काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको इतिहासमै नेपालको सबैभन्दा छोटो यात्रा रह्यो सन् २०१५ को संस्करण । दुई खेल अनि दुवै हार । त्यसपछि घर फिर्ता। प्रतियोगिता फेरि एकपल्ट भारतमा भएको थियो । त्यसपल्ट आयोजना गर्ने सहर थियो केरलाको त्रिवेन्दपुरम । डिसेम्बर २३ देखि जनवरी ३ सम्म साफ आयोजना भएको थियो ।
जम्मा सात टिमको सहभागिता थियो । जहाँ पाकिस्तानको अनुपस्थिति रह्यो । यस्तोमा नेपालको समूह ‘ए’ मा जम्मा तीन टिममात्र थिए । नेपालसँगै भारत र श्रीलंका । नेपालका प्रशिक्षक थिए प्याट्रिक ओजेम्स । उनको नेतृत्वमा नेपाल लगभग नयाँ र युवा खेलाडी लिएर मैदानमा उत्रिएको थियो । राम्रो नतिजाको अपेक्षा थिएन तर पहिलोपल्ट लिग चरणका दुवै खेलमा नेपाल पराजित हुने विश्वास पनि थिएन ।
कम्तीमा नेपाल सेमिफाइनल पुग्नै पर्ने थियो । तर, प्रतियोगिताको कथामा लेखिएकै थिएन । नेपालको पहिलो खेल थियो श्रीलंकाविरुद्ध । त्यही बेला श्रीलंकाली फुटबल एकपछि अर्को विवाद र तनावबाट गुज्रिइरहेको थियो । त्यसैले अपेक्षा थियो, यसमा नेपाल विजयी रहनेछ । तर, खेल श्रीलंकाले १-० ले जित्यो ।
खेल बराबरीतर्फ अग्रसर रहेको बेला दोस्रो हाफको इन्ज्युरी समयमा श्रीलंकाले नेपाललाई स्तब्ध पार्दै एक गोल गरेको थियो । गोल गर्ने खेलाडी थिए, मोहमद रिफनास । खेलपछि नेपाली खेलाडीको निराशा हेरिनसक्नु थियो । समूहको अर्को खेलमा भारतले श्रीलंकालाई सजिलै २-० ले हरायो । यस्तोमा नेपालको सेमिफाइनल पुग्ने सम्भावना कायम भने थियो ।
यसका लागि कम्तीमा भारतलाई हराउनु थियो । भारतसँगको खेलमा नेपाली खेलाडी सुरुदेखि आक्रामक भएर उत्रिएको थियो र तेस्रो मिनेटमै गोल निकाल्न पनि सफल रह्यो । विमल घर्तीमगरले यो गोल गरेका हुन् । एक समय लागेको थियो नेपाल सेमिफाइनल पुग्दै छ । अन्त्यमा नेपाल त्यो खेलमा पनि ४-१ ले पराजित भयो र पूरा प्रतियोगिताको कथा नेपालका लागि त्यहीं टुंगियो ।
प्रशिक्षक ओजेम्सले दुवै खेलमा पराजित भएपछि भनेका थिए, ‘यो प्रदर्शन कुनै पनि हालतमा स्वीकार्य छैन । म आफ्ना खेलाडीको प्रदर्शनमा खुसी छु । खुसीमात्र होइन गर्व नै गर्छु ।’ प्रतियोगिताकै लागि भनेर उनले वास्तवमै नयाँ र युवा खेलाडीलाई मौका दिएका थिए । उनको विश्वास थियो, ‘यो टिमले कुनै समय राम्रो गर्नेछ ।’