नेपाली राष्ट्रिय क्रिकेट टोली

विश्वकपको खुट्किलो उक्लँदै नेपाल

काठमाडौं । ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोट तयारीका लागि खेलिएको चारदेशीय क्रिकेट शृंखलामा नेपालले एक जित र दुई हार नतिजासहित अन्त्य गर्यो ।

तर, त्यो शृंखला ग्लोबल छनोट तयारीका लागि भएकाले यस नतिजाले खासै अर्थ त राख्दैन । शृंखलाका क्रममा भएका र देखिएका कमजोरी सुधार्नु महत्त्वपूर्ण पक्ष हो ।

शृंखलाअन्तर्गत नेपालले पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा सयुक्त अरब इमिरेट्स (युएई) लाई २५ रन र अन्तिम खेलमा आयरल्यान्डलाई १६ रनले नतिजा सुम्पिएको थियो ।

ब्याटिङमा दीपेन्द्रको ‘कन्सिस्टेन्सी’

नेपाली टोलीका भरपर्दा ब्याटर दीपेन्द्रसिंह ऐरीको ब्याटिङ नै शृंखलामा नेपालका लागि हेर्नलायक पक्ष रह्यो । दीपेन्द्रले शृंखलाको पहिलो खेलमा ओमानविरुद्ध अविजित ७३ रनको अर्धशतकीय इनिङस खेलेका थिए । जुन ट्वान्टी २० क्रिकेटमा उनको सबैभन्दा उच्च स्कोरसमेत थियो । दीपेन्द्रकै ब्याटिङप्रेरित नेपालले ओमानमाथि ६ विकेटको सनदार जितसमेत निकालेको हो ।

दोस्रो खेलमा युएईले छाडेको एक सय ९३ रनको लक्ष्य पछ्याएको नेपालका लागि दीपेन्द्रले नै सर्वाधिक ४१ रन जोडेका थिए ।

तेस्रो खेलमा आयरल्यान्डविरुद्ध २८ रन जोडेका दीपेन्द्रले बलिङमा चार विकेट लिए । त्यो खेलमा नेपाल १६ रनले पराजित भए पनि दीपेन्द्र आफ्नो प्रदर्शनका कारण म्यान अफ दी म्याच चुनिएका थिए ।

ब्याटिङमै समस्या

केही समययता नेपाली क्रिकेटको मुख्य हतियार मानिएको बलिङ खस्कँदै गएको र ब्याटिङमा उल्लेख्य प्रगति भएको भन्ने व्यापक चर्चालाई चारदेशीय शृंखलामा नेपालले पुष्टि गर्न सकेन । दीपेन्द्रको ब्याटिङलाई अपवादमा राख्ने हो भने नेपालको ब्याटिङ खासै चल्न सकेको होइन ।

तेस्रो तथा अन्तिम खेलमा आयरल्यान्डविरुद्ध एक सय २७ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल एक सय ११ रनमै समेटियो ।

क्वालिफायरको पहिलो खेलमा शुक्रबार ओमानलाई ३९ रनले पराजित गरे पनि ब्याटिङमा कुनै परिवर्तन देखिएन । नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय १७ रनमात्र जोड्न सक्यो ।

ओमानविरुद्ध नेपालका आरिफ शेखले ३८ रन बनाउनुबाहेक अन्यको उल्लेख्य प्रदर्शन रहेन ।

यसले ट्वान्टी–२० विश्वकपको टिकट काट्ने लक्ष्यसहित ग्लोबल क्वालिफायर खेल्न ओमान पुगेको नेपाली टोलीमा ब्याटिङले गम्भीर प्रश्न उठाएको छ ।

तर, राष्ट्रिय टोलीका पूर्वखेलाडी शक्ति गौचन ब्याटिङमा नेपाल कमजोर नभएको बताउँछन् । ‘ब्याटिङमा समस्या भएको म देख्दिनँ । किनकि नेपालले चारदेशीय शृंखलामा युएईविरुद्ध एक सय ९० माथिको लक्ष्य पछ्याउँदा एक सय ७० रन बनाएको थियो,’ उनी भन्छन्, ‘पिचको कन्डिन्सनले पनि ब्याटिङमा फरक पार्छ । शृंखलामा ओमान र आयरल्यान्डले पनि नेपालविरुद्ध ठूलो योगफल बनाउन सकेनन् । त्यसैले नेपालको ब्याटिङमा खासै समस्या रहेको देख्दिनँ ।’

बलिङमा पनि पछिल्लो समय नेपाली टोलीका स्पिनर प्रभावकारी नदेखिनुको कारण नयाँ खेलाडीमा अनुभवको कमी रहेको उनको तर्क छ ।  

‘युवा खेलाडीमा अनुभव कमी भएकाले स्पिन केही कमजोर बनेजस्तो देखिएको हो । सागर ढकालले भर्खरै राष्ट्रिय टोलीबाट एक खेल खेलेका छन् र त्यसैमा राम्रो प्रदर्शन हुन नसक्दा टोलीमा पर्न सकेनन् । समग्रमा भन्नुपर्दा नेपाली टोलीको स्पिन बलिङ अझै पनि पहिले जस्तो छ । खेलाडीमा अनुभव नहुँदा मात्र त्यस्तो नदेखिएको हो,’ खेलाडीसँगको कुराकानीमा शक्तिले भने ।

तीन खेलाडीको डेब्यु

चारदेशीय शृंखलामा सागर ढकाल, विवेक यादव र लोकेश बम गरी तीन नेपाली खेलाडीले ‘डेब्यु’ गरेका थिए । देव्रेहाते स्पिनर सागर र अलराउन्डर विवेकले शृंखलाको पहिलो खेलमै नेपाली जर्सीमा मैदान उत्रने मौका पाए । सागर ग्लोबल छनोटका लागि टोली ओमान भ्रमणमा निस्कनु एक दिनअघि मात्र टिममा समावेश भएका थिए । 

पहिलो खेलमा आयोजक ओमानविरुद्ध तीन ओभर बलिङ गरेका सागरले १२ को इकोनोमीमा ३६ रन खर्चिए । यस्तै, एक ओभर बलिङ गरेका विवेकले ५ रन दिँदा ब्याटिङमा भने पालो पाएनन् । घरेलु प्रतियोगितामा र यू–१९ एसिया कपमा उत्कृष्ट प्रदर्शन गरेपछि विवेकले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।

लोकेशले युएईविरुद्ध राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरे । प्रधानमन्त्री कप ट्वान्टी–२० क्रिकेटमा गरेको आक्रामक ब्याटिङका कारण नै लोकेशले राष्ट्रिय टोलीसम्मको ढोका खोलेका थिए ।

आसिफको ‘स्पिरिट अफ क्रिकेट’

चारदेशीय शृंखलामा नेपालका विकेटकिपर आसिफ शेखले देखाएको स्पोर्ट्सम्यान स्पिरिटले विश्वभरका क्रिकेटप्रेमीको ध्यान तान्यो । आसिफले रनका लागि कुदेका आयरल्यान्डका ब्याटर एन्डी म्याकब्रिन १९औं ओभरको दोस्रो बलमा कमलसिंह ऐरीसँग ठोक्किएर लडेपछि बीचमै रोकिन्छन् । तर रनआउटका लागि कमलसिंहले नै दिएको बललाई आसिफले स्टम्पिङ गरेनन् । यसले पनि फेरि एकपल्ट विश्व क्रिकेटको ध्यान नेपालप्रति मोडिएको छ । आसिफको यो ‘स्पिरिट’ले विश्वभरका सञ्चारमाध्यमले विशेष महत्त्वसाथ स्थान पाएको छ ।

विश्वकप सम्भावना

ग्लोबल क्वालिफायरको पहिलो खेलमा आयोजक ओमानलाई ३९ रनले पराजित गर्दै नेपालले विश्वकप छनोटमा गजबको सुरुआत गरेको छ । तर, नेपालले अझै समूह चरणमा फिलिपिन्स र क्यानडासँग खेल्न बाँकी छ । बाँकी दुईमध्ये एक खेलमा जित निकाल्दै सेमिफाइलन पुग्नु नेपालको पहिलो लक्ष्य हो । र, त्यहाँबाट अर्को एक टोलीको चुनौती पन्छाउँदै फाइलनसम्म यात्रा तय गरेमात्र नेपाल अस्ट्रेलियामा अक्टोबरदेखि सुरु हुने ट्वान्टी–२० विश्वकपमा पुग्नेछ ।

यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक आइसिसी ट्वान्टी–२० विश्वकप खेलेको थियो । त्यतिबेला टोलीका महत्त्वपूर्ण सदस्य रहेका शक्ति गौचनलाई फेरि नेपालले विश्वकपको टिकट काट्ने विश्वास छ ।

‘म आफैंले पनि प्रशिक्षक पुबुदु (दासानायके) को प्रशिक्षणमा खेलेको छु । यसपालि नेपालले विश्वकप खेल्छ भन्ने विश्वास छ । खेलाडीहरूको प्रदर्शन र टोलीले गर्दै गएको प्रगतिका कारण पनि मलाई नेपालले विश्वकप खेल्छजस्तो लाग्छ । टोलीको नेतृत्वमा सन्दीप (लामिछाने) ले राम्रो गरिरहेका छन् । उनलाई हामीले पनि पछाडिबाट सपोर्ट गर्नुपर्छ,’ शक्ति भन्छन्, ‘व्यक्तिगत प्रदर्शनलाई हेर्ने हो भने पछिल्लो समय आसिफ शेख र कुशल भुर्तेलले राम्रो गरिरहे पनि एकनासको प्रदर्शनलाई निरन्तरता दिन सकेका छैनन् ।’

विश्वकप छनोटको पहिलो खेलमा शुक्रबार ओमानविरुद्ध सुरुआत खराब गरे पनि सुखद अन्त्य गरेको नेपालले शनिबार फिलिपिन्ससँग खेल्दै छ । त्यो खेलमा जित निकाले नेपाल एक खेलअगावै सेमिफाइनलमा पुग्नेछ । सेमिफाइनलमा समूह ‘बी’ बाट आउने अर्को एक टोलीको सामना गरेसँगै नेपालको विश्वकप खेल्ने वा नखेल्ने भन्ने टुंगो लाग्नेछ । यद्यपि त्यहाँसम्म पुग्न समूह चरणमा फिलिपिन्स र क्यानडाविरुद्धको दुईमध्ये एक खेल जित्नुपर्नेछ ।