ट्वान्टी-२० विश्वकप इतिहास: भारतीय भूमिमा वेस्ट इन्डिज च्याम्पियन

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकप क्रिकेटको सातौं संस्करण आयोजना गर्ने जिम्मेवारी भारतले पाएको थियो । सन् २०१६ को मार्च ८ देखि अप्रिल ३ सम्म सात मैदानमा भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको थियो ।

त्यसमा १० टेस्ट राष्ट्रले सिधै मौका पाउँदा ६ राष्ट्रले छनोट चरण पार गरेर विश्वकपमा स्थान बनाएको थियो । छनोट चरण पार गर्ने राष्ट्रमा अफगानिस्तान, आयरल्यान्ड, ओमान, हङकङ, नेदरल्यान्ड्स र स्कटल्यान्ड थिए ।

अघिल्लो संस्करणमा सहभागिता जनाएका नेपाल र युएई यसपालि छनोट हुन नसक्दा  ओमान र स्कटल्यान्ड थपिएका थिए ।

टेस्ट वरीयताका अन्तिम दुई टोली बंगलादेश र जिम्बावे तथा छनोट भएका ६ गरी आठ टोलीलाई पहिलो चरणमा प्रतिस्पर्धा गराइएको थियो ।

यी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । त्यसबाट हरेक समूहका शीर्ष टोलीले सुपर १० मा स्थान बनाउने नियम थियो । पहिलो चरणमा समूह ‘ए’ बाट बंगलादेश र समूह ‘बी’ बाट अफगानिस्तान सुपर टेनमा स्थान बनाउन सफल रहे ।

सुपर टेनमा पनि दुई समूह विभाजन गरिएको थियो । समूह ‘ए’ मा वेस्ट इन्डिज, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका र अफगानिस्तान थिए ।समूह ‘बी’ मा, भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड र बंगलादेश थिए ।

समूह ‘ए’ बाट वेस्ट इन्डिज र इङ्ल्यान्डले सेमिफाइनलमा स्थान सुरक्षित गरे । गत संस्करण विजेता श्रीलंकाको भने निकै खराब प्रदर्शन रह्यो । टोलीले ४ खेलमा मात्र एक जित निकाल्यो ।

समूह ‘बी’ बाट न्युजिल्यान्ड र भारतले सेमिफाइनल यात्रा तय गरे । सेमिफाइनलमा इङ्ल्यान्डले न्युजिल्यान्ड र वेस्ट इन्डिजले भारतलाई समान ७ विकेटले हराएका थिए ।

दुवै टोलीले दोस्रो पटक विश्वकप फाइनलमा स्थान बनाएको थियो । त्यसैले दुवै टोलीलाई ट्वान्टी-२० विश्वकपमा दोस्रोपल्ट च्याम्पियन हुने पहिलो राष्ट्र बन्ने मौका थियो ।

यसअघि सन् २०१० इङ्ल्यान्ड र सन् २०१२ मा वेस्ट इन्डिज च्याम्पियन बनेका थिए ।

विश्वकपको फाइनल कोलकातास्थित इडेन गार्डेन क्रिकेट मैदानमा खेलाइएको थियो । टस हारेर ब्याटिङ निम्तो पाएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रनको योगफल तयार पारेको थियो ।

४ विकेटको जितसँगै वेस्ट इन्डिज दुई ट्वान्टी-२० विश्वकप जित्ने पहिलो राष्ट्र बन्यो ।

इङ्ल्यान्डका लागि जो रुटले सर्वाधिक ५४ रन बनाएका थिए । वेस्ट इन्डिजका ड्वाइने ब्राभो र कार्लोस ब्रेथवेटले समान ३ विकेट लिएका थिए ।

१ सय ५६ रनको लक्ष्य वेस्ट इन्डिजले दुई बल बाँकी छँदा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।

४ विकेटको जितसँगै वेस्ट इन्डिज दुई ट्वान्टी-२० विश्वकप जित्ने पहिलो राष्ट्र बन्यो । वेस्ट इन्डिजका मार्लोन सामुइल्सले अविजित ८५ रनको योगदान गरे । तर, खेलका नायक कार्लोस ब्रेथवेट रहे । उनले अन्तिम ओभरमा बेन स्टोक्सलाई लगातार चार छक्का प्रहार गर्दै टोलीलाई च्याम्पियन बनाए । 

खेलमा ब्रेथवेट ३४ रनमा अविजित रहेका थिए । इङ्ल्यान्डका डेविड विलीले सर्वाधिक ३ विकेट लिएका थिए । वेस्ट इन्डिजले सुपर टेनमा पनि इङ्ल्यान्डविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

भारतका विराट कोहली प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भएका थिए । उनले प्रतियोगिताका ५ खेलमा ३ अर्धशतकसहित १४६.७७ को स्ट्राइक रेटमा २७३ रन बनाए ।

बंगलादेशका तमिम इकवाल प्रतियोगिताका सर्वाधिक रनकर्ता बने । उनले ६ खेलमा समान १ शतक र अर्धशतक मद्दतमा १४२.५१ को स्ट्राइक रेटमा २९५ रन बनाए ।

अफगानिस्तानका मोहम्मद नाबी सर्वाधिक विकेट लिने खेलाडी बने । उनले ७ खेलमा ६.०७ को इकोनोमीमा १२ विकेट लिएका थिए ।

कुल ३५ खेल भएको प्रतियोगिता हेर्न ७ लाख ६८ हजार ९०२ जना दर्शक मैदान पुगेका थिए ।