी ब्रुएनालाई केही हदसम्म बिर्सिएका थिए । उता डी ब्रुएना भने कसरी बलियो ढंगमा पुनरागमन गर्ने भन्ने सोचिरहेका थिए होलान् । यो त पक्का हो, उनी मैदान फर्कन आतुर थिए ।

गत सिजन सिटी च्याम्पियन्स लिग विजेता बन्यो । उपाधि जित्दा सिटीले हराएको विपक्षी थियो, इन्टर मिलान । सिटी बलियो देखिएको यो खेल डी ब्रुएनाले पूरा खेल्न पाएका थिएनन् । पहिलो हाफमै घाइते भएका थिए । नयाँ सिजनका लागि भने उनी तयार थिए । तर पहिलो खेलमै फेरि घाइते भए । त्यसपछि भने उनी लामो समय मैदानबाहिर रहे ।

आउँदोे जुनमा डी ब्रुएना ३३ वर्ष पुग्दैछन् । यो उमेर एक फुटबलरका लागि करियरको उत्तरार्ध हो । तब त सिटीका प्रशिक्षक भन्छन्, ‘डी ब्रुएनालाई हामी विशेष ध्यान दिइरहेका छौँ । उनलाई कसरी उपयोग गर्ने भनेर सतर्क छौँ ।’ लामो समय मैदानमा नदेखिएका कारण फुटबलप्रेमीले डी ब्रुएनालाई केही हदसम्म बिर्सिएका थिए । उता डी ब्रुएना भने कसरी बलियो ढंगमा पुनरागमन गर्ने भन्ने सोचिरहेका थिए होलान् । यो त पक्का हो, उनी मैदान फर्कन आतुर थिए ।

आखिरमा उनी मैदान फर्किएका छन् । त्यो पनि गोल र असिस्टसहित । उनको पुनरागमन यस्तो बेला भएको छ, जति बेला प्रिमियर लिग उपाधि दौड असाध्यै प्रतिस्पर्धात्मक ढंगमा अघि बढेको छ । यो दौडमा सिटी थोरै पछाडि धकेलिएको अवस्था छ । यस्तोमा भन्न सकिन्छ, प्रिमियर लिगको यो दौडमा डी ब्रुएना निर्णायक बन्न सक्छन् ।

डी ब्रुएना कति ठूला खेलाडी हुन् ? भन्नेले त के पनि भन्छन् भने, उनी प्रिमियर लिगका सर्वाधिक ठूला स्टार हुन् । यो तर्क केहीका लागि लागि अपाच्य पनि हुनसक्छ । तर यो तथ्यलाई चाहिँ कसैले काट्न सक्दैन, उनी सिटीका सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुन् । त्यही भएर त हो, उनको पुनरागमनलाई सिटी समर्थकले चाडझैँ मानेको । न्युक्यासलविरुद्ध गोल गरेपछि उनलाई सिटी समर्थकले जसरी अँगालोमा बेर्ने प्रयास गरे, त्यसले प्रस्ट पारेकै हो, यो क्लब डी ब्रुएनाको पर्खाइमा थियो ।

डी ब्रुएना मिडफिल्डर हुन्, उनको मुख्य काम प्लेमेकिङ हो । तर यो सिजन उनको भूमिका परिवर्तन हुने संघारमा छ। कम्तीमा फुटबल विश्लेषकहरु यसै भन्छन् । उनी नम्बर आठबाट नम्बर १० मा रुपान्तरण हुनसक्छन् ।

प्रिमियर लिग सन् १९९२ मा गठन भएको हो । त्यसअघि इङ्ल्यान्डको शीर्ष श्रेणीको लिगको नाम ‘फुटबल लिग फर्स्ट डिभिजन’ थियो । प्रिमियर लिग सुरु भएयता इङ्लिस फुटबलले कयौँ स्टार खेलाडी देखेको छ। त्यो सूचीमा डी ब्रुएना पक्कै पनि अट्छन् । केही यस्ता तथ्यांक उनको नाममा छन्, जसले उनलाई यो सूचीमा पुर्याउँछ । जस्तै, १०३ असिस्ट । प्रिमियर लिगमा सबैभन्दा धेरै असिस्ट उपलब्ध गराउने खेलाडी रायन गिग्स हुन् । उनको नाममा १६२ असिस्ट छ । दोस्रो सर्वाधिक असिस्टकर्ता सेस फाब्रिगास हुन् । अनि आउँछ, डी ब्रुएनाको नाम । उनको र वायन रुनीको असिस्ट बराबर छ ।

डी ब्रुएना मिडफिल्डर हुन्, उनको मुख्य काम प्लेमेकिङ हो । तर यो सिजन उनको भूमिका परिवर्तन हुने संघारमा छ। कम्तीमा फुटबल विश्लेषकहरु यसै भन्छन् । उनी नम्बर आठबाट नम्बर १० मा रुपान्तरण हुनसक्छन् । हुन त उनी कुन पोजिसनमा खेल्छन् वा खेल्नेछन्, यसबारे बयान गर्न सजिलो छैन । किनभने उनी खेल दौरान पोजिसन फेरिरहन्छन् । र यसो गर्न उनलाई छुट पनि छ। कारण ? उनको प्राविधिक कुशलता ।

डी ब्रुएना धेरैजसो मैदानको दायाँ भागमा देखिने खेलाडी हुन् । तर उनी मैदानको मध्यभाग, रक्षापंक्तिको नजिक वा स्ट्राइकरको सामीप्यमा रहेर पनि खेल्न सक्छन् । उनी जुनसुकै भागमा पुग्नसक्छन्, गोलको अवसर सिर्जना गर्नसक्छन्, विपक्षीलाई ‘बिट’ गर्नसक्छन् । डी ब्रुएनाको यो क्षमता आफ्नो ठाउँमा छ, उनीसँग भएको अर्को क्षमता हो, छैटौँ इन्द्रिय ।

डी ब्रुएनाले पक्कै पनि फुटबल ‘मिस’ गरे । इङ्लिस फुटबलले पनि उनलाई अवश्य ‘मिस’ गरेकै हो । उनको पुनरागमनले प्रिमियर लिग उपाधि दौडको स्वरुप नै फेरिने सम्भावना छ । हाल शीर्षस्थानमा रहेको लिभरपुलका प्रशिक्षक योगर्न क्लपको भनाइले पनि यो प्रस्ट हुन्छ । ‘उनको आगमनले प्रिमियर लिग हल्लिनेछ,’ क्लपले केही समयअघि भनेका थिए ।

न्युकासलविरुद्ध डी ब्रुएनाले स्वतन्त्रतापूर्वक खेले । मतलब मैदानको हरेक भागमा पुगेर, रणनीतिले उनलाई एक क्षेत्रमा बाँधेर राखेको थिएन । ग्वार्डिओलाको संकेत छ, डी ब्रुएना आउँदा खेलमा अझ खुला भएर खेल्नेछन् ।

सिटीले पछिल्ला चार सिजन लगातार प्रिमियर लिग जितेको छ । यो आफैँमा कीर्तिमान हो । अरु क्लब सरासर चार पटक च्याम्पियन बनेका छैनन् । हुन त यस्तो सफलता पाउन सबैसँग डी ब्रुएना पनि हुँदैनन् । धेरैलाई लाग्न सक्छ, डी ब्रुएनाको तारिफ बढी भयो कि ? होइन । उनी अद्भुत खेलाडी हुन् । उनको जे जति तारिफ भइरहेको छ, यसका लागि उनी योग्य छन् । उनी कति योे योग्य छन् भन्ने त सिटी र न्युक्यासलबीचको खेलले पनि देखाएको हो । उनी मैदान प्रवेश गर्नुअघि सिटी २–१ ले पछि थियो । जब उनी मैदान छिरे तब सिटी खेलमा हाबी भयो । डी ब्रुएना हाबी भए ।

खासमा उनको नाममा दुई गोल हुनुपर्ने थियो । उनले प्रहार गरेको फ्रिकिक गोलको नजिक थियो । फ्रिकिकमा जसरी उनको क्षमता देखियो, त्यस्तै क्षमता ९१ औँ मिनेटमा पनि देखियो। जब उनले प्रहार गरेको बल २६ यार्ड टाढाबाट बबका लागि बक्समा पुग्यो । न्युक्यासलका स्ट्राइकर अलक्जान्डर इसाकको माथिबाट उडेको बल चार मिडफिल्डरलाई छल्दै केइरन ट्रिपियरको पछाडि पुगेको थियो । दायाँ खुट्टाले बललाई नियन्त्रणमा लिएका बबले न्युक्यासलका गोलरक्षक डुब्राभ्कालाई सजिलै बिट गरे र गोल गरे। नर्वेका २० वर्षीय खेलाडी बबको यो गोलको चर्चा साताभरी भयो। डी ब्रुएनाको पास र खेलको चर्चा भने अझैँ पनि जारी छ ।

खेलमा बर्नार्डो सिल्भाले पहिलो गोल गरेका थिए । त्यसको नौ मिनेटपछि (३५ औँ मिनेटमा) इसाकले बराबरी गोल फर्काए । लगत्तै एन्थोनी गोर्डनले न्युक्यासलको दोस्रोे गोल गरे। यी दुवै गोल उत्कृष्ट थिए । जसको प्रशंसा सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पनि गरे । ‘ट्रान्जिसनमा न्युक्यासलले धारिलो आक्रमण गर्छ । ती दुई गोल त्यसकै नतिजा थियो । गोलरक्षकले बल रिलिज गरेसँगै न्युक्यासल आक्रमणमा उत्रिहाल्छ, लिभरपुल जस्तै,’ ग्वार्डिओलाले भने ।

सिटीको एक र न्युक्यासलका दुई गोल पहिलो हाफमा भएका थिए । दोस्रो हाफको ६९औँ मिनेटमा ग्वार्डिओलाले डी ब्रुएनालाई मैदान छिराए । तयार भएको करिब ६ मिनेटपछि मात्र उनलाई ग्वार्डिओलाले भित्र पठाएका थिए । हुनसक्छ त्यो ६ मिनेटले उनलाई थप भोको बनायो ।

न्युक्यासलविरुद्ध डी ब्रुएनाले स्वतन्त्रतापूर्वक खेले । मतलब मैदानको हरेक भागमा पुगेर, रणनीतिले उनलाई एक क्षेत्रमा बाँधेर राखेको थिएन । ग्वार्डिओलाको संकेत छ, डी ब्रुएना आउँदा खेलमा अझ खुला भएर खेल्नेछन् । ‘अरु खेलाडीभन्दा उनले बढी स्पेस पाउनेछन् । उनलाई मैदानको हरेक क्षेत्रमा पुगेर खेल्न छुट छ । जब उनीसँग बल हुन्छ, तब अरु खेलाडी विपक्षीको बक्समा पुग्ने प्रयास गर्नेछन्,’ ग्वार्डिओलाले भनेका छन्, ‘डी ब्रुएना  सजिलै फाइनल थर्डमा बल पुर्याउन सक्छन् । त्यो पनि जम्मा एउटा पासमा । उनको भिजनको तारिफ गरिरहनु पर्दैन । उनीसँग भएको यो क्षमता प्रशिक्षकको रणनीतिका कारण सम्भव हुने होइन । यो खेलाडीभित्रको क्षमता हो ।’

(एजेन्सीको सहयोगमा)