जेष्ठ ११, २०८२ शनिबार | २२:१८:२५
हेल्प नेपालको विजयी यात्रा जारी एसियाली मिक्स बक्सिङ शुक्रबारदेखि हुने रामे मगरको टोलीले जित्यो प्रो-एमको उपाधि पुलिसविरुद्ध गण्डकी सोझो सेटमा विजयी साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण नेपालमा हुने सुशीलकुमार शाहीलाई वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि एसियाली एथलेटिक्स च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी शुभमन गिल भारतीय टेस्ट टोलीको नयाँ कप्तान न्यु डायमन्डको पुनरागमन जित एपिएफ र पुलिस लगातार दोस्रो खेलमा विजयी हेल्प नेपालको विजयी यात्रा जारी एसियाली मिक्स बक्सिङ शुक्रबारदेखि हुने रामे मगरको टोलीले जित्यो प्रो-एमको उपाधि पुलिसविरुद्ध गण्डकी सोझो सेटमा विजयी साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण नेपालमा हुने सुशीलकुमार शाहीलाई वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि एसियाली एथलेटिक्स च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी शुभमन गिल भारतीय टेस्ट टोलीको नयाँ कप्तान न्यु डायमन्डको पुनरागमन जित एपिएफ र पुलिस लगातार दोस्रो खेलमा विजयी
शनिबारको दिन नेपाली फुटबल

किन सुस्तायो थ्री स्टार ?

काठमाडौं । नेपालको चर्चित ‘ए’ डिभिजन क्लबमध्ये एक हो थ्री स्टार । २०३१ साल (सन् १९७४) स्थापना भएको क्लबले आफ्नो फुटबल यात्रा ‘डी’ डिभिजन लिगबाट सुरु गरेको थियो ।

२०५४ सालदेखि शीर्ष डिभिजनको लिग खेल्न थालेको थ्री स्टार तीन पटक लिग च्याम्पियन बनेको छ ।  सधैंजसो उपाधि दाबेदार मानिने थ्री स्टारले पछिल्ला केही लिगमा आफ्नो त्यो छवि कायम राख्न भने सकेको छैन ।

गत वर्षको लिगमा थ्री स्टार छैटौं स्थानमा रहेर टुंग्याएको थियो । यो शीर्ष लिगमा क्लबको सबैभन्दा खराब प्रदर्शन हो ।

सन् २००५ मा एएफसी प्रेसिडेन्ट्स क्लबको सेमिफाइनल पुगेको थ्री स्टार दोस्रो पटक सन् २०१३ मा सोही प्रतियोगितामा भाग लिँदा समूहको तेस्रो स्थानमा रहँदै बाहिरिएको थियो ।

सन् १९९८-९९ को एएफसी एसियन क्लब च्याम्पियनसिप खेलको थ्री स्टारले पहिलो चरण नै पार गर्न सकेन । थ्री स्टारले २०७५ सालमा राष्ट्रिय लिग पनि जितेको थियो ।  

ललितपुर पाटनको सान मानिने थ्री स्टारको ‘क्रेज’ विस्तारै घट्दै गएको छ । पछिल्लो समय शीर्ष डिभिजनमा ललितपुरका क्लबहरुको संख्या बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर थ्री स्टारलाई परेको छ ।

विगतमा मोफसलका प्रतियोगितामा पनि राम्रो छाप छाड्न सफल थ्री स्टारले यो वर्ष भने मोफसलको प्रतियोगितामा भाग लिएको छैन ।

क्लबका महासचिव सञ्जिव सिल्पकार शीर्ष डिभिजन लिग निश्चित नभएका कारण टिम नबनाएकाले मोफसलको प्रतियोगितामा सहभागिता नजनाएको बताउँछन् ।

‘मोफसलका प्रतियोगितामा भाग नलिनुको कारण लिगको मिति तय नहुनु हो,’ महासचिव सिल्पकारले भने, ‘शीर्ष डिभिजनको लिग नै निश्चित नहुँदा हामीले टिम नै तयार पारेका थिएनौं, त्यसैले कुनै पनि प्रतियोगितामा भाग लिएनौं ।’

अहिले शीर्ष लिग सहिद स्मारक ‘ए’ डिभिजन लिगको मिति तय भइसकेको अवस्थामा थ्री स्टारले आफ्नो तयारीलाई तीव्र पारिरहेको छ ।

क्लबले लिगकै लागि भनेर मंगलबार मात्र मुख्य प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरेको थियो । केसीले गत सिजन ‘ए’ डिभिजन लिगको नवप्रवेशी टोली सातदोबाटो युथ क्लबको प्रशिक्षण सम्हालेका थिए ।

केसीको प्रशिक्षणमा सातदोबाटोले ‘डेब्यु’ सिजनमै चौथो स्थानमा रहेर लिग अन्त्य गरेको थियो । त्यसैले थ्री स्टारले पनि प्रशिक्षक केसीबाट यसपालि ठूलो अपेक्षा राखेको छ ।

‘हामी अहिले लिग तयारीमा जुटिरहेका छौं,’ महासचिव सिल्पकारले भने, ‘प्रशिक्षकको टुंगो लागिसकेको छ, केही खेलाडी अनुबन्ध भएका छन्, केही हुने प्रक्रियामा छन् । हामी सन्तुलित टिम बनाउने प्रयासमा छौं ।’

उनले अहिले नै लिग जित्ने दाबी गर्ने अवस्था नभए पनि उत्कृष्ट प्रदर्शन गर्नेमा आशावादी रहेको सुनाए ।

‘अहिले नै लिग जित्छौं भनेर दाबी गर्न सक्ने अवस्था छैन । लिगमा सहभागी १४ मध्ये एक टिममात्र च्याम्पियन बन्ने हो,’ सिल्पकार भन्छन्, ‘गत सिजनभन्दा सुधारिएको प्रदर्शन गर्दै कम्तीमा पनि शीर्ष तीनभित्र अटाउने हाम्रो लक्ष्य हुनेछ ।’

सिल्पकार खेलाडीलाई स्थायी रुपमा अनुबन्ध गर्न सक्ने अवस्था नरहेकाले टिमको प्रदर्शनमा उतारचढाव आउनु सामान्य रहेको बताउँछन् ।

‘सबै कुरा सधै उस्तै रहिरहन्छ भन्ने हुँदैन । खेलाडी आउने जाने भइरहँदा गत सिजन सोचेअनुरुप प्रदर्शन हुन सकेन,’ उनले भने, ‘यो सामान्य हो । हामीले गत सिजनको लिगयता कुनै प्रतियोगिता खेलेका छैनौं । लिग समयमै नहुँदा खेलाडीलाई स्थायी रुपमा अनुबन्ध गर्ने अवस्था पनि छैन ।’

लिगलाई लक्षित गरेर थ्री स्टारले मंलबारबाट प्रशिक्षण सुरु गरेको छ ।

‘अहिले ३०-३५ जनालाई लिएर प्रशिक्षण सुरु गरेको छु । तीमध्ये केही क्लबमा आबद्ध छन् भने केहीलाई ट्यालेन्ट हन्टबाट छानेर समावेश गरिएको छ,’ प्रशिक्षक मेघराज केसीले भने, ‘उनीहरुको क्षमता हेरेर टोलीमा राख्ने नराख्ने निर्णय हुन्छ ।’

अनुभवी खेलाडी विदेशीएका कारण युवा खेलाडीलाई बढी प्राथमिकतामा राखिएको केसीले बताए ।

‘क्याम्पमा अनुभवी खेलाडीका रुपमा विक्रम लामा लगायत एक दुई जना मात्र छन्,’ केसीले भने, ‘राष्ट्रिय टोलीका खेलाडी खोज्न त अस्ट्रेलिया तिरै जानुपर्छ । त्यसैले टोलीमा युवाको बाहुल्य छ । केही खेलाडी यु-२० टोलीका छन् । ६-७ जना पहिलोपटक शीर्ष डिभिजन लिगको अनुभव लिँदैछन् ।’

प्रशिक्षक केसीले आफू भर्खरै टोलीमा सामेल भएका कारण अघिल्लो सिजनका कति खेलाडी उपलब्ध छन् भन्ने थाहा नभएको बताए ।

‘म भर्खरै टोलीमा आएकाले अघिल्लो सिजनका के कती खेलाडी उपलब्ध छन् भन्ने थाहा छैन । मैले लिस्ट मगाएको छु,’ केसीले भने, ‘नयाँ खेलाडीका साथै अघिल्लो सिजन खेलेका र विदेशी खेलाडी समावेश गर्दै सन्तुलित टोली बनाउने प्रयास हुनेछ ।’

तोकिएकै मितिमा लिग हुन्छ भन्नेमा चाँही केसी अझै ढुक्क हुन सकेका छैनन् ।

‘मलाइ त अझै लिग हुनेमा संका छ,’ केसीले भने, ‘लिग भएको खण्डमा हामी उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्नेछौं ।’

‘ए’ डिभिजन लिगमा थ्री स्टार

२०५४ सालदेखि ‘ए’ डिभिजन लिग खेल्न थालेको थ्री स्टार त्यही वर्ष च्याम्पियन बनेको थियो ।

२०६१ र २०७० सालमा थप दुई उपाधि जितेको थ्री स्टारले २०६२, २०६८, २०७१ सालमा दोस्रो स्थान हासिल गरेको थियो ।

२०५७, २०६० र २०७५ सालमा तेस्रो स्थान हासिल गरेको टोली २०७६ सालमा चौथो स्थानमा सीमित भएको थियो ।

२०६६-६७ सालमा पाँचौं स्थानमा रहेको टोलीले गत सिजन (२०७८) छैटौं स्थानमा रहँदै लिग टुंग्याएको थियो ।