सहिद स्मारक ‘ए’ डिभिजन लिग

रौनकविहीन लिग

काठमाडौं । घरेलु फुटबलको शीर्ष डिभिजन सहिद स्मारक लिग २०७९-८० चलिरहँदा प्रेस बक्समा केही वरिष्ठ पत्रकारहरू जुनियर भाइहरूसँग भन्दै थिए, ‘पहिले, लिगको रोमाञ्च बेग्लै थियो । माहोलको त कुरै नगरौं । टिकट काट्नमात्र टेकुसम्म लाइन हुन्थ्यो । ठूला खेल हुँदा सुन्धारा, थापाथली र टेकुबाटै त्रिपुरेश्वरतिर आउने सवारी रोकिन्थ्यो ।’

पाका दाजुहरूकाे कुरा धेरैजसो मनाङ मर्स्याङ्दी र थ्री स्टार क्लबबीचको भिडन्तका बारेमा हुन्छ । छाना नभएको रंगशालाको प्यारापिटमा पनि भरिभराउ दर्शक, त्यसमा क्लबलाई भित्रैदेखि मनपराउने समर्थकको बाक्लो उपस्थिति, यस्तै यस्तै... ।

पाटने टोली थ्री स्टार र स्वयम्भूमा हुर्किएको टोली मनाङबीचको खेल मैदानभित्र र बाहिर उत्तिकै रोचक हुन्थ्यो । खेलको नतिजा के हुन्थ्यो, त्यो यहाँको विषय होइन । कुरा गरौं, समर्थकबीचकै घम्साघम्सीको । खेल सकिनेबित्तिकै दुई क्लबका समर्थक एकआपसमा झगडा गर्थे । सानो झगडा होइन, ठूलै । घाउ चोट सामान्य नै हुन्थ्यो । संकटा क्लब र न्युरोड टिम (एनआरटी)का समर्थकबीचको प्रतिद्वन्द्विता पनि उस्तै हुन्थ्यो ।

समर्थकहरूका ती झैझगडा त्यतिबेला निर्दयी थिए होलान् । तर अहिले नेपाली फुटबलमा यसको महत्त्व बढेको छ ।

वर्तमान पुस्ताका फुटबल रिपोर्टिङ गरिरहेका पत्रकारहरू सुन्दै थिए । रमाइलो भइरहेको थियो । कता-कता उनीहरूमा पीडा पनि थियो त्यस्ता दिनहरूको प्रत्यक्षदर्शी बन्न नपाएकामा । उनीहरूको यो पीडा, यो घाउमा नून छर्किदिने काम गरिदिए तत्कालीन अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापाले ।

फाइल तस्बिरः सुन्दर श्रेष्ठ

दुई साताअघि मात्र सामाजिक सन्जाल फेसबुकमा थापाको पोस्ट आएको थियो । उनले १९ वर्ष पुराना तस्बिर सेयर गरेका थिए । तस्बिरहरूमा दर्शकको बाक्लो उपस्थितिबीच स्टार प्रदीप महर्जन, सुरेन्द्र तामाङ, सागर थापालगायतले खेलिरहेको दृश्य कैद थिए । क्याप्सन थियो, ‘आजकै दिन २०६२ साल अप्रिल १९ मा थ्रीस्टार र मनाङबीच भएको सहिद स्मारक लिग फुटबल हुँदा, फेसबुकले पुरानो सम्झना दिलायो ।’

तीन दिनपछि थापाले फेरि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको १८ वर्ष पुराना तस्बिररू पोस्ट्याए । यसपालि थापाले विगत र वर्तमान परिस्थितिको तुलना गरे । यसबीच उनले लेखेका थिए, ‘हाम्रो कार्यकालमा पुलिस र आर्मीको खेल हुने भएपछि आयोजकलाई दुई दिन अघिदेखि खेल नसकिएसम्म व्यवस्थापनको चिन्ता हुने गर्थ्यो । खेलको दौरान कुनै अप्रिय घटना घट्ला भनेर प्रधानसेनापति र आइजिपीसँग सम्पर्क गर्थ्यौं’ वर्तमान अवस्थाप्रति थोरै व्यंग्य अनि धेरै चिन्ता व्यक्त गर्दै उनले थपे, ‘आज यी दुई क्लबबीचको खेल एन्फा कम्प्लेक्समा गर्नुपर्ने दिन आएछ ।’

पूर्वअध्यक्ष थापाले उठाएका यी निकै गम्भीर विषय हुन् । साच्चिँकै जारी ‘ए’ डिभिजन लिग खल्लो छ । मलजल नगरिएका बगैंचाजस्तै भएका छन् मैदानका प्रतिस्पर्धा । त्यसैले त हो नयाँ पुस्तालाई निराश बनाएको । यसपालि लिगमा धेरै कमजोरी छन् । खोज्नै नपर्ने कमजोरी भनेको दर्शकको अनुपस्थिति नै हो ।

फाइल तस्बिरः सुन्दर श्रेष्ठ

दर्शकको उपस्थिति कहालीलाग्दो गरी घट्नुको मुख्य कारण हो कम प्रचारप्रसार । जारी लिगमा कुनै पनि प्रकारको प्रचारप्रसार सुनिँदैन । लिग भइरहेकै कुरा धेरैलाई थाहा छैन । ब्रान्डिङमा एन्फाले सिन्कोसमेत भाँचेको छैन । मोफसलमा कुनै पनि प्रतियोगिता आयोजना गर्दा दर्शक आकर्षित गर्न आयोजकले प्रतियोगितास्थल वरिपरि ब्यानरहरू राख्ने गर्छन् । स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा लबिइङ गर्छन् । समाजलाई प्रभावित गर्न सक्ने व्यक्ति तथा संस्थाहरूको पहिचान गरी तिनलाई परिचालनसमेत गर्छन् ।

विराटनगरमा एक महिनाअघि सम्पन्न विराट गोल्डकपमा दर्शकको उपस्थिति लोभलाग्दो थियो । फुटबलप्रति दर्शकको मन लोभ्याउन आयोजकले प्रचारप्रसारमा लगानी गरेको थियो । स्वागतद्वार बनाएर झकिझकाउ पारिएको थियो । तर, देशकै ठूलो धनराशि भएको प्रतियोगितामा कुनै पनि यस्ता गतिविधि देखिँदैन । बरू एन्फाले ब्रान्डिङ त पोखरामा दुई दशकदेखि हुँदै आएको आहा-रारा गोल्डकपका आयोजकसँग सिक्नु नि । जबकि लिगमा विदेशी खेलाडी ओइरिएका छन् । उनीहरूको खेल हेर्न पनि पहिलो रंगशालामा दर्शकको बाक्लो उपस्थिति हुन्थ्यो ।

लिग चलिरहँदा त्रिपुरेश्वर क्षेत्र पुग्नेबित्तिकै रंगशाला भित्र जाउँजाउँ लाग्ने हुनुपर्थ्यो । तर, अफसोच यस्तो अवस्था छैन । रंगशालाको ढोकैमा पुग्दा समेत ‘यहाँ शीर्ष डिभिजनको लिग चलिरहेको छ’ भनेर थाहा पाउन सकिन्न । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र च्यासलस्थित च्यासल रंगशालाको हालत पनि त्यस्तै छ ।

फाइल तस्बिरः सुन्दर श्रेष्ठ

टिकटदर त्यति महँगो छैन । फुटबल जस्तो महँगो खेल दर्शकले १०० रुपैयाँमा हेर्न पाइरहेका छन् । तर, एन्फाले यस्तोमा पनि दर्शक तान्न सकिरहेको छैन । यसको असर खेलाडीमा समेत परेको छ ।

१२औं चरणमा थ्री स्टारसँग गोलरहित बराबरीमा रोकिएपछि साबिक विजेता मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक किशोर केसीले मुखै फोरे, ‘खेलाडीले माथिल्लो स्तरको खेल प्रदर्शन गर्न दर्शक चाहिन्छ । दर्शक नहुँदा खेल खल्लो भयो ।’

यी सबै गालीबीच एन्फाको जवाफ एउटै छ । त्यो हो, ‘बजेट छैन । खर्च उठाउन सकेनौं ।’ तर, एन्फाको यो जवाफ आधारहीन छ । आफूलाई चाहेको बेला एन्फाका पदाधिकारी खर्च उठाउन ठूला नेताहरूको पहुँच प्रयोग गर्छन् । चुनावमा पैसा उठाउन ठूला प्रायोजककहाँ धाउँछन् । तर, लिगका लागि चाहिँ किन उठाउन नसक्ने ?

फाइल तस्बिरः सुदर्शन रञ्जित

जारी लिगमा उल्लेख गर्नैपर्ने दोस्रो कमजोरी हो, प्रशिक्षकको लाइसेन्स । एन्फाको प्रतियोगिता नियमावलीअनुसार मुख्य प्रशिक्षकसँग एफसी ‘ए’ लाइसेन्स र सहायक प्रशिक्षकसँग कम्तीमा पनि ‘सी’ लाइसेन्स हुनैपर्छ । तर, जारी लिगमा यसको पालना राम्ररी भएको छैन । नवप्रवेशी खुमलटार युथ क्लबबाट ‘ए’ लाइसेन्सप्राप्त प्रशिक्षक मैदानमा छैनन् । सहायक प्रशिक्षकसँग ‘सी’ लाइसेन्स पनि छैन । अर्को नवप्रवेशी चर्च ब्वाइज युनाइटेडका सहायक प्रशिक्षकको हालत पनि त्यही छ ।

विभागीय टोली एपीएफ क्लबको त झन् मुख्य प्रशिक्षकसमेत मैदानमा छैनन् । अमेरिकामा बसिरहेका कुमार थापाको ‘ए’ लाइसेन्स एन्फामा दर्ता गरिएको छ । क्लबले थापाको लाइसेन्स प्रयोग गरेर नै लिग खेलिरहेको छ । यस विषयमा एन्फा मौन छ ।

प्रशिक्षकपछि पालो क्लबको । कुन कुन क्लबले एएफसी ‘ए’ लाइसेन्सका लागि निवेदन गरेको छ भन्ने जानकारी अहिलेसम्म बेखबर छ । एन्फाले एएफसीसामु कति क्लबको प्रस्ताव पठाएको छ, त्यसको आधिकारिक जानकारी छैन । यस्तोमा नेपालको प्रतिनिधित्व यो वर्षको एएफसी कपमा कस्ले गर्ने भन्ने प्रश्न उठ्छ । त्यसो त संघले पछिल्लो सिजनभन्दा धेरै क्लबको प्रस्ताव एएफसीलाई पठाएको कुरा एन्फाको एक स्रोतले बताएको छ ।

जारी लिगमा भएका ध्यान दिनैपर्ने कमजोरीका यी केही उदाहरणमात्र हुन् । यस्ता तमाम कमजोरीबीच पनि लिग तीव्र गतिमा दौडिरहेको छ । प्रतियोगिताले आधा बाटो पार गरिसकेको छ । यसपालि यी कमजोरी सुधार गर्न मौखिक रूपमा सकिएला, व्यवहारमा गाह्रो छ । निवारण गर्दागर्दै लिग सकिनेछ । तथापि नेपाली फुटबललाई माया गर्ने नयाँ पुस्ता एन्फालाई माफी दिन तयार छ । त्यो भनेको अब यी र यीभन्दा पनि साना गल्ती नदोहोर्याउने एउटै सर्तमा !