सहिद स्मारक ‘ए’ डिभिजन लिग

रोचक लिगमा ओइलाउँदै खेलाडी

काठमाडौं । आठौं चरणमा थ्री स्टार क्लबसँग १-० ले पराजित भएपछि नेपाल पुलिस क्लबका प्रशिक्षक चेतन घिमिरेको प्रतिक्रिया थियो, ‘हाम्रा कुनै पनि खेलाडीले राम्रो खेल्न सकेनन् । एक जनामात्रै नचलेको हैन । सबै खेलाडी थकित छन् । खेल्न सकिरहेका छैनन् ।’

फ्रेन्ड्स क्लबलाई हराएको ४८ घण्टापछि नै टोली मैदान उत्रनुपर्दाको पीडा प्रशिक्षक घिमिरेले पत्रकार सम्मेलनमा पोखेका थिए ।

सहिद स्मारक लिग २०७९-८० मा यो हालत पुलिसको मात्रै हैन । यो त दशरथ रंगशाला, च्यासल रंगशाला र एन्फा कम्प्लेक्स मैदानमा  भइरहेको शीर्ष डिभिजनको लिगमा सहभागी सबै १४ क्लबको साझा समस्या हो ४८ घण्टा बित्न नपाउँदै मैदान उत्रनुपर्ने ।

दुई पटकको साबिक विजेता मछिन्द्र फुटबल क्लबको दुखेसो यही रहने गरेको छ । मछिन्द्रबहालको टोलीलाई दुई पटक लिग जिताएका प्रवेश कटुवालले छैटौं चरणबाट मछिन्द्रको प्राविधिक क्षेत्रमा नदेखिने निर्णय लिए । मछिन्द्र व्यवस्थापकले अनुवभी प्रशिक्षक किशोर केसीलाई आठौं चरणबाट प्रशिक्षक नियुक्त गर्यो । तर, हिमालयन शेर्पासँग १-१ बराबरी खेलको ४८ घण्टाभित्रै टोली मैदान उत्रनुपर्ने भयो । त्यो पनि संकटाजस्तो उपाधि दाबेदार प्रतिद्वन्द्वीसँग ।

केसीले टोलीको जिम्मेवारी लिएपछि मैदान उत्रनुअघि अभ्यास गराउने मौकासमेत पाएका थिएनन् । यद्यपि मछिन्द्र उक्त खेलमा संकटाविरुद्ध २-१ को जित निकाल्न सफल भयो । सोही दिन बिहानमात्रै मछिन्द्रले केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।  

पाँचौं चरणको विश्रामपछि मछिन्द्र लयमा देखिएको छ । अब भने टोलीले उपाधिमा ह्याट्रिक गर्ने समर्थकको आशा पलाउन थालेको छ । पाँचौं चरणसम्म अधिकांश खेलाडी घाइते भएपछि मछिन्द्र कमजोर देखिएको थियो । पछिल्लो तीन खेलमा विभागीय टोली एपिएफ क्लबसँग १-० ले पराजित भएको टोली एनआरटीसँग १-१ गोलको बराबरी खेल्दा उपाधि दाबेदार खुमलटारलाई ७-३ ले हराउन सफल भएको थियो । तर, निरन्तर खेल्नुपर्दा मछिन्द्रका खेलाडीमा जोस देखिँदैन । थकित छन्, घाममा ओइलाएको कर्कलोजस्तै ।

कीर्तिमानी आठौं पटक लिग उपाधि जितेको मनाङ मर्स्याङ्दीको हालत पनि फरक छैन । लगातार दुई पटकको साबिक उपविजेता त्रिभुवन आर्मी क्लबलाई खेलाडीको थकानले टाउको दुखाइ बनिरहेको छ । उपाधि दाबेदार मानिए पनि केही खेलाडीले विदेश रोज्दा उसै आर्मीको रक्षापंक्ति यसपालि कमजोर थियो । तर, भएका खेलाडी पनि लगातारको खेलका कारण घाइते हुँदा आर्मीको पिरलो थपियो । 

रक्षापंक्तिका गौतम श्रेष्ठ र सुमन अर्यालले अस्ट्रेलिया तथा स्ट्राइकर सुदील राईले दुबईको बाटो तताएका थिए । त्यसैमा राष्ट्रिय टोलीका रक्षक विकास तामाङ यही लिग दौरान घाइते भएपछि आर्मी थप अप्ठेरोमा छ । विकासले लिगका बाँकी खेल गुमाउने छन् । भेट्रान कप्तान भरत खवास लिगका लागि पूर्ण रूपमा तयार छैनन् । दुई विंगर टेकबहादुर बुढाथोकी र टंक बस्नेतलाई पनि चोटले सतायो । घाइतेको सूचीमा गोलकिपर विकेश कुथुसमेत थपिँदा आर्मीले दोस्रो रोजाइका खेलाडीलाई मौका दिइरहनुपरेको छ ।

थ्री स्टारको समस्या पनि उस्तै छ । मुख्य खेलाडी घाइते छन् । यसपालि थ्री स्टारले अनुभवी विक्रम लामा, विराज महर्जन र सन्तोष साहुखलका साथै युवा खेलाडीको प्रदर्शनमा मध्यतालिकामा रहने योजना बनाएको देखिन्छ । सुरुआती समयमा थ्रीस्टार रेलिगेसन क्षेत्रबाट बच्ने संघर्षमै थियो । तर, प्रशिक्षकका रूपमा मेघराज केसीले नेतृत्व लिएपछि टोलीको रूप फरक देखिएको छ ।

टिममा जति सुधार गरे पनि लगातार दिन बिराएर खेल्नुपर्दा प्रशिक्षक केसी विछिप्त छन् । त्यसैले उनी एन्फा नेतृत्वमाथि अलि बढी नै आलोचनात्मक छन् । भन्छन्, ‘लिग प्रोग्रामअनुसार भएको होइन । अपर्झट भएको हो । नेतृत्वलाई लिगको कुनै वास्ता छैन । नेतृत्वसँग लिग गर्ने क्षमता पनि छैन ।’

एन्फाले शीर्ष डिभिजनको लिगलाई दोहोरो लिग प्रणालीमा गर्ने भनेर महत्त्वाकांक्षा देखाउन खोजे पनि त्यसअनुसार आयोजना पक्ष निकै फितलो हुँदा लिगको मर्म प्रभावित भएको छ । विश्रामका लागि आवश्यक समय नपाएको सबै क्लबको गुनासो रहने गरेको छ ।

लिग आफैमा लामो प्रतियोगिता हो । प्रत्येक टिमले पर्याप्त संख्यामा खेल खेल्न पाउनु लिगको सुन्दर पक्ष हो । सँगै प्रत्येक खेलपछि टोलीले तयारी र आरामका लागि आवश्यक समय प्राप्त गर्छन, जुन लिगको अर्को महत्वपूर्ण पक्ष हो । यस्तो समयमा सबै टिमले अघिल्लो खेलका कमजोरी अर्को खेलमा सुधार्नका लागि आवश्यक प्रशिक्षण र रणनीति तयार गर्न पाउँछन् । जसले समग्रमा खेलाडीमा निखार आउँछ । खेल्ने शैली विकास हुन्छ ।

तर, एउटा खेल खेलेपछि विना अभ्यास सिधै अर्को खेलका लागि मैदान उत्रनुपर्ने अवस्थामा लिगका प्रतिस्पर्धी क्लबहरू छन् । जसले गर्दा अघिल्लो खेलमा थाकेको खेलाडीको मांसपेसीले आराम पाएको छैन । शारीरिक रूपमा अत्यन्तै डिमान्डिङ खेलमा लगातार थकित शरीर रगेटिरहनुपर्दा खेलाडीमा चोटको समस्या बढ्दै गएको छ ।

प्रशिक्षकले अघिल्लो खेलमा भएका कमजोरी अर्को खेलमा सुधार्न पाएका छैनन् । यही कारण हो, एक खेलपछि कम्तीमा दुई दिनको आराम समय क्लबहरूले मागेको । त्यसो भए एक दिन रिकभरीका लागि पूर्ण आराम अनि अर्को एक दिन मैदानमा रणनीतिक अभ्यास गर्न पाइन्थ्यो भन्ने क्लबहरूको भनाइ छ ।

तर, नेपाली फुटबलको नियामक निकायले यसतर्फ ध्यान दिएको छैन । जसोतसो सुरु गरेको लिग टुंग्याउनु नै एन्फाका लागि फलामको च्युराजस्तो चुनौती बनिसकेको छ ।  ‘अवस्था यस्तै छ । मैदान बाहिर र भित्र उस्तै समस्या छन् । जेहोस् राम्रो गर्नुको विकल्प छैन । म टोलीको प्रदर्शन घट्न दिन्न । बढाउन चाहन्छु,’ थ्री स्टार प्रशिक्षक केसी चित्त बुझाउँछन् ।

तर, तीन दशकभन्दा लामो समय खेलाडी र प्रशिक्षकको रूपमा नेपाली फुटबलको सेवा गरिसकेका केसीलाई खेलाडीको चोट र व्यस्त खेल तालिकासँगै अर्काे डर पनि छ, कतै मैदान बाहिरको खेलले लिगलाई मार्ने त हैन । ‘यो नेपाल हो । मैदानमा के हुन्छ । मैदान बाहिर के हुन्छ ? धेरै कुरा हुन्छ । त्यसको पनि ख्याल गर्नुपर्छ,’ केसी सम्भावित घटनाप्रति तर्कना गर्छन् ।

एक त अहिले नेपाली फुटबलमा खेलाडीको अभाव छ । अघिल्लो सिजन लिग खेलेका ४० भन्दा बढी खेलाडी अस्ट्रेलिया र दुबई पुगेका छन् । राष्ट्रिय टोलीकै एक दर्जन बढी खेलाडी अस्ट्रेलिया पुगेका छन् । लिग हुने या नहुने टुंगो नहुनु, खेलेरै परिवार धान्न नसक्ने अवस्था आउनुलगायतका कारणले भविष्य खोज्दै खेलाडी अस्ट्रेलिया पुगेका हुन् । लिगमा ५ खेल खेलेका मछिन्द्रका कप्तान सुजल श्रेष्ठ, रञ्जित धिमाल तथा संकटाका कप्तान सरोज दाहाल र एक खेल खेलेका सुनिल बल अस्ट्रेलिया पुगे । अन्य खेलाडी भने यसअघि नै अस्ट्रेलिया पुगेका हुन् । ‘खेलाडी अभावले पनि समस्या आएको छ । अब विकल्प पनि छैन,’ केसी भन्छन् ।

जारी लिगको एघारौं खेलहरू (शनिबार सम्म) जारी छन् । पहिलो चरण सकिन अझै सबै क्लबले दुई/दुई खेल खेल्न बाँकी छ । त्यसपछि पुनः दोस्रो चरण हुनेछन् र हरेक टोलीले १३/१३ खेल खेल्नेछन् ।

दोहोरो लिग हुने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले विदेशी खेलाडीको कोटा थप गरेर चारबाट ५ पुर्याएको छ । यद्यपि मैदानमा भने एक पटकमा चार खेलाडीमात्रै हुनेछन् । जसका कारण केही टोलीलाई राहत मिलेको छ ।

यसको सातदोबाटो र जावलाखेलले भरपूर फाइदा उठाएका छन् । दुवै टोलीमा स्तरीय विदेशी खेलाडी रहँदा कागजमा ठूला भनिएका क्लबलाई माथ दिँदै आएका छन् । त्यसैले त शीर्ष दुई स्थानमा जावलाखेल र सातदोबाटोको प्रतिस्पर्धा चलिरहेको छ । उपाधि दाबेदार मानिएका मछिन्द्र, संकटा, आर्मी र चर्च ब्वाइज यिनै दुई क्लबलाई पछ्याइरहेका छन् ।

यद्यपि खेलाडी घाइते र व्यस्त खेलतालिकाबीच कुन टोली च्याम्पियन बन्ने र कुन टोली रेलिगेसनमा पर्ने अहिले नै आँकलन गर्न सकिँदैन । खेलाडी समस्या, क्लब समस्या, आर्थिक स्थिति टाट पल्टेको एन्फाको समस्या र गुनासो छाड्ने हो भने लिगको अंकतालिकाको रस्साकस्सी चाहिँ निकै रोमाञ्चक तरिकाले अगाडि बढिरहेको छ ।