महिला क्रिकेट

युगान्डासँग उदाङ्गिएको ‘महिला क्रिकेट’

महिला राष्ट्रिय क्रिकेट टोली अहिले पहिलो पटक घरेलु मैदानमा हुँदै गरेको ट्वान्टी–२० शृंखलाको अनुभव लिँदै छ । पहिलो पटक घरेलु मैदानमा अफ्रिकी टिम युगान्डालाई आतिथ्यता प्रदान गरेको नेपालले शृंखलामा भने सोचेअनुरुप नतिजा निकाल्न सकेको छैन ।

एक खेलअगावै शृंखला ३-१ ले गुमाएको नेपालको अबको लक्ष्य भनेकै अन्तिम खेलमा जित निकाल्दै शृंखलाको सुखद अन्त्य गर्नु हो ।

विश्व क्रिकेटको सर्वोच्च निकाय आइसिसीको वरीयतामा पनि पाहुना टोली नेपालभन्दा तल रहेकाले शृंखलामा नेपालले सहज नतिजा निकाल्ने आँकलन गरिएको थियो । तर, शृंखलाअन्तर्गत अन्तिम खेलको मात्र नतिजा बाँकी रहँदा नेपालले त्यो अनुमान प्रमाणित गर्न सकेन ।

यद्यपि, एकैछिन नतिजालाई थाँती राख्ने हो भने घरेलु मैदानमा क्रिकेट शृंखलाको अनुभव लिन पाउनु नै महिला टिमको सबैभन्दा ठूलो उपलब्धि बनेको छ ।

नेपालको प्रदर्शन

जेठ २ गते शृंखलाको पहिलो खेलमा नेपालले १२ रनको पराजय बेहोरेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युगान्डाले दिएको १ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९० रनमात्र बनाएको थियो ।

यस्तै, दोस्रो खेलमा एक विकेटको झिनो हार बेहोर्दा नेपालले दिएको १ सय २ रनको लक्ष्य युगान्डाले इनिङ्सको अन्तिम ओभर बाँकी रहँदा ९ विकेट गुमाएर पूरा गरेको थियो ।

तेस्रो खेलमा पनि घरेलु टोलीमाथि ६ विकेटको सहज जित निकालेको युगान्डाले नेपालले छाडेको १ सय रनको लक्ष्य १८.२ ओभरमा चार विकेट गुमाई पूरा गरेको थियो । त्यसअघि पहिलो इनिङ्समा नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९९ रनको योगफल खडा गरेको थियो ।

यस्तै, चौथो खेलमा भने नेपालले युगान्डालाई १५ रनले पराजित गर्यो । वर्षाका कारण १८ ओभरमा घटाइएको खेलमा नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित ओभरमा आठ विकेट गुमाएर ८२ रन बनाएको थियो । त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले १७.५ ओभरमा सबै विकेट गुमाउदै ९७ रनको योगफल तयार गरेको थियो ।

उप–कप्तान किचलो

शृंखलाको पूर्वसन्ध्यामा नेपाल क्रिकेट संघ (क्यान)ले नेपालकी तत्कालीन उपकप्तान सीता रानामगरलाई हटाउँदै इन्दु बर्मालाई यो जिम्मेवारी सुम्पिएको थियो ।

संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न फेयर ब्रेक इन्भिटेसन प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी सीताले प्रतियोगिताकै दौरान उपकप्तानबाट हटाइएको जानकारी पाएकी थिइन् । फेयर ब्रेकमा टोर्नाडोस वुमन्स च्याम्पियन बन्दा सानदार प्रदर्शन गरेकी उनी प्रतियोगिताकै उत्कृष्ट ११ मा समेत पर्न सफल भएकी थिइन् । प्रतियोगितामा सीताको ‘पुष्पा’ (दक्षिण भारतीय सिनेमा) शैलीको सेलिब्रेसन खुबै चर्चित बनेको थियो ।

नेपाल आउनुअगावै उपकप्तान खोसिए पनि सीताले भने क्यानले कप्तान नदिनेबारे आफू पहिले नै जानकार रहेको बताएकी थिइन् ।

‘क्यानले भविष्यका लागि सोचेर उपकप्तानबाट हटाएको होला । मैले पनि मिडियाबाट थाहा पाएकी थिएँ । पक्कै पनि क्यानले राम्रै कुराका लागि यो निर्णय गरेको होला,’ दोस्रो खेलपछि सीताले भनेकी थिइन्, ‘कप्तानको आशा थिएन । मलाई यसअघिका प्रतियोगिताहरूमा पनि उपकप्तान हुँ जस्तो लाग्दैनथ्यो । क्यानले पनि कप्तानमात्र घोषणा गर्थ्यो । त्यसैले पनि अहिले प्रस्ट हुँदा खुसी छु ।’

खराब फिल्डिङ, फिटनेसमा समस्या

चारै खेलमा ब्याटिङ र बलिङमा स्वभाविक प्रदर्शन गर्न नसकेको नेपालको फिल्डिङ झनै खराब थियो ।

नेपालकी कप्तान रुबिना क्षेत्रीले पनि खेलाडीले आशाअनुरुप प्रदर्शन गर्न नसकेकामा निराशा पोख्दै खेलाडीको फिटनेसमा पनि समस्या रहेको बताएकी थिइन् ।

‘क्रिकेटमा फिटनेस र फिल्डिङ महत्त्वपूर्ण पार्ट हो । अफ सिजन छ । सबै खेलाडीले फिटनेसमा ध्यान दिएको बताएका थिए । र, सोहीअनुरुप हामीले योजना बनाएका थियौं । तर, फिटनेसमा समस्या देखिएको छ,’ कप्तान रुबिनाले भनिन्, ‘सधैं सिनियर खेलाडीले सम्हालिहाल्छन् भनेर हुँदैन । सीता र रुबिनाले मात्र कति योगदान दिने ? ब्याटिङ, बलिङबाहेक फिटनेसले पनि हार जितको निर्धारण गर्छ । खेलाडीले यसतर्फ ध्यान दिन आवश्यक छ ।’

के भन्छन् कप्तानद्वय

युगान्डाकी कप्तान कोन्सी अवेकोले आफ्नो टिमले लक्ष्यअनुरुप प्रदर्शन गरिरहेको बताइरहँदा नेपालकी कप्तान रुबिनाले भने ‘जित्न बिर्सिसक्यौं’ भन्दै निराशा पोखेकी थिइन् ।

आइसिसी वरीयतामा आफूभन्दा पाँच स्थानमाथि रहेको नेपाली टिमविरुद्ध घरेलु मैदानमै शृंखला जितेपछि पाहुना टोलीकी कप्तान अवेकोले नेपाल नराम्रो टिम नभए पनि क्रिकेटमा मनोविज्ञान हाबी हुने बताइन् ।

‘नेपालको प्रदर्शनले हेर्दा उनीहरूको स्तरलाई नराम्रो भन्न मिल्दैन । नेपाल राम्रो टिम हो, तर क्रिकेट मनोवैज्ञानिक खेल हो । हामीलाई यसको मनोवैज्ञानिक पक्षको कसरी उपयोग गर्नुपर्छ भन्ने थाहा छ,’ उनले भनिन्, ‘विपक्षी टिमको मनोविज्ञान बुझ्न सकियो भने खेल जित्न सहज हुन्छ । हामी नेपालको भाषा बुझ्दैनौं । तर, उनीहरूको हाउभाउ बुझ्छौं ।’

यता, नेपालीकी कप्तान रुबिना भने विश्व क्रिकेट निकै अघि बढिसकेको बताउँदै नेपालले जित्न बिर्सिसकेको बताउँछिन् ।

‘हामीले जित्नै बिर्सिसक्यौं । यो स्तरको ट्रेनिङले हामी माथि उठ्न सक्दैनौं । विश्व क्रिकेट हामीभन्दा एकदमै माथि गइसक्यो,’ रुबिना भन्छिन्, ‘नतिजा जस्तोसुकै भए पनि यस्तो घरेलु शृंखलाहरूले निरन्तरता पाउनुपर्याे । ६ महिना, ८ महिना ग्याप नहोस्, ३–४ महिनामा प्रतियोगिताहरू भइराखोस् ।’