मंसिर ६, २०८१ बिहीबार | १४:३७:१५
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ
शनिबारको दिन ज्ञानेन्द्र मल्ल

‘नेपाली टिम एउटै छ, हामी एक ढिक्का भएरै खेल्छौं’

काठमाडौं । त्यो समयको क्रिकेट अहिलेको जस्तो क्रिकेट थिएन । जतिबेला ज्ञानेन्द्र मल्लले ब्याट समाएका थिए । काठमाडौं जन्मेहुर्केका ज्ञानेन्द्रले सुरुआती दिनमा बुझेको क्रिकेटमा राष्ट्रिय टोलीबाट देशको प्रतिनिधित्व थिएन । न त उनलाई कुनै राष्ट्रिय टोली हुन्छ भन्ने नै थाहा हुन्थ्यो ।

टेलिभिजनको स्क्रिनमा देखेको बलिङ र ब्याटिङको नक्कल गर्न रुचाउने ज्ञानेन्द्र मल्ललाई ती दिनमा राष्ट्रिय टोलीको कप्तानको सपना कल्पनामा पनि थिएन । त्यसैले त उनी भन्छन्– ‘म कप्तान भएर आएको होइन, सबैभन्दा जुनियर खेलाडी थिएँ, कप्तान बनें । सधैं कप्तान हुनुपर्छ भन्ने छैन नि ।’

‘जसले चिन्नुहुन्न, उहाँहरूलाई म नै हो ज्ञानेन्द्र मल्ल भन्न चाहन्छु,’ खेलाडीसँगको कुराकानी सुरु गर्दा हाँस्दै ज्ञानेन्द्रले क्रिकेटका सुरुआती दिन सम्झिए, ‘मैले सुरु गर्दा क्रिकेट आजको जस्तो एउटा (प्रपर) स्पोर्टस थिएन । सामानहरू धेरै जुटाएर खेल्नुपर्ने भएकाले यसलाई सौख जस्तो मानिन्थ्यो ।’

 

‘जब हामी क्रिकेट खेल्थ्यौं, त्यो बेलामा क्रिकेटको कल्चर नै थिएन,’ उनी भन्छन्, ‘त्यो समयमा फुटबल मुख्य खेल थियो, अरू खेलहरू थिए, म काठमाडौंमा हुर्किँदै गर्दा क्रिकेट त्यति खेलिँदैन थियो ।’

त्यो बेला काठमाडौंमा क्रिकेट नयाँ थियो । नयाँ कुरा सिक्ने चाहना ज्ञानेन्द्रमा पनि थियो । ‘अझ त्यो उमेरमा सिक्न पाउँदा खुसी लाग्दोरहेछ, खेल्दै जाँदा क्रिकेट नै प्यासन जसरी बिल्डअप हुँदै गयो,’ उनी भन्छन्, ‘अझै खेल्न थाल्यौं, सानो–सानो ठाउँमा खेल्दै सुधार गर्दै आएको हो ।’

टोलकै दाइहरूको साथ–सहयोगले क्लबमा नजिकैको क्लब (यंगाल क्लब) मा खेल्ने अवसर पाएका थिए उनले । सिनियरबाट थप प्रेरणा र क्रिकेटमा राम्रो गर्न मिल्छ भन्ने कुरा बुझ्दै गए ।

त्यो बेलासम्म राष्ट्रिय टोली हुन्छ र त्यहाँसम्म यसरी जान्छ भन्नेमा ज्ञानेन्द्र अनभिज्ञ नै थिए । विस्तारै खेल्दै गएपछि देशको प्रतिनिधित्व गर्न पाइने थाहा भयो । त्यसरी नै उनी राष्ट्रिय टोलीसम्म पुगे ।

राष्ट्रिय क्रिकेट टोलीबाट भर्खरै कप्तानी खोसिएका ज्ञानेन्द्रको विचारमा क्रिकेट अहिले पनि जेन्टलम्यानको खेल हो । अझै पनि हो । तर, क्रिकेट संलग्न भएअनुसार त्यो परिवर्तन भइसकेको छ ।

स्पोर्ट्समा हुनुपर्ने प्रतिस्पर्धात्मक पक्षहरू परिवर्तन हुँदै गएका छन् । त्यो एग्रेसन देख्न सकिन्छ । ती पक्षहरू पहिलेका तुलना र तरिकामा पनि परिवर्तन भएका छन् ।

त्यसो भनिरहँदा ज्ञानेन्द्र थप्छन्, ‘सकेसम्म आफू पनि खेलाडीको हकमा एउटा अनुशासनमा बसेर जेन्टल नै हुने हो । राम्रो गर्नका लागि चाहने हुन् यी सबै कुरा ।’

ज्ञानेन्द्रलाई कहिलेकाँही लाग्नसक्छ, त्यस्ता कुराहरू मलाई नै किन ?

उनलाई नै किनभन्दा पनि समग्र क्रिकेटका लागि वा क्रिकेटमा हुने कुराहरू वा स्पोर्ट्समा हुने कुराहरू कसै न कसैलाई हुनसक्छ । त्यो परिवर्तनका लागि, सुधारका लागि नै हुन्छ ।

ज्ञानेन्द्रले आफूलक्षित पछिल्लो घटनाक्रमलाई यसरी सामान्यीकरण गर्न थालेका छन् ।

‘कति कुराचाहिँ सुधार गरेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ । कतिपय कुराहरू मिस कम्युनिकेसन, मिस म्यानेजमेन्ट थ्रुबाट ग्रसित भएका छन्, जरूरी छैन खेलाडीमात्रै हुनुपर्छ भन्ने,’ प्रजातान्त्रिक मुलुकमा बोलेकै कारण भोगेको कारबाहीबारे खुल्न नचाहेका ज्ञानेन्द्र खेलाडीसँगको कुराकानीमा भावुक भए, ‘कहिलेकाहीं ती आवाजहरू दबिन्छ, कहिले आइदिँदैन, तर यो भनेको विद्रोह होइन । यो त आफ्नो हकअधिकारका लागि हो भनेर बुझ्नुपर्छ । हामीले एउटा थाहा पाउनुपर्ने, जानकारी पाउनुपर्ने र त्यो कसरी भइरहेको छ भन्ने कुराहरू उठाएका हौं ।’

आफूहरूले सौहार्दपूर्ण तरिकाले छलफलका लागि प्रक्रिया अगाडि बढाए पनि असमझदारीका कारण समस्या सिर्जना भएको उनको बुझाइ छ । खेलाडी भर्सेज क्यानको महाभारत युद्धविरामको अवस्थामा पुगेका बेला उनले ‘भलादमीको खेल’को छवि जोगाउँदै समाधान निकालेको प्रतिक्रिया दिए ।

‘समयमै उचित कम्युनिकेसन गरेर अगाडि बढ्न पाएको भए सबैजनालाई कन्ट्रोभर्सी मोड र क्रिकेट नै अस्तव्यस्त र अराजक जस्तो लाग्दैनथ्यो होला,’ उनले थपे, ‘तर, ठीकै छ यसले एउटा सबक सबैलाई सिकाउँछ । जे ईस्युहरू छन्, त्यो सम्बन्धित निकायहरूसँग बसेर जेन्टलम्यानकै तरिकाले समाधान गर्न खोज्ने हो भने पक्कै समाधान हुन्छ ।’

कप्तान हुँदा र नहुँदा

करियर एउटै हो जस्तो लाग्छ । अन्तर्राष्ट्रिय करियर भन्नु र मेरो करियर भन्नु । मैले क्रिकेट सुरु गर्दा पनि कप्तान थिइनँ, भएको होइन । कप्तान हुँदा पनि उही भूमिका थियो ।

उस्तै भूमिका भनेको देशका लागि खेल्नु, राम्रो गर्नु, जिताउनु, अगाडि बढ्नु हो । कप्तान हुँदा पनि त्यही हो । अब नहुँदा पनि त्यही सोच छ । देशका लागि नै खेल्ने हो, परिवारका लागि खेल्ने हो, राम्रो गर्ने हो । टिम जिताउने हो, अगाडि बढ्ने हो, सबैजनालाई खुसी पार्ने हो, त्यही मोटिभ लिएर अगाडि बढ्नुपर्छ ।

करियरमा जहिल्यै पनि परिवर्तन हुन्छ । हिजोका दिनमा म न्यु कमर थिएँ, सबैभन्दा कान्छो खेलाडी थिएँ । अब अहिले सिनियर सदस्य पनि हुन्छु होला ।

त्यो भनेको परिवर्तन हुँदा भूमिका फरक हुन्छ, तर लक्ष्यचाहिँ सधैं नेपालका लागि खेल्नु र जिताउनु नै हो ।

कप्तानको बोझ बिसाएपछि उच्च फर्ममा भएको ज्ञानेन्द्र मल्ल देख्न पाउने समर्थकहरूको आशा हुन्छ । तर ज्ञानेन्द्रले कप्तानीको जिम्मेवारीबाट अलग हुनुलाई त्यसरीमात्र लिएका छैनन् ।

ज्ञानेन्द्रलाई त नेपाली टोलीप्रति जिम्मेवार हुनुपर्छ जस्तो लाग्छ, चाहे कप्तान हुँदा होस् या खेलाडी । अझै हेर्ने हो भने सिनियर खेलाडीको हैसियतमा यतिका वर्षदेखिको क्रिकेट अनुभवले झनै जिम्मेवारी थपेजस्तो लाग्छ उनलाई ।

‘अब खेल्नु मात्रै होइन, जुनियर भाइहरूलाई पनि खेल्न प्रेरित गर्नुपर्छ जस्तो लाग्छ । टोलीलाई अगाडि बढाउनुपर्छ जस्तो लाग्छ र टिममा बसिसकेपछि मिलाएर सबैलाई बाटो देखाउनुपर्ने जिम्मेवारी पूरा गर्ने चुनौती छ जस्तो लाग्छ,’ उनले सुनाए, ‘जिम्मेवारी कहिले पनि सकिँदैन, चाहे त्यो नयाँ खेलाडी होस् या कप्तान होस् वा सिनियर खेलाडी । त्यो जिम्मेवारीले नै एउटा परिपक्व निर्णय लिन सहयोग पुग्छ ।’

खेलाडीले पछिल्लो प्रकरणपछि सधैं एक ढिक्का रहँदै आएको राष्ट्रिय टोली पनि विभाजित हो ? भनेर सोधेको थियो ।

त्यसमा ज्ञानेन्द्रको जवाफ कूटनीतिक रह्यो । उनले भने, ‘होइन, टिम नेपाल एउटै छ । जुन अहिले असन्तुष्टि, विभाजनका कुराहरू आइरहेका छन्, हामी कुनै कुरामा जान्छौं भने कसैको ‘एस’ हुन्छ, कसैको ‘नो’ हुन्छ, कसैको ‘मे बी’ हुन्छ, यसमा हामी सबैलाई बाँध्न जरुरी छैन । कुनै गुट–उपगुट छैन । हामी अब पनि एउटै टिम भएर खेल्छौं ।’

मैदानमा ज्ञानेन्द्रको कस्तो भूमिका हुन्छ ?

एक हिसाबले हेर्न हो भने परिवारमा म दाजु हुँ भने दाजुको भूमिका सधैं एउटै हुन्छ ।

कप्तान हुँ भन्दैमा म कप्तान हुँ, मलाई नमस्ते गर, ढोग गर भन्ने कुरा होइन । यो कुरा कप्तान हुँदा एउटा फोकल प्वाइन्ट, एउटा लिडर, एउटा मेनपोन्ट हो भने अहिले पनि खेलाडी हुँदा त्यो फोकल प्वाइन्ट नहुँदैमा सबै कुरा बिग्रिने होइन नि ।

अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीमा छ । साथमा एकदिवसीय अन्तर्राष्ट्रिय टोलीको रूपमा हैसियत जोगाउनुपर्ने चुनौती पनि नेपाली क्रिकेटसामु छ ।

यसमा ज्ञानेन्द्र भन्छन्, ‘तत्कालका लागि एकदिवसीयको साइकलभन्दा पनि ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटमा केन्द्रित हुनुपर्नेछ । त्यसपछि ओडिआई त छ नै । ट्वान्टी–२० को तयारीमा लागिरहेका छौं । एकदिवसीयका लागि अझै पनि हामीले आफूभन्दा बलिया टिमसँग प्रतिस्पर्धात्मक खेलहरू, शृंखलाहरू खेल्ने हो भने गेम एक्सपोजर अझै पाउँछौं । र, अन्ततः फाइदा राष्ट्रिय टिमलाई हुन्छ ।’

नेपाली क्रिकेटमा थुप्रै युवा खेलाडीको आगमन भइरहेको छ । उनीहरूलाई प्रतिस्पर्धात्मक एक्सपोजर आवश्यक देख्छन् ज्ञानेन्द्र । ‘युवा खेलाडीलाई एक÷दुई जना गरेर अस्ट्रेलिया, युके, भारतजस्ता देशमा सिजन लङ्ग क्रिकेटहरू खेल्न पठाउने कि ? त्यहाँबाट अझै उनीहरूको क्रिकेटमा निखार आउने सम्भावना रहन्छ । जति धेरै म्याच एक्सपोजर, फरक कल्चर, फरक प्रशिक्षक, फरक ‘एडभर्टेसन’ भयो, खेलाडी उति धेरै परिपक्व बनेर आउँछ,’ उनले सुझाए ।

अरू देशका खेलाडीसँग प्रतिस्पर्धाका लागि तयार हुन नेपाली युवा खेलाडीलाई पनि त्यसैअनुसार तयार गर्नुपर्ने ज्ञानेन्द्रको तर्क छ ।

‘सिजन प्लेयर भइसकेका हुन्छन्, अरू देशमा बाहिरका खेलाडी राख्ने प्रावधान–नियम पनि छ, आइसिसीको नियमअनुसारले पनि मिलिरहेको हुन्छ, १०–१२ वर्ष फस्ट क्लास क्रिकेट खेलेको वा कुनै देशबाट खेलेको, टेस्ट खेलिसकेका खेलाडीहरू छन्,’ उनी भन्छन्, ‘उनीहरूसँग म्याचअप गर्न हाम्रा युवा खेलाडीलाई पनि त्यो स्तरको एक्सपोजर दिन सक्नुपर्छ जस्तो लाग्छ । र, त्यसैमा हामीले जति छिटो एक्सपोजर दिन्छौं, ग्लोबल छनोट र ओडिआई साइकलमा खेल जित्न र राम्रो प्रदर्शन गर्न सहयोग मिल्छ ।’

खेलाडी र क्यानबीचको पछिल्लो विवादपछि चिन्तित बनेका दर्शकलाई नेपाली टिम एउटै छ भन्ने कुरामा ढुक्क हुन ज्ञानेन्द्र सुझाउँछन् ।

‘नेपाली टोलीको चिन्ता समर्थकले लिइराख्नुपर्ला जस्तो लाग्दैन, जसरी मुद्दाहरू उठाइएको छ, त्यस्तो मुद्दा पनि होइन । हामी एकअर्कामा विभाजित होइनौं, छैनांै पनि,’ उनी भन्छन्, ‘म खेलेदेखि अहिलेसम्म हामी सबैजना नेपालका लागि नै खेल्छौं । खेल्दा एकढिक्का भएर नै खेल्छौं । एकअर्काका लागि खेल्छौं । यसमा समर्थकहरू ढुक्क हुनु भए हुन्छ, यसमा हामीहरू एकअर्काप्रति मनमुटाव राखेर प्रदर्शन खस्किने वा नराम्रो केही हुने पक्कै पनि हुँदैन ।’

विश्वकपको ग्लोबल छनोटको तयारी राम्रो भइरहेको ज्ञानेन्द्रले बताए । प्रदर्शन नजितामा नआएसम्म मानिसहरूले धेरै कुरा गर्ने उनको बुझाइ छ ।

उनी भन्छन्, ‘कति जनाले प्रदर्शन भएन भने, अभ्यास पुगेन भन्न सक्ला, कसैले के भन्न सक्ला तर अझै यदि हामी छनोट र अब आउने दिनहरूमा कुनै पनि मुख्य प्रतियोगिता खेल्छौं भने पहिलेदेखि नै एउटा प्रोग्राम अनि भिजन लिएर कसरी जाने, त्यसका लागि २–४ महिना अगाडिदेखि नै तयारी राम्रो गर्न सक्ने हो भने अझै उत्कृष्ट हुन्छ जस्तो लाग्छ । जति धेरै तयारी हुन्छ, जति धेरै प्रतिस्पर्धात्मक खेलहरू खेल्यो, त्यति नै राम्रो हुने हो ।’