नेपाली क्रिकेट

पुस्ता हस्तान्तरणमा क्रिकेट

गत वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते घरेलु मैदानमा हुने त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाका लागि ३१ वर्षीय ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा भएको थियो । तर, वर्षको अन्तिम महिना चैतसम्म आइपुग्दा नेपाली क्रिकेटले एक पुस्ता परिवर्तन गरिसकेको छ । अर्थात् वर्षको अन्तिम शृंखलाका लागि नेपालका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले २१ वर्षीय लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरेका थिए ।

सामान्यतः १० वर्षको फरकलाई ‘जेनेरेसन ग्याप’ भनिन्छ । नेपाली क्रिकेटमा २०७८ सालमै एउटा पुस्ता परिवर्तन भएको छ । घरेलु मैदानमा हालै सम्पन्न पपुवा न्युगिनी (पिएनजी) विरुद्धको एकदिवसीय शृंखला र पिएनजी र मलेसियासम्मिलित ट्वान्टी–२० शृंखलाका लागि घोषित टिम हेर्ने हो भने नेपालको त्यो टिममा सन् २०१४ को विश्वकप खेलेका एक खेलाडी (सोमपाल कामी)ले मात्र स्थान पाएका थिए ।

ज्ञानेन्द्र मल्लसँगै शरद भेषवाकर, विनोद भण्डारीजस्ता चर्चित क्रिकेटरको अनुपस्थिति अहिलेको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, रोहितकुमार पौडेलले पूरा गरिरहेका छन् ।

वर्ष २०७८ मा नेपालले घरेलु मैदानमा दुई अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला खेल्यो । र, दुवै उपाधि घरमै राख्न सफल भयो ।

वर्षको सुरुमै नेपालले घरेलु मैदानमा त्रिदेशीय शृंखला खेल्यो । मलेसिया र नेदरल्यान्ड्स सहभागीे उक्त शृंखला नेपालले नै जित्यो । यसबाहेक यो वर्ष नेपालले ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोट, आइसिसी विश्वकप क्रिकेट लिग २, यसको तयारीका लागि केही अन्तर्राष्ट्रिय अभ्यास खेल र घरेलु मैदानमा पिएनजीविरुद्ध एकदिवसीय शृंखला खेलेको थियो ।

२०७८ मा नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय गतिविधि  

त्रिदेशीय ट्वान्टी–२० शृंखला

घरेलु मैदान त्रिवि क्रिकेट रंगशालामा नेपालले २०७८ वैशाख ४ देखि मलेसिया र नेदरल्यान्ड्ससम्मिलित त्रिदेशीय ट्वान्टी–२० शृंखला खेल्यो । शृंखला जितेको नेपालले पहिलो खेलमा नेदरल्यान्ड्समाथि ९ विकेटको सानदार जित निकाल्दै राम्रो सुरुआत गरेको थियो ।

दोस्रो खेलमा मलेसियालाई पनि ९ विकेटले हराएको नेपाल तेस्रो खेलमा भने नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको हो । लिग चरणको अन्तिम खेलमा मलेसियालाई ६९ रनले पराजित गर्दै नेपालले फाइनलमा स्थान पक्का गरेको थियो ।

उपाधिका लागि फाइनलमा नेदरल्यान्ड्सविरुद्ध उत्रिएको नेपालले पहिले ब्याटिङ गर्दै ३ विकेट क्षतिमा २ सय ३८ रनको विशाल योगफल तयार गरेको थियो । जुन ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको सबैभन्दा उच्च योगफल हो ।

२ सय ३९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ९६ रनमै समेटिएपछि नेपाली टिम शृंखला जित्न सफल भयो ।

घरेलु मैदानमा सम्पन्न ट्वान्टी–२० शृंखलापछि नेपाली क्रिकेटमा ५ महिना कुनै पनि अन्तर्राष्ट्रिय गतिविधि भएन ।

पिएनजीविरुद्ध एकदिवसीय शृंखला

५ महिनापछि भदौमा नेपालले आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ को तयारीका लागि पिएनजीसँग दुई एकदिवसीय खेलको शृंखला खेल्यो । त्यसमा नेपालले ‘क्लिन स्विप’ गरेको थियो । ओमानको अल अमेरात क्रिकेट मैदानमा भदौ २२ मा भएको पहिलो खेलमा नेपालले पिएनजीलाई २ विकेट र दोस्रो खेलमा १ सय ५१ रनले पराजित गर्दै शृंखला ‘क्लिन स्विप’ गरेको हो ।

विश्वकप क्रिकेट लिग डिभिजन २

भदौ २८ गते आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले ओमानमा घरेलु टोली र अमेरिकासम्मिलित त्रिकोणात्मक एकदिवसीय खेल खेल्यो । जसमध्ये नेपालले समान एक खेलमा जित र हारको नतिजा निकालेको थियो ।

त्रिकोणात्मक खेलको पहिलो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भयो । दोस्रो खेलमा नेपालले घरेलु टोली ओमानलाई ७ विकेटले हराएको थियो ।

ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोट

ट्वान्टी २० विश्वकपको ग्लोबल छनोट नेपालका लागि वर्ष २०७८ को सबैभन्दा बिर्सनलायक प्रतियोगिता बन्यो । छनोटको सेमिफाइलनमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग ६८ रनले पराजित भएपछि दोस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्ने नेपालको सपना तुहिएको थियो ।

ग्लोबल छनोटअघि प्रतियोगिताको तयारीका लागि नेपालसहित आयरल्यान्ड, ओमान र युएईले चारदेशीय ट्वान्टी–२० शृंखला खेलेका थिए ।

जसको पहिलो खेलमा माघ २८ मा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा युएईसँग २५ रनले पराजित नेपालले तेस्रो खेलमा आयरल्यान्डसँग १६ रनको हार सामना गरेको थियो ।

चारदेशीय खेललगत्तै ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोट खेलेको थियो । जसको समूह ‘बी’ मा नेपालसहित ओमान, फिलिपिन्स र क्यानडा थिए ।

समूह चरणको पहिलो खेलमा फागुन ६ गते नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो । दोस्रो खेलमा ७ गते फिलिपिन्सलाई एक सय ३६ रन र ९ गते तेस्रो खेलमा क्यानडामाथि ८ विकेटको जित निकाल्दै नेपाल समूह विजेताको हैसियतमा सेमिफाइनल पुगेको थियो ।

सेमिफाइलनमा फागुन १० मा समूह ‘ए’ को उपविजेता घरेलु टोली युएईसँग ६८ रनले पराजित भएसँगै नेपालको दोस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्ने सपना अधुरै रहेको थियो । नेपालले सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो ।

विश्वकपमा छनोट हुन नसकेको नेपालले फागुन १२ मा ग्लोबल क्वालिफायरमा ओमानलाई ९ विकेटले हराउँदै तेस्रो स्थान हासिल गरेको थियो ।

विश्वकप क्रिकेट लिग डिभिजन २

नेपालले चैत २ गते आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत युएई र पिएनजीसम्मिलित त्रिदेशीय खेल खेल्यो । जहाँ भएका ४ खेलमा नेपालले २ मा जित निकाल्दा २ खेलमा हार बेहोर्यो ।

लिग २ को पहिलो खेलमा पिएनजीलाई २ विकेटले हराएको नेपाल दोस्रो खेलमा भने युएईसँग ४८ रनले पराजित भयो । तेस्रो खेल भने नेपालले युएईलाई फेरि ९९ रनले सुम्पिएको थियो । नेपालले चौथो खेलमा भने पिएनजीलाई ७ विकेटले पराजित गर्यो ।

पिएनजीविरुद्ध एकदिवसीय र त्रिदेशीय ट्वान्टी–२० शृंखला

नेपालले वर्ष २०७८ को अन्तिम शृंखला घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा खेल्यो । नेपालले त्रिवि क्रिकेट मैदानमा पिएनजीविरुद्ध दुई एकदिवसीय खेलको शृंखला र त्यसपछि पिनएनजीसँग मलेसियासम्मिलित त्रिदेशीय ट्वान्टी–२० शृंखला खेल्यो ।

एकदिवसीय शृंखलामा नेपालविरुद्ध ‘क्लिन स्विप’ गर्नेक्रममा पिएनजीले पहिलो खेलमा चैत ११ गते ६ रन र दोस्रो खेलमा चैत १२ गते ३ विकेटको जित निकालेको थियो । घरेलु मैदानमा नेपालले शृंखला गुमाएको यो पहिलो पटक थियो भने पिएनजी नेपालसँगको शृंखला ‘क्लिन स्विप’ गर्ने पहिलो टोलीसमेत बनेको थियो ।

एकददिवसीय शृंखलालगत्तै भएको ट्वान्टी–२० शृंखला भने नेपाल शतप्रतिशत जितसहित उपाधि जित्न सफल भयो । शृंखलाको पहिलो खेलमा चैत १४ मा पिएनजीलाई १५ रनले हराउँदा दोस्रो खेलमा नेपालले चैत १६ मा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा चैत १७ गते पिएनजीलाई ३७ रनले पराजित गर्दा चौथो खेलमा चैत १९ गते मलेसियाविरुद्ध ८५ रनको जितसहित नेपालले फाइनलमा स्थान बनाएको थियो ।

फाइनलमा नेपालले चैत २१ गते पिएनजीलाई ५० रनले पराजित गर्दै शतप्रतिशत नतिजासहित उपाधि घरमै राखेको हो ।

पारस खड्काको सन्यास, एक युगको अन्त्य

कुनै समय क्रिकेटप्रेमीहरुका लागि नेपाली क्रिकेट भनेकै पारस खड्का थियो । उनै पारसले वर्ष २०७८ को साउन १९ गते क्रिकेटबाट सन्यासको घोषणा गरे । नेपाली क्रिकेट समर्थकका लागि यो निकै अप्रत्यासित खवर थियो । त्यसअघि उनले २०७६ सालको असोज २८ गते नेपाली टोलीको कप्तान पद त्यागेका थिए । 

सन् २००२ देखि क्रिकेट यात्रा सुरु गरेका पारसले एक दशक नेपाली टोलीको नेतृत्व सम्हालेका थिए । पारसकै कप्तानीमा नेपालले ट्वान्टी २० विश्वकप खेलेको थियो भने अहिलको एकदिवसीय मान्यता पनि पारसकै कप्तानीको देन हो । सन् २००९ बाट नेपालको कप्तानी सम्हालेका पारसले सन् २०१९ मा छोडेका थिए ।

मुख्य प्रशिक्षक डेभ वाटमोरको राजीनामा (भदौ ११)

२०७६ सालको पुसमा खुला प्रतिस्पर्धामार्फत नेपाली क्रिकेट टोलीको जिम्मेवारी पाएका वाटमोरले भदौमा आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ पछि नेपालको जिम्मेवारी छाडेका थिए ।

वाटमोरले जिम्मेवारी सम्हालेलगत्तै ब्याटिङमा आक्रामक बनेको नेपालले उनको नेतृत्वमा यसमा उल्लेख्य प्रगति मान्नेको जमात निकै बाक्लो थियो । वाटमोरको नेतृत्वमा नेपालले वैशाखमा घरेलु मैदानमा सम्पन्न ट्वान्टी–२० शृंखला उपाधि जितेको थियो ।

वाटमोर हाल रणजी ट्रफी खेल्ने भारतीय टोली बरोडा क्रिकेट एसोसिएसनको मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् । उनले नेपाल क्रिकेट संघ (क्यान) लाई भने पारिवारिक कारण देखाउँदै राजीनामा दिएका थिए ।

व्यक्तिगत उपलब्धि (कीर्तिमान)

वर्ष २०७८ मा नेपाली क्रिकेटमा धेरै कीर्तिमानहरू बने । यसै वर्ष नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा तीन शतक प्रहार गर्यो । यसअघि ट्वान्टी–२० र एकदिवसीय मान्यता पाएपछि नेपालका लागि दुई ब्याटरले मात्र अन्तर्राष्ट्रिय खेलमा शतक बनाएका थिए । चैतमा घरेलु मैदानमा सम्पन्न पिएनजीविरुद्धको एकदिवसीय शृंखलामा नेपालका दुई ब्याटरले शतक बनाएका थिए ।

कुशल भुर्तेल

यस वर्ष नेपालका लागि पहिलो शतक कुशल भुर्तेलले प्रहार गरे । उनले ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटमा फिलिपिन्सविरुद्ध अविजित १ सय ४ रनको इनिङ्स खेलेका थिए । योसँगै कुशल ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट शतक बनाउने तेस्रो ब्याटर बनेका थिए । यसअघि नेपालबाट पूर्व कप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्लले मात्र ट्वान्टी–२० मा शतक प्रहार गरेका थिए ।

कुशलले बैशाखमा भएको ट्वान्टी–२० शृंखलामा नेपालबाट डेब्यु गरेका थिए । डेब्युका लगातार तीन खेलमा अर्धशतक बनाएर कीर्तिमान राखेका कुशलले एक वर्षमा नेपालका लागि ट्वान्टी–२० क्रिकेटमा ५ अर्धशतक र एक शतकसहित ५ सय ७३ रन बनाएका छन् ।

दीपेन्द्रसिंह ऐरी  

यस वर्ष दीपेन्द्रले नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा एक शतकसहित पाँच अर्धशतक प्रहार गरे । उनले एक शतक घरेलु मैदानमा सम्पन्न पिएनजीविरुद्धको एकदिवसीय शृंखलामा बनाउदा पाँच अर्धशतक भने ट्वान्टी २० क्रिकेटमा बनाएका हुन् । दीपेन्द्रले एकदिवसीय शृंखलाअन्तर्गत पिएनजीविरुद्धको दोस्रो खेलमा १ सय ५ रनको इनिङ खेलेका थिए । उनी ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट एक हजार रन बनाउने नेपालका एकमात्र खेलाडी समेत बने । सन् २०१७ मा केन्याविरुद्धको लिस्ट ‘ए’ खेलसँगै नेपालबाट डेब्यु गरेका दीपेन्द्रले ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलम एक हजार ३३ रन बनाएका छन् ।

रोहितकुमार पौडेल

रोहित आइसिसीको मान्यतापछि नेपालबाट एकदिवसीय क्रिकेटमा शतक बनाउने दोस्रो ब्याटर बने । उनले पिएनजीविरुद्धकै एकदिवसीय खेलमा १ सय २६ रनको शतकीय इनिङ्स खेलेका थिए । योसँगै रोहितले एकै इनिङ्समा उच्च रन बनाउने नेपाली ब्याटरकाे कीर्तिमानसमेत आफ्नो नाममा लेखाए । यसअघि यो कीर्तिमान पूर्वकप्तान पारस खड्का (११५) को नाममा थियो ।

पवन सर्राफ

अन्तर्राष्ट्रिय क्रिकेटबाहेक नेपाली राष्ट्रिय टोलीका सदस्य पवन सर्राफले राष्ट्रिय प्रतियोगितामा सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडीको कीर्तिमान राखेका छन् । नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिता खेल्ने पवनले प्रधानमन्त्री कपअन्तर्गत लुम्बिनी प्रदेशविरुद्ध आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका थिए ।

पवनले माघ ८ गते लुम्बिनीविरुद्ध १३ बलमै अर्धशतक बनाएर राष्ट्रिय कीर्तिमान बनाएका थिए ।