वर्ष २०७९

महिला फुटबलः घरेलु उदेकलाग्दो, अन्तर्राष्ट्रिय लोभलाग्दो

काठमाडौं । भियतनामजस्तो विश्वकप खेल्दै गरेको टोलीसँग सकारात्मक प्रदर्शन दिएर नेपाली राष्ट्रिय महिला टोलीले वर्ष २०७९ को अन्त्य गरेको छ ।

एसियाली वुमेन्स ओलम्पिक छनोटअन्तर्गत दुई लेगमा जसरी नेपालले उत्साहजनक प्रदर्शन गरेको छ, त्यसले महिला फुटबलको भविष्य उज्ज्वल रहेको संकेत देखाएको छ । यसले वर्ष २०८० को सुरुआत राम्रो होला भन्ने मान्न सकिन्छ ।

फिफा वरीयतामा ३३औं स्थानमा रहेको भियनतामविरुद्ध शनिबार (चैत २५) दोस्रो लेगमा नेपाली टोली २-० को साँघुरो अन्तरले पराजित भयो । पहिलो लेगमा उत्कृष्ट प्रदर्शनको बावजुद नेपालले ५-१ ले नतिजा सुम्पेको थियो । नेपालबाट सावित्रा भण्डारीले एक गोल गरिन् । उनका लागि यो राष्ट्रिय टोलीबाट ४१ औं गोल थियो ।

पहिलो खेलको तुलनामा सुधारिएको प्रदर्शन गरेको नेपाली टोली फिनिसिङ र रक्षापंक्तिमा चुक्दा दोस्रो लेगमा पनि पराजय स्वीकार्नुपरेको थियो । अन्यथा प्राप्त अवसर सदुपयोग गर्न सकेको भए नेपाली महिला टोलीले नयाँ इतिहास कोर्ने थियो ।

वर्षको अन्त्य सानदार प्रदर्शनको साथ भए पनि समग्रमा भने बितेको वर्ष नेपाली महिला फुटबलको उपलब्धि औसत रह्यो । नेपाली टोलीको अन्तर्राष्ट्रिय सहभागिता भने उत्साहजनक थियो । महिला (सिनियर/जुनियर) फुटबलमा पनि पुरुषको जस्तै अन्तर्राष्ट्रिय सहभागिता बाक्लै रह्यो । तर, घरेलु लिग भने महिला फुटबलका लागि निराशाजनक बन्न पुग्यो ।

नेपाली राष्ट्रिय महिला टोलीका पूर्वप्रशिक्षक हरि खड्का समग्रमा महिला फुटबल राम्रो भएको बताउँछन् । उनी महिला फुटबलमा लगानीअनुसार प्रतिफल आएको मान्छन् । ‘समग्रमा महिलामा सिनियर र जुनियर सबै टोलीले राम्रो प्रदर्शन गरेको छ । सिनियरमा सदाझै यसपटक पनि साफ च्याम्पियन जित्न सकेनौं । ओलम्पिक छनोटमा टोलीअनुसार प्रदर्शन राम्रो गर्न सक्यौं । पहिलो खेलमा अलि राम्रो भएन । महिलामा पर्याप्त लगानी छैन । लगानीअनुसार यत्तिको नतिजा आउनु राम्रो हो । जुनियरतर्फ पनि राम्रो भएको छ,’ एन्फाका कार्यकारी प्राविधिक निर्देशक खड्काको तर्क छ ।

एन्फाको नेतृत्व परिवर्तन भएपछि महिला खेलाडीले घरेलु लिग खेल्न पाएनन् । बल्लतल्ल हप्ते लिगबाट महिने लिगमा सरेको फुटबलको मेरुदण्ड मानिने लिग नै हुन सकेन । एन्फाले अघिल्लो सिजन एक महिनाको राष्ट्रिय महिला लिग आयोजना गरेको थियो । तर, कर्माछिरिङ शेर्पाको अघिल्लो कार्यकालले चैतमै पहिलो चरण समाप्त गर्दा वैशाखमा हुने तय भएको दोस्रो चरण आयोजना नै भएन ।  

शेर्पालाई हराउँदै एन्फाको नेतृत्वमा पुगेका पंकजविक्रम नेम्वाङको कार्यसमितिले त्यो लिगलाई निरन्तरता दिनुपर्ने जरुरी ठानेन । फागुन १७ मा बसेको एन्फा कार्यसमिति बैठकले आधा भएको लिगलाई त्यतिमै अन्त्य गर्ने अप्रिय निर्णय लिएको थियो । शीर्षस्थानमा रहेको विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफलाई विजेता, नेपाल पुलिस क्लबलाई दोस्रो र त्रिभुवन आर्मी क्लबलाई तेस्रो भएको घोषणा गर्यो । तर, नयाँ अर्को लिग हुने टुंगो लागेको छैन ।

बितेको वर्षमा अन्तर्राष्ट्रिय फुटबलमा नेपाली महिला सिनियर टोलीले दुई प्रतियोगिता र दुई मैत्रीपूर्ण खेल खेल्यो । दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप, भारतसँग दुई मैत्रीपूर्ण खेल र फ्रान्समा आयोजना हुने महिला पेरिस ओलम्पिक २०२४ को एसियाली छनोट खेल्यो । यसबीचमा महिला टोलीले दुई मुख्य प्रशिक्षक पायो । कुमार थापाले साफ च्याम्पियनसिपमा टोलीको नेतृत्व लिए ।

नियमित कप्तान रेनुका नगरकोटे घाइते भएपछि गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले नेपाली टोलीको कप्तानी ‘आर्मब्यान्ड’ लगाइन् । सधैंझै यसपटक फेरि नेपाली टोली साफको फाइनलमा पुगेर चुक्यो । फाइनलमा नयाँ प्रतिद्वन्द्वी बंगलादेश हुँदा घरेलु मैदानमा उपाधि जित्ने आस गरिएको थियो । तर, दशरथ रंगशालामा नेपाल बंगलादेशसँग ३-१ ले स्तब्ध भयो । बंगलादेशले पहिलो पटक साफ च्याम्पियनसिपको ट्रफी उचाल्यो । साफ भदौ २१ देखि असोज ३ सम्म आयोजना भएको थियो ।

सधैं फाइनलमा पराजित हुँदै आएको भारतलाई भने यसपालि नेपालले सेमिफाइनलबाट अगाडि बढ्न दिएन । रश्मिकुमारी घिसिङको एकमात्र गोलमा नेपालले भारतलाई १-० ले हराएको थियो । यसअघि समूह ‘बी’मा नेपालले भुटानलाई ४-० र श्रीलंकालाई ६-० ले पराजित गर्दै सेमिफाइलनमा स्थान बनाएको थियो । डेंगी संक्रमण पुष्टि भएपछि भुटानविरुद्ध दुई गोल गरेकी सावित्रा भण्डारी फाइनलमा मात्रै उपलब्ध भइन् । डेंगीकै कारण मिडफिल्डर मञ्जलीकुमारी योञ्जनले साफ च्याम्पियनसिप गुमाउनुपरेको थियो ।

साफ च्याम्पियनसिप सम्पन्न भएलगत्तै रक्षक पुनम जर्घामगरसहित मिडफिल्डरद्वय दीपा राई र इन्दिरा राईले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिए । प्रशिक्षक कुमार थापाले उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेका दीपा शाही, अमिषा कार्की, समिक्षा घिमिरे र निशा थोकरलाई राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गराए । उपाधि जिताउन असफल भएपछि थापाले पदमा रहन ‘उचित’ नभएको भन्दै प्रशिक्षकबाट राजीनामा दिएका थिए ।

फागुन ३ र ६ गते नेपाली टोलीले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्यो । एन्फाले पूर्व खेलाडी अनन्तराज थापालाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । नेपालले पहिलो खेलमा भारतसँग २-२ गोलको बराबरी खेल्यो । ५४औं मिनेटमा सौम्या गुगुलोथ र ६८औं मिनेटमा इन्दु मथिका थिरेसानको गोलमा भारत २-० ले जिततर्फ अग्रसर भएको थियो ।

खेलको ९० र इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै सावित्रा भण्डारीले नेपालको सम्भावित हार टारेकी थिइन् । पहिलो खेलमा घाइते भएकी रक्षक गीता राना चार महिना मैदान बाहिर भइन् । दोस्रो खेलमा नेपालले आक्रामक बनेको भारतलाई उसैको मैदानमा गोलरहित बराबरीमा रोक्यो । कप्तान एन्जिला तुम्बापो सुब्बाले उत्कृष्ट प्रदर्शन गर्दै भारतका एक दर्जनभन्दा बढी प्रहार रोकेकी थिइन् ।

गीतासहित पुनमको अनुपस्थितिमा प्रशिक्षक अनन्तले भियतनामविरुद्ध युवा खेलाडीलाई रक्षापंक्तिको जिम्मेवारी दिए । नेपाल दुवै खेलमा पराजित हुँदै दोस्रो चरणमा पुग्न असफल भयो । आगामी जुलाई/अगस्टमा अस्ट्रलिया र न्युजिल्यान्डमा हुने तय भएको विश्वकपमा खेल्दै गरेको भियतनाम दोस्रो चरणमा प्रवेश गर्यो ।

जुनियर महिला टोलीको पनि यो वर्ष अन्तर्राष्ट्रिय सहभागिता सन्तोषजनक थियो । यद्यपि घरेलु फुटबलमा जुनियर महिलाका कुनै प्रतियोगिता नै हुँदैनन् । नेपाल यु-१५ साफ च्याम्पियनसिपको उपाधि जित्न सफल भयो । दोहोरो लिग प्रणालीमा भएको प्रतियोगितामा बंगलादेशलाई पछि पादैै नेपाल च्याम्पियन भएको थियो ।

यसैगरी फाइनलमा बंगलादेशसँग पराजित हुँदा यु-२० साफ च्याम्पियनसिपमा भने उपविजेतामै चित्त बुझायो । यस्तै, महिला यु-२० टोली प्यालेस्टाइन र नर्दन मारियाना आइल्यान्डलाई ६-० को समान अन्तरमा हराउँदै एएफसी एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । यु-१७ मा भने नेपालको सहभागितामात्रै रह्यो ।

पुरुष फुटबलमा सर्वाधिक १३ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान राखेका पूर्वप्रशिक्षक हरि खड्का आगामी वर्ष महिला फुटबललाई प्राथमिकतामा राख्न सके राम्रो नतिजा आउने बताउँछन् । उनी महिला लिग निरन्तर हुनुपर्ने सुनाउँछन् ।

‘महिला लिग निरन्तर हुन सकेन । भएको भए त्यसले अझै सफलता बढाउने थियो । अब खाका कोरेर महिला लिग अगाडि बढाउनुपर्छ । लगानीअनुसार नै फल आउने त हो,’ खड्का भन्छन् ।

भियतनामसँग पहिलो लेग खेलेपछि सावित्रा भण्डारीले चरम निराशा व्यक्त गर्दै महिला फुटबलको भविष्य चिन्ताजनक रहेको बताएकी थिइन् । कुनै संरचना र बिना लगानी पनि महिला फुटबलले राम्रो नतिजा दिइरहेको र त्यसको एउटै कारण भनेको खेलाडीको लगाव भएको बताउँदै उनले पर्याप्त लगानी भए उच्च सफलता प्राप्त गर्नेमा नेपाली खेलाडी पनि कम नभएको दाबी गरेकी थिइन् ।