विदेशी खेलाडी

लिगमा छाइरहेका विदेशी खेलाडी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९-८० को सिजन सुरु भएको छ । दोस्रो चरणका खेल समाप्त भइसक्दा तेस्रो चरणका खेल सुरु भएका छन् । यसक्रममा केही अप्रत्यासित त केही स्वभाविक नतिजा निस्के । साविक दुई पटकको विजेता मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो खेल हारेको छ  र रेलिगेशन क्षेत्रमा छ ।

मछिन्द्रसंँगै उपाधिमा दाबेदारी प्रस्तुत गरेको संकटाले स्वभाविक खेल खेल्न सकेको छैन । उपाधि जित्ने योजना बनाएका नवप्रवेशी टोली चर्च ब्वाइज युनाइटेड र खुमलटारले औसत प्रदर्शन गरेका छन् । कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब, तीन पटकको उपाधि विजेता थ्री स्टार र पाँच पटकको च्याम्पियन नेपाल पुलिस क्लब (शाही सासनमा दुई पटक) को यसपाली उपाधिमा दावेदारी छैन ।

प्रतियोगिता सुरु हुनुभन्दा अघिसम्म कागजी रुपमा कमजोर मानिएको जावलाखेल युथ क्लबले लगातार दोस्रो जित निकालेको छ । जसका कारण लिगले स्वभाविक रुपमा आकर्षण बढाउँदै लगेको छ । नेपालमा राम्रो भविश्य नदेखेर झण्डै चार दर्जन खेलाडी सिजनको मुखैमा विदेसिएपछि यसपटक एन्फाले लिगमा विदेशी खेलाडीको कोटा थप गर्ने क्रममा चारबाट पाँच पुर्याएसँगै प्रतियोगिताको रौनक केही बढेको छ ।

अधिंकाश टोलीमा विदेशी खेलाडी नै मुख्य हतियार बनेका छन् । एन्फाले अघिल्लो संस्करणको नियमलाई परिमार्जन गर्दै पाँच विदेशी खेलाडी राख्न पाउने नियम ल्याएको थियो । जसमा एक दक्षिण एसिया र अर्काे एसियन कोटा अनिवार्य छ । तर, मैदानमा चारमात्रै खेलाडी उत्रन पाउनेछन् ।

लिगमा दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल प्रहरीको नेपाल पुलिस क्लबले विदेशी खेलाडी भित्र्याएका छैनन् । पुलिसले प्रयास गरिरहेको बताएको छ । आर्मी भने नेपाली खेलाडीबाटै लिगमा धमका मच्चाउने योजनामा छ । सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबले अघिल्लो सिजनकै तीन विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । यद्यपि केही क्लबले श्रम स्विकृति प्राप्त नगरेकाले पाँचै खेलाडी मैदानमा उतार्न भ्याइसकेका छैनन् । खुमलटारले भने पाँच जना नै खेलाडी मैदान भित्र्याइसकेको छ ।

लिगमा भित्रिएका विदेशी खेलाडी

खुमलटार

अभिषेक बर्मा- भारत
स्टेफन समिर विनोङ- क्यामरुन
मेसौके ओलोमोउ- क्यामरुन
थेओफिलस अपो- घाना
सनविल डी कोस्टा- भारत

खुमलटारले सहिद स्मारक लिगमा नियमअनुसार सबै पाँच विदेशी खेलाडी भित्र्याइसकेको छ । पहिलो खेलमा फ्रेन्ड्सविरुद्ध क्यामरुनका स्ट्राइकर जोडी स्टेफन समिर र मेसुके तथा घानाका थेओफिलस अपोले पूरा समय मैदान बिताए । भारतीय खेलाडी अभिषेकले ४६ मिनेट खेल्दा डी कोस्टाले ४४ मिनेट मैदानमा बिताएका थिए । मेसुकेले दुई खेलमा दुई गोल गरेर आफू लयमा रहेको संकेत गरेका छन् ।

फ्रेन्ड्स

अख्रोरबेक उक्तामोभ- उज्वेकिस्तान
अस्मिर गोङ्बा- 
उत्तम राई- भारत

पहिलो खेलमा खुमलटारविरुद्ध फ्रेन्ड्सले तीन विदेशी खेलाडीलाई अनुबन्ध गरेको थियो । उज्वेकिस्तानको अख्रोरबेकले पूरा समय मैदान बिताए ।

चर्च ब्वाइज युनाइटेड

फ्राङ्किङ कुइटे टल्ला- क्यामरुन
प्रिसो एजान्गा- क्यामरुन 
जोसपे ओवुसु वेम्पा- घाना

पहिलो खेलमा नेपाल पुलिसविरुद्ध विदेशी खेलाडी टल्लालाई मैदान उतारेको चर्चले दोस्रो खेलमा खुमलटारविरुद्ध गोलकिपर प्रिसो र मिडफिल्डर जोसपे वेम्पालाई मैदान उतारेको थियो ।

एपिएफ

याया कुरियामा- जापान
अर्मान्ड बेअडुम- चाड
अडामा डोउम्बिया- माली

एपिएपले अघिल्लो सिजन २०७८ कै विदेशी खेलाडीलाई पहिलो खेलबाटै निरन्तरता दियो । थ्री स्टारविरुद्ध २-० को जितमा तीन खेलाडीले पूरा समय मैदान बिताएका थिए । तीनै खेलाडीको प्रदर्शनमा एपिएफ २०७८ को लिगमा सम्भावित रेलिगेशन टारेको हो ।  

थ्री स्टार

सिफमान्ड्ला सेलो माथेन्ज्वा- साउद अफ्रिका
मार्टिन्स कयोडे अजयी- नाइजेरिया
ताहा मोहमद- लेवनान

पहिलो खेलमा माथेन्ज्वा र मार्टिन्स दुवैले पूरा समय खेले पनि प्रभाव जमाउन सकेनन् । दोस्रो खेलमा फ्रेन्ड्सविरुद्ध मार्टिन्सको एक गोल मद्धतमा थ्री स्टारले ३–३ गोलको बराबरी खेलेको थियो । ताहाले फ्रेन्ड्सविरुद्ध ‘डेब्यु’ गरेका थिए ।

मनाङ मर्स्याङ्दी क्लब

डिआवान्डोउ निआन्ग डिग्ने- सेनेगल
साडिदजामोल देभलात्जोनोभ- उज्वेकिस्तान 
यस टुकराम मात्रे- भारत
साहीद ओलुवासिना आफिज- नाइजेरिया

पहिलो खेलमा मनाङले तीन विदेशी खेलाडी मैदान उतारेको थियो । डिग्नेलाई मात्रै पहिलो रोजाईमा खेलाएको मनाङले दोस्रो हाफमा दुई खेलाडीलाई ‘डेब्यु’ गराएको थियो । संकटाविरुद्ध दोस्रो खेलमा १-० को जित निकाल्दा उज्वेकिस्तानका देभलात्जोनोभले निर्णायक गोल गरेका थिए । संकटाविरुद्ध तीनै विदेशी खेलाडीले पहिलो रोजाईमा स्थान बनाए ।

हिमालयन शेर्पा क्लब

पिस्टोन भुन्योली मुतम्बा- केन्या
मोहम्मद कडो- लेबनान
अबायोमी ओलुवासेउन फाकुन्ले- नाइजेरिया

पहिलो खेलमा मनाङविरुद्ध १–१ गोलको बराबरी खेल्दा पिस्टोन मुतम्बा र मोहम्मद केडोले उत्कृष्ट प्रदर्शन गरेका थिए । मुतम्बाले पूरा समय र केडोले ८१ मिनेट मैदान बिताएका थिए । दोस्रो खेलमा फाकुन्ले थपिँदा हिमालयन शेर्पाले पुलिसविरुद्ध जित निकाल्न सफल भयो ।

न्युरोड टिम (एनआरटी)

सैभिस सिंह- भारत
निकोलास सर्ज सोङ- क्यामरुन
लाल नुन्जामा- भारत
जिअन एनिसेट एमबाउमी- क्यामरुन

पहिलो खेलमा सातदोबाटोविरुद्ध एनआरटीले तीन विदेशी खेलाडी मैदान उतारेको थियो । दुई भारतीय र क्यामरुन खेलाडी हुन् ।

सातदोबाटो युथ क्लब

विलियम अपोकु असिडु- घाना
उमेश राई- भारत
इभान मेरिक- सर्विया
अब्दुल लातिफ अबुबाकरी- घाना
सार्दाेरवेक मात्तुरातोभ- उज्वेकिस्तान

पहिलो खेलमा एनआरटीविरुद्ध प्राप्त जितमा सातदोबाटोले दुई विदेशी खेलाडी मैदान उतारेको थियो । दोस्रो खेलमा एपिएफविरुद्ध सातदोबाटोले थप दुई खेलाडी खेलायो ।

संकटा क्लब

जुनियर ओन्गुइने एनकेन्गे- क्यामरुन 
नेल्सन युनियो कोन्फर- क्यामरुन
आन्द्रे थिअरी वियिक वियिक- क्यामरुन

पहिलो खेलमा आर्मीविरुद्ध संकटाले तीन विदेशी खेलाडीलाई मैदान उतारेको थियो । ओनगुइन र नेल्सनले प्लेइङ सेटमा सुरुआत गर्दा आन्द्रे थिअरी वियिक दोस्रो हाफमै खेलेका थिए ।

मछिन्द्र फुटबल क्लब

आन्द्रेस निया टिचौन्कुइ- क्यामरुन
ओमालाज नुरैन करिम- नाइजेरिया
ओलाआलो आफिज- नाइजेरिया
यतासुजुकी- जापान

अनुबन्ध गरेका विदेशी खेलाडी घाइते भएपछि मछिन्द्रले पहिलो खेलमा जावलाखेलविरुद्ध कुनै विदेशी खेलाडी खेलाएन । आन्द्रेसनिया समेत बेन्चमै रहेका थिए । दोस्रो खेलमा समेत आन्द्रेसनिया बेन्चमै रहँदा रक्षक करिम मैदानमा देखिएका थिए । तेस्रो खेलबाट मछिन्द्रले नाइजेरियाका ओलावाले आफिज र जापानका यतासुजुकीलाई मैदान उतार्नेछ ।

जावलाखेल

फोडे फोफाना- गिनी 
एकोटो  सेनोस मासोअबी- लेसोथो 
अब्दुल्लाजिज निसोनबाइभ- उज्वेकिस्तान
राहुल राहुल - भारत
पहिलो खेलमा जावलाखेलले मछिन्द्रविरुद्ध चार विदेशी खेलाडी खेलाएको थियो । चारै खेलाडीले पहिलो रोजाईबाट सुरुआत गरेका थिए ।