फाप्ला क्रिकेट रंगशाला

‘ड्रिम फाप्ला’ले ल्याएको तरंग: अब बन्दैछ धनगढी क्रिकेटको सहर

  • सीताराम ओझा/ प्रदीप पाठक

क्रिकेटको सहर धनगढीको फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि संघीय सरकारले गत माघमा जग्गा उपलब्ध गरायो । मन्त्रिपरिषद बैठकले फाप्ला अन्तराष्ट्रिय रंगशालालाई ३८ बिगाहा जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।

फाप्लाकै लागि केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट बजेट समेत विनियोजन हुँदै आइरहेको थियो । तर, जग्गा विवादको कारण रंगशाला निर्माणको काम अघि बढ्न सकेको थिएन । सरकारबाट जग्गा उपलब्ध भएपछि यतिखेर रंगशाला निर्माण कार्यले तीव्रता पाउने आस सुदूरपश्चिमवासीमा पलाएको छ ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेलग्राम निर्माण गर्र्न सरकारले उच्च प्राथमिकतामा राखेर गरेको निर्णयसँगै सुरुदेखि अल्झिएको जग्गा विवाद समाधान भएको छ । क्रिकेटको सहर मानिने धनगढीस्थित फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने अभियान सुरु भएको करिब ९ वर्ष पूरा बितिसकेको छ ।

फाप्लाकै लागि केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट बजेट समेत विनियोजन हुँदै आइरहेको थियो । तर, जग्गा विवादको कारण रंगशाला निर्माणको काम अघि बढ्न सकेको थिएन । सरकारबाट जग्गा उपलब्ध भएपछि यतिखेर रंगशाला निर्माण कार्यले तीव्रता पाउने आस सुदूरपश्चिमवासीमा पलाएको छ ।

बजेटमा प्राथमिकता

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत फाप्लामा क्रिकेट स्टेडियम तथा खेलग्राम निर्माण गरिने उल्लेख जनाएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा अन्तर्राष्ट्रिय मैदानसहितको क्रिकेट रंगशाला र खेलग्राम निर्माण गरिने उल्लेख छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमा फाप्लालाई क्रिकेट स्टेडिमयसहितको खेलग्राममा विकास गरिने घोषणा गरे ।  फाप्ला क्रिकेट मैदान निर्माणलाई सरकारले नीति तथा कार्यक्रममै राखेर अगाडि बढाएको हो ।

सपना साकार बन्दै

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा अवस्थित फाप्ला क्रिकेट मैदानलाई खेलग्राम बनाउने संघीय सरकारको निर्णय र त्यसपछि नीति तथा कार्यक्रमबाट बजेटमा समावेश गरेसँगै सुदूरपश्चिमका नागरिकको एउटा सपना साकार बन्ने देखिएको छ ।

वर्षौं पहिलेदेखि फाप्ला क्रिकेट मैदान निर्माणको सपना बोकेका सुदूरपश्चिम प्रदेशका नागरिक यसपालि ९ वर्षदेखि जग्गा विवाद समाधान भएर बजेटमा परेपछि यस क्षेत्रका नागरिक तथा फाप्ला निर्माणमा लागेकाहरू सिंगो सुदूरपश्चिमको सपना पूरा हुनेतर्फ एक खुट्किलो पार गरेको बताउँछन् ।

ड्रिम फाप्ला क्रिकेट मैदानका अभियन्ता सुवास शाही यसपालिको बजेटको प्राथमिकता र स्वामित्व विवाद अन्त्यले आफूहरूको सपना पूरा हुनेतर्फ अग्रसर भएको बताउँछन् । ‘सरकारको यसपालिको निर्णय र बजेटमा समावेश हुँदा हामी एकदमै उत्साही छौं । हामीहरूको ९ वर्षदेखिको निरन्तर प्रयास र सबैको साथ सहयोगले यो सफलता मिलेको हो,’ उनले भने ।

निर्माण कार्य विकास समिति मोडलमा

राष्ट्रिय प्राथमिकताको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको काम विकास समिति मोडलमा हुनेछ । युवा तथा खेलकुद मन्त्रालयले तयार गरेको ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश–२०७९’ राजपत्रमा प्रकाशित भइसकेको छ ।

परियोजनाको प्रशासकीय जिम्मेवारी वहन गर्ने गरी खेलकुद मन्त्रालयले उपसचिवसरहका एक निजामती कर्मचारीलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिन सक्नेछ । परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने, वार्षिक बजेट र योजना तथा कार्यक्रम तय गर्ने जिम्मेवारी पनि कार्यकारी निर्देशककै हुनेछ । कार्यकारी निर्देशक विकास समितिका सदस्य सचिव रहनेछन् ।

राजपत्रमा उल्लेखित सूचनाअनुसार क्रिकेट मैदान तथा खेलग्राम निर्माणका लागि ९ सदस्यीय विकास समिति गठन गरिनेछ । खेलकुद व्यवस्थापन क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तिलाई सरकारले अध्यक्षमा नियुक्त गर्ने प्रावधान छ । उक्त समितिको सदस्यमा धनगढी उपमहानगरपालिका र कृष्णपुर नगरपालिकाका नगर प्रमुख पदेन रहनेछन् । सुदूरपश्चिम प्रदेश सरकारको खेलकुद हेर्ने मन्त्रालयका सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी, सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन ईकाई कैलालीका प्रमुख, उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष,  खेलकुद क्षेत्रमा योगदान पुर्याएका महिलामध्येबाट नेपाल सरकारले मनोनयन गरेको एकजना सदस्य हुनेछन् ।

परियोजनाको प्रशासकीय जिम्मेवारी वहन गर्ने गरी खेलकुद मन्त्रालयले उपसचिवसरहका एक निजामती कर्मचारीलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिन सक्नेछ । परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने, वार्षिक बजेट र योजना तथा कार्यक्रम तय गर्ने जिम्मेवारी पनि कार्यकारी निर्देशककै हुनेछ । कार्यकारी निर्देशक विकास समितिका सदस्य सचिव रहनेछन् । क्रिकेट मैदान तथा खेलग्राम निर्माणका लागि डिपिआर तयार गरी स्वीकृत गर्ने, संरचना निर्माण गर्दा प्रचलित कानुनबमोजिम गर्नुपर्ने प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्यांकन गराउने, संरचना निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउने, क्रिकेट मैदान तथा खेलग्रामको पूर्वाधार निर्माण सम्पन्न गर्ने, पूर्वाधार निर्माण सम्पन्न भएपछि सञ्चालन तथा व्यवस्थापनको खाकासहित नेपाल सरकारलाई हस्तान्तरण गर्नेलगायतका जिम्मेवारी विकास समितिमा हुनेछ ।

गठन आदेश जारी भएपछि गठन भएको समितिको पहिलो बैठक बसेको मितिले तीन वर्षसम्म कार्यकाल रहनेछ । यदि पूर्वाधार निर्माणको कार्य तोकिएको समयमा सम्पन्न नभएमा समितिको सिफारिसमा नेपाल सरकारले एक–एक वर्ष गरी दुई पटकसम्म पदावधि थप गर्न सक्ने आदेशमा उल्लेख छ ।

डिपिएलको जगमा बनेको फाप्ला

‘द सिटी अफ क्रिकेट’ भनेर चिनिने धनगढीले क्रिकेटलाई नयाँ उचाइ र खेल व्यावसायिकतालाई नौलो परिचय दिएको छ । धनगढी प्रिमियर लिग (डिपिएल), धनगढी क्रिकेट लिग जस्ता लिगहरू त्यसका उदाहरण हुन् । डिपिएलसँग जोडिएको छ फाप्ला क्रिकेट मैदान । जग्गा विवादका कारण लामो समयदेखि फाप्ला क्रिकेट मैदानको निर्माण कार्य अघि बढ्न सकेको थिएन । बर्सेनि बजेट छुट्याउँदा पनि मैदान निर्माणमा खर्च हुन सकेको थिएन । तर अब सबै समस्या सकिएका छन् । सरकारले प्राथमिकतामा राखेको छ । त्यही प्राथमिकताका आधारमा बजेट विनियोजन गरेर निर्माणको काम अगाडि बढाउनुपर्ने आवश्यकता छ ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने लक्ष्यका साथ डिपिएल सुरु गरिएको थियो । ‘एसपिए कप र डिपिएलका केही सिजन धनगढीकै अन्य ठाउँमा सकिए पनि र डिपिएल जन्मनुको एक आधार धनगढी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हो । फाप्लाका लागि नै हामीले क्रिकेटको सुरुआत गरेका थियौं, पछिल्लो डिपिएल फाप्लामै गरेका थियौं,’ धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले भने । हुन त पछिल्लो केही वर्षदेखि डिपिएल आयोजना भएको छैन । तर नेपाली क्रिकेटलाई व्यावसायिक लहरमा लैजाने मैदान निर्माणको कामले गति लिनुपर्ने सुदूरपश्चिमवासीको माग छ ।

चिन्ता कार्यान्वयनकै ?

सुदूरपश्चिम प्रदेशलाई अन्तर्राष्ट्रिय स्तरसँग जोड्न, धनगढीलाई अन्तर्राष्ट्रियस्तरको सहर बनाउने सम्भावना बोकेको दूरगामी महत्वको यो योजना कार्यान्वयनकै चिन्ता छ । कार्यान्वयन भएर निर्माण सम्पन्न भए सुदूरले आफ्नो सरकार भएको महसुस गर्ने खेल अगुवाहरू बताउँछन् । कार्यान्वयन हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ? केही आधार छन् ? भन्न नपाउँदै धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही भन्छन्, ‘हामीले नजिकबाट हेरेका छौं । त्यहीअनुसारको केन्द्र सरकारबाट आश्वासन पनि पाएका छौं । यसमा महत्त्वपूर्ण कुरा के छ भने यसको निर्माणका लागि विकास समिति बनाएर लग्ने सरकारले निर्णय गरिसकेको छ । सरकारले जुन मोडलले यो योजना अगाडि बढाएको छ । त्यो हेर्दा समयमै निर्माण पुरा हुनेमा नो डाउट (कुनै शंका छैन) । यो महत्त्वपूर्ण कदमका लागि सरकारलाई धन्यवाद दिन चाहन्छु ।’

फाप्ला खेलप्रेमीको सपनासँगै यसक्षेत्रका नेताको पनि चुनावी एजेन्डा बन्दै आएको थियो । धनगढी उपमहानगरपालिकाका निवर्तमान मेयर नृपबहादुर वडले २०७४ को स्थानीय तहको निर्वाचनमा फाप्लालाई आफ्नो चुनावी घोषणापत्रमै राखेका थिए । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा विजयी भएका वर्तमान मेयर गोपाल हमालले पनि फाप्ला निर्माणको विषयलाई प्राथमिकतामा राख्दै आएका छन् ।

उप–महानगरपालिकाका निवर्तमान मेयर नृपबहादुर वडले आफूहरूले यो योजनालाई सुदूरपश्चिम प्रदेशकै गौरवको योजनाका रूपमा लिएर अगाडि बढेका कारण आजको दिनसम्म यो अवस्थामा पुगेको बताउँछन् । ‘२०७०/०७१ देखि यसको निर्माणका लागि म पनि लागिरहेको मान्छे हुँ । मेरो पाँचवर्षे कार्यकालमा पनि धनगढी सहरलाई खेलकुदको सहर बनाउने भनेर धनगढी उपमहानगरको पहिलो नगर सभाबाट पास गरेका थियौं । सँगै क्रिकेटको सहर बनाउने निर्णय यसअघि नै पास गरेका थियौं,’ वडले भने, ‘फाप्ला बनाउने चाहनालाई अहिलेका प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वको सरकारले पूरा गरेको छ । धनगढीवासी र सिंगो सुदूरपश्चिमवासीकोसपना साकार हुन्छ भन्ने मलाई लाग्छ ।’

‘खेलकुद परिषद्ले उक्त मैदानको डिपिआर पनि गरिसकेको र माटो परीक्षण पनि गरिसकेको छ, उनले भने, ‘फाप्ला बनाउनका लागि जिल्ला खेलकुद विकास समितको अध्यक्ष हुँदा नै धेरै पहल गरेको थिएँ । जग्गाको फाइल बोकेर मन्त्रालय, नापी, मालपोत म आफू धाएको छु । अहिले पनि खेलकुद परिषद्मा आएपछि जग्गा विवाद सुल्झाउन आफै् मन्त्रालयमा गएको थिएँ । जग्गाको विवाद सकिएको छ । हामीले पनि फाप्लाको डिपिआर बनाउन माटो परीक्षणलगायतका काम गरिसकेका छौं । आगामी दिनमा पनि यसलाई बनाउन सधैं लागिरहने छौं ।’



सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले पनि फाप्ला निर्माणका लागि पहल गर्दै आएको छ । कैलाली जिल्ला खेलकुद विकास समितिको अध्यक्ष हुँदा फाप्ला निर्माणका लागि जग्गाको भोगाधिकारका लागि पहल गरेका वर्तमान सदस्य–सचिव दीपकबहादुर सिंह फाप्ला निर्माण गर्न आफूहरू पनि लागिरहेको बताउँछन् । जग्गाको स्वामित्व भोगाधिकार प्राप्तिका लागि नेपाल सरकारलाई अनुरोध गरेको उनले बताए ।

‘खेलकुद परिषद्ले उक्त मैदानको डिपिआर पनि गरिसकेको र माटो परीक्षण पनि गरिसकेको छ, उनले भने, ‘फाप्ला बनाउनका लागि जिल्ला खेलकुद विकास समितको अध्यक्ष हुँदा नै धेरै पहल गरेको थिएँ । जग्गाको फाइल बोकेर मन्त्रालय, नापी, मालपोत म आफू धाएको छु । अहिले पनि खेलकुद परिषद्मा आएपछि जग्गा विवाद सुल्झाउन आफै् मन्त्रालयमा गएको थिएँ । जग्गाको विवाद सकिएको छ । हामीले पनि फाप्लाको डिपिआर बनाउन माटो परीक्षणलगायतका काम गरिसकेका छौं । आगामी दिनमा पनि यसलाई बनाउन सधैं लागिरहने छौं ।’

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला नेपालकै ठूलो ड्रिम प्रोजेक्ट रहेको मैदान अनुगमनकै क्रममा भनेका थिए । मन्त्री गहतराजले राष्ट्रिय गौरवको योजनाका रूपमा मैदान निर्माण प्रक्रिया सुरू गरिएको जानकारी दिँदै भनेका थिए, ‘जमिनको उपलब्धताले यो नै नेपालकै सबैभन्दा ठूलो मैदान हो, यसलाई खेलग्रामका रूपमा विकास गर्ने सरकारको योजना छ । क्रिकेटका अलावा फाप्लामा अन्य खेलका पूर्वाधारसमेत निर्माण गरिनेछ ।’