काठमाडौं । प्रत्येक महान खेलाडीको सफलता पछाडि त्योभन्दा महान मार्गदर्शकको भूमिका हुन्छ । र, त्यो मार्गदर्शकलाई प्रशिक्षक भनिन्छ । यही कारण हो, कुनै पनि खेलका सबैजसो सफल खेलाडीले आफ्ना उपलब्धिहरूमा प्रशिक्षकलाई नै त्यसको जस दिने गर्छन ।
खेलाडी वा टिमलाई आवश्यक सीप र रणनीति सिकाउँदै मार्गदर्शन गर्ने प्रशिक्षकहरूकै कारण कुनै पनि टिम तथा खेलाडीको सफलता निर्भर हुने गर्छ । प्रशिक्षकले खेलाडीलाई खेल कौशलमात्र सिकाउँदैनन् । उनीहरूले जटिल परिस्थितिमा पनि कसरी सफलताका लागि प्रयास गर्ने, आफ्ना कमजोरी सुधार्दै प्रतिस्पर्धामा कसरी आत्मविश्वाससहित प्रस्तुत हुने, प्रतिस्पर्धास्थलमा मात्र नभई अन्यत्र पनि कसरी उभिने जस्ता जीवन उपयोगी सीपहरूमा निखार्छन ।
आफ्नो टिम वा खेलाडीलाई सबैखाले प्रतिस्पर्धाका लागि मानसिक र शारीरिक रूपमा तयार गर्ने क्रममा अचेल प्रशिक्षकले प्रविधिको भरपूर प्रयोग गर्छन । डेटा विश्लेषण, फिटनेस जाँचलगायतका कामका लागि सहयोगीहरू नियुक्त गर्छन । नेपालजस्तो देशमा भने प्रशिक्षकको भाग्यमा यस्ता आधुनिक प्रविधि र सुविधा कमैमात्र सम्भव छ । त्यसका बावजुद नेपाली प्रशिक्षकहरूले पनि आफ्नो स्तर अनुसार अन्तर्राष्ट्रिय स्तरमा खेलाडी र टिमलाई उल्लेख्य सफलता दिलाइरहेका छन् । स्थानीय स्तरबाटै कोरा बालकहरूलाई परिपक्व र क्षमतावान खेलाडीका रूपमा रूपान्तरण गरेका छन् ।
खेलकुदमा प्रशिक्षकको भूमिकामाथिको प्रसंग किनभने अहिले सम्पूर्ण नेपाली खेलकुद एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको व्यग्र प्रतीक्षामा छ । नेपालीको महान चाड दसैंको पूर्वसन्ध्यामा यही भदौ २९ गते हुन लागेको यो अवार्ड एउटा यस्तो अवसर हो, जसलाई सम्पूर्ण नेपाली खेलकुदले एउटा ठूलो चाडका रूपमा मनाउने गर्छ । र, यसको एउटा मुख्य विधा वर्षको उत्कृष्ट प्रशिक्षक अवार्ड हो । जहाँ विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् ।
नेपालका खेल पत्रकारहरूको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष गर्ने अवार्डको यो २२औं संस्करण हो । यसअघि सधैं काठमाडौंमा हुँदै आएको अवार्ड यसपालि पहिलो पटक काठमाडौं बाहिर पोखरामा लगिएको छ । जहाँ देशको खेल क्षेत्रलाई योगदान गर्ने खेलाडी तथा खेलकर्मीहरू विभिन्न ११ विधामा एकैथलोमा सम्मानित हुनेछन् ।
प्रत्येक वर्ष आकार फराकिलो बनाउँदै जाने क्रममा २०६३ बाट अवार्डमा प्रशिक्षक विधा थपियो ।
२०५२ सालमा स्थापित मञ्चले २०५३ सालमा अवार्डको सुरुआत गरेको थियो । अघिल्लो वर्ष गरेको प्रदर्शनका आधारमा दिइने पुरस्कारमा पहिलो संस्करणमा भारोत्तोलनका पार्थ सारथी सेन गुप्तले उत्कृष्ट प्रशिक्षकको पुरस्कार जितेका थिए । ‘मिठू गुरु’का नामले आदरसाथ पुकारिने नेपाली भारोत्तोलनका पिताका रूपमा सम्मानित गुप्त पछि २०६५ सालको अवार्डमा लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका थिए । पूरा जीवन नेपाली खेलकुदको श्रीवृद्धिमा समर्पित गर्ने एक जनालाई प्रत्येक वर्ष लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिन्छ ।

२०५३ मा पहिलो अवार्ड भएपछि सात वर्षसम्म अवार्ड हुन सकेन । २०६१ सालमा फेरि अवार्ड सुरु गर्दा पनि प्रशिक्षक विधा समावेश थिएन । २०६२ को तेस्रो संस्करणमा पनि प्रशिक्षकको विधा समावेश थिएन । प्रत्येक वर्ष आकार फराकिलो बनाउँदै जाने क्रममा २०६३ बाट अवार्डमा प्रशिक्षक विधा थपियो । जहाँ आधुनिक नेपाली क्रिकेटको जग हाल्न महत्त्वपूर्ण योगदान गरेका श्रीलंकाका प्रशिक्षक रोय ल्युक डायस उत्कृष्ट प्रशिक्षक घोषित भए ।
नेपाली खेलकुदलाई सफलताको बाटोमा डोर्याउन महत्त्वपूर्ण योगदान गर्ने प्रशिक्षक सम्मानको शृंखलाले १९ संस्करण पूरा गरिसकेको छ । जहाँ अनौठो संयोग मान्नुपर्छ, अहिलेसम्म एकजना पनि महिलाले उत्कृष्ट प्रशिक्षकको अवार्ड पाएका छैनन् । सबै १९ पुरुष नै हुँदा त्यसमा चार विदेशीले पाँच पटक यो अवार्ड जितेका छन् । खेलको हिसाबमा क्रिकेटका प्रशिक्षकले सबैभन्दा धेरै ६ पटक अवार्ड जित्दा फुटबल र एथलेटिक्सले समान तीन पटक तथा तेक्वान्दो र करातेले समान दुई पटक अवार्ड जितेको इतिहास छ । भारोत्तोलन, बक्सिङ र प्याराग्लाइडिङका ‘गुरु’ले एक/एक पटक उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारेका छन् ।
उत्कृष्ट प्रशिक्षकको पुरस्कार जित्ने विदेशीमा क्रिकेटका दुई जना छन् भने फुटबल र तेक्वान्दोमा नेपाली खेलाडीहरूलाई सफलतामा डोर्याउने एक/एक जना छन् । रोय डायसले एक पटक जितेको यो पुरस्कार नेपाललाई ट्वान्टी-२० विश्वकपको बाटो देखाउने श्रीलंकाकै अर्का पूर्व क्रिकेटर पुबुदु दासानायकेले दुई पटक जिते । यसैगरी नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्दाका कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र तेक्वान्दोमा दक्षिण एसियाली खेलकुद तथा एसियाली खेलकुदमा पदक जिताउने दक्षिण कोरियाली क्वान हुक जोङ एनएसजेएफ स्पोर्टस अवार्डमा उत्कृष्ट प्रशिक्षकको विधामा पुरस्कृत हुने थप विदेशी हुन ।

क्रिकेटका जगत टमाटा सबैभन्दा धेरै तीन पटक उत्कृष्ट प्रशिक्षकको पुरस्कार पाउने सफल ‘गुरु’ हुन् । उनले २०६९, २०७५ र २०७८ सालमा यो सफलता हासिल गरेका थिए । कोभिड महामारीका कारण २०७७ सालमा पूरा विश्व कोठाभित्र थुनिँदा खेलकुदका गतिविधि पनि ठप्प थिए । जसका कारण आयोजकले २०७८ को अवार्डलाई दशक अवार्डका रूपमा सम्पन्न गर्दा दशककै सर्वोत्कृष्ट प्रशिक्षकका रूपमा टमाटाको मिहिनेत पुरस्कृत भएको थियो ।
पुबुदुले २०७० र २०७१ सालमा लगातार जित्नुबाहेक प्रशिक्षक विधामा अरू कुनै प्रशिक्षक एकभन्दा बढी पटक सर्वोत्कृष्ट भएको इतिहास छैन । भारोत्तोलनका पार्थ सारथी सेन गुप्त, तेक्वान्दोका क्वान र नवीनकुमार श्रेष्ठ, फुटबलका विराटकृष्ण श्रेष्ठ, बालगोपाल महर्जन र अल्मुताइरी एथलेटिक्सका सुशील नरसिंह राणा, पुष्पराज ओझा र चन्द्र गुरुङ, करातेका दीपक श्रेष्ठ र कुशल श्रेष्ठ, बक्सिङका प्रचण्ड शर्मा र प्याराग्लाइडिङका योगेश भट्टराई प्रशिक्षक विधाका अन्य विजेता हुन् ।