नेपाली फुटबल

फुटबल कमेन्ट्रीमा ‘डन डिरेक्टर’को पुनरागमन

काठमाडौं । ‘दर्शकवृन्द ! भेट्रान खेलाडी दीपक अमात्य क्याप्टेनसिप गर्दै हुनुहुन्छ नेपालका लागि ।’

प्रसंग, सन् १९९९ मा काठमाडौंमा भएको आठौं दक्षिण एसिायली महासंघीय खेलकुदमा नेपालविरुद्ध भुटान खेल्दै थियो । प्रत्यक्ष प्रसारक नेपाल टेलिभिजन (एनटीभी) मा कमेन्ट्री गरिरहेका अमनप्रताप अधिकारीले बोलेको पहिलो वाक्य हो यो ।

खेलाडी, पदाधिकारी वा चाहे त्यो रिपोर्टर नै किन नहोस् नेपाली खेलकुदमा सबै आफूलाई ‘प्यासनेट’ भन्न हिच्किचाउँदैनन् । नभनोस् पनि किन ? यदि यस्तो नहुँदो हो त, भर्खर वामे सर्दै गरेको नेपाली खेलकुदमा किन जोडिन्थे र यिनीहरू । तर, साँचो अर्थमा प्यासन के हो भन्ने बुझ्न चाहनेका लागि २४ वर्षअघि दीपक अमात्य, हरि खड्का, वसन्त गौचन जस्ता नामहरूको गुन्जयमान गर्ने अमनप्रताप जति उपयुक्त उदाहरण अरू नहोला ।

जतिबेला सन् १९८४ मा काठमाडौंमा भएको पहिलो साफको सफलतापछि त्यही खेल महोत्सव १५ वर्षपछि फेरि काठमाडौं आइपुगेको थियो, अमन देशको एकमात्र टेलिभिजन नेपाल टिभीमा रिसर्च र लेखक सहायकका रूपमा काम गरिरहेका थिए ।

जतिबेला सन् १९८४ मा काठमाडौंमा भएको पहिलो साफको सफलतापछि त्यही खेल महोत्सव १५ वर्षपछि फेरि काठमाडौं आइपुगेको थियो, अमन देशको एकमात्र टेलिभिजन नेपाल टिभीमा रिसर्च र लेखक सहायकका रूपमा काम गरिरहेका थिए ।

त्यो भन्दा एक वर्षअघिको कुरा हो । एनटीभी सन् १९९८ को विश्वकप प्रसारण गर्ने तयारीमा जुटेको थियो । यही सेरोफेरोमा देशमा फुटबलको माहोल तताउने सोचका साथ टेलिभिजनले अंग्रेजीमा पोख्त फुटबल रिसर्चर र लेखकको खोजी गर्यो । ठीक त्यही बेला दुई मिल्ने साथी टेलिभिजन महाप्रबन्धक दुर्गानाथ शर्मा र नेपाली साहित्यजगतका प्रख्यात नाम क्षेत्रप्रताप अधिकारीबीच यही विषयमा कुरा भएछ । फुटबल भनेपछि मरिहत्ते गर्ने छोरा अमन त्यतिबेला शीर्ष डिभिजन लिग खेलिरहेका थिए । अझ स्नाकोत्तर पनि पढिरहेको । यही कारण बुवा क्षेत्रप्रतापले साथी दुर्गानाथलाई छोराको नाम प्रस्ताव गर्न कत्ति पनि ढिला नगरी भनिहाले, ‘मेरो छोरा छ नि !’

महाप्रबन्धकज्यूले पनि भनिहाले, ‘हामीले यस्तै मान्छे खोजिरहेको हो, यता पठाइदिनुस न ।’

अमनका पहिलो सहकर्मी थिए, राष्ट्रिय टोलीमा पूर्वखेलाडी विनोद खरेल । विनोद एकमात्र खेलकुद कार्यक्रम ‘खेल–खेल’ का प्रस्तोता थिए । अमन कार्यकमका लागि उनै विनोदलाई सहयोग गर्थे । सन् १९९९ को दक्षिण एसियाली खेलकुदका लागि नेपालको अन्तिम टोलीमा विनोदको पनि नाम थियो । त्यसैले उनी टोलीमा समावेश भए । उनी राष्ट्रिय टोलीको जिम्मेवारीमा गएसँगै अमनले खेल–खेल कार्यक्रमको प्रस्तोता हुने अवसर पाए, सँगै निर्माता पनि । किनभने सबै कुरा उनैले हेर्नुपथ्र्यो ।

दक्षिण एसियाकै ठूलो खेल महोत्सव । त्यसमा पनि सबैले मनपराउने फुटबल । प्रसारक एनटीभीले यसका लागि अनुभवी भारतीय कमेन्टेटर ल्याउने तयारी गरेको थियो ।  दक्षिण एसियाली फुटबलका प्रायः सबै खेलका कमेन्ट्री कोलकाताका तिनै कमेन्टेटरले गर्थे । प्रख्यात भारतीय टिभी डीडी स्पोर्ट्समा उनकै आवाज सुनिन्थ्यो । घरमै आयोजना हुन लागेको भएर पनि अमन चाहन्थे, यो मौका मलाई मिलोस् । तर, भर्खरका उनलाई पत्याउने कस्ले ?

फ्रेन्ड्स र काठमाडौं क्लबबाट शीर्ष डिभिजन खेलिरहेको भएर यसलाई फुटबलको ज्ञान छ भन्ने कुरा सबैलाई थाहा थियो । यसले पनि मलाई विश्वास जित्न सजिलो बनायो । 

अवसर नपाउने भन्ने थाहा भइसकेपछि अमनले आफूलाई मौका दिन पहल नै गरे । यसपालिको साग (तत्कालीन साफ) फुटबल अंग्रेजी र नेपाली दुवैमा जाने भएकाले अमनलाई भित्री मनदेखि लागेको थियो, ‘म दुवै भाषामा राम्रो छु । म सक्छु ।’

त्यसैले उनले कत्ति पनि ढिला नगरीकन तत्कालीन कार्यक्रम उत्पादक माधव कार्कीसँग अनुरोध बिसाए । ‘कहिलेकाहीं आफूले चाहेको कुरा पाउन झगडा पनि गर्नुपर्ने रहेछ । माधव दाइसँग कराएँ । मलाई आफूमै विश्वास छ, म कमेन्ट्री गर्न सक्छु भनेर भनें,’ अमन सम्झन्छन्, ‘मेरो आग्रहमा माधव दाइले १० मिनेट परीक्षण समय दिनुभयो । जसमा मैले सबैलाई लोभ्याएँ ।’

भएको के थियो भन्दा अमनको आग्रहमा कार्कीले रेकर्डिङ कोठामा शर्मासामु पुराना विश्वकप खेलको कमेन्ट्री गर्न लगाए । उनले १९९८ विश्वकप फाइनल फ्रान्सविरुद्ध ब्राजिलको खेलमा नेपाली कमेन्ट्री दिए । मैदानमा रहेका हरेक खेलाडीका नाम थाहा भएका उनलाई कमेन्ट्री दिन कुनै पनि कठिनाइ भएन । पाँच मिनेट नबित्दै शर्माले अमनलाई रोके । उनको मन आत्तियो । लाग्यो, कतै बोलेको मिलेन कि ? लगत्तै शर्माले अमनलाई भने, ‘बाबु ! अङ्ग्रेजीमा बोल त ।’ विश्वकपको अर्को भिडियोमा अमन अंग्रेजीमा भट्भटाउन थाले ।

दुई मिनेट नबित्दै शर्माले अमनलाई बीचमै रोके अनि भनिहाले, ‘तैँले गर्छस् साफमा कमेन्ट्री’ । अमनको सपना पूरा भयो । ‘फ्रेन्ड्स र काठमाडौं क्लबबाट शीर्ष डिभिजन खेलिरहेको भएर यसलाई फुटबलको ज्ञान छ भन्ने कुरा सबैलाई थाहा थियो । यसले पनि मलाई विश्वास जित्न सजिलो बनायो । साफअघि केही अभ्यास पनि भए,’ अमन पुराना क्षण सम्झन्छन्, ‘मैले पाएको सुविधा राम्ररी सदुपयोग गरें र साफमा आफ्नो बेस्ट दिएँ ।’  दिनहुँ फुटबल हुने भएकाले उनी प्रायः रंगशालामा नै हुन्थे । प्रतियोगिताबीच समय मिलाएर घरपुग्दा बुवाले भनेका कुराहरू अमनलाई अहिले पनि ताजै लाग्छ ।

सबै साथीभाइ, इष्टमित्र, घरमा खाना खान बोलाइएको थियो । ठीक त्यही बेला बुवा क्षेत्रप्रतापले सबैका अगाडि भनेका थिए, ‘अमन भन्ने केटोले त त्यो फ्रिकिक पायो रे, त्यो फ्रिकिक चाहिँ आजभन्दा यति वर्षअगाडि फलानो खेलाडीले देब्रे खुट्टाले त्यो पोस्टको पहिलो बारको यो कुनाको यति मिटर, यसरी छिराएको कुरा पनि विस्तारले भनिदियो वा ! त्यो केटोलाई यस्तो कसरी थाहा भयो ? उसलाई जस्तो फुटबलको ज्ञान त कसैलाई नहोला ।’

अमनका दाइ अजर अधिकारी नेपाली राष्ट्रिय टोलीका गोलकिपर हुन् । उपेन्द्रमान सिंहले गोलपोस्टको जिम्मेवारी सम्हाल्नुअघि अजर टोलीका नियमित गोलकिपर थिए ।

बुवाले यति भनेपछि के चाहियो र ? अमनले थाहा पाए, बुवाले आफूलाई कमेन्टेटरका रूपमा स्वीकारेको । ‘बुवालाई चाहिँ खेलकुदमा लाग्यो भने दालभात कसरी खाने, जीवन कसरी चलाउने भन्ने ठूलो चिन्ता हुन्थ्यो । दाइले पनि १८ वर्षमै देशका लागि खेलेका थिए । तर, ५ वर्षपछि पढाइका लागि जापान जानुभएको थियो । किनभने, त्यतिबेला फुटबलबाट त्यति कमाइ हुँदैनथ्यो । पहिलो माया भएता पनि भविष्य नदेखेर विदेश गएको केही वर्षमै म कमेन्ट्रीमा आएँ । यसले नि भविष्य बिगार्ने भयो भनेर बुवाले चिन्ता लिनुहुन्थ्यो । साफपछि चाहिँ यसले केही गर्छ भनेर स्वीकार्नुभएको थियो,’ अमनले ती दिन सम्झिए ।

अमनका दाइ अजर अधिकारी नेपाली राष्ट्रिय टोलीका गोलकिपर हुन् । उपेन्द्रमान सिंहले गोलपोस्टको जिम्मेवारी सम्हाल्नुअघि अजर टोलीका नियमित गोलकिपर थिए ।

सन् १९९९ साफका केही भिडियोहरू आज पनि युट्युबमा हेर्न पाइन्छ । अमनको त्यो जोसिलो स्वरले अझै पनि छुट्टै ‘भाइब्स’ दिन्छ । नेपालले त्यतिबेला फाइनलसम्म यात्रा गरेको थियो । तर, स्वर्ण भने जित्न सकेन । बाक्लो घरेलु समर्थकबीच नेपाली टोली बंगलादेशसँग १–० ले स्तब्ध बनेको थियो ।

उक्त फाइनललाई अहिले सम्झँदा मन खिन्न हुन्छ । त्यतिबेला रंगशालामा रिपोर्टिङ गरिरहेका एक वरिष्ठ पत्रकारले कुनै बेला सुनाएका थिए, ‘वसन्त गौचन मैदानमा रोएको अझै याद आउँछ ।’ संयोग के थियो भने, उक्त खेलमा अमनका सहकर्मी विनोदले गोलपोस्टको जिम्मेवारी सम्हाल्ने मौका पाएका थिए । नियमित गोलकिपर उपेन्द्रमान सिंहले रातो कार्ड पाएपछि विनोद मैदान छिरेका थिए । विनोदले त्यसपछि अन्तर्राष्ट्रिय फुटबलमा नेपालको प्रतिनिधित्व गरेनन् । नेपाली फुटबलका पहिलो कमेन्टेटर उनै विनोद हुन् । अमनअघि विनोदले अन्तर्राष्ट्रिय फुटबल कमेन्ट्रीमा आफ्नो स्वर दिएका थिए ।

अमनले सन् २००३ सम्म अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो आवाज दिए । त्यसपछि चट्टै हराए । २००३ मा कान्तिपुर टीभीमा आबद्ध अमन दुई वर्षपछि ‘चलचित्र निर्देशन र टेलिभिजन निर्माण’ विषय पढ्न बेलायत गए । त्यहाँबाट फर्केपछि उनी प्रसारण र निर्देशन क्षेत्रमा लागे । फुटबललाई माया मार्न भने सकेनन् । समय मिलाएर रंगशालामा खेल हेर्न भने आइरहन्थे । फुटबल विश्लेषकका रूपमा पनि उनी देखिनै रहे ।

यिनै अमन २० वर्षपछि कमेन्ट्रीमा फर्केका छन् । दशरथ रंगशालामा जारी नेपाल सुपर लिग (एनएसएल)को दोस्रो सिजनमा उनी कमेन्ट्री टोलीमा छन् ।

यिनै अमन २० वर्षपछि कमेन्ट्रीमा फर्केका छन् । दशरथ रंगशालामा जारी नेपाल सुपर लिग (एनएसएल)को दोस्रो सिजनमा उनी कमेन्ट्री टोलीमा छन् । नियमित कमेन्टेटर अभिनव जोशी, आभाष घिमिरे र प्रस्तोता सहाना वज्राचार्यसँग जोडिएका छन् अमन र उनको प्यासन । एक हिसाबले अमनको यो कमब्याकले उनका फ्यानलाई सरप्राइज दिएको छ । यो अकस्मात ‘कमब्याक’ कसरी सम्भव भयो त ?

अमन भन्छन्, ‘अबको एक महिनामा म ५० वर्ष पुग्दै छु । अब चाहिँ व्यावसायिकताले मागेको काममात्र होइन, आफूले माया गरेको काम पनि गर्छु भन्ने सोच पहिलेदेखि नै थियो । व्यक्तिगत सन्तुष्टि जरुरी छ भन्ने मलाई फिल हुन थालेको थियो । आइ वान अ कमब्याक भन्ने भावनाहरू भित्री मनदेखि आएको थियो । फेरि प्रसारण निर्देशक योपेश प्रधान मेरो साथी भएकाले पनि मलाई सजिलो भयो । चारैतिर मेरो नाम पुगेको थियो ।’

‘यो प्रतियोगिता अलिकति अंग्रेजी फ्रेन्ड्ली पनि छ । शतप्रतिशत नै नेपाली भएको भए मैले सक्दिन थिएँ होला । तर, यसमा मिश्रण गर्न सकिने अवस्था रहेको हुनाले सजिलो भयो । अभिनवहरूको लयमा पुग्न कति समय लाग्छ भन्ने च्यालेन्जको विषय थियो । उनीहरूको त सधैँ काम गरिरहेको बानी । तर, ३ दिनपछि मैले त्यो लय समातिहालेँ,’ अमनले सुनाए, ‘फुटबलले नै मलाई खुसी दिन्छ । पहिलो पटक २४ वर्षअगाडि माइक समातेको जोस र जाँगर अझै पनि मसँग रहेछ । माइक समात्ने बित्तिकै रगत नै उम्लिएर आइहाल्ने ।’

क्रिपा अनप्लग, रोडिज, को बन्छ करोडपति, ऐना, पछिल्लो समय निकै चर्चा कमाएको ‘दी पोयट आइडल’ उनले निर्देशन गरेका कार्यक्रम हुन् । 

कहींकतै बुवाबाट प्रभावित

बुवा क्षेत्रप्रताप नेपालका लोकप्रिय गीतकार तथा कवि थिए । उनी पञ्चायतकालामा उपशिक्षा राज्यमन्त्रीमा पनि मनोनीत भएका थिए । पुरानो बानेश्वरमा हुर्केका अमनको घरमा विशिष्ट व्यक्तित्वको आवतजावत चलिरहन्थ्यो । सबैले चिन्ने, कहिले राजनीतिज्ञ त कहिले को, घरमा त्यस्तो माहोल थियो । त्यसैले १० वर्ष शीर्ष डिभिजन खेलेका अमनमा कला क्षेत्रको नसा नरहने कुरै रहेन । उनले यो २० वर्षको लामो अन्तरालमा नाम चलेका कार्यक्रमको निर्देशन गरे ।

क्रिपा अनप्लग, रोडिज, को बन्छ करोडपति, ऐना, पछिल्लो समय निकै चर्चा कमाएको ‘दी पोयट आइडल’ उनले निर्देशन गरेका कार्यक्रम हुन् । यही सेरोफेरोमा उनले ‘डन डिरेक्टर’को उपनाम पनि पाएका छन् । ‘क्रिपा अनप्लग गर्दा सबै तीनछक्क परे । फुटबलमा लागिरहेको मान्छेले एक्कासि यस्तो कार्यक्रम ल्याएकोमा उनीहरू अचम्ममा परे,’ अमनले हाँस्दै सुनाए ।

लामो समयपछि नेपाली फुटबलमा प्रत्यक्ष रूपमा हात हालेका अमन एक लिजेन्ड हुन् । लिजेन्डबाहेक अरूले यस्ता कुरा भन्न पाउँदैनन्, जस्तो कि ‘सुरुआती पुस्ता भनेर चिनिँदा एकदमै गर्व लाग्छ । नेपाल र बंगलादेशबीचको फाइनलमा मैले अङ्ग्रेजीमा आवाज दिएको थिएँ । मैले उक्त फाइनल डीडी स्पोट्समा रिपिट टेलिकास्ट हेरेको थिएँ । आफ्नो आवाज सुन्न पाउँदा एकदमै गर्व महसुस भएको थियो ।’

नेपाली फुटबलमा उनको योगदानलाई नजरअन्दाज गर्न सकिँदैन । कमेन्ट्री आजको दिनसम्म ल्याउन अमनको ठूलो हात छ । नेपालीले पनि अन्तर्राष्ट्रिय फुटबलमा आवाज दिन सक्छन् भन्ने उनको पालादेखि सुरु भएको हो । अमनले त्यो दिन महाप्रबन्धकसामु आफ्नो कौशलता देखाउन हिच्किचाएको भए ? प्यासिनेट मान्छेको परिभाषा पनि यही नै त हो, मनले जे भन्यो, गरिहाल्नुपर्ने । उनी आफैले भनेका थिए, ‘मेरो स्वभाव नै यस्तो छ कि माया गरेको कुरालाई नितान्त माया गर्ने अनि नसकेको कुरा पन्छाइदिने । म दिमागबाट होइन, मनदेखि सोच्ने मान्छे रहेछु ।’

शनिबारका अन्य स्टोरीः
एनएसएलमा जम्दै विश्वकपदेखि युरोपियन लिग खेलेका खेलाडी (कुन टिममा कस्ता विदेशी खेलाडी नामावलीसहित)
जर्मन बुन्डेसलिगामा ‘लेभरकुजन क्रान्ति’
अबिच्युरीः रहेनन् फुटबलका ‘ट्रयु जेन्टलम्यान’ भीम थापा
यस्तो छ अक्सनअघिको आइपिएल टोली