काठमाडौं । विश्व फुटबलमा एउटा पुरानो भनाइ छ, फर्किएर पुरानो ठाउँमा नजाऊ । यो भनाइ आफैंमा सुझाव पनि हो । तर पछिल्ला केही सातायता यो भनाइ वा सुझावलाई मानिएको छैन । नमान्नेहरू हुन्, रोय हड्सन र फ्रयांक लाम्पार्ड । हड्सन क्रिस्टल प्यालेस र लाम्पार्डले चेल्सीमा पुनरागमन गरेका छन् ।
हड्सन त संन्यासबाट निस्किएर प्यालेस पुगका हुन् । लाम्पार्ड चाहिँ जागिरविहीन थिए । यी दुवैलाई जारी सिजनको अन्त्यसम्मका लागि जिम्मेवारी दिइएको हो ।
हड्सन बाल्यकालदेखि नै प्यालेसका समर्थक हुन् । उनी सेप्टेम्बर, २०१७ मा मात्र त्यहाँको प्रशिक्षक बन्न पाए । सन् २०२०/२१ सिजन सकिना साथ उनलाई बिदा दिइयो । केही समय आराम गर्ने बताएका उनी जनवरी, २०२२ मा वाटफोर्डसँग आबद्ध भए । क्लाउडियो रेनरीको प्रशिक्षणमा रहेको वाटफोर्ड इङ्लिस प्रिमियर लिगको १९औं स्थानमा थियो । आखिरमा वाटफोर्डलाई हड्सनले पनि बचाउन सकेनन् । त्यसपछि हड्सनले संन्यास घोषणा गरे ।
मे, २०१८ मा डर्बी काउन्टीको प्रशिक्षक बनेर प्रशिक्षण करियर सुरु गरेका लाम्पार्डले प्रिमियर लिगमा चाँडै मौका पाए । माउरिजियो सारीलाई बर्खास्त गरेको चेल्सीले आफ्ना पूर्वकप्तानलाई जुलाई, २०१९ मा क्लबमा फर्कायो ।
तर प्रशिक्षकका रुपमा लाम्पार्डको चेल्सी यात्रा सुदख रहेन। उनी जनवरी, २०२१ मा बर्खास्तीमा परे । जनवरी, २०२२ मा एभर्टनले उनलाई प्रशिक्षक बनायो । उनले एभरटनलाई रेलिगेसनबाट बचाएको जस पाए । तर दोस्रो सिजनमै उनले एभरटन छाड्नु पर्यो ।
युरोपेली क्लब फुटबललाई तलाउ मान्ने हो भने, माछारुपी उत्कृष्ट प्रशिक्षकहरूको संख्या सानो छ । यसकारण उनीहरू एक ठाउँबाट अर्कोमा सर्नु सामान्य हो । त्यसो गर्दा उनीहरू पुरानै ठाउँमा पनि फर्कन सक्छन् । जसरी कार्लो एन्सेलोट्टी रियाल मड्रिड फर्किए वा जोजे माउरिन्हो दोस्रो पटक चेल्सीको प्रशिक्षक बने ।
यी प्रशिक्षकहरूलाई किन फर्काउन तयार हुन्छन् क्लबहरु ? वा प्रशिक्षकहरू फेरि किन त्यही ठाउँ जान चाहन्छन् ? जवाफ सजिलो छ, पुरानो अनुभव । ठ्याक्कै भन्दा सुखद अनुभव । हड्सनले प्यालेसलाई उसको इतिहासकै सर्वाधिक अंक दिलएका थिए । लाम्पार्डले खेलाडी हुँदा चेल्सीलाई कति उपाधि जिताए, जगजाहेर नै छ ।
अब यहाँ प्रश्न उठ्छ, चेल्सीले लाम्पार्डलाई पुनः प्रशिक्षक बनाउन सक्छ भने टोटनहमले पनि माउरिसियो पोचेटिन्होलाई प्रशिक्षक बनाए भयो नि ? पोचेटिन्हो त अहिले खाली नै छन् । फेरि टोटनहममा उनको बिरासत पनि छ । कतिसम्म भने टोटनहमको नयाँ रंगशाला निर्माणमा उनका कयौं सल्लाह मानिएका थिए । कतिपय डिजाइन नै उनको आग्रहमा लागू गरिएको थियो । टोटनहमलाई प्रिमियर लिगमा बलियो शक्ति बनाउने पनि उनै पोचेटिन्हो हुन् । उनीबाहेक कुनै अर्का प्रशिक्षकले यो क्लबलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याउन सकेका छैनन् ।
आधुनिक फुटबलमा फर्किएर पुरानो ठाउँमा नजाऊ भन्ने भनाइको ठूलो अर्थ छैन । लाम्पार्डका गुरु माउरिन्होले यो भनाइ मानेको भए चेल्सी सन् २०१४/१५ मा प्रिमियर लिग च्याम्पियन बन्ने थिएन । उसो त चेल्सीमा दोहोर्याएर प्रशिक्षक बन्ने सूचीमा माउरिन्हो र लाम्पार्ड मात्र छैनन् । नेदरल्यान्ड्सका गुस हिडिंक पनि छन् । उनी सन् २००९ मा लगभग चार महिनाका लागि प्रशिक्षक बनेका थिए । त्यसपछि उनी सन् २०१५ मा स्टाम्फोर्ड ब्रिज फर्किए । यसपटक उनको बसाइ केही महिना लामो थियो । प्रिमियर लिगमा पुरानो प्रशिक्षक दोहोर्याएर नियुक्त गर्ने अर्को क्लब न्युक्यासल युनाइटेड हो ।
इङ्लिस फुटबलमा पुरानो प्रशिक्षकलाई क्लबमा फर्काउने निर्णय गलत साबित भएको उदाहरण पनि छ । त्यस्तो उदाहरण हुन्, केभिन किगन । पहिलो कार्यकालमा न्युक्यासललाई प्रिमियर लिगको उपाधि दाबेदार बनाएका उनको दोस्रो कार्यकाल सुखद् रहन सकेन । यसको मुख्य कारण थियो, क्लब व्यवस्थापनसँगको लामो विवाद ।
लाम्पार्डको दोस्रो बसाइ कस्तो रहला ? अहिल्यै अनुमान गर्न ग्राहो छ । तर उनी केमा चाहिँ सचेत हुन जरुरी छ भने, दोस्रो बसाइले उनले खेलाडीका रुपमा कायम गरेको बिरासत ध्वस्त नपारोस् ।
चेल्सीको स्वर्णिम कालखण्ड निर्माण गर्न माउरिन्होको भूमिका अहम् छ । माउरिन्होले चेल्सीलाई सन् २००४ देखि २००६ को बीचमा लगातार दुई पटक च्याम्पियन बनाउँदा लाम्पार्ड त्यस टिमका मुख्य खेलाडी थिए । माउरिन्हो फर्किएर आएपछि उनका लागि लाम्पार्डले एक सिजन मात्र खेल्न पाए ।
सन् २००७ मा माउरिन्होले छाडेपछि चेल्सीमा विभिन्न प्रशिक्षक आए, गए । त्यसबीचमा चेल्सीमा परिवर्तन नभएका केही थोरै कुरामध्ये, एक थियो लाम्पार्डको भूमिका ।
पुरानो क्लबमा फर्किएर सफलता दिलाएको उदाहरण पनि नभएका होइनन् । नातामा लाम्पार्डको सानोबुवा पर्ने ह्यारी रेडन्यापले पोर्ट्समाउथलाई दोस्रो कार्यकालमा एफए कप जिताएका थिए । उनको प्रशिक्षणमा पोर्ट्समाउथले युइएफए कप पनि खेल्यो ।
स्टिभ कोप्पेल प्यालेस फर्किने अर्का प्रशिक्षक हुन् । उनले प्यालेसलाई दोस्रो श्रेणीबाट प्रिमियर लिगमा पुर्याएका थिए । अर्का उदाहरण हुन्, होवार्ड केन्डल । उनले दोस्रो बसाइमा एभर्टनलाई रेलिगेसनबाट बचाएका थिए ।
लाम्पार्ड र हड्सन आ-आफ्ना पुराना क्लबमा फर्कदा उठेको प्रश्न हो, सुरुमा उनीहरुलाई किन हटाइयोे ? जबकि यी दुवै ती क्लबमा स्थापित व्यक्तित्व थिए ।
पछिल्लो समय प्रिमियर लिगका क्लबहरुले छोटो अवधिका लागि प्रशिक्षक नियुक्ति गर्ने चलनबारे चिन्ता व्यक्त हुन थालेको छ । यसबारे प्रिमियर लिग प्रशिक्षकहरूको संगठन (एलएमए) ले भनेको छ, ‘अचेल प्रिमियर लिगका क्लबहरू दीर्घकालीन होइन अल्पकालीन योजनमा चलिरहेका छन् । यसो हुँदा प्रशिक्षकहरूले पर्याप्त समय पाइरहेका छैनन् ।’
प्रिमियर लिगमा यसपालि १२ प्रशिक्षक बर्खास्तगीमा परिसकेका छन् । सन् २०१७/१८ मा १५ प्रशिक्षकलाई जिम्मेवारीमुक्त गरिएको थियो । जुन अहिलेसम्मकै सर्वाधिक बर्खास्ती संख्या हो । यो कीर्तिमान यही सिजन तोडिने सम्भावना प्रबल छ । सिजन निर्णायक मोडतिर लाग्दै गर्दा कयौं प्रशिक्षक दबाबमा छन् । उनीहरु बर्खास्तगीमा पर्दा, क्लबहरुसँग भएका सीमित उपयामध्येको एक हो, पुराना प्रशिक्षकलाई फकाउने अनि फर्काउने ।